एक

ग्याङका सदस्य-बसेसर, नवल, बसिर, बीरवल, जुमाद्दीन र जोगीलाई केही परै राखेर होचो-होचो र मोटो-मोटो डिलडालको जोगिन्दर छायादार नीमको रुखनिर आएर ठिङ्ग उभिन्छ । यही बाटो भएर दुलिचन्द आउने खबर भरताले पठाएको थियो । ऊ नाडी घडीतिर हेर्छ । र लापरवाहीका साथ चुरोटको धुवाँ उडाउन थाल्छ ।

दुई

दुलिचन्द रुङ्गटाले मागअनुसारको रकम नदिने भएपछि ग्याङको नेता जोगिन्दर ‘आगबबुला’ भएको थियो । उसले सुकेको पहेंलो घाँसमा लहरै बसेका आफ्ना साथीहरूतिर हेरेर दिमागमा अपर्झट आएको प्लान सुनायो ‘अब दुलिचन्दको अपरहण नगरी भएन ।’

‘अपहरण……..?’ सबैले एकैसाथ दोहोर्‍याए । ‘यही उपाय बाँकी छ ।’ जोगिन्दरले भन्यो, ‘अरु केही गर्न सकिंदैन ।’

‘आजकाल पुलिसहरूका कडा पहरा छ ।’ बीरबलले केही सोचेर भन्यो ।

‘साले पुलिसहरूले हामीलाई देखेपछि छाड्दैनन् ।’ बीरवलको भनाइमा बसिरले सही थाप्यो ।

‘तिमीहरू डरपोंक हौ ।’ जोगिन्दरको स्वर कडा थियो ।

‘थोरबहुत खिलाइपिलाई गरिदिए सब ठिक हुन्छ ।’ नवलले भन्यो ।

‘पहाडिया पुलिसहरू धेरै ठूलो मुख बाउँछन् ।’ जुमाद्दीनले मुख फटाएर अभिनयसाथ भनेकोले सबै हाँस्न थाले । बस्तीभन्दा केही टाढाको आमबागमा सबै भेला भएका थिए । यहाँ कमै मानिसको आवत-जावत हुन्थ्यो । साहेबज्यूको पुस्तैनी आमबाग केही वर्षदेखि लावारिस अवस्थामा थियो । द्वन्द्वकालमा गाउँलेहरूले कब्जा गरेका थिए । त्यसबेलादेखि हेरविचार गर्ने मानिस आउन छाडेको थियो । आवाज आएकोले सबै सावधान भएर हेर्न थाले । एउटा सानो जन्तु बगलबाट भागेको देखापर्‍यो ।

‘नेवला हो ।’ बसेसरले दाहिने आँखा झिम्क्यायो ।

‘मलाई कुनै अरु नै लाग्यो ।’ जोगीले भन्यो ।

‘होइन नेवला नै हो ।’ बसिरले जोड दियो ।

‘यतातिर गहुँवन पनि धेरै पाइन्छन् ।’ जुमाद्दीनले नयाँ कुरा झिक्यो ।

‘दुलिचन्दले कतिसम्म दिने भन्यो ?’ नवलले कुराकानीलाई मोड्न खोज्यो, ‘आधाजति होला ।’

‘आधाभन्दा धेरै कम भन्यो ।’ जोगिन्दरले मुख बिगार्‍यो ।

‘मख्खीचुस सेठ…..।’ नवल फुसफुसायो ।

‘दुलिचन्द एक नम्बरको कन्जुस हो ।’ बीरवलले नवलतिर हेरेर भन्यो, ‘कमिना हो ।’

‘सबैभन्दा मारामार चल्ने फौरेनगुड्सको पसल उसकै हो ।’ बसिरले भन्यो ।

‘ब्लेकियाहरू पालेर माल पारको धन्दा गर्छ ।’ बसेसरले मुख खोल्यो ।

‘दुलिचन्दको शमिल पनि त्यत्तिकै चल्छ ।’ जुमाद्दीनले थप्यो ।

‘यति धनी भएर पनि चुतियागिरी गर्छ ।’ जोगीको पनि चित्त बुझेको थिएन ।

आमबागको छेउ भएर कच्ची सडक जान्थ्यो । त्यहाँबाट केही बयलगाडा गुज्रिरहेका थिए । गाडावालहरू गर्मीको आलसले गर्दा निदाएका देखिन्थे । गाडामा जोतिएका थकित बयलहरू अभ्यासको भरमा अघि बढिरहेका थिए । बयलगाडा देखेर केही भन्न खोजिरहेको जोगिन्दर चुप लाग्यो ।

‘के भयो ?’ जोगीले सोध्यो ।

‘केही होइन ।’ जोगिन्दरले भन्यो ।

‘मधेसी हितका लागि व्यापारीहरूले पनि साथ दिनुपर्छ ।’ केहीबेर पछि बसेसरले भन्यो ।

‘हामी कुनै भिखारी त होइनौ ?’ बसिरले थप्यो ।

‘पैसा माग्यो कि यिनीहरूको गाँड फाट्छ ।’ जुमाद्दीनले तितो पोख्यो ।

‘हामीले त्यत्ति बढी मागेका पनि त होइनौं ।’ बीरवलले भन्यो ।

‘मधेसमुक्तिका लागि कोही पनि गम्भीर छैन ।’ बसेसरले गम्भीर भएर भन्यो, ‘यो उचित होइन ।’

‘तिमीहरू अनावश्यक कुरोको पछि नपर ।’ जोगिन्दर जङ्गयिो ।

‘के हामी मधेसीहरूका लागि लडिरहेका होइनौं ?’ बसेसर जोशियो ।

‘चुप लाग ।’ जोगिन्दरको निधार खुम्चियो, ‘दुलिचन्दको मुनिम भरताले खबर पठाएको छ ।’

सबै सजग भएर अलि उँचो ढिस्कोमा बसेको जोगिन्दरतिर हेर्न थाले । गर्मी असाध्यै बढेको थियो । चराहरूसमेत सुस्ताइरहेका लाग्थ्यो ।
कहिलेकाहीँ कौवाको कर्कस आवाज सुनिन्थ्यो । आमका हरिया-हरिया पात फिरफिर हल्लिरहेका थिए । त्यहाँबाट आएको हावाले थोरै राहत दिन्थ्यो । हावा तातै थियो । पसीनाले सबैका कमीजभित्रका गन्जी निथु्रक्क भिजेका थिए ।

‘भरताले के खबर पठाएको छ ?’ नवल र बसिरले एकसाथ जोगिन्दरसँग सोधें ।

‘भोलि मंगलबारका दिन कामविशेषले दुलिचन्द यतातिर आउँदैछ ।’ जोगिन्दरले साथीहरूतिर हेरेर बिस्तारै भन्यो, ‘यही मौकामा त्यसको अपहरण गर्नुपर्छ ।’

‘भरताको खबर पक्का हो ?’ नवलले उत्सुकता देखायो ।

‘एकदम पक्का हो ।’ जोगिन्दरले निधारको पसिना पुछ्यो, ‘ऊ पनि हाम्रो पार्टनर हुन चाहन्छ ।’

‘बढा काइँया खालको मानिस हो भरता ।’ जोगीले यो मन पराएन ।

‘ठिक छ, ठिक छ ।’ जोगिन्दरले निर्णयको स्वरमा भन्यो, ‘भोलि हामी दुलिचन्दको अपहरण गर्छौं ।’

एकाएक एउटा टिकोरा अगाडि झर्‍यो । निकै ठूलो साइजको थियो । दुई-चार अरु पनि झरे । आमबागले पनि अपरहणको प्रस्ताव मानेको ठानेर सबै दङ्ग परे । र समर्थनमा आ-आफ्ना टाउका हल्लाए । बसेसरको आँखामा अलिकति दुविधा थियो । आखिरमा दुलिचन्दको अपरहणका लागि बेलैमा जम्मा हुने अठोटका साथ सबै ग्याङका सदस्यहरू घर फर्किए ।

तीन

बिहारबाट छिरेका पेशेवर अपराधीहरूका आँखा सुनसानमा उभिएको जोगिन्दरमाथि पर्छ । केही दिनदेखि यिनीहरूले कुनै शिकार भेट्टाएका थिएनन् । एउटा मालदार देहाती बनियाजस्तो लाग्ने मोटोघाटो जोगिन्दरलाई देखेर सबैका अनुहार चम्किन्छन् । त्यसपछि चारैतिरबाट घेरेर बिहारी गिरोहले जोगिन्दरको अपहरण गर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *