Skip to content

डिसीमा निरौलाका ‘लजाएका परेलीहरू’ विमोचित

20140202_BijayThapa


माघ १८, २०६०
भर्जिनिया

डिसी महानगर क्षेत्रमा दुई दशकभन्दा बढी समय देखि बसोबास गर्दै आएका, विसं २०२६-२०२९ को समयमा ११ जासुसी उपन्यास प्रकाशित गर्न सफल भएका उपन्यासकार तथा कवि शरद निरौलाद्वारा लिखित’लजाएका परेलीहरू’ कविता संग्रह एक भब्य कार्यक्रम बिच विमोचित गरिएको छ ।

मुख्य अतिथि तथा अमेरिकाका लागि कार्यबाहक राजदूत श्रीऋषिराम घिमिरेले उक्त कविता संग्रह पुस्तक विमोचित गर्दै आयोजक खसखस डटकम (साहित्यिक विद्युतीय संजाल)लाई धन्यवाद दिदै केही कविताहरू मार्मिक र संदेश मुलक रहेको आफूले पाएको भन्दै कविताहरू राष्ट्रियता र राष्ट्र प्रेमले भरिएको लागेको बताए ।

जासुसी उपन्यासकार शरद् निरौलाले उनका कविता संग्रह पुस्तक बारे समिक्षा गर्ने क्रममा उपन्यासकारबाट अमेरिकामा आई उदाउदो कवि हुनु भएका भन्ने सवालमा प्रस्ट पर्दै आफू पहिला कवि भएको भन्दै ८ कक्षामा अध्ययन गर्दा भारतमा पश्चिम बङ्गालमा पहिलो पटक आफ्नो कविता छापिएको चर्चा गरेका थिए । उपन्यासकार बन्ने प्रेरणाका श्रोत मामाले जहिले पनि हिन्दी जासुसी उपन्यास पढेको देखेर १० कक्षाको परीक्षा पछि पहाडबाट तराई झरे देखि दिनमा १० वटा जति जासुसी उपन्यास पढेको र यसरी आफू जासुसी उपन्यासकार बन्न पुगेको चर्चा गरे । निरौलाले आफूले जेम्स बोन्ड प्रकारका जासुसी उपन्यास लेखेको बताएका थिए ।

लजाएका परेलीहरू’ कविता संग्रह हालसालै प्रकाशित भएको छ भने उक्त कविता संग्रह पुस्तक डिसी महानगर क्षेत्रमा लामो समय देखि संचालनमा रहेको साहित्यिक विद्युतीय संजाल खसखस डट कम प्रकाशक रहेको छ । उक्त साहित्यिक संजालबाट पहिलो आपको रुख र दोश्रो लजाएका परेलीहरू प्रकाशन भएको जानकारी संचालक तथा साहित्यकार बासु श्रेष्ठले गराए ।

सो कृतिमा वरिष्ठ समालोचक तथा साहित्यकार डा. तारानाथ शर्माले नया संदेश साप्ताहिकमा हिरण्य कशिपु भएर निक्कै रमाइला हास्य व्यंग्यात्मक टिप्पणीहरू युक्त लेखहरू लेखि पाठकहरूको मन तान्न सफल शरद् निरौला अति नै सरस, सरल र चित्ताकर्षक भाषामा जासुसी उपन्यासहरू लेख्दा लेख्दै एक्कासी मातृभूमिलाई चटक्कै छाडेर पातालतिर भासिई हाम्रो साहित्यबाट बिलाउदा हामीलाई नियास्रो लागेको बताएका छन् ।

उक्त कविता संग्रह बारेमा बोल्दै साहित्यकार वसन्त श्रेष्ठले भाषा र साहित्य प्रति निरौलाको समर्पणताको प्रसंशा गर्दै उपन्यासकारबाट किन निरौलाले कवितामा हात चलाउनु पर्यो भन्दै त्यसको जवाफ आफूले दिदै कवितामा आत्मीयता हुन्छ भन्दै कविताले जागरण ल्याउने बताए । अर्का समालोचक कवि तथा पत्रकार गोविन्द गिरि प्रेरणाले कविताहरू पठनीय भए मात्र दिर्घजीवि हुने समिक्षा गर्दै निरौलाका कवितामा कडा शब्द प्रयोग गरिएको बताए । अर्का समालोचक पत्रकार गुणराज लुईटेलले निरौलाका कविताहरू दार्शनिक भावना झल्किएको उल्लेख गर्दै प्रगतिवादका अक्षर कतै न झुल्किएको बताए ।

उक्त कविता संग्रहमा ४२ वटा कविताहरू रहेका छन । उपन्यासकार तथा कवि शरद निरौलाद्वारा लेखिएका प्रसिद्ध जासुसी उपन्यासहरू, सुलसुले पस्दा(पहिलो), फ़ुश्रे तारा, नर्कदुत तथा बिदेशी गुप्तचर आदि गरी कूल ११ वटा प्रकाशित गरेको जानकारी दिए । कवि तथा उपन्यासकार निरौला अध्यापन पेसामा संलग्नता रहिसकेका र रासस, नेपाल टेलिभिजन तथा केही पत्रिकामा सम्पादनको भूमिका निर्वाह गरिसकेका छन् ।

कार्यक्रममा स्वागत मन्तब्य मंजु निरौलाले गरेकी थिइन भने कार्यक्रम संचालन तथा धन्यवाद ज्ञापन कवि, साहित्यकार तथा खसखस डटकम साहित्यिक विद्युतीय संजालका संचालक बासु श्रेष्ठले गरेका थिए ।

विजय थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *