नेपालका विविध जातिगत समुदायका प्राचीन इतिहास बोकेका नेपालीमध्ये ऐतिहासिक चिनारीका रूपमा तल्लो थाक् खोलाका थकाली बन्धुहरूको इतिहास बुझ्न निकै कठिनाइ भएको कुरा विभिन्न देशी तथा विदेशी विद्वान्ले व्यक्त गरिरहेकै कुरा हो। हामीलाई पनि थकालीहरूको इतिहास पर्गेल्न निकै मुस्किल महसुस भइरहेको छ।
यसो हुनुमा धेरैजसो थकाली समुदायको उद्भव र बसोबास क्षेत्रका विषयमा पुराना प्रामाणिक स्रोतको कमी हुनु एक हो भने अर्को थकाली समुदायका पूर्वजहरूको दुईवटा सभ्यताको सीमान्त क्षेत्रमा भएको लामो बसोबास र सीमानाका समुदायले भोग्नु परेका सजिला र अप्ठ्यारा अनुभवका कारण हुन्।
सीमान्त क्षेत्रका दुई सभ्यतालाई जोड्ने जातीय समुदायको जिम्मेवारी तथा कठिनाइ अरू समुदायकोभन्दा फरक हुनु स्वाभाविक हो। सीमानामा बसोबास गर्दा कहिले एउटा पक्षमा र कहिले अर्को पक्षमा लहसिने बाध्यताको अनुभव नेपालका थकालीसँग मात्र होइन, संसारका अन्य समुदायमा पनि पाइन्छ।
तल्लो थाक्का समुदायभित्र तमाङ थकालीको परिचय गराउने थकाली बसोबास क्षेत्रलाई तिब्बती वा भोट सभ्यताको उत्तरबाट हेर्दा अन्तिम सीमाना क्षेत्रको वा सबैभन्दा तलको ठाउँको रूपमा चिनाउने परम्परा रहेको ऐतिहासिक स्रोतले देखाएको छ।
हुन पनि यस क्षेत्रमा भोट मूलका झाङ्री वा वोन् तथा हिमाली बुद्ध धर्मसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, परम्परा तथा केन्द्रहरू प्राचीन कालदेखि नै चलनचल्तीमा भएका प्रमाण पाइएका छन्।
हिजोआज यस क्षेत्रलाई ‘थासाङ्’ भनिए पनि प्राचीनकालदेखि उत्तरतर्फबाट अर्थात् तिब्बती स्रोतमा उल्लेख गर्दा वा परिचय गराउँदा यस क्षेत्रलाई ‘था’ अर्थात् किनारा वा सीमान्त क्षेत्र मान्दै त्यहाँका मानिसलाई थावा वा थाक्पा भन्ने गरेको देखिन्छ।
तिब्बतको राजधानीदेखि पश्चिम दक्षिणको अति दूर इलाकामा भएको र भोटको सभ्यता खासगरी बुद्ध धर्मको ज्ञान र ज्योति धेरै पहिलेदेखि प्रचुर रूपमा पुग्न नसकेको ठाउँका रूपमा यस ठाउँलाई सीमान्त दूर र धर्मको ज्योति कम भएको अँध्यारो रहेको ठाउँ भनेर ‘था-खोव्’ भन्ने गरेको देखिन्छ। यहाँका बासिन्दालाई थावा, थाक्पा वा थाखोव्पाजस्ता नामले चिनिँदै आएको छ।
स्थानीय नायकलाई यही नामका कारण थाखोव्चेन् वा खोव्चेन शासकको रूपमा चिनाइएको देखिन्छ। तल्लो थाक्खोलाका थकालीका पुर्खाको रूपमा देखाइएका हाङ्सा वा हाङ्चा नामका स्थानीय शासकलाई खोव्चेन राजाको रूपमा चिनाइएको प्रसंग उल्लेखनीय छ।
