Skip to content

कविता शृंखला (दुख : ०२)


बिहानको कलिलो घाममा
दिउँसोको चर्कने घाममा
बेलुकि पखको मलिन घाममा
मेरो छायाँ
म सँगसँगै यात्रा गर्छ ।
म उठ्ता यो पनि उठ्ने गर्छ ।
म बस्ता यो पनि
म सँगसँगै बस्ने गर्छ ।
म सुत्दा मसँगै सुत्ने गर्छ
म कुद्दा मसँगै कुद्ने गर्छ ।
मेरो छाँया मेरो शरीरबाट
एक मिनेट
एक सेकेण्ड
एक पल पनि अलग हुन सक्तैन
ठिक यही छाँया जस्तै छ मेरो दुःख
यो पनि
एक मिनेट
एक सेकेण्ड
एक पल
मबाट अलग हुन सक्दैन ।
घामको छाँयाको आकार
कहिले अग्लो बन्छ ।
कहिले त्यो छाँया
म जत्तिकै हुन्छ ।
कहिल्यै मभन्दा पुड्को बन्छ ।
बिहान, मध्यान्ह र वेलुकीको घाम अनुसार
छाँया को आकार
खुम्चिए जस्तो/फैलिए जस्तो
म भित्रको दुःख पनि
मनको अवस्थानुसार
स्वभावको गति अनुसार
दःख घरी पुड्को बन्छ ।
दुःख घरी अग्लो बन्छ ।
दुःख घरी म जत्तिकै हुन्छ ।
शरीर र छाँया जति अकाट्य छन्
म अनि मेरो दुःख
त्यत्तिनै अकाट्य/अटुट नातामा
जन्म सँगसँगै यात्रारत
अनवरत अनवरत कालसम्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *