दुर्गम गाउको प्राथमिक विद्यालयमा पढाउछु । मेरो विद्यालय र गाउँघरको नाजुक अवस्था तथा आफ्नो दायित्व दाज्छु मन बुझ्दैन । अनि मन वह लगाउन राम्रा राम्रा लेखकको राम्रा र आदर्श पुस्तकहरू, जस्तै रविन्द्र मिश्रको ‘खान पुगोस दिन पुगोस’, स्व. जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’, कर्ण शाक्यको ‘सोच’, तथा जोन उडको ‘माइक्रोसफ्टदेखि वाहुनडाँडासम्म’ पढ्छु ।
आफ्नो जीवन गधाको जत्तिको सार्थक लाग्दैन । त्यसैले सार्थक बाँच्न र प्रतिमहिना प्राथमिक विदयालय द्धितीय र दुर्गम भत्ता सहितको २२–२५ हजार पचाउन विद्यालयलाई दुर्गम गाउँको नमुना स्कुल बनाउन सोचेँ । किनकि मेरो विद्यालय २०४५ सालमा स्थापना भई आजसम्म २५ वर्ष सम्ममा ४० जना शिक्षकहरूले शुरुदेखि हालसम्म पढाउदा एक जनाले मात्र मरेर एस. एल. सी. पास गरे । अन्य कसैले राम्ररी अक्षर चिन्दैनन् । झन आजभोलिका मेरा विद्यार्थीको के कुरा ? कक्षा ५ पास भएर जाँदा क ख नचिन्ने कति छन कति ।
यो कुरा मैले जिल्ला तथा राष्ट्रिय स्तरका सञ्चार माध्यम मार्फत सार्वजनिक पनि पटक पटक गरेँ । तर कसैले स्यावास् दिएन उल्टै गाली धम्की खानुपर्यो, दिक्क लाग्छ । जागिर छोडौँ बुढेसकालमा अर्को विकल्प छैन । नछोडौँ हालत यस्तो छ । यो हालत हुनमा मुख्य प्रधानअध्यापक तथा निरिक्षक, त्यसपछि अभिभावकको, अनि सरकारको कमजोर ठहर्याउछु म ।
दिनहरू यसरी निराशामा बितिरहेका थिए । संयोगबस आदरणीय दाजु रविन्द्र मिश्रसँग परोक्ष चिनजान भो । फोन नम्बर पाएँ, अनि वहाँलाई सारा बेलीबिस्तार लगाएँ । गाउमा खेरगइरहेको सानो वेथाङ्गा खोलोको पानी बाट बत्ती निकाल्ने, अनि साना साना कम्प्यूटर ५–६ वटा किन्ने । विद्यालयलाई तथा गाउँलाई झलमल बनाउने आदि योजना सुनाएँ ।
उहाले भन्नुभयो, “हामीसँग Help Nepal Network भन्ने संस्था छ । त्यसले खास गरी त्यस्तै दुर्गम गाउँहरूमा सहयोग गर्न पायो भने खुसी हुन्छ ।”
आश्वासन पाएँ ।
अनि उहाले थप्नुभयो, “काठमाण्डौ आउनुओस, प्रपोजल बनाएर पेश गर्नुहोस्, सकेको सहयोग हुनेछ ।”
त्यसपछि मैले सोचेँ – विद्यालयको नाममा (खातामा) सहयोग माग्नु पर्ने । विद्यालयमा चाहि चार-पाँच वर्ष अघिदेखि आएको कर्मचारी सहयोग रकम ४२,०००।–, विद्यालयलाई व्यवस्थापन खर्च १५,०००।–, छात्रवृत्ति, स्कुल सुधार गरी वर्षेनी आउने साठी-सत्तरी हजारको आजसम्म हिसाबकिताब नै छैन । श्रेस्तामा भने सब ठिकका ठिक ।
म प्राथमिक द्धितीय श्रेणी, २५ वर्ष अनुभव प्राप्त शिक्षक छदाछदै धूर्त गैर जिम्मेवार जुनियर अस्थायी शिक्षकलाई विद्यालय व्यवस्थापन सामिति र जिल्ला शिक्षा कार्यालय प्रधानअध्यापक तोक्छ । उक्त सम्बन्धमा जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निरक्षण हुँदै विभागदेखि मन्त्रालयसम्म लिखित गुनासो गरेका तथा संवन्धित निकायले झारा टार्न लेखेका चिठीपत्रहरू फायलभरि छन । शिक्षा विभागले गत सालको (२०६९ श्रावण) शिक्षक मासिक पत्रिकामा मैले प्रधानअध्यापक पाउनुपर्ने भन्ने विभागका अधिकृत (लक्ष्मण बस्याल) को उत्तर छापिएको छ ।
हेडसर पहिला पहिला त पाँच-छ महिनामा विद्यालयमा आउथे र अभिभावकलाई यसो पान फूल गरेर फर्कन्थे । अभिभावक पनि बच्चा स्कुल आउन नभ्याउने भए भनेर हेडसर नरिसाइदिनुहुन बिन्तीभाउ गर्थे । घर जाँदा मेजमान गर्दै छोराछोरी स्कुल आउन नभ्याएकोमा नरिसाइदिन पुन बिन्ती गर्थे । त्यसैले आजभोलि हेडसर दुई-तीन महिनामा आउदा पुष्पवृष्टि नै गरौंला जस्तो गर्छन । मलाई जंग चल्छ । म पनि महिना महिना बिराएर आइदिने गर्छु ।
मेरो घर जिल्ला शिक्षा कार्यालयको नजिकै भएकाले असजिलो महसुस हुन्छ । उनीहरू पनि बसी खानेमा गणना गर्छन । धान खाने मुसो, चोट पाउने भ्यागुतो भने झै भएको छ । त्यसैले यसपालि गाउलेसँग नै बिन्ती गरेँ, “प्रभुहरू ! मैले आफूलाई प्रधानअध्यापक बनाइदिन तलदेखि माथिसम्म निरन्तर बल गरेँ, मेरो केही लागेन । आखिर शक्ति तपाईंहरूकै रहेछ । मलाई प्रधानअध्यापक बनाइदिनुहोस, म घर नगई नियमित स्कुल चलाउछु । जो साथीहरू आउदैनन्, गयल पेस गर्छु ।”
मेरो स्टाफ तथा प्रधानअध्यापकले गाउका आवारा केटाहरूलाई दुई कार्टन वियर खिलाइदिएछन । त्यसपछि त बाफ्रे बाफ, यो बुढेसकालमा राम धुलाई पाएको के वखान गरूँ ? प्रभु । वैशाखी टेकी हिंडडुल गर्छु गाउँघरमा आजभोलि पनि । अनि तपाईंको यो मिडियालाई मेरो गाउँघरका गाउँले अरुले नपढ्ने भएको हुनाले फिराद लेखेँ मन हलुका पार्न ।
आदरणीय रवीन्द्र दाजु, म प्रपोजलसँगै निवेदन दिन आउन सकिन र यसै गन्थन मार्फत हजुरलाई जानकारी गराए । हजुरको चर्चित पुस्तक “खान पुगोस दिन पुगोस्” पढेर पाएको ज्ञान एक जना एक गरिब गायकलाई राजाले दिएको हात्ती पुरस्कार जस्तै भयो । पुरस्कार विजेता गायकले दुई चार दिन हात्ती पाले र हात्ती राजालाई नै फिर्ता गर्दै अनुरोध गरेको थिए, “प्रभु ! बरु म गीत गाउदिन अब आइन्दा । मलाई यस्तो पुरस्कार नदिइबक्योसस् !”
मलाई त्यस्तै भयो । अब म यो जागिर खान्न । म सामान्य फोटोसप, अंग्रेजी, नेपाली टाइप आदि सामान्य काम गर्न सक्छु बरु । दस घण्टा काम गर्न गारो मान्दिन । तलब यथाशक्ति दिए हुन्छ । मलाई व्यक्तिगत सहयोग गरिदिनुहोस् । ममार्फत मेरो गाउँ र विद्यालयलाई केही सहयोग मागिन मैले ।
अस्तु
जय वहादुर घिमिरे
शिशुरक्षा प्रा.वि पावाखोला-३, डिमा संखुवासभा
(किमाथान्का नजिक)
—————————-
श्रीमान जिल्ला शिक्षा अधिकारीज्यू
जिल्ला शिक्षा कार्यालाय संखुवासभा
विषयः– नियम अनुसार प्र. अ. पाऊ भन्नेवारे ।
महोदय,
सविनवय नम्र निवेदन गर्नुको कारण यो छ कि मिति २०६४/१/२४ गते लिखित परिक्षा पास गरी प्राथमिक द्धितीय श्रेणीमा वढुवा भएको व्यहोरा त्यस कार्यालयलाई अवगत छदैछ । म यस श्रीशिशुरक्षा प्रा. वि पावाखोला – ३ डिमामा विगत २०६६साल देखि कार्यारत छु । विगत ४ वर्षमा तिनपटक प्र. अ. फेरवदल भयो तर मेरो मलाई प्र. अ. तोकिदिन विनम्र निवेदन हुदा हुदै यस विद्यालय कि अस्थायी शिक्षिका कविता राई तथा अस्थायी शिक्षक आङदवा भोटेलाई विद्यालय व्यवस्थापन समितिको गलत सीफारिसलाई आधारमानी प्र. अ. तोकियो भएन फेरि हाल शिक्षा विभागको च. नं …३४१….. मिति…..२०६९/०३/१९……. प्राप्त पत्र तथा क्षे शि नि धनकुटाको च. नं ६३७ मिति २०६९/११/१० को परिपत्र अनुसार शिक्षा निमावली वमोजिम जेष्ठता क्रमलाई प्राथमिकता दिने निर्देशन विपरित हाल आएर प्रा.वि तृतीय श्रेणीका मभन्दा १५ वर्ष जुनियर श्रीटेक वहादुर घिमिरेलाई प्र.अ तोकिदिनाले मैले निज शिक्षकको शैक्षणिक गतिविधी मूल्याङ्कन गरी का. सक.मु मूल्याङ्कन गर्नुपाउनु पर्ने मेरो अधिकार हनन् भएको छ साथै विद्यालयको शैक्षीक,भैतिक, आर्थिक गतिविधि सही नसक्नु लथालिंग छ । त्यसैले यथा शिघ्र मलाई नियम अनुसार उक्त विद्यालयको प्र. अ. तोकी दिनुहुन सनंम्र अनुरोध छ ।
वोधार्थ –
१. शिक्षा विभाग सानोठिमी भक्तपुर -आवश्यक कारवाही को लागि ।
२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौ– व्याहोरा अवगत गर्नु भै आवश्यक कारवाहि गरिदिनुहुन ।
३. राष्ट्रिय सतर्कता केन्द्र काठमाण्डौ– व्यहोरा अवगत गर्नु भै आवश्यक कारवाहि गरिदिनुहुन ।
४. क्षे. शि. नि धनकुटा – व्यहोरा अवगत गर्नु भै आवश्यक कारवाहि गरिदिनुहुन ।
प्रमाणहरू
१. शिक्षक मासिकमा (२०६९ साउन) शिक्षा विभागको अधिकृत को मलाई प्र. अ. तोक्नुपर्ने भनाई
२. शिक्षा विभागको तागेता पत्र
३. मेरो वढुवा नियूक्ति पत्र निवेदक
जय वहादुर घिमिरे
श्रीशिशुरक्षा प्रा. वि पावाखोला –३ डिमा संखुवासभा
यो व्यहोरा साँचो हो, झुटा ठहरेमा कानून वमोजिम सहन बुझाउन मञ्जुर छु ।
