मुस्कान यो झर्दैछ आई हँसाइदेऊ न साथी
यहाँ देश मर्दैछ आई बचाइदेऊ न साथी
कामज्वरो आएर थरथराएको छ मेरो देश
स्थेस्कोप ल्याई ढुकढुकी जचाँइदेऊ न साथी
ग्रहदशा बिग्र्यो क्यारे, नक्षत्रमा खोट छ कि?
निशाना त्यो मारी, शनी खसाइदेऊ न साथी
रिस् राग, हत्या हिंसा, भलो कस्को होला यहाँ?
प्रेमले नै जित्ने विचार पसाइदेऊ न साथी
कहाँ गैइन्? कता गैइन्? अदृश्य छ शान्ति किन?
शान्ति खोजी स्वप्न संसार् बसाइदेऊ न साथी
राजेश रुम्बा लामा ‘अतृप्त’
