पासाङ मेरो घरको आंगनमा
यतिखेर त आबाले
लामा म्हेमे बोलाएर
तामाको बुम्बामा
तितेपातीको घडा थापे होलान् है
अनि मन्द स्याङको आवाजसँगै
आमा बिहानै लिपेको दैलोमा
नयाँ वर्ष भित्र्याउन
ओहोरदोहोर गरिरहेकी होलिन् है
लामा म्हेमेले मोलम गर्दै
आँगनको बिच भागमा
शान्तिको कामना गर्दै
सन्तानको रक्षाको माग गर्दै
समस्त प्राणीजनको
भलो र सफलताको कामना गर्दै
रङ्गीचङ्गी दर्ज्यू टाँग्नुभोहोला है
अनि फुपू, दिदी, बहिनी, भान्जी सबैसबै
लस्करै पिंढीमा बसेर
खाब्सेको दङ्ग पर्दो हो है
लोब्साङ, माने, श्यामे सबै
लिङ्गे पिङ्मा मच्चिदैं
मैच्याङसँग मस्किदो हो है
म भने यो बिरानो शहरमा
म्हेमेको मोलम थाप्न नपाएर
आमाको उत्स्कुता जाँच्न नपाएर
त्यो लुङ्दर फरफराएको हेर्न नपाएर
खाब्सेको रम्न नपाएर
लिङ्गे पिङ्मा मच्चिन नपाएर
भित्र भित्रै रन्थनिरहेछु
असह्य पीडाबोध गरिरहेछु
परदेशिनुको अपमान भोगिरहेछु
तर पनि पासाङ
ल्होछारको ज्याबा डन्बा तिमीलाई
ज्याबा डन्बा आमालाई
ज्याबा डन्बा आबालाई
आफन्तलाई
सम्पूर्ण प्रियजनलाई
अनि ज्याबा डन्बा
त्यो प्रकृतिलाई
जसले मलाई संस्कृतिको धनी बनायो
जसले म हुनुको परिचय दियो
जसले म हुनुको गर्व गरायो
तिमीहरू सबै
लुङ्दर फरफराएजस्तै यश कीर्ति फैलाइरहनु
खाब्से जस्तै स्वादिलो रहनु
अनि लिङ्गे जस्तै
सफलताको डोरीमा मच्चिरहनु
मेरो ज्याबा डन्बा
ल्होछारको शुभकामना ।
