Skip to content


मेरी वसुन्धरा
तिमीले पढ्यौ मेरो अलिखित आत्मकथा ?
हृदयको भित्री गुम्फनमा
कसैले भेउ नपाउने गरी लेखेको छु
एउटा लामो अध्यायमा
तिम्रो र मेरो प्रेमको आख्यान

तिमीप्रतिको मेरो आशक्तिको
जोखिमपूर्ण रहस्य नेपथ्यबाट चुहिरहेको
म अवाक् हेरिरहेछु
आफैंले स्केच गरेको
सिउादोभरि लालीगुराँस ढकमक्क
तिम्रो अनुहारको सुन्दर रेखाचित्र
म अवाक् हेरिरहेछु ।

वसुन्धरा !
एकताका म
तिम्रो दारिद्र्यको भट्टीमा थिएा
बढिरहेको थियो तिम्रो अनुहारमा
आगोको फिलुंगाजस्तो विद्रोहको कान्ति
र दन्त्यकथाको मनचिन्ते गिलासमा भरेर
पिएको थिएा मैले
तिम्रो उन्मुक्तिको आगोमा
उमालेको तातो रक्सी
मेरो जवानीको स्वैरकल्पना
र तिम्रो विश्वासको भञ्ज्याङमा
भेटें मैले
थुप्रै तुफान बोकेका दमित आत्माहरू
तुनेर मसिनो धागाको डोरीमा
बाधे मैले जादूगरको नलिहाड
र लेखें
तिमीलाई स्वर्गकी परी बनाउने
तिलस्मी उपन्यास ।

वसुन्धरा !
म तिमीलाई असाध्य प्रेम गर्थें
मेरा तिखा आाखाले देखेका थिए
गाउा-गाउाका चिस्यानहरूमा
तिम्रा बाआमाहरूले भोगेका
निर्मम समयका आततायी चक्र
र भाइबहिनीहरू अज्ञात भविष्यको ओडारमा
निस्लोट भएर सुतेको ओछ्यानबाटै
उठाएको थिएा मैले
ताजमहलको जग

अबोध !
इमान !
र बलिदानीको सागर वसुन्धरा !
मैले तिम्रो आस्थाको सिउादोमा
लालीगुराँस उखेलेर बन्दुक गाडेको थिएा
तिमी पाठशाला जाने
बाटाका भर्‍याङहरूमा एम्बुस थापेर
किताब राख्ने झोला झोलामा
फिट गरेको थिएा टाइम बम
जब तिमी क्षतविक्षत भएर
रगतको आहालमा निदायौ
मैले देखिरहेको थिएा
नारायणहिटी दरबारभित्र
सिंहासनको सपना

हो वसुन्धरा !
तिम्रो प्रेमको कञ्चन छातीमा टेकेर
अहंकारको पहाड चढिरहेको
क्षतिग्रस्त मेरो रंगशालाबाट
लेखिरहेछु तिमीलाई यो
अन्तिम प्रेमपत्र ।

कान्तिपुर कोसेली
२०७० माघ २५

Leave a Reply

Your email address will not be published. Required fields are marked *