Skip to content

जीवनका छालहरू नियाल्दा


परिचय

ईश्वर ‘बा’ खनालको भेट सायद आजभन्दा ७/८ वर्ष पहिला कृषकलाई माटो र मलको व्यवस्थापनको तालिमको सिलसिलामा बेणीमणिपूर गाउँमा गएको समयमा भए जस्तो लाग्छ । सायद उहाँ त्यहाँ प्रशिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसै समयमा ‘जीवनका छालहरू’को यो कृति मेरो हातमा परेको थियो । यसलाई राम्रोसँग पढे धेरै प्रभावित पनि भएको थिएँ तर त्यस वेला मैले गजल लेख्ने र गजलको बारेमा टीकाटिप्पणी गर्ने काम गर्दैनथें । आजकल मैले गजल लेख्ने र समालोचन गर्ने कामको थालनीसँगै यो कृतिलाई फेरि दोहोर्याएर पढ्ने इच्छा पलाएर आयो र यसमा केही टीकाटिप्पणी गर्ने काम गरेको छु ।

ईश्वर ‘बा’ खनालको जन्म वि.सं. २०३४ माघ ५ गते गुल्मीका जैसीथोक गाविसमा भएको थियो । उहाँ गजल यात्राको थालनीभन्दा पहिला कविको रूपमा चिनिनुहुन्थ्यो । उहाँ नवलपरासीका मूद्र्धन्य साहित्यकाररूको सम्पर्क र साहित्यिक गतिविधिबाट ईश्वर ‘बा’ खनालको शास्त्रीय छन्दमा कविता र बहरमा गजल लेख्ने कामको तीब्रता बढ्न थाल्यो र गजल कृतिले जन्म लियो ।

कृतिको संरचना

यो कृति (१५+७६) =९१ पृष्ठको छ । यसको प्रकाशन २०६२ सालमा नवलपरासी साहित्य परिषदले गरेको थियो । संख्यामा ५,००० प्रति प्रकाशन गरिएको यो कृतिको मूल्य रू ५०/– राखिएको छ । यसमा ७६ गजलहरू समावेश गरिएका छन् ।

विभिन्न कवि/गजलकारहरूको गजल कृति र गजलकारप्रतिको धारणा

भूमिका लेखन र शुभकामनाका सुमनहरूले यस कृतिलाई सिङ्गारिएको छ । हामीले यिनै शब्दसुमनबाट गजलकारको व्यक्तित्व र गजलमा पस्किएका यथार्थताहरूको सारसङ्क्षेपलाई सजिलै बुझ्न सक्दछौं । यस कृतिको प्रकाशकीय नवलपरासी साहित्य परिषदका अध्यक्ष, विष्णुप्रसाद लामिछानेज्यूले लेख्नुभएको छ र यस सम्बन्धमा उहाँ लेख्नुहुन्छ–

नवलपरासी साहित्यिक परिषदको गजल यात्रा १(२०५९)भन्दा पहिलेदेखि नै गजल रचना गर्ने ‘बा’ को लेखनी जुर्मुरायो कवितासङ्ग्रह (२०५९पुष)मा पनि गजल समावेश गरिएको देखिन्छ । यसबाट के थाहा हुन्छ भने गजलकारले कविताको साथसाथै गजललाई समेत महत्व दिंदै आउनुभएको थियो ।

यस गजल सङ्ग्रहको सन्दर्भमा बरिष्ठ गजलकार ‘बूँद राना’ले ‘छालसँगै बग्नोस् ‘बा’ शीर्षकमा लेख्नुहुन्छ – ‘छाल भनेकै गतिशीलता हो, छाल स्थीर हुनै सक्दैन । छालहरूसँगै गतिशील भइरहनुहोस् । गजल–सागरमा प्रवेश गर्नु भएकै छ । राम्ररी पौडी खेल्नु होस् । गहिरोसँग गोता लगाउनु होस् … तपाईं भर्खरैको सिकारू जस्तो हुनुहुन्न । सफलता मिल्ने छ ।’

‘पाण्डु लिपीमा जीवनका छालहरू हेर्दा’ शीर्षकमा बरिष्ठ गजलकार डा घनश्याम न्यौपाने ‘परिश्रमी’को धारणा यसप्रकार छ –‘ईश्वर बा खनाल प्रथमत: कवि हुन् । शास्त्रीय छन्दमा कविता लेख्न मन पराउने खनालले गजलमा पनि हात हालेका छन् । यिनका गजल पनि सुन्दर र स्तरीय छन् । शास्त्रीय बहरहरूमा पनि यिनले गजल लेख्न प्रयास गरेका छन्, सार्थक देखिन्छ । गेयतालाई राम्रोसँग आत्मसात गरेका छन् । काफिया रदीफ जस्ता तत्वहरूप्रति पनि यिनी सचेत छन् । बस्तुत मलाई नयाँ पुस्ताका गजलकारहरूमा ईश्वर ‘बा’ खनाल निकै राम्रा लागेका छन् ।’

‘जीवनका छालहरूलाई सर्सर्ती हेर्दा’ शीर्षकमा गजलकार तथा साहित्यकार श्यामप्रसाद न्यौपाने लेख्नुहुन्छ– ‘मैले कतै अग्रजहरूबाट जवानीमा सबै कवि हुन्छन् स्रष्टा हुन्छन् भन्ने सुनेको थिएँ, मलाई लाग्छ ईश्वरको सिर्जनशीलता वर्षातको भेल झैं आयो हरायो हुनेवाला होइन । विषयबस्तुको कमी यिनमा छैन ।’

‘जीवनका छालहरूमा घोत्लिंदा’ शीर्षकमा गजलकार श्रीखगेन्द्रसाद वस्याल लेख्नुहुन्छ :-गजल निर्माणमा आवश्यक पर्ने स्पष्टता, प्रौढता, अर्थपूर्णता, गेयात्मकता, विश्लेषणीयता, परिपक्कता कोमलताजस्ता गुणहरूलाई गजलकार ‘बा’ले राम्ररी आत्मसात गरेका छन् । त्यसैले भविष्यमा यिनी सबै गजल प्रेमीहरूका ‘बा’ न होलान् भन्न सकिन्न ।’

गजलकार स्वयम्को धारणा केलाउँदा, सर्ब प्रथम उनले गजलको परिभाषा यसरी गरेकाछन्– ‘गजल शास्त्रीय मान्यताको अनुशासनमा रही लेखिने काव्य विधा हो । हृदयमा भाव र सङ्गीतको झङ्कार उत्पन्न गरी जादूमय विशिष्ट स्वाद पस्कनु यसको उदेश्य हो । ’ गजलकारको आर्को धारणामा गजलहरूले कुन गन्तव्य पथ निर्धारण गरेका छन् । त्यसको सही पहिचानको लागि आग्रह गरेका छन् ।

यो युग भनेको गजलक्रान्तिको युग हो । देश गजलमय भएको छ । संसारको कुनाकाप्चा जहाँ नेपाली पुगेका छन् त्यहाँ गजललाई स्थान दिएका छन् । त्यसो हुँदा गजलका परिभाषामा पनि आज विविधता देखिन्छ । ईश्वर ‘बा’ले जसरी गजलको परिभाषा दिएका छन् सोहीरूपमा उनले गजल पस्केका छन् । सिद्धान्तलाई ईश्वरले व्यवहारमा उतारेको हुँदा, यसमा उनको धारणा अनुकुल नै गजल लेखन भएको मान्न सकिन्छ । आज देशमा गजल बहरमामात्र (बहरयुक्त) नभै स्वनिर्मित लय (बहरमुक्त लय)मा पनि गजलहरू लेखिएका छन् । जे जस्तो रूपमा होस् गजल लेखनमा तीब्रता आउनै पर्छ र आएको छ । गजलकारको दोस्रो धारणामा सङ्क्षिप्तमा भन्नु पर्दा शृङ्गारिकताको महलमा विविधताका फूलगुच्छाले भरीभराउ छ गजलसङ्ग्रह ।

