यो नदीको किनारमा
एउटा बस्ती बसेको छ
यो बस्तीको छेउमा
एउटा नदी बगेको छ
सदियौंदेखि नङ् र मासु जस्तै
यो नदी छ र बस्ती,
यो बस्ती छ र नदी
तिमी र मजस्तै छ
म र तिमीजस्तै छ ।
यो बस्तीका मान्छे
बिहान बिहान लोटा बोकी नदीतिर जाँदैनन्
यो बस्तीका मान्छे
बेलुका बेलुका फोहोर बोकी नदीतिर जाँदैनन्
यो नदी
वर्षा वर्षामा बौलाउँदै बस्तीभित्र भेल पसाउँदैन
यो नदी
गर्मी गर्मीमा गन्हाउँदै ब्याक्टेरिया बसाउँदैन
नदी छ र बस्तीका मान्छे,
बस्तीका मान्छे छन् र नदी,
तिमी र मजस्तै छ
म र तिमीजस्तै छ ।
यो नदीमा
मुटु चिर्ने सिरेटो पनि कुर्लिन्छ
यो नदीमा
कहाली लाग्दो भेल पनि उर्लिन्छ
यो बस्तीमा
सिरेटोको रिस नाप्ने यन्त्र पनि छ
यो बस्तीमा
भेल रोक्ने तटबन्ध पनि छ
सिरेटो छ र सिरेटो नाप्ने यन्त्र,
भेल छ र भेल रोक्ने तटबन्ध,
तिमी र म जस्तै छ
म र तिमीजस्तै छ ।
यो नदीको किनारमा
कलिला नानीहरूको पाठशाला पनि छ
यो नदीको किनारमा
रसिला यौवनाहरूको ‘पार्क’शाला पनि छ
यो बस्तीमा
वृद्धहरूको लागि आश्रय पनि छ
यो बस्तीमा
रोगीहरूको लागि औषधी पनि छ
पाठशाला छ र ‘पार्क’शाला पनि
आश्रय छ र औषधी पनि
तिमी र मजस्तै छ
म र तिमीजस्तै छ ।
आराकावाको किनारमा
देखिरहेछु – तिमी छौ
आराकावाको किनारमा
देखिरहेछु – म छु,
यहाँ एउटा सृष्टि छ
यहाँ एउटा सभ्यता छ
यहाँ एउटा सम्बन्ध छ
तिमी र मजस्तै छ
म र तिमीजस्तै छ
आराकावाको किनारमा
तिम्रो र मेरो सम्बन्ध छ ।
इति विसं २०७० साल माघ २८ गते रोज ३ शुभम् ।

संस्कार, सभ्यता र प्रकृतिको सुन्दर चित्रण
संस्कार, सभ्यता र प्रकृतिको सुन्दर चित्रण भएको सुन्दर कविता । शिक्षा र सन्देशयुक्त कविता ।
भेषराज रिजाल
धन्यवाद भेषराजजी ।
धन्यवाद भेषराजजी ।