बृहत्तर थाक् क्षेत्रभरि विभिन्न गाउँमा पाइने वेम्छ्याग् नाम गरेका पत्रले यी तल्लो थाक्का स्थानीय नायक खोव्चेन राजाको वैवाहिक सम्बन्ध हाल जोमसोमनजिकैको ठिनी गाउँनिवासीका पुर्खा थोकरचेन तथा मिग्चेन आदि शासकका परिवारसँग कायम भएको कुरा स्पष्ट पारेको पाइन्छ।
यिनै थोकरचेन तथा मिग्चेनहरूसँग वैवाहिक सम्बन्ध पुन्डी वा पुन्याल राजा अर्थात् हालका मार्फाली थकाली हिजोआज हिराचन् थरले चिनिने समुदायसँग भएको प्रमाण पनि उल्लेख भएकाले थकाली सांस्कृतिक क्षेत्रमा केही भिन्नता देखिए पनि आदिम युगमा वैवाहिक सम्बन्धमै सामाजिक बन्धन कायम थियो भन्ने कुरा बुझिन आएको छ।
यी तल्लो थाक् क्षेत्रका तमाङ थकालीहरूलाई उनीहरूले बोल्ने भाषा तथा सभ्यता, संस्कृतिका आधारमा र उनीहरूले आफ्नो समुदायभित्र गराउने परम्परागत चिनारीलाई दृष्टिगत गर्दा यो समुदायलाई धेरै पुरानो ‘शे’ नामले चिनिने अर्थात् तमाङ् शे समुदायको रूपमा उल्लेख गर्न सकिने ऐतिहासिक आधारहरू छन्।
‘शे’ नामले चिनिने समुदायले बोलचाल गर्ने भाषालाई ‘शे’, तिब्बतीमा ‘शेक्ये’ भनिने र त्यस भाषासँग यी तल्लो थाक् क्षेत्रका थकालीको भाषामा धेरै समानता पाइएको आधारमा तथा त्यस क्षेत्रको पुरानो नाम थासे वा थाक् शेरिव् पनि भएका उदाहरणहरू ऐतिहासिक स्रोतमा पाइएका आधारमा उत्तरी तिब्बतको एउटा धेरै पुरानो तुलनात्मक रूपमा प्रतिष्ठित जातिगत समुदायसँग सम्बन्धित गराएर चिनाउन सकिने स्थिति पनि ऐतिहासिक स्रोतले दिइएको छ।
लामो युगसम्म एक ठाउँबाट अर्को ठाउँ खासगरी उत्तरबाट दक्षिणतर्फ बसाइँ सर्दै आउने क्रममा अरू विभिन्न हिमाली समुदायहरूको जस्तै यिनीहरूको पनि अनेक स्थानीय समुदायका मानिसहरूसँग वैवाहिक वा शारीरिक सम्बन्ध तथा सांस्कृतिक सम्बन्धका कारण कहिलेकाहीँ यस समुदायको इतिहासमा अरू समुदायसँगका किंवदन्ती तथा परम्पराहरू जोडिन पुगेका कारण पनि यो समुदायको उद्भवका विषयमा केही अस्पष्टता तथा अन्योलको स्थिति उत्पन्न हुन पुगेको देखिन्छ।
यस्तो अस्पष्टता भए पनि एउटा कुरा भने यिनीहरूको ऐतिहासिक परम्परा तथा लिखित रूपमा रहेका किंवदन्ती र ऐतिहासिक लेखोटहरूका आधारमा प्रामाणिक रूपमा मान्नुपर्ने देखिन्छ। यो प्रामाणिकता उनीहरूको झाङ्री तथा कालो प्राचीनतम वोन संस्कृतिकको परम्परा हो। यस भेगमा बुद्ध धर्मको प्रकाश पुग्नुभन्दा पहिले अर्थात् आठौं शताब्दीताकासम्म पूरै रूपमा पुरातन झाङ्री वा कालो वोन परम्पराको प्रभाव रहेको बुझिएको छ।
यो परम्परा कुनै न कुनै रूपमा पछिसम्म पनि यस समुदायमा विद्यमान रहेको देखिए पनि हिजोआज आएर झाङ्री पुजारी तथा आया आहुसावोन्पोजस्ता वोन परम्पराका धार्मिक, सामाजिक, नेतृत्वदाताहरूको कमीका कारण यो पुरानो परम्परा झन्डैझन्डै लोपजस्तै हुन पुगेको देखिन्छ।
अर्कोतर्फ यस भेकका थकाली नेतृत्वदायी सफल व्यापारी तथा स्थानीय प्रशासकसमेत बन्न पुगेका विशेष व्यक्तिहरूका ल्हासासम्मका पहुँचका कारण र तिब्बतमा भएको धार्मिक, सांस्कृतिक परिवर्तन र बुद्ध धर्मको विस्तारको नीतिका कारण यस क्षेत्रमा तिब्बती वा हिमाली बुद्ध धर्मको निकै जबरजस्त प्रभाव पर्न गएको पनि स्पष्ट रूपमा देखिन्छ।
यस भेगमा बुद्ध धर्मको प्रभावको पहिलो लहर आठौं शताब्दीदेखि थालनी भएको देखिन्छ। तिब्बतमा बुद्ध धर्मको प्रवेश र विस्तारको क्रम त्यस देशमा यार्लुङ् वंशको शक्तिको उदय र क्षेत्र विस्तारको इतिहाससँगसँगै अगाडि बढेको देखिन्छ। आठौं शताब्दीका तिब्बतका सम्राट् स्रोङ्चेन् गम्पोको राज्य विस्तार र बुद्ध धर्मप्रतिको आस्थाका कारण तिब्बतमा उत्तर भारत र नेपालतर्फबाट बुद्ध धर्मको विस्तार तिब्बतमा हुन पुग्यो।
त्यस बेला यार्लुङ् शासकले राज्य विस्तारको क्रमलाई पश्चिमतर्फ बढाउँदै जाँदा वोन परम्पराको प्राचीनतम क्षेत्र र राज्य मानिने श्याङ् -शुङ् इलाकासम्म केन्द्रीय तिब्बतको अधिकार कायम हुन पुग्यो। यस श्याङ्-शुङ् क्षेत्रलाई भोट वा तिब्बतले अधिनस्त गरेपछि यस इलाकाको नाम पनि विस्तारविस्तार अधिनस्त गरिएको क्षेत्र अर्थात् ‘ङ-री’ क्षेत्रको रूपमा चिन्ने चिनाउने क्रम चल्यो। यससँगसँगै बृहत्तर तिब्बती साम्राज्यमा परेका कारण अब यस क्षेत्रलाई पश्चिम तिब्बत भन्न थालियो।
नेपालको पश्चिमी हिमाली क्षेत्रका मुस्ताङका यस सीमान्त थाक् इलाकासम्मका भूखण्डलाई वोन राज्य हुँदा श्याङ्-शुङ्अन्तर्गत नै र तिब्बती अधिनस्त भएपछि ङरीको तीन क्षेत्रमध्ये सबैभन्दा तल वा दक्षिणको क्षेत्रको रूपमा तिब्बतको सांस्कृतिक र राजनीतिक भूगोलभित्र राखेर चिनाउने चलन चल्यो। अर्को अर्थमा यो थाक् को अन्तिम इलाकासम्मको भूभाग पश्चिम तिब्बत वा ङरी क्षेत्रको मानिन्थ्यो।
मुगु, डोल्पो, नार, नेश्याङ्, नुव्री आदि गोरखा उत्तरी भेगसम्मका सम्पूर्ण हिमाली क्षेत्र तिब्बतको यस सांस्कृतिक भूगोलभित्रका क्षेत्रको रूपमा ऐतिहासिक दृष्टिकोणले चिनाइएको पाइन्छ। त्यसै हुनाले थाक् क्षेत्रको ऐतिहासिक रूपमा सबैभन्दा तल्लो इलाका अर्थात् कोवाङ् क्षेत्रसम्म पश्चिम तिब्बत प्रभावित क्षेत्र मानिन्थ्यो र यस क्षेत्रमा प्राचीन ङरीको नामबाट सामरिक महत्त्वको जोङ् वा कोटको पनि व्यवस्था गरिएको थियो, जसलाई ङरी जोङ् वा ङरी कोट अथवा अपभ्रंश भएको नाम नरी वा नारी कोट पनि भन्ने गरिन्थ्यो।
यसै ङरी वा ङरी कोटको क्षेत्रमा तिब्बती बुद्ध धर्मको प्रवेशका समयदेखि लोकपाल देवताको रूपमा चेन्रेशिग् वा अवलोकेतेश्वरको देवस्थल तथा शिक्षा केन्द्र गोन्पाको रूपमा देवता स्थापना गरी निर्माण गरिएको ऐतिहासिक परम्पराको उल्लेख तिब्बती स्रोतहरूमा र स्थानीय परम्परामा समेत पाइन्छ। यस ङरी क्षेत्रको लोकेश्वर वा चेन्रेशिग्लाई स्थानीय लोकपाल स्वामीका रूपमा ङरी जोवो भन्ने परम्परा प्रचलित छ।
तिब्बतले श्याङ्शुङ्माथि कब्जा जमाएपछि त्यस क्षेत्रमा बुद्ध धर्म प्रवेश गराउने क्रममा पछि ङरी भनिने यस क्षेत्रलाई तीनै इलाकामा बुद्ध धर्मका स्थानीय संरक्षक देवताका रूपमा लोकेश्वर वा जोवोको गोम्पा बनाई पुराङ् भनिने क्षेत्रमा एक यस थाखोव् वा थाक् क्षेत्रमा एक तथा किरोङ् क्षेत्रमा एक गरी तीनवटा लोकेश्वर, चेन्रेशिग् वा जोवोको स्थापना गरी केन्द्रीय जोवोचाहिँ तिब्बतका राजा दिनप्रतिदिन पूजा प्रार्थनाका निम्ति ल्हासामा नै बनाई स्थापना गराएको कुराको उल्लेख तिब्बती स्रोतमा स्पष्ट रूपमा पाइन्छ।
यस आधारमा यो थाक् क्षेत्रमा पहिलो लहरको बुद्ध धर्मको प्रवेशको समय आठौं, नवौं शताब्दीदेखि नै भएको र यस ङरी जोङमा ङरी जोवोको स्थापना गरिएको देखिन्छ। यस इतिहाससँग तिब्बतमा बुद्ध धर्मको प्रचारमा सफलता प्राप्त गर्ने पण्डित पद्मसम्भव अर्थात् पेमाज्युङ्नेको यस क्षेत्रमा भ्रमण भएको धार्मिक लोक विश्वासलाई जोडिएको देखिन्छ।
जसअनुरूप पद्मसम्भवको जीवनीको कथा र यस क्षेत्रका गुरुसाङ्फुग्जस्ता बौद्ध तीर्थस्थल र पद्मसम्भवले नै लोकेश्वर वा जोवोको रूप लिएर त्यस क्षेत्रमा बसेको तथा त्यहाँका पुराना झाङ्री प्रथाका अनुयायी तथा उपासकहरूलाई आफ्नो वशमा राख्न सफल भएको कुराको वर्णन तथा विश्वासको बलियो परम्परा चलेको पाइन्छ।
मुस्ताङ इलाकाको उपल्लो मुस्ताङको लोवोगेकार् (हिजोआज घार गोम्पा) देखि तल मुक्तिनाथ (तिब्बतीमा छुलामेवर), गरव् जोङ् वा कुछव् तेर्ङा हुँदै पद्मसम्भव यो तल्लो थाक् क्षेत्रको गुरुसाङ्फुग् मूलिगाङ् (धौलागिरि पर्वत शंखला)सम्म आएर स्थानीय पुरातन परम्पराका भूतप्रेत, डाँकिनी आदिलाई आफ्नो वंशमा पार्न सफल भएपछि फर्किए तिब्बत पुगी ल्हासाको पहिलो बुद्ध गोम्पा सा ये निर्माण गर्न सफल भएको कुराको चर्चा पद्मसम्भवको जीवनी पेमाकाथाङ्मा पाइन्छ।
यसरी हेर्दा थाक् क्षेत्रमा वोन परम्परालाई परास्त गर्दै बुद्ध धर्मको प्रवेश आठौं/नवौं शताब्दीतिर नै भइसकेको बुझिन्छ। त्यसैको प्रमाणका रूपमा ङरी साङ् वा अपभ्रंश रूपको नारसाङ् गोम्पा ङरी जोवोको रूपमा खडा भएको देखिन्छ। यस कार्यमा अवश्य पनि स्थानीय थाक् क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायको संलग्नता रहेको हुनुपर्छ।