मानव जीवनलाई छालसँग दाँजिएको छ । ज्वारभाटासँग होइन । नदी/समुद्री किनारमा गएर हामीले हेर्यौ भने त्यहाँ मन्द मन्द वायुको साथमा चलेका लहरहरू अति सुन्दर हुन्छन् । ती सुन्दर लहरहरूमा कहिले तीब्रता आउँछ र ज्वारभाटाको रूप लिन्छ, भने कहिले मधुरता छाउँछ र सबैलाई सुन्दरता छर्छ । जीवनका भोगाइहरू पनि कहिले माथि जान्छन् त कहिले तल खस्छन् । प्रकृति–प्रद उपहारहरू संसारका सबै जीव/अजीवले भोग्नै पर्छ र भोगिरहेका छौं । सोही भोगाइका सार्थक पथहरू नियाल्दै, जीवनसँगका भोगाइलाई आत्मसात गर्दै, नामाकरण गरिएको जीवनका छालहरू गजलसङ्ग्रहमा प्रेमका छालहरू लहराएका छन् । कलकल छलछल सुमधुर स्वरमा लयलाई बगाएकाछन् । गजलकारले प्रेममा वाहार, भाका हजार, मगमगाउँदो संसार, जाडोले निसासिंदो जीवनमा पहार, लहलहउँदो प्रेमस्याहारलाई धन्सार, प्यासमा अडेको जिन्दगी तृप्तपार्न सक्ने सर्कार चाहान्छन् तर प्रेममा सुखानुभूतिमात्र कहाँ हुन्छ र ? प्रेममा दु:ख, संयोग, वियोग, वेदनाका खात, तिरस्कारका लात, समय समयमा घात,आदि आदि धेरै चिज हुन्छन् र त्यस्ले जिन्दगीलाई कामदेवको प्रेमरूपी तीर(माया/ममता) नदिएर नदीकिनारको तीर(बगर) दिन्छ र जिन्दगीको लागि उपहारमा पीर र पीरलाई सहन नसकी आँखाभरी छचल्किने नीर दिन्छ । यी सबै चिजलाई नियालेका छन् गजलकारले । हेरौं तलका शेरहरू–

जिन्दगीमा उपहार पीर दियौ
आँखाभरी छचल्किने नीर दियौ
(जिन्दगीमा उपहार गजल –२, पृष्ठ–२)

फेरि रात आयो चखेवा सरी भो
एक प्रेम जोडी छुटायो कसैले
आज जिन्दगीमा गजल –७६, पृष्ठ–७६)

यस कृतिभित्र प्रेमबाट उत्पन्न हुने सबै खाले घटनाक्रमलाई गजलकारले जोडेका छन् । वसन्तमा पलाउने नयाँ पालुवादेखि जीवनजगतलाई भोगेर झर्न थालेका पहेंला पातलाई गोडेका छन्,विकृति र विसङ्गतिलाई तोडेका छन् भने शिष्ट र परिष्कृत शब्दलयमा गजललाई कोरेका छन् । हेरौं तलका शेरहरू–

अमूल्य हो सस्तो ठान्यौ आफ्नै जिन्दगी
त्यसैले त बहालमा भाडा बन्दैछ
(छायाँ पनि आजभोलि गजल –४, पृष्ठ–४)

छायाँ पनि आजभोलि टाढा बन्दैछ
उनको बोली मुटु घोच्ने काँडा बन्दैछ
(छायाँ पनि आजभोलि गजल –४, पृष्ठ–४)

मानव जीवन अमूल्य हो । यो बिक्रीमा हुँदैन तर आजको संसार दाममा छ, दाम पाए जिन्दगी नै बहालमा राखिदिन्छन् र छायाँ भनेको निरन्तरता र दीगोपन हो । संसारका सबै बस्तुको जन्मदादेखि जीवनको अन्त्यसम्म साथ हुन्छ छायाँ यसलाई आजसम्म कसैले हटाउन र मिटाउन सकेका छैनन् । अमूल्य जिन्दगीमा प्रेम पनि छाँयाजस्तै निरन्तर र दीगो हुनुपर्छ तर आजको यो स्वार्थी र दाममा विकेको संसारमा त्यस्तो हीरा मोती कहाँ पाइन्छ होला र ? हुन पनि हो, आजकल जिन्दगी पैसँग जोखिएको छ । द्रव्यशक्तिले गर्दा मानवका अग्रगामी, स्वाभिमानी र इमानका बाटाहरू अवरुद्ध भएका छन् तर त्यस्तै द्रव्य पिचासहरू कालो कर्तुतलाई मेटाउन र चोखिन मन्दिर धाउँछन्, यस्ता कर्तुतमा सजाएँको भागी हुनुपर्ने थियो तर त्यो नभएर ईश्वरले पनि टुलुट हेरेको पाउँछन् गजलकारले ।

मानवमा द्यौता बन्न सक्ने गुण मौजाद हुँदा हुँदै पनि ऊ किन राक्षसमा परिणत हुन्छ, डढेलोमा जल्दा झै किन जल्छ, स्थीर हुन पर्नेमा किन ढल्छ, चेतनाको दियो बाल्ने पर्नेमा उसले आफैले आफैलाई किन छल्छ भावशून्य भएर किन गल्छ भन्ने भावनात्मक प्रश्नहरू गजलकारले हामीसँग राखेका छन् –

गुण हुन्छ मान्छेसँग द्यौता बन्न सक्ने
राक्षसका पाउहरू मल्छु किन यहाँ
(डढेलोमा जले जस्तै गजल –६, पृष्ठ–६)

गजलकारक प्रेममामात्र सीमित छैनन् । उनले देशमा चलेका द्वन्द्वलाई देख्छन् र सिर्जनाका हातमा नेल परेका कुरा लेख्छन् । यसरी नै धर्ती जलेको, गोली छुटेको (चलेको), नैराश्यताले संसारलाई ढाकेको र राष्ट्र नै लुटेको, प्यारा साथीहरू पलायमान भएको, दौरा, श्रुवाल, कोट टोपी लाउन छाडेको, चाडपर्व संस्कृतिलाई निरन्तरता दिने–नदिने शङ्का मनमा उब्जिएको, भ्रष्टनेताले परजीवी जस्तै भै देशलाई चुसेर बिराला झै सुतेको, नेताले ताज पहिरेर पदको स्वाद लिएर झुप्रोलाई भुलेको, राष्ट्रप्रति समर्पित हुनु पर्नेमा समर्पित नभएको, आदि आदि कर्महरूका विविधता गजलकारले पाएका छन् र गजलमा प्रष्टसँग लेखेका छन् ।

गजलकारको अभिव्यक्तिमा जिन्दगीमा उज्यालो सम्झनलाई रात, प्रगतिका सोपान चढ्न घात, प्रशंसाले जन्माउने मातलाई घटाउन आफन्तको लात, अभावले सिर्जना गर्ने वेदनाका खातलाई मनन् गर्नु पर्ने र यस्तो अँध्यारोबाट उज्यालो तर्फ लाग्न हामी सबैलाई प्रेरित गरिएको छ । गजलकारले परिवर्तन चाहान्छन् । परिवर्तनको लागि त्यागलाई आवश्यक ठान्दछन् र गजलका शेरबाट उनी लेखल्छन्–

वसन्त आउँदैन काँचुली नफेरी
झरेका पहेंलिदै पात धन्य छन्
(उज्यालो सम्झाउन गजल ७५, पृष्ठ ७५)

गजल लेखनमा आवश्यक पर्ने गजलका तत्वहरूलाई आत्मसात गर्नु आवश्यक हुन्छ । उनको गजलमा सुन्दर शेरको निर्माण, रदीफ काफियाको कुशल संयोजन, तखलुसको प्रयोग, लयको सन्तुलन, शेरहरूमा स्वयत्तता, भाषामा सरलता, प्रेमको प्रस्तुतिमा शिष्टता, भावनामा भावुकता आदि विविधताले सजिएको यो कृति प्रथम भए पनि सफल, पठनीय, अनुकरणीय देखिन्छ ।

अन्त्यमा यस कृतिले प्रेमदर्शनलाई विविध दृष्टिबाट प्रदर्शन गरेको छ । जीवन दर्शनलाई आत्मसात गरेको छ । प्रेमप्रणयमा अधिपति देखिए तापनि यहाँ राष्ट्र राष्ट्रियता, संस्कृतिप्रतिको ध्यान, प्रस्तुतिमा विविधता, भाषामा सरलता आदिले गर्दा प्रथम कृतिमा नै गजलकार सफल र सवल देखिन्छन् । पठनीय, अनुकरणीय कृतिका कृतिकारलाई धन्यवाद छ ।

धन्यवाद

सदानन्द अभागी
२०७०/८/१४ शान्तिचोक, कावासोती–१, नवलपरासी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *