जन्म दिई भूइँमा झार्दा,
कयौ पीडा सह्यौ आमा,
न्यानो आचलले छोपेर तिमीले,
दूधको अमृत घुट पिलायौ आमा ।

ताते गर्दै औला पक्डेर,
पाइला चाल्न सिकाउदै,
हातमा खाना लिएर तिमीले,
को-खाई को-खाई भन्दै खुवायौ आमा ।

उक्लेर मैले मुखको गास,
थुकेर भुइँमा फलदा पनि,
निल्न नसकी भोकै रहन्छु भनेर,
मुखमा चपाएर दिदै पेट भराउथौ आमा ।

रुघा र खोकीले आँखा रसाउदा,
तालुमा तातो तेल ढोक्दै,
शरीरभरि मालिस गरेर तिमीले,
आफ्नो काखमा लुपुक्क सुताउथ्यौ आमा ।

बिरामी पर्दा, घाऊ खटिरा आउदा,
रातभरि छट्पट गर्दै नसुती तिमी,
देवी र देउता भाकेर तिमी,
भोक्कै भोक्कै तिमी त्यहा धाउथ्यौ आमा ।

मलाई हसाउँन धत्तेरी भन्दै,
सीतारामको गीत गाउदै,
ढनमन गर्दै पहिलो पाइला चल्दा,
लड्छेकी भन्दै कुदेर समाउथ्यौ आमा ।

खुशीले तिमी गमक्क हुदै,
सन्तान मेरो भन्दै चिनाउन,
पढाई लेखाइ ज्ञानी बनाउँन,
खुनको खोलो झैँ पसिना बगायौ आमा ।

बर्णन गर्न सक्दिन तिम्रो,
कर्तव्य, त्याग, तपस्या, बलिदानको,
सासू र बुहारी, छोरी र नातिनी,
कैयौ नामले चिनिन्छौ आमा ।

मदर टेरेसा, इन्दिरा गान्धी,
सीता र भृकुटी नामले तिमी,
परिस्थितिहरूमा, इमान्दारीपूर्वक,
तिमी नै अघि सर्दथ्यौ आमा ।

सुख, दुख हासो, रोदन,
सबैलाई तिमीले अंगाल्दै,
छातीमा तिम्रो थुक्दा, कुचल्दा,
फुल्न र फल्न, संघर्ष गर्न सिकाउथ्यौ आमा ।

निशा खनाल अर्याल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *