मौका आज मिल्यो फेरि माइती दर्शनार्थको
गरिमामय स्याङ्जाली, साहित्यिक समाजको ।
आदरार्थी सबै माझ, सम्बोधन म गर्दछु ।
पुरस्कारै–पुरस्कार, नियात्रा पनि कोर्दछु ।
हो मलाई लाग्दछ, स्याङ्जा जिल्ला पनि मेरो आफ्नै माइती जिल्ला हो । स्याङ्जा र पर्वत एक आपसमा जोडिएका जिल्ला हुन् । मलाई सम्झना छ बि.सं. २०२७/२८ सालसम्म वर्तमानमा पर्वत जिल्लामा रहेको, ग्यादी भन्ने सुन्दर ठाउँ स्याङ्जा जिल्ला अन्तरगत रहेको थियो । यही समय देखि ग्यादीलाई स्याङ्जाबाट कटाएर पर्वतमा गाभिएको हो । स्याङ्जा जिल्लासित म सानै छँदा देखि नाता कायम भएको हो । स्याङ्जाको टीकाज भन्ने ठाउँमा मेरो सानी आमा (आमाको बहिनी) को घर छ । लप्सीबोट भन्ने ठाउँमा मेरो फुपू हुनुहुन्थ्यो । मेरो धेरै दाजु–भाइ, दिदी–बहिनीको वैवाहिक सम्बन्ध पनि छ यो जिल्लामा । यी सबै नाता र सम्बन्धभन्दा पनि मेरो भावनात्मक साहित्यिक सम्बन्ध आजीवन अविष्मरणीय भएर रहेको छ, यो जिल्लासँग । यसरी जीवनको बालककाल देखिनै यो पवित्र प्राकृतिक भूमि स्याङ्जासितको मेरो सम्बन्ध अँझै गहन बन्दै गइरहेको छ ।
ओ, १ हो १ मैले कतै प्रसड्डलाई त भुलेकी छैन । ठीकै छ अब मुख्य विषय बस्तु तर्फ फर्कने अनुमति माग्छु । यो प्राकृतिक पूण्य भूमि स्याङ्जाले मलाई चिन्दछ । म पनि भुल्न सक्दिन र नभुल्ने प्रण गर्दछु । पोखरा, बाग्लुङ राजमार्ग नखुल्दासम्म पर्वतको कार्किनेटा तिरबाट ओर्लेर आँधीखोलाको चीसो पानी अञ्जुलीले उवाँएर पिउँदै र चौपारी पिच्छे थकाई मेट्दै सेती दोभान भएर नाउँडाँडा निस्की पोखारासम्म आई–जाई गर्ने गरेका कुराहरू औलामा गनेर सकिन्न । “आफू भलो त जगत भलो” भन्ने उखान स्याङ्जा जिल्ला र मेरो सम्बन्धले चरितार्थ तुल्याएको मलाई महसुस भएको छ । पर्वत जिल्लाको फलेवास खानी गाउँमा अवस्थित श्रीभवानी विद्यापीठ उ.मा.वि. (हाल)मा २५ वर्ष सेवा गर्दाको अवधी (२०५८)सम्म प्राय: वर्षको थोरैमा एक पटक म स्याङ्जासित भेट हुन्थेँ ।
समयलाई होइन समयले मानिसलाई अगुवाई गर्दो रहेछ । जब म वि.सं. २०५८ सालमा शिक्षक जागीरबाट अवकास प्राप्त गरे । त्यसपश्चात् मेरो बसाइ नवलपरासीको प्रगतिनगरमा हुन थाल्यो । छोड्नै मन नलागेको मेरो गृह जिल्ला पर्वतलाई छोडेर म नवलपरासीको प्रगतिनगर वाड नं. ३ बुद्धपथमा बस्दै आएकी छु । साहित्य पढ्न र लेख्न पनि अभिरुचि राख्ने म “भेडा भेडा सित, बाख्रा बाख्रासित” भने झैं समयले साथ दिएसम्म साहित्यिक कार्यक्रमहरूमा पुग्ने गर्छु । यही स्वभावले स्याङ्जा जिल्लाका आदरणीय अग्रज साहित्यिक व्यक्तित्व विश्वप्रेम अधिकारीज्यू (अध्यक्ष स्याङ्जा साहित्य प्रतिष्ठान), देवीप्रसाद वनवासीज्यू, (संस्थापक अध्यक्ष, तीलाकुमारी साहित्य प्रतिष्ठान स्याङ्जा) युवा कवि तथा गजलकार मिलन समीरज्यू (सदस्य सचिव तीलाकुमारी साहित्य प्रतिष्ठान) हरूसँग चितवन, रुपन्देही र नवलपरासीमा बेला बखतमा हुने साहित्यिक कार्यक्रममा भेटहुने अवसर जुटिरहन्थ्यो । मैले वहाहरूलाई हेर्ने नजर ज्यादै फराकिला बन्दै गएका थिए । भन्नु नै पर्दा मैले वहाँहरूलाई मेरा सहोदर दाजुभाइ सरहनै हेर्ने गर्छु ।
वि.सं. २०६८ साल फागुन महिनाको कुनै शुभ बिहानी थियो । मेरो मोबाइलमा घण्टी बज्यो, मैले हेलो गरे । आदरणीय व्यक्तित्व विश्वप्रेमज्यूको फोन रहेछ । अभिवादन आदान– प्रदान भयो । त्यसपछि उहाँको अभिब्यक्ति यसरी प्रष्टियो – “कृष्णाजी यो वर्षको कालीगण्डकी साहित्य कला पुरस्कार स्याङ्जा साहित्य प्रतिष्ठानले तपाईलाई (छन्दमा कलम चलाउने हुनाले) दिने निर्णय गरेको छ । फागुन १३ गते कार्यक्रम हुने भएकोले १२ गते साँझ जसरी पनि स्याङ्जा आईपुग्नु होला । निमन्त्रणा गरे ।” अध्यक्षज्यूको यो सारगर्वित अभिब्यक्तिले मलाई भावविह्वल बनायो । म स्तब्ध भएँ । म हर्ष बिभोर भएँ । मलाई लाग्यो साहित्यिक क्षेत्रमा पनि म पुरस्कार लिन योग्य भएछु । कारण म शिक्षा क्षेत्रमा मात्र पुरस्कृत भएकी थिएँ । साहित्य क्षेत्रमा मैले प्राप्त गरेको यो पहिलो पुरस्कार थियो । अनि फगुन १२ गते (२०६८) कवयित्री राधा पाण्डे, गजलकार बिष्णु तिवारी उषा र म स्याङ्जाको लागि दिनको ठिक ११ बजे नारायणगढबाट बस चढ्यौँ । बाटोमा मीठा–मीठा गफमा गफिदै र गजलका शेरहरूसित रमाउँदै साँझ – ६ बजे स्याङ्जा पुगेका थियौँ ।
भोलिपल्ट फागुन १३ गते (२०६८) लक्ष्मीस्मृति पुस्तकालयहल (स्याङ्जा)मा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो । गंगा पौडेल (स्याङ्जा, हाल काठमाण्डौ), हरिदेवी कोइराला (कास्की), ज्ञानु पाण्डे (चितवन) र म कृष्णदेवी शर्मा (श्रेष्ठ) (पर्वत, हाल नवलपरासी)लाई क्रमश: बालसाहित्य, संगीत, समालोचना र शास्रीय छन्द समेटेर काली गण्डकी साहित्य कला पुरस्कार वितरण गरिएको थियो । यही समारोहमा युवा कवि मिलन समीरज्यूलाई सम्मान प्रदान गरिएको थियो । प्रमुख अतिथि वरिष्ट साहित्यकार हरि अधिकारीज्यूको प्रमुख आतिथ्यतामा वरिष्ट व्यक्तित्वद्वय देवीप्रसाद वनवासी र विश्वप्रेम अधिकारीज्यूबाट हामीले पुरस्कार ग्रहण गरेका थियौँ । अत्यन्तै सौहाद्रतापूर्ण वातावरणमा कार्यक्रमको समापन भएको थियो । त्यसपछि स्वादिष्ट खाजा खाएर हामी तीन महिला भाइ मिलन समीरका साथ लागि वहाँकै घर तीन दो बाटे–७, करादीमा पुगेर ज्यादै मिठो खाना खाई त्यो रात त्यही विश्राम लिएका थियौँ । रातिको ११ बजेसम्म भावपूर्ण गजलका शेरहरूसित रमाउँदै सदाको लागि सम्झना छोडेका थियौँ र धेरै सम्झना लिएर पनि फर्केका थियौँ । भोलिपल्ट बिहान सात बजेतिर चिया नाश्ता गरी डुम्रेको बाटो हुँदै बुटवल तर्फ लागेका थियौँ ।
त्यो महत्वपूर्ण यात्राको सम्झना थोरै पनि न ओइलाएकै बेला फेरि वि.सं. २०७० साल माघ तीन गते बेलुका आठ बजेतिर मेरो मोवाईलमा घण्टी बज्यो । फोन उठाए, मिष्ठभाषी मिलन समीर भाइको फोन रहेछ । उहाँको अभिब्यक्ति यसरी थियो – “ दिदी एउटा खबर भन्छु भनेर, यो वर्षको तीलाकुमारी साहित्य पुरस्कार २०७० “तीलाकुमारी साहित्य प्रतिष्ठानले तपाईंको “क्रान्तिकारी विश्वेश्वर महाकाव्य”लाई दिने निर्णय गरेको छ । त्यसैले यही माघ ११ गते (२०७०) यहाँको उपस्थितिको लागि आमन्त्रण गरेको छु ।” मैले भने– “धन्यवाद भाइ भैहाल्छ नि।” मलाई याद आयो वि.सं. २०६८ सालको फागुन १३ गते । म हर्ष विभोर भएँ, स्याङ्जाको गरिमामय साहित्यिक माहोलमा फेरिपनि रम्न पाइने भयो भनेर । स्याङ्जाली दाजु–भाइ दिदी–बहिनीहरूसंगको साहित्यिक सम्बन्ध फेरि ताजा हुने भयो भन्ने लाग्यो ।
अनि वि.सं. २०७० माघ १० गते दिनको ठिक ११ बजेको समयमा साहित्यकार सदानन्द अभागी, समीक्षक भगवती अर्याल पाण्डे र म हाम्रो घर प्रगतिनगर–३ बुद्धपथमा खाना खाएर स्याङ्जाको लागि बस चढ्यौँ । बाटोमा साहित्यिक चर्चा र परिचर्चा गर्दै ठिक ४:३० बजे हामी पोखराको पृथ्वीचोकमा बसबाट उत्रिएका थियौँ । सदानन्दजी पोखरा मै रहनुभयो । भगवतीजी र म माइक्रोबस चढेर स्याङ्जा तर्फ लाग्यौँ । ६:३० बजे हामी स्याङ्जा बजार पुग्दा विश्वप्रेमजी सम्भू अर्यालजी र मिलन समिरजीले हामीलाई पर्खेर बस्नुभएको थियो । अत्यन्तै रमाइलो भेटपछि हामी होटल तर्फ लाग्यौँ । शेरचन गेष्टहाउसको १०६ नं. कोठा हाम्रो लागि रिजर्भ थियो । त्यही गेष्ट हाउसमा स्वादिष्ट खाना खाएर भोलिको तयारी गरी करिब ११ बजे मात्र हामीले आराम गरेका थियौँ ।
माघ ११ गते बिहान ५:३० बजे नै आँखा खुलेका थिए । हामीले केठाका बन्द झ्याल खोलेर स्याङ्जालाई चियायौँ । हुस्सुले कोरेका प्राकृतिक चित्रहरू ज्यादै आकर्षक देखिएका थिए । हुस्सुको बीचबाट देखिने पुतलीखेत, बजार र स्याङ्जाको स्थानीय वातावरणको रुपरड्ड ज्यादै मनमोहक थियो । कतै रड्डिन अग्ला–अग्ला महलहरू देखिन्थे, भने कतै कुहिरोले बनाएको सेतो पर्दाले स्याङ्जा बजारलाई लुकाउन खोजेको भान हुन्थ्यो । यो दृश्य मलमलको पर्दा लगाएको जस्तो अभिव्यक्त गर्नै गाह्रो थियो । लगभग ८ बजेतिर भने झलमल्ल घाम लागेको थियो । उज्यालो स्याङ्जा बजार कति परिचित कति अपरिचित अनुहारहरूको दर्शन मन हर्षले फुलेल भयो ।
हामीले चिया पियौँ, कोठामा मगाएर । केही लेख्ने पढ्ने कार्य गर्दै–गर्दा घडीले नौ अंकलाई भेटाएछ । मिलन समीरजीको फोन आयो । “हामी आउँदै छौँ । तपाँइहरू खाना खाएर तयारी अवस्थामा रहनुहोला ” भन्ने भाव थियो । त्यसपछि छिटो–छिटो हामीले पोशाक बदल्यौँ । खाना खान तल झर्यौ । हामीले देवीप्रसाद वनवासीज्यूलाई भेटेर अभिवादन टक््रयायौँ । अनि हामी खाना–खान थाल्यौँ । शेरचन गेष्टहाउसको स्वादिष्ट भोजन ग्रहण गरेपश्चात् हामी कार्यक्रम स्थल “त्रिभुवन आदर्श क्याम्पस” तर्फ अगाडि बढेका थियौँ । बाटोमा साहित्यिक व्यक्तित्व थपिदै गए पछि ज्यादै रमाइलो गर्दै क्याम्पसको प्रेक्ष्यालयमा छिर्यौ ।
“तीलाकुमारी साहित्य पुरस्कार २०७० समर्पण तथा रचना बाचन कार्यक्रम” ठिक ११ बजेबाट सुरु भएको थियो । विश्वप्रेम अधिकारीज्यूको गरिमामय सभापतित्वमा संचालन भैरहेको यो कार्यक्रममा साहित्यकार केदारशर्मा ढकालज्यूले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो भने संस्थापक सदस्य सचिव मिलन समीरज्यूको उद्घोषण कलाले यो कार्यक्रम ओजपूर्ण बनेको थियो । स्व. साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको शतवार्षिकी, शहीदहरूको सम्झना र स्व. आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीको सन्दर्भलाई समेत जोडेर मनाउन लागिएको यो साहित्यिक कार्यक्रममा कवि लेखनाथ काफ्लेज्यूले स्वागत मन्तब्य राख्नुभएको थियो । स्व. तीलाकुमारी, स्व. विश्वेश्वरप्रसाद कोइराला, भानुभक्त आचार्य लगायत सम्पूर्ण शहीदहरूलाई स्मरण गर्दै एक मिनट मौनधारण गरिएको थियो । पुरस्कार प्राप्त गर्ने कृष्णदेवी शर्मा श्रेष्ठका बारेमा समीक्षक भगवती पाण्डेज्यूले प्रकाश पार्नुभएको थियो । सो गरिमामय साहित्यिक कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारी, भगवती अर्याल पाण्डे, रामगिरी, त्रीभुवन अर्याल र केदारशर्मा ढकालज्यूहरू सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो ।
राजेन्द्र श्रेष्ठ, सम्भु अर्याल, रुरु रेग्मी विनु सुबेदी, चिन्तु गिरी, अर्जुन शाह, सोमनाथ लम्साल, संगीता ढुड्डेल, त्रिभुवन अर्याल, मिलन समीर, बावुराम शर्मा, श्रीप्रसाद जि.टी. र मदन पाण्डे लगायतका थुप्रै स्रष्टाहरूले देश दुखेका, मन दुखेका र शहीदहरू नराज भएका जस्ता अभिव्यक्ति समेटिएका, अत्यन्तै मार्मिक, श्रोताका मन छुने गजल कविता र मुक्तकहरू वाचन गर्नुभएको थियो । यो गरिमामय कार्यक्रम ठिक ४ बजे समापन भएको थियो ।
कार्यक्रम समाप्त भएको आधा घण्टापश्चात यो साहित्यिक नातालाई कहिल्यै नभुल्ने प्रण गर्दै भगवती अर्याल र म बिदा हुनै परेको थियो । साँझको ६ बजे माइक्रोबसबाट हामी पोखरा पृथ्वीचोकमा उत्रेका थियौँ । लगभग एक घण्टा पोखरामा आफन्तहरूका साथ भलाकुसारी गरेर करिव ७ बजे नेपालगञ्जको बसमा चढी हामी मुग्लिनतर्फ अगाडि बढेका थियौँ । रामनगरमा ११ बजे खाना खाएर हाम्रो बस नारायणगढ हुँदै नवलपरासीको प्रगतिनगरमा १२ बजे राति आइपुगेको हो । यसरी प्रतिनगर देखी स्याङ्जासम्मको हाम्रो साहित्यिक यात्रा तय भएको थियो । अन्त्यमा दुई श्लोक कविता:–
छिमेकी माइती मेरो, स्याङ्जा भूभाग सुन्दर
त्यसैले दिलमा राख्छु, मोह जाग्छ निरन्तर ।
पाएँ सौहार्दता साथ, कोसेली अञ्जुली भरी
धर्तीमा रहँदा सम्म, बिर्सन्छु र म के गरी ।
हवस् त धन्यवाद ।
कृष्णादेवी शर्मा (श्रेष्ठ)
अध्यक्ष
विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समिति
लुम्बिनी अञ्चल, नवलपरासी, प्रगतिनगर–३, बुद्धपथ
मो. ९८४७०५९७१२
