Skip to content

कविता शृंखला (दुख : ०३)


कट्कटिएको मयल
साबुनले
कुलुक्क धोए जस्तो
काँठो परेको दुःख धुने
साबुन भए कति जाति हुन्थ्यो ।
केरमेट अक्षरहरू
मसीका फोहोर दाग र थोप्लाहरू
मेट्ने कागज रङको सेतो टिपेक्स जस्तो
दुःख दाग मेट्ने
टिपेक्स भए कति जाति हुन्थ्यो
कपालको
वर्षौ पुरानो चाया हटाउने
डावर कम्पनीको एन्टिडेन्ड्रफ सेम्पु जस्तो
दुःख हटाउने
सेम्पु वने कति जाति हुन्थ्यो ?
खुट्टामा विझेको
काँडो झिक्ने हुप्सियो जस्तो
मनमा विझेको दुःख झिक्ने
हुप्सियो वने कति जाति हुन्थ्यो ?
गिटी कुट्ने
फलामे हथौडा जस्तो
दुःख कुटेर
धुलोधुलो पार्ने
हथौडी भए कति जाति हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *