Skip to content

पुरस्कार र सम्मान त्यस्तो व्यक्तिले पाउनु पर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस्


दण्ड र पुरस्कारका बारेमा सानैदेखि एउटा कुरा पढ्दै सुन्दै आएको थिए । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई डण्ड । पुरस्कारको थालनीको इतिहास खोज्दै गयौं भने हामी ग्रिसको एथेन्ससम्म आईपुग्छौं । राम्रो गर्नेलाई पुरस्कृत गरेर हौंसला बढाउदै सम्मान गर्ने संस्कृति एथेन्सबाटै शुरु भएको थियो । यो परम्परालाई विश्वका सबै राष्ट्रले मान्दै आएको छ । त्यसपछि आउछ साहित्यको पुरस्कार । साहित्यमा नोबेल पुरस्कार १९०१ देखि शुरु भएको थियो भने अमेरिकन लिटरेरी एशोसिएसनले १९२२ देखि बाल साहित्यमा पुरस्कार दिने परम्परा बसाल्यो । मेन बुकर साहित्य पुरस्कार १९६९ देखि दिन थाल्यो नयाँ नयाँ पुरस्कारहरू अस्तित्वमा आउदै गयो ।

नेपालमा साहित्यिक पुरस्कारको थालनी १९५६ देखि मदन पुरस्काबाट भएको मानिन्छ । भारतीय नेपाली साहित्यकारलाई दिइने साहित्य अकादमी पुरस्कार १९७७ देखि शुरु भएको थियो । त्यसपछि प्रज्ञा पुरस्कार, साझा पुरस्कार हुँदै ८० को दशकदेखि विभिन्न नाममा पुरस्कारहरू स्थापना हुँदै गएको र आजको मितिसम्म आईपुग्दा सय–दुइसय डलर राखेर भए पनि आफन्तजनको नाममा पुरस्कार स्थापना हुँदै गइरहेको छ ।

१९५६ ९विसं २०१३० देखि मदन पुरस्काबाट शुरु भएको साहित्यिक पुरस्कारले निरन्तरता ९दुईपटक बाहेक० पाउदै आएको छ र यसैलाई नेपाली साहित्यमा गरिमामय पुरस्कार पनि मानिन्छ । आजको मितिमा धेरैनै मदनहरू जन्मेर साहित्यिक पुरस्कार स्थापना गरेर लेखकलाई लेखनकार्यमा प्रोत्साहित गर्दै नेपाली साहित्यको अभिवृद्धिमा टेवा पुर्याउदै आएका छन् । साहित्यिक पुरस्कार स्थापनाका लागि मदनहरू नेपालबाहिर पनि जन्मन थालेका छन् र वर्षेनी पुरस्कार बाड्दै गएका पनि छन् । नेपालमा र नेपालबाहिर नेपाली साहित्यका लागि दिइने पुरस्कारको फेहरिस्त बनाउन थाल्यौं भने लामै नामहरू संकलन गर्न सकिन्छ । तर ती पुरस्कार स्थापना गर्नेहरूसँग यसको निरन्तरताको भने ग्यारन्टिरहेको हुँदैन । न त पुरस्कारका लागि मूल्याङ्कन गरेर घोषणा गरी दिने जिम्मा लिएका संघसंस्थाहरूसँग नै यसको ग्यारेन्टिरहने गर्दछ न त दाताले नै कहिलेसम्म दिने वा दाताको शेषपछि कस्ले दिनेमा नै कुनै मञ्जुरीनामा बनाइएको हुन्छ । यस्ता धेरैनै उदाहरणनहरू देखापरेका छन् जुन शुरु भएर बीचमै हराएका छन् । उदाहरणका लागि गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरू डा. उपेन्द्र महतो र जीवा लामिछानेले अनेसास संरक्षणमा फुलकुमारी महतो र खेमलाल हरीकला लामिछानेको नामबाट डायस्पोरा पुरस्कार त्यस्तै नृपध्वज कार्की डायस्पोरा पुरस्कार, एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तरअमेरिको संरक्षणमा हेम सरिता पाठक प्रतिष्ठानले राखेको कवितामा हजार डलरको पुरस्कार आदि उल्लेखनीय छन् । यस्ता पुरस्कारका दाताले संस्थासँग रीस उठेको खण्डमा वा संस्थासँग कुरा नमिलेको खण्डमा अथवा भनौं संस्थाका कुनै व्यक्ति वा संस्थाको नीतिसँग असन्तुष्ट भएको खण्डमा आफूले दिएको पुरस्कारको रकम दिन बन्द गरी दिन्छन् र अर्को संस्था वा आफ्नै संस्था खोलेर पुरस्कार बाँडेर आफ्नो नामको प्रचार गर्न थाल्छन् । नाम कमाउनलाई पुरस्कार राख्ने र पछि कुनै व्यक्तिसँग चित्त बुझेन भनेर झिक्ने परम्परा विकसित हुँदै गइरहेको छ । रीस व्यक्तिसँग सजाय संस्थाले भोक्नु पर्ने हुन्छ । यदि यसरी झिक्ने मनस्थिति छ भने किन दिने । यसरी पुरस्कारको गरिमामा नै आँच आउने काम गर्नु कतिको युक्तीसंगत हो भन्ने कुरा यस्ता दाताहरूले आफै बुझ्नु पर्ने हो । अँझ अक्षय कोष स्थापना नगरेसम्म यस्ता पुरस्कारको घोषणा नगर्दा राम्रो हुन्थ्यो । यसका लागि पुरस्कार बाड्ने जिम्मा लिएका संस्थाहरू कालान्तरमा आफै जिम्मेवार भएर अन्य श्रोतबाट पुरस्कारलाई निरन्तरता दिन बाध्य भएका पनि हुन्छन् ।

व्यक्ति र संस्थाले मात्र नभएर आज संचार माध्यमले समेत सामाजिक संजालका माध्यमबाट पाठकको मतदान प्रकृयाद्वारा फेस बुकमा लायक गरेर पाँचजना साहित्यकारको नाम सार्वजनिक गरेको छ । अब यी पाँचजनाबाट लायक प्रकृयाबाट एकजनालाई वर्षको सर्वोश्रेष्ठ साहित्यकार घोषणा गर्दैछ । अब साहित्यकारको मूल्याङ्कन उनको लेखाईबाट र उनको प्रतीभावाट नभएर उनले बनाएका र जोडेका बन्धुबान्धुहरूको संख्याका आधारमा हुने भएको छ । अब साहित्यकारको मूल्याङ्कन गर्ने कसी चिनापर्चीका आधारमा वा मन परेको आधारमा हुन थाल्यो । यस्तोमा कनिष्ठले वरिष्ठ साहित्यकारलाई मात दिएर वर्षको सर्वश्रेष्ठ साहित्यकार घोषणा भए पनि यसलाई आश्चार्य मान्नु पर्दैन । यसलाई साहित्यकारको मूल्याङ्कन नठानेर पत्रिकाले आफ्नो व्यापार बढाउन गरेको विज्ञानात्मक प्रचारबाजी मात्र ठान्नु पर्दछ ।

केही यस्ता साहित्यिक संस्थाहरू पनि छन् जसले आफ्नो कार्य क्षेत्रबाहिर गएर पनि सम्मान गरेर सम्मानको नै अपमान गरी दिन्छन् । अँझ पुरस्कार र सम्मान भनेको व्यक्ति विशेषको साहित्यिक प्रतिभा, लेखन शैली, साहित्यमा पुर्याएको योगदान, विधागत वैशिष्टताका आधारमा मूल्याङ्कन गरेर उनलाई प्रोत्साहित गर्दै उनको कार्य दक्षताले निरन्तरता पाउदै जाओस भन्ने उदृेश्यका साथ गरिन्छ । तर अहिले पुरस्कार र सम्मान गर्ने परम्परामा नै विसङ्गति आएको छ । एउटा संस्थाले एक–दुई दिनको साहित्यिक कार्यक्रमको आयोजना गर्छ । त्यस कार्यलाई सहयोग गर्न एउटा समिति बनाउछ र पारिश्रमिकको नाममा ती संस्थामा पद ओगटेर बसेकै र विभिन्न समितिमा रहेकैलाई सम्मान गर्ने र पुरस्कृत गर्ने परम्परा शुरु भएको छ । आफैले आयोजना गरेको कार्यक्रममा आफै सम्मानित हुने परम्परा शुरु भएको छ । आफ्नै संस्थाबाट आफैले पुरस्कार लिने परम्परा शुरु भएको छ । अनेसासले वर्षेनी दर्जनका हिसाबले पुरस्कार बाड्ने गर्छ र साहित्यकार सम्मान गर्ने गर्छ । यसरीनै वर्षमा दुईतीनवटा कार्यक्रम राखेर दर्जनौं साहित्यकारलाई सम्मान र पुरस्कार बाड्न थाल्यो भने अबको दस वर्षमा त्यस संस्थाबाट सम्मान पाउने र पुरस्कृत हुने साहित्यकारहरू र पुरस्कृत भभएका पुस्तकहरू विरलै देख्न पाइएला । गत वर्षको सम्मेलनमा मात्र १६ वटा पुस्तकहरू एकै दिनमा पुरस्कृत भएका थिए । यो रोग अन्य संस्थामा पनि सर्दै गएको छ । यसरी बाडिने पुरस्कारबाट पुरस्कारको गरिमानै घट्दै गइरहेको छ । पुरस्कार त्यस्तो होस जसलाई पाएपछि पाउने व्यक्ति होइन त्यस्तो व्यक्तिले पुरस्कार पाउनु पर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस् ।

अनेसासको तेस्रो साहित्यिक सम्मेलनमा बिना हस्ताक्षरको पुरस्कारको प्रमाणपत्र बाडियो । त्यसको आधिकारिकतामाथि प्रश्न उठाउन मिल्छ कि मिल्दैन । पाउनेले बिना हस्ताक्षरको प्रमाणपत्र पाएर मख्ख हुन्छ भने यो साहित्यकारहरूमा देखापरेको दरिद्रता हो । एकजनालाई रिझाएर पुरस्कार पाउने र बिना हस्ताक्षरको प्रमाणपत्र लिएर मौन बस्नेलाई तपाई हामीले के भन्ने रु साहित्यमा पाउने पुरस्कारको गरिमा हामी कहाँ खोज्ने रु अँझ कतिपय संस्थाले त विभिन्न दाताहरूको नाममा रहेको नगद पुरस्कारको घोषणा गरेर पुरस्कार पाउनेसँग पहिल्यैनै मोलमलाई गरेर कार्यक्रमको आयोजना गर्दा खर्च लाग्ने भएकोले खर्च कटाएर पुरस्कारको रकम दिने वा खाली पुरस्कारको प्रमाणपत्रमात्र दिने गरेको पनि सुनिन्छ । अँझ सय–दुइसय डलरको पुरस्कार लिन नेपालबाट आफ्नै खर्चमा कुनै साहित्यकार अमेरिका आउछ भने त्यसलाई तपाईहामीले के भन्ने । किनभने आयोजकले टिकट खर्च कसैलाई दिदैन ।

विभिन्न व्यापारिक संस्थाहरूले साहित्यको नाममा राखेको पुरस्कारले नेपालमा त्यति उल्लेखनीय भूमिका खेल्न नसके पनि भारतको एउटा पुरस्कारले भने विश्वको नै ध्यानाकर्षण गरी दिएको छ । तीन वर्षअगाडिमात्र सन् २०११ भारतको व्यापारिक समूह डिएससी ग्रुपले स्थापना गरेको पचास हजार डलरको डिएससी पुरस्कार आजको मितिमा छोटो समयमा नै दोस्रो नोबल पुरस्कार बन्न पुगेको छ । डिएससी ग्रुपले अंग्रेजी भाषामा लेखिएका वा अनुवाद गरिएको र दक्षिण एशियाका बारेमा लेखिएका आख्यान साहित्य ९उपन्यास०लाई पचास हजार डलरको डिएससी पुरस्कार प्रदान गर्दै आएको छ । दुई लाख राशीको मदन पुरस्कारका लागि प्रतिष्पर्धा गर्दै आएका नेपाली लेखकलाई अब चार करोड सन्तानब्बे लाख नेपाली रुपियाका लागि साहित्य लेखेर प्रतिष्पर्धा गर्न सक्नु पर्ने अवस्थामा पुर्याई दिएको छ । नेपाली साहित्यमा विश्वसाहित्यसँग प्रतिष्पर्धा गर्न सक्ने साहित्य नभएको हैन । तर त्यसलाई विश्वले पढ्न सक्ने भाषामा अनुवाद गर्ने प्रकृयाको विकास भएको छैन । यस्तो प्रकृयाको विकास गर्नु जरुरी छ । त्यसो भएमा मात्र नेपाली साहित्य विश्वव्यापीकरणको मान्यतामा आउन सक्छ । डिएससी पुरस्कारका लागि अहिलेसम्म नेपालबाट कुनै पनि कृतिले उपस्थिति समेत जनाउन सकेको छैन । तर सही ढंगबाट हामी प्रयासरत् रह्यौ भने भोलिका दिनमा यो असम्भव पनि हुन सक्दैन । यही पुरस्कारले भारतको गुलाबी शहर भनेर चिनिने जयपुर विश्वका प्रख्यात साहित्यकारहरूको साहित्यिक तिर्थ बनेको छ । अन्तराष्ट्रिय पुरस्कारबाट शुषोभित भएका साहित्यकारहरू आफ्ना अनुभव सुनाउन आउछन् । विश्वप्रसिद्ध साहित्यकार, कलाकार, चित्रकार, राजनीतिज्ञ, कुटनीतिज्ञ, चलचित्रकर्मी, संगीतकर्मीहरूको अनुभव र अभिव्यक्ति सुन्न टाढाटाढाबाट कलासाहित्यानुरागीहरू आउने गर्दछन् । यहाँ साहित्य, संगीत र सिनेमाको त्रिकोणात्मक संगम हुने गर्दछ ।

नेपाली साहित्यकारको प्रतिनीधित्व गर्दै विगत तीन वर्षदेखि सहभागिता हुँदै आएकी नेपाली मूलकी क्यानेडियन साहित्यकार मञ्जुश्री थापाले यस महोत्सवलाई नेपाली लेखकको लेखनमा परिवर्तन ल्याउन सक्ने माध्यमका रुपमा लिएकी छिन् । उनका अनुसार नेपाली साहित्यमा प्रकाशकको अभावमा लेखक आफै प्रकाशन बनेर आफ्नै खर्चमा कृति प्रकाशन गर्ने र अरुका कृति नपढ्ने प्रवृति बढ्दै गएकोले साहित्यको स्तर कम हुँदै गएको हो ।

नेपाली साहित्यलाई माया गर्ने संस्थाहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यो प्रशंसनीय कार्य गर्नेहरूलाई धन्यवाद जति दिए पनि कमै हुन्छ । काठमाडौंमा हुने एनसिएलको साहित्यक सम्मेलनले नेपाली साहित्यमा एउटा नयाँ सोँच जन्माउदै गएको छ भने गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि शुरु गरेको नेपाली साहित्यको विश्वव्यापीकरणबारेको सम्मेलनले नेपालबाहिरका नेपाली साहित्यकर्मीहरूको सही मूल्याङ्कन हुने विश्वास लिन सकिन्छ । त्यस्तै गत वर्षदेखि नै विश्व नेपाली साहित्य महासंघले पनि काठमाडौंमा शुरु गरेको विश्व साहित्य सम्मेलनले नेपाली साहित्यलाई विश्वसामु परिचय गराउने कार्यमा सहयोग पुर्याउने विश्वास लिन सकिन्छ । नई प्रकाशनले पनि विश्व नेपाली साहित्य सम्मेलनको सफलत म आयोजनापछि विश्व नेपाली नारी साहित्य सम्मेलनको संघारमा पुगेको छ । अनेसासले गर्दै आएको अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनले तीनवटा खुड्किला पार गरिसकेको छ । एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले पनि २०१० देखि निरन्तर साहित्य सम्मेलनलाई प्राथमिकताका साथ आयोजना गर्दै आएको छ । यी संस्थाहरूले साहित्यकारहरूलाई सम्मान गर्ने परम्परामा प्रतिष्पर्धा गर्नुभन्दा सही व्यक्तिको सही तरीकाबाट चयन गर्नु आवश्यक पर्दछ । पहिलोपटक विश्व नेपाली साहित्य महासंघले नेपाली साहित्यकारहरूको सम्मानका लागि बनाइएको चयन समितिमा भारतको बिएचयु विश्वविद्यालयका नेपाली विभाग र भारतीय भाषा विभागका प्रमुखबाट लिएर भारतीय साहित्य अकादमी, नेपाली साहित्यका प्राध्यापकसँगै वर्मा, भियतनाम, भुटान र गैरआवासीय नेपाली संघका प्रतिनीधि “साहित्य” राखेर विभिन्न क्षेत्र र विधाका चारजनाको नाम घोषणा गरेको थियो । तर माथि भनिए झै यहाँ यस्ता संस्थाहरू पनि छन् जसले आफ्नै संस्थाका तीनजना चयन समितिमा राखेर आलोपालो संस्थाकै नयाँ पुराना सदस्यसहित दर्जनका हिसाबले सम्मान र पुरस्कार घोषणा गर्ने गर्दछन् । अतः त्यस्तो व्यक्तिले पुरस्कार पाउनु पर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस् र पुरस्कारको पनि गरिमा बढोस ।

डा. गोबिन्दसिंह रावत, टोरोन्टो

Leave a Reply

Your email address will not be published. Required fields are marked *