त्यस आधारमा आठौं/नवौं शताब्दीदेखि नै स्थानीय परम्परासँगसँगै बुद्ध धर्मको प्रचलन यस भेगमा चलेको बुझ्न सकिन्छ। पछि तिब्बतको इतिहासमा वोन परम्परावादीको बौद्धविरोधी आन्दोलनका क्रममा फेरि विभिन्न क्षेत्रका वोनका अनुयायीलाई पुन:स्थापित गराउने क्रम पनि नचलेको होइन तर त्यसले धेरै लामो अवधिसम्म काम गर्न सकेन।
यसो भए पनि वोन परम्परा पुन: स्थापनाको त्यस क्रमले थाक् क्षेत्रसहित तिब्बतका विभिन्न सीमान्त भूभागसम्म प्रभाव भने पारी नै रह्यो। यस किसिमले दुई थरी संस्कृतिको प्रभाव यस क्षेत्रमा देखिन्छ। पछि आधुनिक नेपाल राज्यको निर्माणका क्रममा दक्षिणतर्फबाट हिन्दू मिश्रित परम्पराको प्रभाव पनि यस क्षेत्रमा केही न केही रूपमा परेको देखिन्छ।
त्यसै हुनाले थाक् क्षेत्रका निवासीहरूले ङरी जोवोको पुरानो मूर्तिको स्थानमा पनि कामरूपको भनिने मार्बलको छुट्टै किसिमको मूर्ति ल्याई पुरानो मूर्तिको स्थानमा राखी पूजा प्रार्थना चलाउने चलन १९औं शताब्दीदेखि चलेको देखिन्छ।
यस मूर्तिलाई र यसअघिको ङरी जोवोको मूर्तिलाई समेत स्थानीय परम्परा र लेखोट तथा प्रार्थनाका पुस्तकहरूमा स्वयं उत्पत्ति भएको देवताका रूपमा मानिएको पाइन्छ। कहिलेकाहीँ भ्रमवश हुनसक्छ, यस देवतालाई महालक्ष्मी भन्ने नाम पनि दिइएको पाइन्छ। तर, यस्तो नाम दक्षिणतर्फ हिन्दू प्रभावको बाहेक अरू केही हुनसक्ने तर्क दिन सकिने स्थिति छैन। अर्को कुरा, मार्बल पछि राखिएको मूर्तिचाहिँ कुनै बौद्ध तथा हिन्दू देवीको नभई कुनै पुरुष देवताको हो भन्ने स्पष्ट छ।
यी ऐतिहासिक प्रमाणको आधार तल्लो थाक् क्षेत्रका थकालीहरू पहिले पुरातन वोन परम्परा वा झाङ्री परम्पराका थिए र पछि बौद्ध परम्पराका समुदायको रूपमा चिनिएका देखिन्छन्। अहिलेको बदलिँदो परिस्थितिमा पनि जनजाति प्रतिष्ठानलगायत संस्थामा दर्ता गराउँदा बौद्ध परम्परा मान्नेको रूपमा परिचित गराइएको पाइन्छ। थाक् क्षेत्रमा भएका बौद्ध गोम्पा र बौद्ध इतिहासका ऐतिहासिक अवशेष हेर्दा यसमा स्वाभाविकता पनि देखिन्छ।
यिनीहरूको यी सबै परम्परामध्ये सबैभन्दा प्राचीन अहिले देखिनेमा ङरी जोवो वा नार्साङ् भनिने बौद्ध गोम्पा नै रहेको देखिन्छ। यस गोम्पामा अनेकौं प्रसिद्धि पाएका तिब्बतदेखि ल्याइएका लामा छ्योएपा तथा तिनका सन्ततिका रूपमा परम्परा सम्हाल्ने हिजोआज ढुङ्पासमेत भनिने परम्परा पहिलेदेखि नै चलेको देखिन्छ।
तिब्बतबाट भ्रमण गर्ने ठूल्ठूला निङ्मा तथा कग्यु सम्प्रदायका लामाहरूले पनि यस गोम्पा भ्रमण गरेका र तिनको संस्मरणमा मूर्ति तथा भित्तेचित्रहरू बनाएर राखिएको ऐतिहासिक कुरा अन्वेषकहरूले प्रमाणसहित उल्लेख गरेका छन्। यस गोम्पामा पुरुष लामाहरूमात्र नभई जोमोआनीहरू अर्थात् महिला उपासिकाहरू पनि हुने गर्थे भन्ने प्रमाण पाइएका छन्। यो बौद्ध गोम्पा थाक् क्षेत्रका नौ प्रसिद्ध सरकारी मान्यताप्राप्त गोम्पामध्ये एक मानिएको लालमोहरसहितका प्रमाण पनि पाइएको छ।
थकालीहरू पहिले पुरातन कालो वोन परम्पराका र पछि पुरातन बौद्ध परम्परा मान्ने समुदायका हुन् भन्नेमा अब शंका छैन। सायद भ्रमवश हुनसक्छ, केही थकाली बन्धु नार्साङ् गोम्पा न बौद्ध गोम्पा हो न वोन धर्मको हो भनेर ठोकुवासाथ अरू कुनै आर्य थकाली जातिको हो भन्न पनि थालेका देखिन्छन्। तर, ऐतिहासिक दृष्टिले यसलाई स्वीकार गर्न अन्वेषकलाई त्यति सजिलो भइरहेको छैन।
अहिले थकालीहरूको बुद्ध धर्मको आस्थाको केन्द्र ङरी जोवोको यस गोम्पालाई के मान्ने र थकाली बन्धुहरूलाई कुन धर्म परम्पराको मान्ने कुरामा उहाँहरू आफैंमा पनि अन्योलको अवस्था आएको र अन्वेषकहरू र पठनपाठन गर्नेहरूलाई समेत अप्ठ्यारोपनको स्थिति छ।
उहाँहरू कतिपय तिब्बती बौद्ध परम्परा र स्थानीय थकालीकै परम्परामा प्रचलित गोम्पामा विभिन्न युगमा विभिन्न व्यक्ति तथा व्यक्तित्वका नाममा बौद्ध मूर्ति तथा थाङ्का थप्दै जाने र गोम्पालाई विभिन्न युगका धार्मिक सांस्कृतिक धरोहरहरूको केन्द्रका रूपमा धनी बनाउँदै जाने परम्परामा अचम्म किसिमले रोक लगाउनुपर्ने तर्कसमेत उठाउन थालेको देखिन्छ (संलग्न थकाली सेवा समितिको पत्रको अंश हेर्नुहोस्)।
वास्तवमा बौद्ध गोम्पा कोही मानिस अप्ठेरो परेमा, बिरामी परेमा, कसैको मृत्यु भएका, कसैलाई ठूलो धनसम्पत्ति उपलब्ध भएमा, सन्तति प्राप्त भएमा वा यस्ता अनेकौं राम्रानराम्रा अवस्थामा वा पर्वहरूमा समेत बौद्ध मूर्ति, बौद्ध बाजागाजा, बौद्ध थाङ्का तथा अनेकौं सांस्कृति, धार्मिक वस्तुहरू चढाउँदै वैभवपूर्ण बनाउने र मानवीय संस्कृति जोगाउँदै युगयुगका इतिहास थप्दै लाने परम्परा धेरै पुरानो हो।
यो परम्परालाई के कारणले हो, अहिले केही थकाली बन्धुहरू रोक लगाउनतर्फ लाग्नुभएको कुरा पत्रहरूबाट देखिन आएको छ। यो अन्वेषकहरूलाई आश्चर्य हो। थकालीको वैभवपूर्ण बौद्ध संस्कृति र बाँकी रहेका झाङ्री प्रथा युगयुगान्तरसम्म जोगाउन सफल हुनुहोस्। पुर्खा खोप्चेन् राजा वा पछिल्ला कालका अर्को पुर्खा पेमा रिन्जिन् र कृपारामहरूका बौद्ध कृतिहरूको रक्षा सक्नुहोस् भन्ने कामना छ।
अन्नपूर्ण पोष्ट
२०७० फागुन ३, शनिबार
