Skip to content

भानुभक्तीय रामायाण सरसर्ती पढ्दा


(आदिकवि भानुभक्तको द्विशतबार्षिकी अवसरमा, लेखिएको लेख)

आदि कवि भानुभक्त आचार्यको छोटो परिचय–

वि.सं १८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा चूँदी रम्घामा भानुभक्त आचार्यको जन्म भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यका पुत्र भएकाले उनको अध्ययनको थालनी आफ्नै घरमा आफ्नै बाजेबाट भएको थियो । उनका बाजे जब काशीबास जानु भयो, भानुभक्त पनि बाजेको साथमा काशी गएका थिए । यस अवसरमा ५/६ वर्ष भानुभक्त बनारसमा बस्ने अवसर पाए र त्यहाँ उनको अध्ययन राम्रो भयो । उनको साहित्यतिर र धर्मतिरको प्रभाव पनि उनकै बाजे श्रीकृष्ण आचार्यको परेको थियो । मोतीराम भट्टले भनुभक्तलार्ई १९४८मा आदिकविको रूपमा लेख्नुभयो तर १९९७ सालमा युद्धशमशेरले यसलार्ई मान्यता दिए पछि भानुभक्त आदिकविको रूपमा प्रचलित हुनुभये। भानुभक्तका कृतिहरू– एकदेव उपाध्यायले यस रामायणमा आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनीमा प्रकाश पार्नु भए बमोजिम उनको प्रथम पद्य आफ्नै जन्मपत्रिकाको बर्ण भएको शिखरिणी चन्द्रमा बनाइएको दश हरफ नै हुन भन्ने छ । उनले १८९८ सालसम्ममा बालकाण्ड रामायण तयार पारेका थिए भनिन्छ । उनका बाबु पाल्पा मालमा खर्दार थिए । खर्दार पदमा रहँदा हिसाब कितावमा फरक परेकोले बाबुको मृत्यु पछि भानुभक्तलार्ई १९०६ सालतिर हिसाव फस्र्योट गर्ने अड्डाले समात्यो र ५ महिनासम्म नजरबन्दमा राख्यो । तर नरेन्द्रराज प्रसाईद्वारा लेखेको एक लेखमा (कैलाश राष्ट्रिय साहित्यिक विविध पत्रिका –२०७०को पृष्ठ ६३मा) भानुभक्तले ३७वर्षको उमेरमा सरकारी जागिर पाएको र हाकिमले दुई वर्षमा नै जागिर खोसेको, रकम हिनामिनाको अभियोगमा कुमारी चोकमा थुनेको भनिएको छ । यस अवसरमा उनले रामायणका अयोध्या अरण्य, किष्किन्धा र सुन्दर काण्डको रचना गरेका थिए । नजरबन्दबाट निस्केपछि उनले युद्धकाण्ड र उत्तर काण्ड लेखेका थिए । यसरी उनले १९१०सालतिर सम्पूर्ण रामायणको रचना गरिसकेका थिए । उनका कृतिहरूमा रामायण, बधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरी, रामगीताको साथै केही फुटकर कविताहरू पनि हामीले अध्ययन गर्न पाएका छौं, जो अति गहन भावनामा र सरल भाषामा लेखिएका छन् । नेपाल राज्यको एकिकरण पृथ्वीनारायण शाहले गरेका थिए र सन् १७६८मा नेपाल खाल्टोभित्रका देशहरू जितेर पृथ्वी नारायण शाहले नेपाली भाषालार्ई सरकारी कामकाजको भाषामा प्रयोगमा ल्याए भने नेपाली समाजलार्ई भाषागत रूपमा एकबद्ध गर्ने काम भानुभक्त आचार्यले गरेका थिए । भानुभक्तभन्दा अघि पनि केही कविहरूले नेपाली भाषामा लेख्ने काम गरेका थिए तर अध्यायात्मक रामायण (सम्पूर्ण राम कथा) प्रदान गर्ने काम भने भानुभक्तबाटै भएको थियो । आज भानुभक्तलार्ई आदिकवि भनेकोमा पनि चर्चा उपचर्चा उठेका छन् तापनि भानुभक्तले आफ्नो कृतिलार्ई नेपालीमय बनाएकै हुन् र नेपालीको रगतको बूँद बूँदमा आफ्नो भावनालार्ई घोलेकै हुन् । उनको यो सम्लग्नतालार्ई कसैले जे भने तापनि नेपाली मुटुको धड्कनबाट आदिकवि भानुभक्तलार्ई अलग्याउन सकिदैन । त्यसो हुँदा, नेपाली भाषामा भानुभक्तको योगदान ठूलो थियो र आज नेपाली भाषा समस्त नेपालीको जनजीव्रो भएको छ । जहाँ नेपाली पुगेका छन् त्यहाँसम्म यो भाषा मौलाउँदै गएको छ । अत यस्ता मुटुका धडकन वि.सं.१९२६ (नरेन्द्रराज प्रसाइको लेखाईमा १९२५) मा भौतिक शरीरलार्ई त्याग्दै हामीबाट भौतिक सम्पर्क हुनबाट सदाका लागि अलगिन पुगेका थिए ।

कृतिको सङक्षिप्त परिचय–जय नेपाल प्रकाशनले प्रकाशित, बाबू सोमनाथजीले सम्पादन गरेको संस्करण २०४६लार्ई मैले अध्ययन गर्ने मौका पाएँ । यस अङ्क/संस्करण २०४५ सालमा प्रकाशन भएको थियो । यसमा सात काण्ड रामायण र कवि शिखरनाथद्वारा लिखित पूराणबमोजिम शुद्ध रामस्वमेध–काण्डको कथा लेखिएको आठौं काण्ड छ । तर मैले यहाँ सातकाण्ड रामायणमात्रको सङ्क्षेपीकरण गरेको छु । यसको मूल्य भा रु ८०/– राखिएको छ ।

रामायण माहात्म्य

रामायणको सुरुवात महात्म्यबाट हुन्छ । पहिला दूई पङ्तिलार्ई यहाँ हेर्यौं–

एक दिन नारद सत्यलोक् पुगिगया लोक्को गरूँ हित भनी
ब्रह्मा ताहिं थिया पर्या चरणमा खूशी गराया पनि

यी शब्दद्वारा थालनी गरिएको रामायणमा ब्रह्मासँग नारदले कलि युगमा मान्छे दुराचारी, पापचारी, अरुको निन्दा गर्ने, परस्त्रीमा रत हुने, हिंसामा लाग्ने, देहलार्ई आत्मा मान्ने, नास्तिक, पशुवत समान, पत्नीलार्ई ईश्वर र मातापितालार्ई शत्रूवत व्यवहार गर्ने, ब्राह्मण भै वेद बेचिरहने, जातीय धर्म क्षेत्रीश्रयहरूमा नरहने, शुद्रहरूले ब्राह्मण सरिका काम गर्ने, यस्तो अवस्थाका मानिसलार्ई कसरी उद्धार गर्न सकियला भन्ने धारणा राख्दा ब्रह्माजीले रामायणको अध्ययनले सब पाप हरण गर्न सक्छ भन्ने जवाफ दिनु भयो । रामायाण्को अध्ययन र राम नवमीमा रामको नामलिएर उपवास गर्ने, तुलापुरुष दान गर्ने रामगीताको अध्ययन गर्दा पनि विष्णु पुरिमा पुग्ने धारणा राख्नुभयो ।

रामायण बालकाण्ड

कैलासमा शिवजीको काखमा वीराजमान पार्वतीले महादेवसँग आफ्ना धारणा राख्दै भन्नुभयो शीतालार्ई रावणले हर्यो, राममा ठूलो विपत आई पर्यो, ईश्वरमा शोक हुँदैन, अज्ञान हुँदैन तर राममा यस्तो देखियो, यो अवस्थामा रामलार्ई कसरी ईश्वर मान्ने ? पार्वतीका यस्ता बचन सुनेपछि शिवले पार्वतीसँग भन्नुहुन्छ– ‘मानवमा तत्त्वज्ञान नभएर रामलार्ई मानिस ठान्द छन् तर राम चौध भूवनका पति हुन् र भगवान हुन् ।’ रावणले गरेको कुकृत्यले गर्दा पृथ्वीलार्ई भार भयो । यसरी पृथ्वीलार्ई भार हुँदा, ब्रह्मादि देवताहरू क्षिरसमुद्रमा गएर विष्णुको आराधना गरे साथै मानिसबाट तँ मर्नेछस् भन्ने ब्रह्माको वरदान पाएकोले हजुर (विष्णु) ले मानिस अवतार लिएर रावणलार्ई मारेर हाम्रो उद्धार गर्नु होस् भन्ने देवताको आग्रहमा विष्णुले जनकपुरमा जनक राजाकी पुत्रीको रूपमा लक्ष्मीले जन्म लिनेछन् र स्वय म भगवान अयोध्यामा दशरथको पुत्रको रूपमा जन्म लिएर देवताको इच्छ्या पूर्ति गरिदिने कुरा देवतालार्ई बताएर विष्णु अन्तरध्यान हुनुभयो । यसरी देवतालार्ई भगवान विष्णुले भनेपछि ब्रह्माले इन्द्रादिदेवताहरूलार्ई, पृथ्वीमा गएर वानरको रूपमा जन्म लिन भन्नुभयो । रघुवंशमा प्रभूले जन्म लिएर विश्वामित्रलार्ई गुरुको रूपमा स्थापना गरेर, गौतम पत्नीको पापनाश गर्नुभयो । धनुलार्ई, भाँचेर, सीतालार्ई विवाह गर्नुभयो । वीर परशुरामको घमण्डलार्ई तोड्रनु भयो । अयोध्यामा बसी, १४वर्ष वनबासमा पसी, पृथ्वीको भार हरण गर्नुभयो । आत्मा र परमात्मालार्ई बुझ्दा मुक्ति मिल्ने कुरा जो शिवजीले पावर्तीलार्ई तत्वज्ञान बुझाउनु भएको थियो । हनुमानलार्ई पनि सीताले तत्त्वज्ञान दिदै भन्नुभएको थियो कि राम ब्रह्म हुन् र म शक्ति हूँ ।

रामको जन्म र बाललीला :– राजा दशरथका पुत्रहरू थिएनन् । बशिष्ठ ऋषिले दशरथ राजालार्ई शान्तका पति ऋष शृंग ऋषिलार्ई डाकेर एउटा यज्ञ गर्यो भने ४ भाइ छोरा जन्मने छन् भन्ने कुरा बताउनु भयो । दशरथ राजाले पनि बशिष्ठको कुरा बमोजीम अज्ञ गर्नुभयो । अग्निले पायसको थाली दशरथ राजालार्ई दिनु भयो । दशरथ राजाले त्यो पायसलार्ई कौसल्या र कैकयीलार्ई दिनु भयो । यसै बीचमा सुमित्रा आइपुगेर पायसको भागको खोजी गर्दा कौसल्या र कैकयीले पायस झिकेर दिए पछि तीनवटै रानी गर्भिणी भए । कौशल्याले रामको जन्म दिनु भयो र चतुभुजरूप प्रभूको दर्शन पनि पाउनु भयो । यसरी कैकेयीतिर भरत, सुमित्रातिर लक्ष्मण र शत्रुघ्न जुम्ल्यहा पुत्रले जन्म लिए । यी चारै भाइको नामाकरण बशिष्ठ ऋषिले गर्नुभयो । यी बालकको क्रियाकलाप पायसको वितरण अनुसार हुन थाल्यो । राम र लक्ष्मणको क्रियाकलाप एकातिर देखिन्थ्यो भने भरत र शत्रुघ्नको एकातिर ।

विश्वामित्रले राम लक्ष्मणलार्ई माग्नु:– एक दिन विश्वामित्र दशरथसँग राम र लक्ष्मणलार्ई माग्न आउनु भयो । मरिच र सुवाहुलार्ई मार्नको लागि लिएर जानु भयो । विश्वामित्रले लिएर जाँदा बाटोमा भोक तिर्खा नलाग्ने मन्त्र सिकाइ दिनु भयो । बाटोमा ताडकालार्ई छातीमातिर हानेर मारिदिनुभयो र तरीका आश्राममा गएर एक रात बिताउनु भयो । अर्को दिन सिद्ध आश्राममा गएर बस्नुभयो । यहाँ जब ऋषिहरूले होम गर्न थाल्दछन् । त्यतिवेला मरिच र सुवाहु आएर यज्ञ विधंश गर्न थाल्दा रामले मरिचलार्ई बाण हानेर जलाधिकतिरमा पुर्याई दिनुहुन्छ र सुवाहुलार्ई अग्निबाण हानेर जलार्ई दिनुहुन्छ । यसरी यी दुई राक्षसकलार्ई मारेपछि गौतमकी पत्नी अहिल्यालार्ई इन्द्रले गौतमको भेषमा आएर सतीत्व हरण गरिदिएका थिए । गौतमले यो कृत्य थाहा पाएर इन्द्रलार्ई शरीर भरी हजार योनी होउन् भन्ने श्राप दिएका थिए । अहिल्यालार्ई शिला भएर रहनु भन्ने श्राप दिनु भएको थियो । रामचन्द्रको पाऊ लागेपछि उद्धार हुने पनि भनिएकोले रामको कृपाबाट अहिल्याको उद्धार भयो ।

रामको जनकपुर यात्रा– राम, लक्ष्मण र विश्वामित्र जनकपुरको यात्रामा लाग्नुभयो । जनक राजाकी पुत्री सीतासँग विवाह गर्ने मानिसले शिवजीको धनुलार्ई उचाल्नु पर्ने सर्त राखिएको थियो । धनु उचाल्न कसैले सकेका थिएनन् । रामलार्ई त्यो धनु उचाल्न लगाइयो । ५००० जनाले धनुष बोकेर ल्याइदिए र रामले त्यो सहजै उचालेर ताँजो चढाउँदा भाँचिएर दुई टुक्रा भएर पृथ्वीमा खस्यो । यसरी रामको विवाह सीतासँग, लक्ष्मणको विवाह उर्मीला, शृतकीर्ति को विवाह भरतसँग भयो भने माण्डवीलार्ई शत्रुध्नले विवाह गरे । जनक राजाले पनि सयकोटी दौलत, रथहरू, घोडाहरू सय लाख, छ सय मस्त हात्ती, एक लाख पैदल लश्कर दिंदै सीतालार्ई सासू ससुरालार्ई सेवा गर्ने र पतिब्रता नारी भै रहने अर्तीदिंदै बिदाइ गरेका थिए । विवाह पछि अयोध्या जानको लागि जब फौज अघि बढ्छ, पर।सुराम आउँछन् र रामलार्ई ललकार्दछन् । भन्छन्– ‘पुरानु धनुषलार्ई त भाँचिस लौ यो धनुष उठा भनेपछि राम पनि क्रोधित हुँदै यो धनु खोसोर ताँजो चढाएर कहाँ हान्ने हो बाण भन यदि ठाउँ पाइन भने तेरा खुट्टा भाँची दिन्छुभन्दा परसुरामले आफ्नो तपस्या गर्दाका कुराहरू सम्झे र रामका शरणमा परे रामले पनि आशीर्वाद दिएर महेन्द्र गिरिमा पर्सुराम गए भने रामको विवाहका जन्तीहरू अयोध्यतिर लागे । यसरी रामायणको बालकाण्ड सकिन्छ ।

रामायणको अयोध्याकाण्ड :– राम सीता एकान्तमा भएको अवशर पारी, नारद आउनुहुन्छ । यता दशरथले रामको राज्य भिषकको तयारीमा लाग्नुहुन्छ । उता नारदजी आएर रामलार्ई राज्यलोभमा नफसी पृथ्वीको सारा भार निर्मूल पार्नुपर्ने कुराहरूको स्मरण गराउँनुहुन्छ । राम राज्य लोभमा नफसेर भोलिनै त्यस तर्फ लाग्ने कुरा नारदजीलार्ई बताउनुहुन्छ । नारदजीले रामलार्ई तीन फन्का लगाएर र्फकनुहुन्छ । वशिष्ठ ऋषिले सबै गुह्यकुरा जान्दा जान्दै पनि रामलार्ई राज्याभिषेकको तयारीमा लाग्न भन्नुहुन्छ । यो सबै चाल मन्थराले पाउँछिन् र कैकेयीलार्ई दशरथसँग बरमाग्नको लागि पेरित गर्दछिन् । कैकेयीले पनि अनेक वाहना गरेर दशरथसँग रामलार्ई १४ वर्ष वनबास र भरतलार्ई राजगद्दीको वरदान माग्दछिन् । दशरथले वरदान दिंदै आँफू मुर्छा पर्दछन् । कैकेयीले रामसँग पनि यी कुरा राख्दछिन् ।

रामको वन यात्रा :–कैकेयी जब वरमाग्न सफल भए पछि रामले वनजान आमा तथा घरपरिवारसँग बिदा लिएर वन प्रस्थान गर्र्न राम, सीता र लक्ष्मण दशरथसँग बिदा माग्न जान्छन् । कैकेयीले पुराना बस्त्र सहित बिदा गर्दछिन् । लक्ष्मण र सीतामात्र नभएर अयोध्याका सारा जनता पनि रामको पछि लाग्दछन् । यति वेला वामदेव बृषिले सबै प्रजाहरूलार्ई राम भगवान हुन्, सारा पृथ्वीको भार हरण गर्नको लागि वन जान लागेको हुँदा रामको पछि लाग्न हुँदैन भनी सम्झाएर घरतिर फर्काइ दिनुहुन्छ । वन प्रस्थानको पहिलो दिन रामको वृक्षको तल बास हुन्छ, दोस्रो दिन गंगा किनारमा सिंशापाको वृक्षतल बास हुन्छ । यतिवेला गुह्यजी फलफूल लिएर आउनुहुन्छ, रामले बरको जराबाट दुध निकालेर जटामा घसेर, मुकुटसरि वाँधेर, जलपान गरेर, कुशको शयनमा सुत्नुहुन्छ । लक्ष्मण र गुह्यले रखवारी गर्दै सुख दु:खका कुराहरूचल्द छन् । लक्ष्मणले मानिसले कर्मको फल चाख्नै पर्छ यदि यो नबुझेर कसैले दु:ख दिन्छ भनिन्छ भने त्यो कुबुद्धि हुन जान्छ । यसो गर्दा धर्मको पनि नाश हुन्छ भन्नुभयो –

धीरा भै रहनू विपत्ति सहनू कस्तै परून् तापनि
कैले मोहविषे नपर्नु जनले मिथ्या छ संसार भनी

उज्यालो भयो, गंगा तरेर, मृग मारेर पकवान बनाएर खाएर, त्यस रात रामको बास त्यही भयो । चौथो रातभरद्वाजको आश्रममा पुग्नुभयो । पाँचौ दिन ऋषिकुमार लिएर यमुना नदी तरी राम चित्रकुटतिर लाग्नुभयो । बाल्मीकि (पहिला यी व्यधा थिए, शप्त ऋषिको निर्मल कृपाले, रामनाम उल्टा जपेर ऋषि बन्न पुगेका थिए) का आश्रममा पुर्याइ ऋषि कुमार फर्कनु भयो । रामलार्ई बाल्मीकिले गंगाका र चित्रकुट पर्वतको बीचमा बस्न आग्रह गरे ।

दशरथको मृत्यु:– दशरथलार्ई ऋषिको सराप परेको थियो । यो ऋषिको सरापमा रामको वियोगमा दशरथको मृत्यु भयो । दशरथको मृत शरीर तेलमा राखी भरतजीलार्ई बोलाइयो । भरतले बाबुको मृत्युमा ठूलो दु:ख मान्नुभयो र कृयाकर्म गर्नुभयो । दशरथको मृत्यृको खबर बशिष्ट ऋषिले रामलार्ई दिनु भयो र रामले गंगा किनारमा गएर तिलाञ्जली दिएर पिण्डदान गर्नुभयो । भरत दु:खित हुँदै कृयाकर्म सकेर रामलार्ई फर्काउन वनमा गएर रामसँग फर्कन आग्रह गर्दै राम फर्कनु पर्छ नत्र म मृत्युवरण गर्दछु भन्न थालेपछि वशिष्ठ गुरले राम पृथ्वकिो भार हरण गर्नको लागि स्वय म भगवान मानवरूप लिएर यस पृथ्वीमा आएकोले रावणलार्ई मारेर मात्र अयोध्य फकर्ने भनी सम्झाए पछि भरतले एकजोर खराऊ लिएर अयोध्यातिर फर्केर राजकाज चलाउन थाल्नुहुन्छ । राम भने अत्रि मुनिको आश्रमतिर लाग्नुहुन्छ । अत्रि मुनिको आश्रममा राम पुगेपछि सीताले बृध्या अत्रिकी पत्नी अनुसुयालार्ई दर्शन दिनुहुन्छ । अनुसुयाले जोर जोर कुण्डल, सारी र अङ्गराग चढाएर सीतालार्ई आशिष् दिनु भयो । त्यहीं ऋषि दम्पतिले खानाको व्यवस्था गरे । यओध्याकाण्ड यही समाप्त हुन्छ ।

रामायण अरण्यकाण्ड

यहाँ रामचन्द्रले अत्रि ऋषिसँग जानको लागि बिदा माग्दै अगुवाको लागि ऋषिसँग आग्रह गर्नुहुन्छ । ऋषिले पनि केही टाढासम्म जाँदै शिष्यहरूलार्ई खटाए । एककोस हिडेपछि एउटा नदी तर्नु पर्ने थियो । त्यो नदी नाउबाट तरेर राम अघि सीता माझ र लक्ष्मण पछि लागेर घनघोर जङ्गलतिर प्रवेश गर्दा करिव छ कोस हिडेपछि एउटा सुन्दर तलाऊ देखियो । त्यो तलाऊमा पानी पिउन लाग्दा जो पहिला जन्ममा विद्याधर थियो श्रापले गर्दा राक्षस भएको थियोले हातहतियार र सीतालार्ई छाडेर जाने या लडाइँ गर्ने भनेपछि रामले त्यो राक्षसलार्ई राक्षस योनीबाट बध गरी विद्याधरको रूपमा स्वर्ग पठाई दिनु भयो । यसरी विद्याधरको उद्धार गरेपछि श्रीरामचन्द्र भगवान शरभङ्ग ऋषिकोमा गएर दर्शन दिनु भयो । श्रीरामचन्द्र भगवान शरभङ्ग ऋषिकोमा गए पछि शरभङ्गले रामको दर्शन गरी आफ्नो देह त्याग गरिदिए । यहाँ धेरै ऋृषिसँग रामको भेट हुन्छ । ऋषिहरूले पनि आफूलार्ई राक्षसले दिएको कष्टलार्ई भन्न थाले र बाटोमा हिड्दा रामले खप्परहरूरू पनि देख्नुभयो । केही वर्ष रामको बसाइ पनि यही ठाउँमा हुनगयो । यहाँ बस्दा श्रीरामले सुतीक्ष्णलार्ई दर्शन दिएर देह छुटेपछि मुक्ति मिल्ने छ भन्दै अगस्ति ऋषिलार्ई भेट्न जाँदा अग्निजिह्वा (अगस्तिका भाइ) लार्ई भेटेर एक रात त्यही बसी दोस्रो दिन अगस्तिजी कहाँ गएर भेट गर्नुभयो । अगस्तिजीले पनि रामलार्ई इन्द्रजीले लिएका सुन्दर तलबार, धनु, बाण र ठोक्रा रामलार्ई दिनु भयो । यसरी नै रामभक्त सुतीक्ष्णलार्ई रामले दर्शन दिनु, अघि बढदा बाटोमा बृद्ध जटायुसँग भेट हुनु, राक्षस ठानी मार्न तयार हुँदा जटायुले आफ्नो विन्तिभाव प्रकट गरेपछि नमारी पञ्चवटीमा राम पुग्नुभयो ।

पञ्चवटीमा गए पछि, रामलार्ई लक्ष्मणले कसलार्ई ज्ञान र कसलार्ई विज्ञान भनिन्छ भन्ने सोधनी गर्दा रामले भन्नुहुन्छ –

यै ज्ञान कहिन्छ सुन यही कहिन्छ विज्ञान
यो रित गरीकन बस्या हुँदि छुट्छ अज्ञान

रामले ज्ञानतत्त्वको लक्ष्मणजीलार्ई जानकारी गराउनुहुन्छ । यसै बखत शूर्पणखा आएर रामलार्ई पति भज्छु भन्न थाली । रामले सीता साथमा छिन् त्यसो हुँदा मलार्ई पति भज्नुभन्दा लक्ष्मणलार्ई पति भज्नको लागि जाऊ भनेपछि ऊ लक्ष्मणसँग जान्छे । लक्ष्मण रामको दास भएकोले लक्ष्मणलार्ई नभै रामलार्ई नै पति भज्नु राम्रो भनेपछि पुन: ऊ रिसाएर सीतालार्ई खान खोज्दा रामले भार हर्ने वीज रोपण गर्नको लागि लक्ष्मणलार्ई नाक कान काटी दिने आदेश दिनुहुन्छ र लक्ष्मणले नाक कान काटीदिनुहुन्छ । नाक कान काटिए पछि शूर्पणखा त्रिशिर, दूषण र खरकहाँ गएर यी सबै विस्तार गर्छे । रामले पनि अब लडाइँ हुन्छ भन्दै लक्ष्मणजीलार्ई सीतालार्ई लिएर गुफामा बस्ने आज्ञा दिनुहुन्छ र चौध हजार फौजसँग आफू लड्न तयारीमा बस्नुहुन्छ । शूर्पणखाको कुरा सुनेपछि त्रिशिर, दूषण र खर रामसँग लडाइँ गर्न आउँछन् । रामले तीनै भाइलार्ई मारेपछि शूर्पणखा रावण कहाँ जान्छे र सीता राम्री छन् तिनलार्ई हरण गर्न छल गर्नुपर्छ भन्छे । बहिनीको यो खवर सुनेपछि रावण मरिच कहाँ गएर सुनको मृग हुनु पर्छ भन्यो । मरिचले रावणलाई कुलको नास हुन्छ, सीता हरण गर्न हुँदैन भनेपछि पनि रावणले मानेन । मरिचले सुनको मृग भएर नगए मारिदिन्छु भनेपछि रावणबाट मर्नुभन्दा रामबाट मर्नु राम्रो भनी मरिच सुनको मृग बनेर रामको अघि जाने भयो । यतिवेला रामले सीतालार्ई अग्निमा छिपाएर राख्ने र छाया सीतासँग बस्ने काम गर्नुभयो । सुनको रूप धारण गरेको मरिचलार्ई रामले मारिदिए । मरिच मर्दा हे भाइ लक्ष्मण भनेर मरिच करायो । मरिचको आवाज सीताले सुनेपछि, लक्ष्मणलार्ई रामसँग जानभन्दा लक्ष्मणले सीतालार्ई सुनको मृग रामले मारिसकेको हुँदा जान नपर्ने कुरा जनाउँदा उल्टै सीता रिसाएर मलार्ई भज्ने बिचार छ कि के भन्ने अपशब्द बोलेपछि लक्ष्मण राम भएतिर जान्छन् । लक्ष्मण रामतिर लागेपछि रावण आएर सीतालार्ई, रामलार्ई छाडी अब मलार्ई पति भज भन्दै नछोई जमिज खोस्रेर उठाई रथमा हालेर अपहरण गरेर लिएर जाँदै थियो यतिवेला बाटोमा जटायुले देखे र रथलार्ई टुक्रा टुक्रा पार्न थालेपछि रावणले जटायुको पंखेटा काटेर खसाली दिन्छ । सीतालार्ई रावणले लंकामा लगेर अशोक बाटिकामा मातृवत व्यवहार गरेर राख्न थाल्यो । सीतालार्ई लंकातिर लान लाग्दा ऋष्यमूक गिरिको माथि पुगेपछि सीताले लगाएका गहनाको पोको बनाएर खसाली दिनुहुन्छ र यो पोको सुग्रीवले फेला पार्दछन् ।

रामले मरिचलार्ई मारेर कुटीमा फर्कन्छन् त सीतालार्ई देख्न पाउनुहुन् र शोक गर्दै हिड्न थाल्नुहुन्छ र जटायुलार्ई देखेर खाएको शंका गर्नुहुन्छ । जटायुले सारा बृतान्त सुनाए पछि जटायु मर्छ । जटायु मरेपछि रामले दाहसंस्कार गरेर क्रिया गरेर मांसपिण्ड दिनु भयो । राम वन वन बीचे, जब घुम्न थाल्नुभयो यसरी जब राम अघि बढिरहेका वेला छातीमा मुख भएको चारचार कोससम्म पुग्ने दीर्घ बाहु भएको राक्षस फेला पर्यो र रामले यसका दुवै हात काटे खसाली दिनु भयो । दुवै बीच बार्तालाप हुँदा रामको नाम सुनेपछि आफ्नो बृतान्त (अष्टबक्र ऋषिले, श्रापदिएर ऊ अप्सराबाट राक्षस भएको) बतायो । शिर इन्द्रले हरे तर शिर नभएर पनि बाँचेकोमा इन्द्रलार्ई दया आयो र छातीमा नै मुख दिए । हजुर।बाटै मुक्ति हुने हुँदा मुक्तिको लागि राममा विन्ति चढायो । प्रभूले पोलेर खाक पारी दिनु भयो । यस पछि रामको भेट शवरीसँग हुन्छ । शवरी अधम जातकी भए पनि रामबाट तरिन् । रामले यतिवेला सीताको बारेमा पनि सोधनी गर्दा शवरीले सीता लंकामा भएको र पम्पा भन्ने तलाउको नजिक ऋषमूक पर्वतका टाकुरामा सुग्रीव बस्छन् । बालिलार्ई मातङ्गगजीको त्यस ठाउँमा जान नहुने श्राप परेकोले उनी त्यहाँ सुरक्षित छन् । हजुरले सुग्रीबसँग मित्यारी लगाएर सीतालार्ई प्राप्त गर्न सकिन्छ भन्दै शवरीले देहत्याग गरिन् ।

रामायण किष्किन्धा काण्ड

यसकाण्डमा राम र सुग्रीबको भेट हुन्छ । राम र सुगीवले मितेरी लगाउँछन् । सुग्रिवले सीताले खसालेका गहना टक्क्य्राउँछन् । रावणलार्ई मारेर सीतालार्ई फर्काउने काम गरौंला भनेर सुग्रीबले रामलार्ई भन्नुभयो । हनुमानले पनि अग्नि साक्षी राखेर सीता फर्काउने प्रण गरे । यहाँ सुग्रीबजीले रामलार्ई आफ्नो कथा सुनाउन थाल्नुभयो । मयपुत्र मायावीले बालिलार्ई आफ्नो गुफामा लगी थुनेपछि गुफाबाट रगत बगेको सुग्रीवले देख्नुभयो । मायावीले बालिलार्ई मारेको ठान्नुभयो । यसरी मरेको ठानेपछि, सुग्रीवले गुफाको मुखमा ठूलो ढुङ्गा राखी राज्यमा फर्केर राजा बनेर राजकाज चलाउन थाल्नुभयो । तर बालि पछि फर्केर आयो । रिसाएर सुग्रीवकी पत्नीलार्ई भोग गर्न थाल्यो । यस ठाउँमा दुन्दुभी नामको राक्षस आएर बालिलार्ई दु:ख दिन थाल्यो, दुन्दुभीलार्ई बालिले समातेर टाउको निमोठी हातमा लिंदा रगतका छिटा ऋषिको आश्रम वरिपरि पुगे भने टाउको फाल्दा चार कोस पर पुग्यो र रगतका छिटालार्ई देखेर ऋषिले बालिलार्ई तँ यहाँ आए तेरो पनि शरीर टुक्रिएर खसोस् भन्ने सराप दिएको कुरा सुग्रीवले रामलार्ई बताए । सुग्रीवले दुन्दुभीको त्यो शरीर अँझै तक पर्वत समान छ र त्यसलार्ई फ्याक्न सकेमा मात्र बालि मार्न सक्नु हुने छ भन्ने विश्वास लिने छुभन्दा रामले त्यो शरीरलार्ई पाउका अङ्गुलीले फ्याक्दा चालिस कोससम्म पुग्यो । यति गर्दा पनि सुग्रीवलार्ई रामले बालि मार्न सक्छन् भन्ने विश्वास लागेन र उसले भन्यो बालिले त यी तालका सबै बृक्षहरू गनी हल्लाएर पातैसमेत खसाली दिन्छ, त्यसो हुँदा हजुरले एक बाण हानेर यी ताल वृक्ष सबैमा छिद्र बनाई बक्सेमा म विश्वस्त हुने थिएँ भनेपछि रामले एक बाण झिकेर हान्दा सात ताल भेदन गरेर बाण फर्केर आयो । यसरी सुग्रीवले रामको बलको परीक्षण गरेपछि, रामले सुग्रीवलार्ई बालिलार्ई लड्ने हाँक दिनुहोस् भनेपछि दुवै भाइमा लडाइँ हुन थाल्यो तर बालि र सुग्रीवको अनुहार एउटै किसिमको भएकोले रामले बाण हान्न सक्नु भएन । सुग्रीवले रगत छाद्दै गयो । सुग्रीवले फूल माला पहिरेर पुन बालिलार्ई लड्ने हाँक दिंदा ताराले बालिलार्ई लडाइँ नलडने र सुग्रीवलार्ई राज्य चलाउन दिने भन्दा, बालिले मानेन । पुन: बालि र सुग्रीवको लडाइँ हुन थालेपछि रामले रुखलार्ई छेदन गर्दै बाण हान्दा बालिका छातमिा बज्रीन गयो । बालि मुर्छा परेर ढल्यो । यसमा बालिले पनि मर्ने बेलामा लुकेर मारिएकोमा रामसँग यो अधर्म युद्ध भयो भन्न थाल्यो –

चोरी मारिलिंदा न यस हुन गयो मासू न खानू भयो
धर्मात्मा तिमी पापी हुन गयौ ज्यान व्यर्थ मेरो गयो

बालिले रावणलार्ई मैल यहीं ल्याइदिने थिएँ भन्दा रामले पनि बालिलार्ई बुहारी हरेको पापले गर्दा तँ मरेको होस्, यो युद्ध धर्मसङ्गत छ भन्नुभयो । बालिले छातीमा लागेको बाणलार्ई झिकेर सहज मृत्युको चाहना राखेपछि रामले बाण झिकिदिनुहुन्छ र बालिको सहज मृत्यु हुन्छ । बालि मरेको खबर ताराले पाउँछिन् । रामसँग आएर विलाप गर्न थाल्छिन् । आफूलार्ई पनि मार्ने आग्रह गर्दछिन् । रामले, जीवलार्ई पति मान्ने हो भने जीव कहिल्यै मर्दैन र देहलार्ई पति ठानेमा देह यहीं छ साथै संसार झुटोहो भन्दै तारालार्ई सम्झाउनु भयो । सुग्रीवलार्ई दाजुको क्रियाकर्म गरेर राज्य सञ्चालन गर्नको लागि भन्नुभयो । राम प्रवर्षण गिरिको शिखरमा चढेर सुन्दर गुफामा वर्षाकालसम्म त्यही बस्ने र वर्षा पछि सीताको खोजीमा लाग्ने कुराहरू सुग्रीबसँग राख्नुभयो । प्रवर्षण गिरिको नजिक सुन्दर ताल र फलफूलले सजिएको वन थियो । त्यही बसोबास गर्दै प्रभूले लक्ष्मणलार्ई पूजाविधि बताउनु भयो ।

सुग्रीवलार्ई हनुमानले सीताको खोज खवरको लागि सम्झाउनुहुन्छ । यसरी हनुमानले सीताको खोजीको लागि कुरा राखेपछि सुग्रीवले दश हजार फौज खटाउनुहुन्छ । दक्षिणमा हनुमान सहितका विरहरू सीताको खोजीमा जान्छन् । हनुमानलार्ई रामले औंठी समेत दिएर पठाउनुहुन्छ । हनुमान लगायतका विरहरू दक्षिणमा जाँदा विन्धागिरिमा एउटा राक्षस भेटिन्छ । त्यसलार्ई हनुमानले मुडकी कस्छन् र अर्को वनतिर अघि बढ्छन् । तीर्खा लागे र पानी खोज्दै एउटा गुफामा हनुमान पुग्छन् । त्यहाँ सुन्दर तलाऊ फलफूल, घरहरूमा हीरा जवाहर समेत देखिन्छन् तर मानिसहरू भने एक पनि देखिदैनन् । ध्यान गर्न लागेकी एउटी स्वयप्रभा लार्ई देख्छन् । उनले पनि हनुमानलार्ई देख्छिन् र सोधनी गर्छिन् । हनुमानले पानीको खोजीमा आएको कुरा बताए पछि पानी फलफूल खाने र जाने तर उनी भने म रामको शरणमा जान्छु भन्न थालिन् । स्वयंप्रभा (गन्धर्व–कन्या) ले आफू हेमा (विश्वकर्मकी पुत्री) की सखी भएको, हेमाले रामावतारमा रावणले सीता हरण गर्दा बानरहरू आउने छन्, त्यति वेलासम्म तिमी यहीं बस र रघुनाथको पूजा गर भनेर सखी गइन् । अब तिमीहरूलार्ई क्षणभरमा रस्तामा पुर्याइ दिने र आफू रामको शरणमा जाने भनी उनले हनुमान लगायतका विरहरूलार्ई रस्तामा पुर्याइन् र रामको शरणमा गइन् । रामबाट बद्रीमा गएर मेरो ध्यान गरेपछि परम्धाम पाउने बचन पाई उनी बद्रीतिर लाग्दै संसारबाट मुक्ति पाइन् । बानरहरू समुद्र किनारको महेन्द्रपर्वतमा पुग्दछन् र धेरै चिन्तित हुन्छन् । सम्पाती गिद्ध वनबाट निस्केर आहारा पाइयो अब पेट भरिने भयो भन्ने कुराहरू बानरले सुने र डराए पनि । जटायु रामको प्यारो थियो र संसारबाट तर्यो तर हाम्रो भने यसको आहारा हुने भयौंभन्दा सम्पातीले सुन्यो र भन्यो वानर हो तिमीहरू नडराऊ तिमीहरूले जटायुका कुरा गर्यौ तीता मेरो दाइ भएकाले सबै कुरा बताऊ र मलार्ई समुद्रमा लैजाऊ मैले स्नान अञ्जली दान गर्दछु र सीताका सबै खबर बताइ दिउँला भनेपछि यी विरहरूले सम्पातीलार्ई समुद्र किनारबाट उठाएर पुन त्यही ठाउँमा ल्याइदिए । सम्पातीले सीता लंकामा शिशापाको रूखमुनि भेटिनु, जो वीर चारसय कोस कुद्न सक्छ, त्यो सीता भएको ठाउँमा पुग्छ भन्दै सिम्पातीले आफू र जटायुको विगतको यथार्थता सुनाउन थाल्छ । सिम्पातीले भन्छ कि ऊ र जटायु दुई भाइ थिएँ । को कति बलियो भनी सूर्य विम्ब छुन जाँदा मेरो पंख डढ्यो तर जटायुले पंख बचाए र हामी विन्धगिरिमा मूर्छा परे म । चन्द्रमा मुनिसँग भेट भयो उनले रावणले सीता हरेर लाला त्यति बेला सीताको खोजीमा वानरहरू आउलान् र तिम्रो पंख पलाउला भनेका थिए । मेरा पंख पलाए म उडे ल अब तिमीहरूमा जो वीर छ लंकाको लागि कुद भनेपछि अङ्गद र श्रीजाम्बबानले हनुमानको स्तुति गरेर, सीता भेटन लंका जाने तर एक्लै रावणसँग नलड्ने भनेर हनुमानलाई लंका पठाइयो ।

रामायण सुन्दर काण्ड

यसकाण्डमा हनुमान सीतालार्ई भेट गर्न लंका प्रस्थान गर्छन् । जब हनुमान ल्रका जान आकाश मार्ग हुँदै कुद्छन् तब इन्द्रले हनुमानको शक्ति दाँज्न सुरसालार्ई पठाउनुहुन्छ । सुरसाले हनुमानको अगाडि आएर म तिमीलार्ई खान्छु भनी खडा हुँदा हनुमानले म तिम्रो मुखमा पस्दिन जब म सीता भेट्छु र रामलार्ई सन्देश दिन्छु तब म तिम्रो मुखमा पसुला भन्नुभयो । सुरसाले मुखमा पसेर निक्लेर जाउन तभन्दा हनुमानले चारकोसको शरीर बनाए । यो देखेपछि सुरसाले बीस कोसको मुख बनाइन्, हनुमानले चालिस कोसको मुख बनाए पछि सुरसाले, ८० कोसको मुख बनाइन्, हनुमानले छ बीस कोसको शरीर बनाउँदा सुरसाले दुइसय कोसको मुख बनाए पछि हनुमान अतिसूक्ष्मरूप बनाएर मुखमा पसेर निस्के र जाने आज्ञा मागे । सुरसाले मैनाक पर्वत हुँदै जाने सुझाव दिएर स्वर्गतिर लागिन् । हनुमान अघि बढ्दा मैनाकले फलफूल खाने अनुरोध गरे तर हनुमानले रामको काम सकेर मात्र फलफूल खाने भनेर छोयरमात्र अघि बढे । सिंहिका राक्षसी जलमा बसेर छाया पक्डेर खान्ती जब हनुमानको गति बन्द हुन गयो । यसरी कस्ले गति बन्द गर्यो भनी हेर्दा ंिसंहिकालार्ई देखेर दुई लात दिएर मारी हनुमान लंकाको तिरमा पुगे । दिनभर त्यही. बसेर रातमा जब जान थाल्नुभयो लंकेनीले हनुमानलार्ई एकचोट हानिन् । हनुमानले पनि रगत छाद्ने गरी हाने । यसरी हनुमान भन्ने जानेपछि लंकिनी सारमा चलिन् । लंकेनीलार्ई ब्रह्माजीले रावणले जब सीता हरेर लिएर आउने छ, सीता खोज्न एक वीर आउने छ, त्यो वीरलार्ई तिमीले लात मारेपछि वाम मुडकीले हान्दा रगत छाद्दै ढल्ने छौ रावणको आयु त्यतिसम्म हुने छ, भन्नुभएको कुरा लंकेनीले स्मरण गरी । लंकेनीले भनी अशोकका वनमा शिंशापाको बोटको तल सीताजी हुनुहुन्छ । जब हनुमान लंका पुग्दछन् यति वेला जानकीको वाम नजर र हात सेमत फुर्यो, रावणको वाम हात र वाम नजर फुर्यो तर रघुनाथको भने दायाँ अङ्ग फुर्यो । हनुमान रावणका चोटाकोठा चहार्दै अशोकका वनमा पुग्दछन् । शिंशापाको रूख मनि राक्षसीको घेरामा सीतालार्ई देख्दछन् । यतिवेला रावणले सपना देख्दछ र सीतालार्ई आएर दुर्वाच्य बोल्दछ र पति भज भन्दछ । यति वेला सीताले राम लक्ष्मण नभएका वेला हरण गरिस् यही नै तेरो मृत्युको कारण बन्ने छ । सीताका यी बचन सुनेपछि रावणले दुई महिना भित्र कित मेरो शयनमा या काटेर भुटुवा बनाएर मेरा पेटमा भन्दै दरबारतिर लाग्यो । राक्षसीहरूले सीतालार्ई कसैले फकाउने कसैले धम्क्याउने गर्न थाले । यतिवेला सीताले राक्षसीको हातबाट मर्नुभन्दा आफ्नै चुल्ठाको पासो लगाएर मर्न जातिभन्दा हनुमानले रघुकुलको बर्णनदेखि रघुनाथले सीता खोज्न पठाएको र सम्पातिको र लंकेनीको कुरा बताए पछि सीता र हनुमानको संवाद हुन्छ । हनुमानले सीतालार्ई औंठी दिन्छन् । सीताजीले पनि रामलार्ई मनपर्ने मणिदिएर चित्रकुटमा काग बाँचेको सन्देश पठाउनुहुन्छ । हनुमानले सीतासँग फलफूल खाने आदेश मागेर, फलफूल खाँदै वगैंचा नाश गर्दै चौकीलार्ई नाश गरिदिए र हवेली समेत नाश गरिदिन्छन् । यो देखेर एकलाख लश्कर लड्न आए ती पनि हनुमानले मारी दिए । यस पछि पाँच सेनापतिहरू सेनाको साथमा हनुमानसँग लड्न गए ती पनि हनुमानले मारिदए । एक पछि अर्को गर्दै यन्त्रीका सात छोरहरू भारी लश्कर लिएर लड्न आए ती पनि हनुमानले मारिदिए । रावणले आफ्नो कान्छो छोरा अक्षय कुमारलार्ई लड्न पठायो । हनुमानले अक्षयकुमारलार्ई पनि मारिदिए । अब त रावण आफै लड्न जान थाल्यो । इन्द्रजितले रावणलार्ई रोकेर आफू लड्न अघि सर्यो । इन्द्रजितले ब्रह्मपासलार्ई प्रयोग गर्यो र हनुमान बाँधिएर रावणको नजिक पुग्नुभयो र संवाद गर्न थाल्नुभयो । पुलस्य ऋषिको नाति भएको नाताले नीच मति छाडेर रामको शरणमा गएमा राम्रो हुने सुझाव दिनु भयो तर रावणले राम सहित सबैलार्ई मारिदिने धारणा राख्यो र हनुमानलार्ई काटेर टुक्रा पारीदिने कुरा बताएर काट्ने तयारीमा लाग्दा विभीषणले दूतलार्ई मार्न नहुने र निशानी राखेर पठाउन राम्रो हुने कुरा राख्दा रावणले पुच्छरमा आगो लगाएर सहर घुमाइ पठाउने आदेश दियो । हनुमानको पुच्छरमा आगो लगाएर सहर घुमाउँदा हनुमानले सूक्ष्मरूप लिएर सारा लंकाका घरघरमा पसेर जलार्ई दिनु भयो र सीतासँग बिदा लिएर रामको साथमा पुगेर सारा बृतान्त बताउन भयो ।

रामायण युद्धकाण्ड

यस काण्डमा जब हनुमान फर्केर आउँछन् र रामसँग सबै बेलीबिस्तार लगाउँछन् तब राम, सुग्रीव लंका जान समुद्र किनारमा पुग्दछन् । रावण पनि हनुमानको यो वीर काम पछि अघि कसरी जाने भन्ने चिन्तामा रहन्छ । कुम्भकर्णले सीता हरण गर्नु उचित थिएन भनेर रामलार्ई भन्दछ । विभीषणले पनि रामसँग नलडी सीता फिर्ता गर्ने कुरा राख्दछन् तर रावणले विभीषणलार्ई पनि शत्रू ठान्यो र भाइलार्ई प्राणदान दिएँ भनेर छाडी दियो । विभीषणले पनि दाजु पृतितुल्य हुन्छन् भन्दै म रामको शरणमा जान्छु भन्दै ५मन्त्री सहित रामको शरणमा जान्छन् । रावणसेना रामसँग लड्नको लागि चारैतिर फैलिए । विभीषण रामको नजिक जाँदा रावणको भाइ भएको हुँदा शंकाको दृष्टिले हेरिन्छ तर विभीषणले सबै बृतान्त बताए पछि रामले शरण दिनु भयो यता रावणले शुक दुतसँग सुग्रीव नाताले मीतभाइ भएकोले सेना फिर्ता लानको लागि सन्देश पठाउँछ । शुक सन्देश लिएर रामको नजिक जान्छ । शुकलार्ई बाँदरले हान्न थाल्दा रामले रोक्नुहुन्छ । शुक उफ्रेर आकाशमा पुग्दछ र सुग्रब्ीसँग उत्तर माग्छ । सुग्रीवले पनि बली सरह रावणको गति हुनेछ भन्ने उत्तर दिन्छन् । रामले यसलार्ई पक्रेर केही दिन राख भन्ने आदेश दिए पछि शुक बन्धनमा पर्दछ । तर रामको फौजको बर्णन भने योभन्दा अघि आएको शार्दूलले रावण समक्ष विस्तार गरिसकेको थियो र रावण चिन्तामा परेको थियो ।

रामले समुद्रलार्ई बोलाउँदा समुद्र समयमा नआउनु राम रिसाएर बाणा हान्न लाग्दा रामको शरणमा आउनु र रामले यो वाण त्यसै फर्कदैनभन्दा समुद्रले दु्रमकल्पमा अहिर पापी छन् तिनै पापीको नाश गरियोस् भनेपछि बाण गएर पापीहरूको नाश गरी फर्केर आयो । विश्वकर्माका छोरा नलले सेतु बनाएर सागर तर्न सकिने भनेर समुद्र अलप भए । पुल निर्माणस्थलमा रामले शिवजीको मूर्तिको स्थापना गर्नुभयो र काशीबाट जल मगाएर नुहाएर रामेश्वर नामाकरण गरियो ।

पुल बनाउन थालियो पहिलो दिन ५६ कोस, दोस्रो दिन असी कोस, तेस्रो दिन ८४ कोस, चौथो दिन ८८ कोस, र पाँचौदिनमा ९२ कोस बनाएर पुलको निर्माण सकियो । पुल निर्माण भए पछि राम हनुमानमा लक्ष्मण अङ्गदमा चढेर अग्लो शिखरमा पुगेर लंकाको अवलोकन गर्नू भयो । शुकलार्ई, तँलार्ई मार्न रामचन्द्र आउँदै हुनुहुन्छ भन्ने सन्देश लिएर जा, भनी छाडियो ।

यो शुक बास्तवमा ब्राह्मण थियो । एक दिन शुकले अगस्ति ऋषिलार्ई खान बोलाएका थिए । अगस्ति ऋषि स्नान सन्ध्या गरेर मात्र खाने भनी स्नान गर्न गए । यसै बखत बज्रदन्त राक्षसले अगस्तिको रूप धारण गरेर मासु खाने इच्छ्या राख्यो र खाने वेलामा शुककी पत्नी बनेर मानिसको मासु पनि मिसिदियो । अगस्तिले शुकलार्ई राक्षस भएस् भनेर श्राप दिए पछि शुक राक्षस भएर रावणसँग बस्न थाल्यो । रामको दर्शन पाए पछि पुन ऋषि हुने भन्ने श्राप पनि पुरा भयो । शुक रामले जान भनेपछि रावणसँग गएर सारा बृतान्त बतायो र रामले मार्छु भनेका छन् भन्दै सीतालार्ई लिएर रामको शरणमा पर्न आग्रह पनि गर्यो । रावण शुकसँग रिसायो र भन्यो अघिको कारणले तँ बचिस् तर अरु भए मारिदिने थिएँ भन्दै रावण साह्रै रिसायो । शुक पुन ब्राह्मण भएर आफ्नो बृतिमा लाग्यो । माल्यवानले रावणलार्ई सीता फिर्ता गरेर रामको शरणमा परभन्दा पनि रावण मानेन र राम पनि मानिसै हुन् यिनीसँग लड्नै पर्छ भनी अटालीमा बसेर लड्नको लागि आदेश दियो । रावण शैन्य र राम शैन्य बीच ठूलो लडाइँ भयो । रावणका ठूला ठूला विरहरू मरे । यस पछि रावणले इन्द्रजितलार्ई लंकाको रक्षा गर्न भनी खटायो । इन्द्रजितले ठूलो लडाइँ लड्यो । विभीषणलार्ई देखेर इन्द्रजित जाइ लाग्यो । लक्ष्मणले त्यसलार्ई र।ेक्नुभयो तर मुर्छा पर्नुभयो । लक्ष्मणलार्ई उठाउन रावण गयो तर उठाउन सकेन । हनुमानले रावणलार्ई हान्दा रगत छाद्दै ढल्यो र हनुमानले लक्ष्मणलार्ई उठाएर रामसमक्ष ल्याउनु भयो । रामले रावणका सारा सेखी झारिदिनु भयो र आज घर जा भोलि लडौंला भन्नुभयो र घर पठाई दिनु भयो । हनुमान लक्ष्मणको लागि औषधी लिनको लागि जान थाल्नुभयो । यसबखत राती रावण कालनेमि कहाँ गयो र हनुमानलार्ई रोक्न लगायो तर कालनेमिले भने रामसँग नलड्ने बरु सीतालार्ई फिर्ता गरेर शरणमा जानेभन्दा रावणले कालनेमिलार्ई मार्ने धम्की दियो । कालनेमिले पनि हनुमानलार्ई रोक्ने प्रयास गर्यो । उसले आश्रममा बसेर चेलाहरू राखेर हनुमानलार्ई ठग्ने प्रयास गर्यो । हनुमान त्यहाँ पानी खानको लागि जानु भएको र पानी माग्दा थोरै भएकोले हनुमानले यति पानीले नहुने भएकोले तलाऊ नै देखाई दिन भनेपछि तलाउमा गएर पानी पिउन थाल्दा एक मकरीले आक्रमण गर्न आई । हनुमानले मुख च्यातिदिनु भयो । मकरी स्वर्गकी धन्यमाली अप्सरा थिई, ब्राह्मणको सराप परेर मकरी भएकी थिई । मकरीले छद्म रूप धारी कालनेमिको यथार्थता हनुमानलार्ई बताइ दिइ र त्यसलार्ई मारेर औषधी लिएर जाने भनी । हनुमानले त्यसलार्ई मुड्कीले हानेर मारीदिनु भयो हनुमानले औषधी खोजी गरी द्रोणाचल पर्वत नै हातमा उचालेर राम भएका ठाउँमा आए । दोषणले उपचार गरेपछि लक्ष्मण व्युँझे । अबता रावणलार्ई रामको हातबाट मरिन्छ कि भन्ने जस्तो लाग्यो । रावणले सोच्यो वीर राजा अरण्य सूर्य कुलमा एउटा महात्मा थिए । मोरो वीरोधले गर्दा उनले श्राप दिएका थिए । त्यही श्रापको कारणले त्यस कुलमा रामले जन्म लिए र आज मलार्ई मार्दछन् भन्दै कुम्भकर्णलार्ई उठाउन लाग्यो र सबै विरहरू मरेको कुरा सुनाउन लाग्यो । यी कुरा सुनी कुम्भकर्णले पनि राम भगवान हुन्, उनलार्ई जित्न सकिदैन । त्यसो हुँदा सीतालार्ई फिर्ता दिएर रामको शरणमा जाउँ । एक दिन नारदको मुखबाट पनि रामबाट तिमीहरूको मृत्यु हुन्छ भन्ने कुरा पनि सुनेको छु । यी कुरा सुनेपछि रावण खुबै रिसायो र भन्यो भनेको मान्ने हो भने जा लड, सुत्नुको मतलव हो भने जा सुत । रावणका यस्ता बचन सुनेपछि कुम्भकर्ण लड्न थाल्यो । बानरका फौजलार्ई मुखमा हाल्दै निल्दै गर्न थाल्यो । विभीषणले रावणले निकालेर रामको शरणमा गएको कुरा कुम्भकर्णलार्ई बताए । कुम्भकर्णले पनि विभीषणलार्ई रामको साथमा नै जाऊ, नारदले पनि तिम्रो भक्ति भावका बारेमा मलार्ई भनेका थिए, भन्यो । विभीषण युद्ध मैदानबाट टाढा आए । कुम्भकर्णले धेरै फौज विनास गरेपछि रामले कुम्भकर्णका दुवै हात काटेर खसाली दिए । हात पाऊ काटेपछि पनि रामचन्द्रलार्ई निल्छु भनेर आयो । रामचन्द्रले मुख बाणाले भरिदिनु भयो र शरीर काटिए पछि गएर सहरको मुख थुनी दियो भने शरीरको गीड समुद्रमा पुयो । यति वेला नारद आएर भोलि लक्ष्मणबाट इन्द्रजितको र पर्सी रामबाट रावण मारिन्छ भन्दै ब्रह्मलोक फर्कनु भयो । यता कुम्भकर्ण मरेपछि इन्द्रजितले रावणलार्ई निकुम्थिला स्थलमा गएर होमन गरी अग्निबाट प्राप्त अस्त्रशस्त्रबाट सबैलार्ई मारिदिन्छु भन्दै सान्त्वना दिन्छ । इन्द्रजित जब होमनमा गयो यो कुरा विभीषणलार्ई थाहा लाग्यो । विभीषणलार्ई यो थाहा लागेपछि रामलार्ई गएर सुनाउनु भयो र यो यज्ञ शिद्ध हुन गयो भने इन्द्रजितलार्ई मार्न कठिन हुने र इन्द्रजितलार्ई त्यस व्यक्तिले मात्र मार्न सक्ने जो १२ वर्ष नखाई नसुती बसेको छ भन्ने सन्देश रामलार्ई सुनाए । यो सुनेपछि रामले लक्ष्मणलार्ई इन्द्रजितसँग लड्न जान भन्नुभयो । जब लक्ष्मण लड्नको लागि इन्द्रजित भएको ठाउँम गएर आक्रमण गरे इन्द्रजितले होमन गर्ने कामलार्ई छाडेर लक्ष्मणसँग लड्न गयो । लक्ष्मणलार्ई सात शर, हनुमानलार्ई दश शर र विभीषणलार्ई १०० शरले आक्रमण गर्यो । लक्ष्मणले पनि बाणा हान्नुभयो र त्यो बाँणले कवच काटी दियो । इन्द्रजितले पनि १०००शर हानेर लक्ष्मणको कवच टुक्रा टुक्रा पारिदियो । लक्ष्मणले पनि दशरथको र रामकको नाम जपेर इन्द्रास्त्र भएको धनुकाँण हानेर इन्द्रजितको टाउको खसाली दिनु भयो । लक्ष्मणले खसालेको शरीर रामको अघि पुग्यो र हात सुलोचना (इन्द्रजितकी पत्नी) को अघि गएर पछारियो । शिवजीवाट वरदान प्राप्त मेरो स्वामीको मृत्यु कसरी भयोभन्दा ती काटिएको हातले रामका भाइले हात काटेको तिम्रो नजिक पुग्यो र टाउको रामको पाउमा पुग्यो भनी लेखिदियो । सुलोचनाले आफ्नो पहिरेको गहना ब्राह्मणलार्ई दान दिएर, पतिको हात साथमा लिएर, डोली चढेर रावणको दरबारमा गएर, रावणलार्ई मृतहातले लेखेका कुरा सबै बताउँछिन् र तपाईंले रामलार्ई जित्न नसक्ने भन्दै सतीजाने कुरा राख्दछिन् । मन्दोदरी (सुलोचनाकी सासू) लार्ई सुलोचनाले सबै कुरा बताउँछिन् र सतीजाने कुरा राख्दछिन् । मन्दोदरीले रामसँग गएर टाउको मागेर ल्याई सती जाने आज्ञा दिन्छिन् । सुलोचना अब डोलीमै चढेर रामको शरणमा गइन् । सुलोचनालार्ई देखेर विभीषणले रामलार्ई यी बासुकी नागकी छोरी, रावणकी बुहारी र इन्द्रजितकी पत्नी हुन् यिनको इच्छ्या पूर्ति गरिदिनको लागि राममा प्रर्थना गर्दछन् । रामले सुलोचनालार्ई के इच्छ्या छ भन भनेपछि सुलोचनाले पतिको शिर माग्दछिन् । रामले पति नै चाहे पनि दिन तयार भएको कुरा बताउँदा सुलोचनाले क्षणभङ्गुर शरीरर मगेर के गर्ने पतिले प्रभूमा अर्पण गरेको शिरमात्र पाए हुन्छ भनिन् । समरमा भएका सारा कुरा पनि यी हातले लेखेको पनि रामसमक्ष बताउँछिन् । सुग्रीवले यो कुरा सुनेपछि, हताले सबै लेख्यो भने यो टाउको पनि हाँसोस्भन्दा सतीले टाउकोलार्ई हाँसने आग्रह गर्दछिन् र टाउको खित्का छोडी छोडी हाँस्दछ । सतिले रामसँग समर केही समयको लागि रोक्ने आग्रह गर्दै, विभीषणलार्ई पुलस्य ऋषिकुलका दीपक हौ, ल्रकाको राज्य मिलोस् भन्दै आशिष् दिइन् । जवाफमा विभीषणले कर्मको फल भोग्नु पर्छ भन्ने धारणा राखे । सतीले आफ्नो पतिको शिर शरीर लिएर मन्दोदरी भएको ठाउँमा पुगिन् र रामसँग भएका सबै कुरा बताइन् । सती र मन्दोदरी रावण भएको ठाउँमा गए । रावणसँग बिदा मागेर, समुद्रको किनारमा पुगेर, चन्दनको समिधा राखेर, शास्त्र विधानले पूजा गरेर, स्वामीको शिर च्यापेर चितामा चढिन् । सतीले मन्दोदरीलार्ई र रावणलार्ई अग्नि दिन आग्रह गरिन् तर रावणले क्रोधपूर्ण भएर संसार मतलवी छ, जीव हटेर रहेको शरीरको कुनै मतलव छैन, अहिले सतीमा अग्नि दिन जाँदा ऋषिहरू हाँसछन् म जान्न भन्छ । मन्त्रीले तपाईंले सीताहरण गर्नु, घरघरका सुन्दरीमा गरिएको मन्परी, सखाप भएको लंका, मरेका ती विरहरूलार्ई छाडेर म वीर हूँ भनेर के हुन्छ ? सतीको चितामा अग्निदिनु पर्छ भनेपछि र।वण अग्नि दिन गयो र विरहको (वेदनाको) आँसु खसाल्दै चितामा आगो लगाइदियो । पुष्प विमान आएर सती र इन्द्रजितलार्ई परमपदमा पुर्याई दियो ।

नारन्तक बध

रावणको एक पुत्र बाबुको मूल परेको हुँदा, गुरुले त्यसलार्ई सागरमा बगाइ दिने बचन बमोजिम यस्ता मूल परेका लंका भरिका दशहजार बालकहरूलार्ई रावणले बगाउने आदेश दियो । यी बालकहरू समुद्रमा भएको बरको वृक्षको जराहरूमा अल्झेर ती जराहरूबाट आउने सेतो रस (दूध) चुसेर बाँचेका थिए । आठ वर्षको उमेरसम्म यही बरको जारमा यिनीहरू बसोबास गरे । नारान्तक यी सबै बालकहहरूमा बलियो थियो । उसले दशहजार सङ्गती लिएर पूर्व दिशातिर लाग्यो । चारसय कोस पार गरेपछि एउटा टापुमा पुग्यो र कुटीमा शुक्रचार्यलार्ई भेट्यो । शुक्रचार्यले यो वलवान बालखको नाम नारान्तक राखिदिएर मन्त्र पनि दिए । यसले मन्त्र पाए पछि शंकरको तपस्या गर्यो । ब्रह्माजी खुसी भएर वर मागभन्दा नारन्तकले अमर वर पाऊँ अमर वर पनि कस्तो भने अस्त्रैबाट, शस्त्रहरूले, खड्ग, खुँडा, बज्र, दैत्य, राक्षसबाट, रिपूबाट काल समेतबाट तथा मर्न नपरोस् भन्ने माग्दछ र ब्रह्माले सबै वर दिन तयार हुनु भयो र दधिबलसँग भने नलड्नु, लडेऊ भने माखोसरि मार्ने छ भन्नुभयो । अरु बालखसँग गएर पनि वर माग्न भन्नुभयो र तीबालकहरूले सबै रिपूहरूलार्ई जितुँ भनेर वर मागे ब्रह्माजीले पनि कपिभालू छाडी सबै जीवलार्ई जिते भनिदिनुभयो नारन्तकले वर अधुरो भयो भनेर पुन: शिवजीको तपस्या गर्न थाल्यो । शिवजी नारान्तकको तपस्याबाट खुसी भए पछि शिवजीले खुसी भएर वरमागभन्दा उसले यो वनमा एउटा छिपी बस्नको लागि एउटा पुर पाउँ, त्यहाँ कुनै आधार नरहोस्, कुनै वैरीले देख्न नसकोस् । यही वर माग्दछौ भन्यो । शिवजीले पनि तथास्तु भनिदिनु भयो र गगनमा एउटा पुर तयार भयो । यो सुन्दर नगरमा नारान्तकले राज्य गर्न थाल्यो । अचानक दधिबल बेह्खाल राज्यमा पुग्यो । राक्षसका सङ्मा गुरु कहाँ पढ्न जान थाल्यो । एक दिन गुरुले दधिबललार्ई तैले गूरुभाइ मार्नैछस्भन्दा ऊ साह्रै रिसायो अनि यस्ता गुरुसँग पढ्दिन भन्दै हिड्यो । दधिबल जाँदै थियो नारदसँग भेट भयो । नारदले कता हिड्दै छौ भनी सोधे र रामको भक्त बन भन्ने उपदेश दिए । खानु, रूनु, कराउनुले अन्त्यमा केही काम दिंदैन । नारदजीले जङ्गलमा बस्नु, खरानी घस्नु, रामको तप गर्नु, भनेपछि दधिबल धौलागिरि शिखरमा तप गर्न गयो ।

राक्षस कुलमा एउटा विन्दु नामको राक्षस थियो । त्यसले स्वर्गका राजालार्ई लड्न आउनको लागि हाँक दियो । एक वर्षसम्म लडाइँ भयो । अन्त्यमा इन्द्रले सबैलार्ई मारिदिए र धपाइ दिए । विन्दुकी एउटी विन्दु नाम गरेकी विद्वान, रूपवती र शीलवति कन्या थिइन् । ती कन्यालार्ई नारान्तकसँग विवाह गरिदियो । विन्दु रानी बनिन् र महलमा आइन् । यसै बखत रावणले धूमकेतुलार्ई चिठी लिएर नारान्तक कहाँ जान पठायो । लडाइँको लागि फौज समेत लिएर आउनु भन्ने सन्देश चिठीमा थियो । नारान्तकले त्यो चिठी रानी विन्दुलार्ई सुनायो विन्दुले ब्रह्मा, विष्णु र महेश नाममात्र फरक हुन् तर यी तीन एकै हुन् । त्यसो हुँदा रामसँग नलड्ने सल्लाह दिन्छिन् तर यो सल्लाह विषैसरि भयो र नारान्तक लडाइँमा गयो । जाँदा बाटोमा हनुमानसँग लडाइँ भयो । रावण कहाँ पुगेर राम लक्ष्मण र सबै फौज मारिदिने र रावणले पीर लिन नपर्ने कुराहरू नारान्तकले भन्यो । नारान्तक लंका पुगेकोमा रावणको दरबारमा खुसी मनाइयो । भोलि पल्ट नारान्तकले रामलार्ई दुर्वाच्य बोल्न थाल्यो । घमसान युद्ध भयो । राक्षसले बानरहरूलार्ई निल्न थाले । नारान्तकले विविध मायावी जाल–झेलमा पार्न थाल्यो । यसै बीचमा नारद ऋृषि आएर धौलागिरिमा तपस्यामा रहेको दधिबललार्ई बोलाएर लडेपछि दधिबलबाट नारान्तक मर्छ भन्ने जानकारी दिए । दधिबल आएर नारान्तकलार्ई नलड्ने सुझाव दिंदा नारान्तकले उल्टै दधिबललार्ई तुच्छवचनले गाली गर्न थाल्यो । दधिबलले नारान्तकलार्ई मारिदिए ।

अहीरावण बध

नारान्तकको मृत्यु पछि, रावणले पातालमा राज्य गर्ने अहीरावणलार्ई बोलायो अहीरावण आए पछि रावणले घटेका सबै घटनालार्ई सुनायो । अहीरावणले छल गरेर राम र लक्ष्मणलार्ई पाताल पुर्यायो र देवीलार्ई वली दिने तरखरमा लाग्यो । यता टुना सकिए पछि सबै जान व्यूँतिए र राम लक्ष्मणको खोजी भयो । राम लक्ष्मण नदेखेपछि हनुमान पाताल जान निस्किए । बाटोमा एउटी गिग्धिनी मानिसको मासु खान मन लागेको धारण गिद्धसँग राखी । गिद्धले भोलि राम लक्ष्मणलार्ई देवीमा भोग दिएर लास फ्याक्छ त्यहींबाट मासु ल्याइदिने बिचार राख्दछ । यो कुरा हनुमानले सुन्दछन् । हनुमान पाताल पुगेर सरासर भित्र प्रवेश गर्न लाग्दा हनुमानले लंका दहन गरेर फर्कदा पसिना तप्केर माछिका मुखमा परेको र त्यसैबाट जन्मेको पुत्रले हनुमानलार्ई महनुमान पुत्र हूँ भन्दै रोक्दछ । हनुमानले पनि म नै हनुमान हूँ भनेर जानकारी दिंदा पनि नछाडेपछि बाबु छोरामा युद्धभ हुन्छ । छोरा थाकेपछि हनुमान देवीको मन्दिर भित्र सूक्ष्मरूपमा प्रवेश गर्नुहुन्छ । हनुमानलार्ई देवीले देखेपछि जमिनमा लोप हुनुहुन्छ । देवीको ठाउँम हनुमान बस्नुहुन्छ र ल्याएका नैवेद्य जति सबै हनुमानले खाई दिुनुहुन्छ राक्षसहरूले देवी खुसी भएको ठान्दछन् र राम लक्ष्मणलार्ई बली दिन ल्याउँछन् र काट्ने तयारीमा लाग्दा राम लक्ष्मण र हनुमानले सबै राक्षसलार्ई मारिदिनुहुन्छ र अहीरावणलार्ई मारेर अग्निमा होमन गरिदिनुहुन्छ । मकरले बाबुको पराक्रम देख्यो र शिर निहुर्यायो । मकरलार्ई पाताको राजा बनाएर हनुमानले राम–लक्ष्मणलार्ई लिएर लंका आउनुहुन्छ ।

रावणले सीतालार्ई काटछुभन्दा सुपाश्र्वले स्त्री घात गर्नु हुन्न भनेपछि रावण गुरुकहाँ गएर आफ्नो दु:ख बीसायो । गुरुले पनि होमन गर्नको लागि मन्त्र दिएर पठाउनु भयो । रावणले पातालसरिको खाडल खनेर होमन गर्न थाल्यो । यो कुरा विभीषणलार्ई थाहा लाग्यो र रामलार्ई जानकारी गराए । यो जानकारी भए पछि दशकोटीको फौज रावणको यज्ञ ध्वस्त पार्न गयो । चौकीमा भएका राक्षस मारेपछि रावण यहाँ छ भनी विभीषणकी रानीले इसारा गरिदिनु भयो । गूफाको मुखमा ठूलो ढुङ्गो लगाएर भित्र बसेर रावणले होम गर्थ्यो । अङ्गदले त्यो पत्थरलार्ई धूलोपीठो पारिदिनु भयो र भित्र यज्ञलार्ई ध्वस्त पार्न थाल्नुभयो । मन्दोदरीलार्ई अङ्गदले खिचेर रावण भएको ठाउँमा पुर्याए र बस्त्र खसाली होम ध्वङ्स पारेर रामको नजिक आए । मन्दोदरीले रामसँग नलड्ने र सीतालार्ई फिर्ता गरी रामको शरणमा जानेभन्दा रावणले मन्दोदरीलार्ई सम्झउन थाल्छ । मन्दोदरीले भन्छिन् –बैवस्वत मनुलार्ई मत्स्यरूपबाट रक्षा गर्नु, मन्दर।लार्ई कूर्म भएर पिठमा लिनु, बराह रूप लिएर हिरण्याक्षको प्राण खैंचेर लिनुजस्ता कर्म देखिएको छन् र रामको अघि लड्न जो गयो ती सबैले हारखानु नै परेको छ । त्यसो हुँदा रामसँग नलडौं भन्दा, सके राम लक्ष्मणलार्ई जित्छु, रामको हातबाट मरे पनि तर्छु, म रामसँग त लड्छु लड्छु बरु तिमीले म मरे भने सीतालार्ई मार्नु र अग्निमा पस्नु र म भएको ठाऊँमा आउनु भन्दै रावण लड्नको लागि तयार भयो । रथमा गएर लड्न तयार भयो । हनुमानले एक मुड्की छातीमा हान्दा दुई घण्टा मुर्छा पर्यो र उठेर हनुमानको प्रशंसा गर्यो । हनुमानले पनि रावणलार्ई भने तँ मर्नु थियो मरिनस् अब एकमुड्की तैले मलार्ई हान अनि म एक मुड्की तँलार्ई हान्छुभन्दा रावणले ठीकै ठान्यो । उसले हनुमानलार्ई हान्यो हनुमानलार्ई केही भएन तर हनुमानको मुड्की सहन सकेन । रावणका चार वीर थिए ती सबैलार्ई अङ्गद, श्रीहनुमान, नील र नलले मारिदिए । अवत रावण झनै रिसायो र स्वय म लड्न अघि बढ्यो । रावण रथमा बसेर लडिरहेको थियो भने राम जमिनमा रहेर लड्नुभएको थियो । यो देखेर इन्द्रले मातली सारथिरहेको रथ पडाइ दिनुभयो । रामले रथको परिक्रमा गरी रथमा चढ्नुभयो र लड्न लथाल्नुभयो यसरी लडाइँ ठूलो भयो । रावणले हानेका सस्त्र सर्प भएर खस्न थाले भने रामले हानेका सस्त्र गरुड भएर खस्न थाले । रावणको यो भिषण युद्धमा सबै डराउन थाले । रामले रावणका दश शिर गिराउनको लागि निकै प्रयत्न गर्नुभयो र दश शिर जमिनमा त गिरे तर रावण गिरेन र शिरहरू जोडिन थाले । यो देखि विभीषणले ब्रह्माको वरदान सम्झ्यो र रामलार्ई रावणको नाभीमा अमृत छ जबसम्म त्यो अमृत स्वषण हुँदैन तबसम्म रावण मर्दैन भन्नुभयो । रामले यो सुनेपछि रामले अग्नि, वायु, सूर्य र लोकपाल समेत बसेको बाण वेद विधानले मन्त्रण गरेर धनुमा लगाएर रावणलार्ई हान्दा रावण मर्यो र राममा विलिन भयो । रावण मरेपछि रानीहरू र विभीषण सबै रुन थाले । रघुनाथले लक्ष्मणलार्ई सम्झाउन भन्नुभयो । लक्ष्मणले पनि विभीषणलार्ई भन्न थाल्नुभयो कि यो जगत झुटो हो । प्रारब्ध ठूलो ठानेर राममा चित्त राखेर राज्य चलाऊ । तिमी र रानीहरूले रावणको क्रियाकर्म गरभन्दा विभीषणले रामसँग सोधे कि यो क्रुर हो र परस्त्री गमन कर्ता हो यसको क्रिया कसरी गर्नेभन्दा रामले भन्नुभयो । मान्छेसँग बाँचुन्जेल रिस हुन्छ । जब मर्छ तव त्यससँग के को रिस । जाऊ क्रियाकर्म गर र रानीहरूलार्ई पनि क्रियाकर्म गर्न लगाऊ । रामको बचन पाए पछि विभीषणले रावणको क्रियाकर्म गर्दछन् । क्रियाकर्म सकेपछि रामले राज्याभिषेकको लागि लक्ष्मणलार्ई अह्रायर पठाउनुहुन्छ । यसरी लक्ष्मणले राज्याभिषेक गराएर विभीषणलार्ई लिएर रामको साथमा आए पछि सीतालार्ई यो खवर पुर्याउन हनुमानलार्ई पठाइन्छ । हनुमान सीताको साथमा पुगेर स्नान गराएर, शुद्ध कपडा पहिनाएर डोलीमा चढाएर लिएर आउँदा बानर सेनाहरूले सीताको दर्शन गर्न खोज्दा हल्ला हुन गयो । यो रामले देख्नुभयो र सीतालार्ई हिडेर आउने र सबैलार्ई दर्शन दिने भन्नुभयो । सीता डोलीबाट ओर्ली पैदल हिडेर आउनु भयो । रामको नजिक आउँदा पनि रामले अर्काको घरमा बसेकोले नजिक नआउने भनेर दोष दिनु भयो । सीतालार्ई अग्नि परीक्षा लिने काम भयो । सीताले पनि अग्नि परीक्षा दिनु भयो । अग्निले पनि रामसँग आजसम्म सीतालार्ई मैले राखेकी थिएँ आज लिनु होस् भन्दै सीतालार्ई प्रदान गर्दछिन् । रामले सीतालार्ई काखमा लिएर बस्नुभयो र इन्द्रादि देवताले स्तुति गरेर सबै खुसी भए । यसै समयमा शिवजीले रामसँग भन्नुभयो म अयोध्यामा आउँला, हजुरका पिताजी दशरथ हजुरको दर्शनको लागि आउनु भएको छ, दर्शन वक्सहोस् भन्नुभयो । रामले पनि दशरथलार्ई पाउमा शिर राखेर दर्शन दिनु भयो । यस पछि रामले इन्द्रलार्ई बानरका सबै मरेका सेनालार्ई बचाउनको लागि आदेश दिनु भयो र अमृत छरेर सबैलार्ई जीवित गराइयो । विभीषणले स्नान गरेर त्यसरात त्यहीं बास बस्ने आग्रह गर्दा भगवान रामले भरत अयोध्यामा जटाजूट धरेर बसेको छ म कसरी स्नान गर्न सक्छु भनी प्रश्न राख्दै विभीषणलार्ई भन्नुभयो अरु सबै वीरलार्ई जे दिनु छ देऊ । रामका यी बचन सुनेपछि विभीषणले सेनाको इच्छ्या अनुकुलको सामाग्री उपलब्ध गराए ।

रामको अयोध्या यात्रा

लंकामा रामले रावणलार्ई मारी विभीषणलार्ई राज्य दिएर अयोध्यातिर जान लाग्नुभयो । रामसीता लक्ष्मण, अयोध्यातिर लाग्दा सुग्रीव, हनुमान, अङ्गद र सबै फौजहरू समेत विमान चढे र विमानले प्रस्थान गर्यो । बाटोमा श्रीरामले सीताजीलार्ई आफूले गरेका कामहरू र सबै ठाउँहरू बताउँदै जान थाल्नुभयो । बाटोमा तारालार्ई पनि साथ लगियो । भारद्वाज ऋृषिसँग बार्ता गर्दै एक रात भारद्वाज ऋषिको आश्रममा बास पनि बिताइयो । रामले हनुमानलार्ई शृङ्गवेदमा गै सखा गुहलार्ई भेटी समाचार दिने, नन्दीग्राममा गएर भरतलार्ई भेटी राम, सीता र लक्ष्मण आएको समाचार दिने र रामले चौध वर्षमा गरेका कामको वर्णन गर्ने भनी अह्रायर पठाउनु भयो । हनुमानले पनि गुहलार्ई भेट्नुभयो र भरतको साथमा गएर सबै बेलीबिस्तार लगाउनु भयो ।

हनुमानवाट भरतले सबै सन्देश पाए पछि शत्रुघ्नलार्ई नगरीको संस्कार सबै गराउने, सबै बन्दीहरूलार्ई छाडिदिने, सबै राजपरिवारलार्ई पनि रामको स्वागतको लागि तयार बनाउने भन्नुभयो । र ब्राह्मणहरूलार्ई अगाडि लगाएर राजपरिवारहरू पछि लागे, भरतले रामका खराऊलार्ई शिरमा राखेर पैदल हिडे । राम भएका ठाउँम पुगे र रामका चरणमा खराऊ लगाइदिएर रामको दर्शन गरे । रामको सवारी पुष्पमा भयो भने केही रथमा, कोही घोडामा, कोही पैदल हिडेर अयोध्या नगरीमा पुगियो । अयोध्यामा पुगेपछि कपाल खौरने, स्नान गर्ने काम गरियो र रामले राजगद्दीमा बस्ने काम भयो । रामको राज्याभिष्ोकको कामको तयारीमा सबै जुटे । वशिष्ठ गुरुले राज्याभिषेको लागि आवश्यक सामाग्री जुटाउने र समुदको जल मगाउने जस्ता काममा सबैलार्ई अह्राउनु भयो । गौतम, बाल्मीकि, वामदेव, जाबालि समेतका ऋषिहरू बशिष्ठका साथमा थिए । रामको राज्याभिषेक गराइयो । राज्य भिषेकमा सबैलार्ई उपहार र वरदान दिने काम भयो । रामले गुहलार्ई प्रारब्ध ठूलो हुन्छ घरमा गएर बस भन्नुभयो । रामले प्रजाहरू सबैलार्ई खुसी बनाएर राज्य सञ्चालन गर्न थाल्नुभयो ।

रामयण उत्तरकाण्ड

यस काण्डमा हामीले अगस्ति आदि ऋषिहरू रामसँग आएर रावणादि राक्षसहरूको पूर्वचरित्रको बारेमा बार्तालाप गर्दाका कुराहरू अध्ययन गर्न पाउँछौं । शिबजीले रामको राज्याभिष्को वणर्ान पार्वतीजीलार्ई सुनाए पछि, पार्वतीले शिवजीसँग राम पृथ्वीमा कति वर्ष राज हुनु भयो, के के लीला भए, कस्तो प्रकारले रघुनाथ राज्य छोडी बैकुण्ठ धाममा जानु भयो सबै कुरा बताउनको लागि अनुरोध गरेपछि शिवजीले पनि सबै कुराहरू पार्वतीलार्ई सुनाउनु भयो । दुर्वासा, भृगु, अङ्गिरा, कश्यप, वामदेव, विश्वामित्र, ऋषित, कण्डव, सप्तऋषि, अत्रि, राम समक्ष पुगे र रामले गरेका कामहरूको प्रशंसा गर्न थाले । इन्द्रजित पृथ्वीको भार हो । त्यो लगायत रावण, कुम्भकर्णजस्ता वीर राक्षसलार्ई मारिबक्सियो भन्न थाले र रामले पनि ऋषिहरूलार्ई इन्द्रजित कसरी ठूलो भयो भनी प्रश्न राख्नुभयो ? अगस्तिले भन्न थाल्नुभयो कि ब्रह्मका पुत्र पुलस्य ऋृषिले सुमेरु पर्वतमा गएर राजर्षी तृणविन्दुको नजिकमा कुटी बनाएर तपस्या गर्न थाल्नुभयो । पुलस्यले तपस्या गर्न लागेका ठाउँमा देवपुत्रीहरू आएर नाचगान गर्न थाले । ऋषिलार्ई नाचगानले तपस्यामा बाधा पुर्यायो र ऋषिले जुन स्त्रीलार्ई देख्छु त्यो गर्भवती भै जाओस् भनी श्राप दिए । तृण विन्दुकी पुत्री सुतीले त्यो श्रापलार्ई ग्रहण गर्न पर्यो । उनी गर्भवती भएको थाहा पाए पछि बाबुसँग गएर आफ्नो कथा भनिन् । ऋृषिले कुरा बुझेपछि, पुलस्यलार्ई छोरी बुझ्न लगाए । सुतीबाट विश्रवाको जन्म भयो । भरद्वाजले विश्रवालार्ई आफ्नी छोरीको विवाह गरिदिए । सुतीबाट कुवेरको जन्म भयो । कुवेरले ब्रह्माको तपस्या गरेर धनी पनि भए । ब्रह्माले कुवेरलार्ई पुष्पविमान पनि दिए । कुवेरले तपस्याबाट सबै चिज प्राप्त गरे पनि बस्ने ठाउँ भने भएन । विश्रवाले कुवेरलार्ई लंंका खाली छ । त्यहीं गएर राजगर भने । कुवेर लंकाका राजा भए । यस समयमा पातालबाट राक्षस सुमालीले छोरी कैकसीलार्ई लिएर लंका पुग्यो । कुवेर पुष्पमा चढेर सयर गरेको देखेपछि यस्तो कूलमा छोरीको विवाह गरिदिन पाए असल सन्तान जन्मने थिए भन्ने बिचार गरेर विश्रवा ऋृषिसँग गएर रितुदान माग भनी अह्रायो । कैकसी विश्रवासँग गएर नबोली खडा भई र विश्रवाले आउनको कारण सोधे । उसले पनि ऋषिलार्ई ध्यानबाट जानकारी लिने कुरा राखी । ऋषिलार्ई थाहा लाग्यो ऋतुदानको लागि आएको कुरा । दारुण योग पारेर विश्रवाले रितुदान दिए । कैकसीबाट दश महिना पुगेपछि दशशिर बीस हात भएको रावणको जन्म भयो । एव म रितले रावण पछि क्रमस कुम्भकर्ण, सुर्पणखा विभीषणको जन्म भयो । यी बालकहरू बढदै गए । कैकसीले रावणलार्ई कुवेरलार्ई देखाउँदै यिनैसरि सबको मालिक होऊ भनिन् र रावणले पनि हवोस् भन्यो र गोकर्णेश्वरमा गएर तपस्या गर्न थाल्यो । कुम्भ कर्ण र विभीषण, दुवै भाइ रावणसँग तपस्या गर्न गए । तपस्या गर्दा दशहजार दिव्य वर्ष वित्यो र रावणले एक शिर होम गर्यो पुन अर्को शिर गर्दै ९वटा शिर होमन गरेपछि दशौं शिर होमन गर्दा ब्रह्माले वर माग भन्दै रावणको तप गरेको ठाउँमा आउनु भयो । रावणले पनि अमर हुन पाउँ भनी वर माग्यो । ब्रह्माजीले तथास्तु भन्नुभयो र रावणका सबै शिर तयार पारी दिनु भयो । विभीषणले धर्ममा मन लागोस् भनेपछि ब्रह्माजीले कल्पान्त आयु बनोस् भन्नुभयो । कुम्भकर्णले ६महिना निद्रापरोस् र एक दिन खान व्यूझु भन्ने बर माग्यो । त्यो वर पनि ब्रह्माले पुरा गरिदिनु भयो । रावणले ब्रह्माबाट बर पाएको खबर सुनेपछि साहै्र खुसी भयो र भन्यो अब विष्णुदेखि एउटा डर थियो त्यो पनि अब रहेन । लंका लिएर कुवेरलार्ई निकाल्नु पर्छ । राजकाजमा दाजुभाइको नाता रहदैन । यो खवर कुवेरले सुनेपछि राजगद्दी छाडेर कैलासमा गएर शिवजीको तपस्या गर्न थाल्नुभयो । शिवजीलार्ई खुसी तुल्याएर, सबै कुरा भनेपछि शिवजीले इच्छ्या बमोजिमको पुर बनाउन भन्नुभयो । विश्वकर्माले अल्कापुरी बनाई दिए । र कुवेर दिकपाल भएर शिवजीको साथमा रहन थाल्नुभयो । रावणले लंकामा राज गर्न थाल्यो । विद्युज्जिख ठूलो निशाचर थियो त्यसलार्ई बहिनी दियो । रावणले मयकी छोरी मन्दोदरीलार्ई विवाह गर्यो । कुम्भकर्णको विवाह प्रह्लाद कुलमा भयो । शैलुषकी छोरीलाई विभीषणले विवाह गरे । रावणले सबै देवताको श्रीहरण गर्यो । कुवेरले यस्तो नगरभन्दा कुवेरको पुष्प विमान नै हर्यो । यम, बरुण, इन्द्रसँग लड्यो तर जित्न सकेन र छोरा मेघनाथलार्ई लड्न पठायो र मेघनाथले इन्द्रलार्ई जितेर मेघनाथ इन्द्रजित कहलायो । इन्द्रलार्ई बाँधेकोले ब्रह्मा आएर फुकाउनु भयो । रावणले कैलास पर्वत कति ठूलो होला भनी तौलो । नन्दीश्वरलार्ई रिस उठेर मानिस वानर भएर मारुन् भन्ने श्राप पायो । कार्तवीरलार्ई जितेर पाता कस्यो । यो थाहा पाएर पुलस्य ऋषि आएर नाति भनेर फुकाय । रावणले बालिलार्ई जित्छु भनेर लड्न गयो तर बालिले काखीभित्र च्यापेर चार समुद्र डुलायो र छाडी दियो । दुवैले मित लगाए । ऋषिहरूले भगवान रामलार्ई हजुर स्वय म ज्ञाता हुनुहुन्छ । हजुरबाटै यो सृष्टि भएको हो । हजुरको नाभीको कमलफूल माथि ब्रह्मा, मुखबाट वाणी र अग्नि, बाहुबाट लोकपाल र चन्द्र सूर्य पनि, आँखाबाट दिशाहरू, कानदेखि शब्द, नासादेखि वैद्य अश्विनि कुमार, जंघाबाट जानु, उरदेखि जघन् शरीरदेखि भूर्लाेक, कोखादेखि चार समुद्र, स्तन दुईदेखि इन्द्र र वरुण, रेतैदेखि तपस्वीहरू निस्के, लिङ्गबाट यमराज, गुददेखि मृत्यु, रिसदेखि रुद्र, हाडदेखि पर्वत, केशदेखि मेघ, रोमदेखि औषधी, नङदेखि स्वरको उत्पत्ति भयो र हजुरकै भरमा यो संसार अडेको छ र आत्मामा नै तपाईं हुनुहुन्छ, ज्ञानीले हजुरलार्ई देख्छन् र अज्ञानीले देख्न सक्दैनन् र विपदमा रहन्छन् आदि कुराहरू ऋषिले भन्नुभयो । यो सुनेपछि पुन: रामले प्रश्न राख्नुभयो– बालि र सुग्रीव, इन्द्र र सूर्यका छोरा हुन् भन्ने कुरा सुनिन्छ यो के हो ? अगस्तिले भन्नुहुन्छ – हे प्रभू, सुमेरु पर्वतमा ब्रह्माजीले चारकोश सभा गर्नुभयो र ईश्वरलार्ई रिझाउनको लागि योगमा मन दिनु भयो । भक्तिरसमा डुबेर आँखाबाट आँसु खसे । त्यो आँसुबाट वीर बाँदरको जन्म भयो । ब्रह्मा बाँदरलार्ई देखेर खुसी हुनुभयो र नजिकमा रहनको लागि भन्नुभयो । त्यो वाँदर एक दिन पानी पिउनको लागि कुवामा गयो र हेर्दा आफ्नै अनुहारको छाया देख्यो र त्यो अर्को वीर भनेर कुवामा हाम फाल्यो । कुवामा हामफाल्दा केही पाएन र बाहिर निस्क्यो । बाहिर निस्कदा त्यसको रूप फेरिएर एउटी सुन्दरी बनेर निस्क्यो । यो देखेर इन्द्र साह्रै मोहित भए । इन्द्रको विर्य खस्यो र बाल देशमा गयो । त्यसबाट बालकको जन्म भयो । त्यसको नाम बालवीर भनेर राखियो । इन्द्रले त्यो बालकलार्ई एउटा माला दिनु भयो । सूर्य पनि त्यो सुन्ँदरीलार्ई देखेर मोहित भए । उनको पनि विर्य ग्रीर्वामा पतन भयो र एक कुमारको जन्म भयो । ग्रीवामा जन्मेको भनेर त्यो कुमारको नाम सुग्रीव रह्यो । सूर्यले सुग्रीवलार्ई एक बलवान सहायक दिनु भयो । त्यासको नाम हनुमान रहन गयो । ती सुन्दरीले बालि र सुग्रीवलार्ई लिएर सुत्न गइन्, विहान उठ्दा त स्त्रीबाट उनको रूप पुरुषमा परिणत भयो । यी बालक लिएर ऊ ब्रह्मासमक्ष पुग्यो ब्रह्माले पनि यो जानकारी पाएर खुसी हुनु भयो । ब्रह्माले देवदूतलार्ई बोलाएर किष्किन्धापुरीको राजा बनाउन लगाउनु भयो भन्ने कुरा अगस्तिजीले श्रीराममा सुनाउनु भयो ।

रावण र सनत कुमार संवाद

रावणले सनत कुमारलार्ई देवतामा को बलवान छन् र कस्को आधारले कसो गरी युद्ध जित्छन् भनेर सोध्यो । सनत कुमारले पनि हरि नै सबैभन्दा वलवान हुनुहुन्छ र उहाँकै आधारमा देवताले युद्ध जित्छन् भन्नुभयो । यसै गरी ऊ एक दिन पुन: नारदसँग पनि भेट भयो । नारदसँग पनि उसले लड्ने विरहरू कहाँ छन् भन्दा, नारदले पनि श्वेतद्वीपमा जाऊ त्यहाँ लड्ने विरहरू पाउने छौ भन्नुभयो । ऊ पुष्पकमा चढेर त्येतै लाग्यो । श्वेतद्वीपमा पुगेपछि उसको विमान चल्न छाड्यो । ऊ पैदल हिड्यो । स्त्रीहरू फेला परे र यहाँ आउनुको बृतान्त सोध्न थाले । रावणले त्यहाँको त्यो अति मनोहर दृश्यको अवलोकन गर्यो । ऊ निकै प्रभावित भयो र मरेर यहीं आएर बस्ने धारणा लियो । उसले सीताहरण गरेर, रामको हातबाट मरेर, संसार–सागर तरेर, जान्छु भन्ने धारणा बोकेर, सीतालार्ई हरण गरेको थियो । सीताहरण गरे पनि मातृवत व्यवहार गरेको थियो । पछि रामसँग लडेर, युद्धमा मरेर, मुक्ति पाएको थियो । बास्तवमा रावण बुद्धिमान पनि थियो ।

रामराज्यको बर्णन

कुवेरलार्ई ब्रह्माले दिएको पुष्प विमान, रावणले छिनेर लियो । रावण मरेपछि त्यो विमान रामको अधिनमा आयो । राम पनि त्यो विमानमा चढेर लंकाबाट अयोध्या आउनु भयो र त्यो विमानलार्ई आवश्यक परेमा आउने गरी पुन: कुवेरकोमा पठाइ दिनु भयो । रामको राज्यमा बृद्ध बाँचेर बालक कहिल्यै मरेनन् । चारैतिर आनन्दै आनन्द थियो । प्रजा खुसी थिए तर पनि एक दिन एक आश्चर्यको घटना घट्यो । ब्राह्मण एक बालक मरेको रामले पाउनु भयो र यो कसरी भयो भनी रामले बिचार गर्दा, शुद्रले वनमा तपस्या गरेर बसेको र उसको कारणबाट यस्तो भएको थाहा लागेपछि रामले त्यो शुद्रलार्ई मारेर तारिदिनु भयो र बालक व्यूँझ्यो । रामले कोटी लिङ्ग स्थापना गर्नुभयो । सबै कर्महरू राम्रा राम्रा गर्दा पनि सीतालार्ई रावणले हरेर लगेको र त्यही सीता रामले फर्काएर राखेकोमा लोकको अपवाद रामले व्यहोर्न परेकोमा रामले सीतालाई वनमा लगेर छाड्ने, त्यहाँ दुई वीर कुमारहरू जन्मने छन् । त्यसपछि तिमी न्यीयामा पसौली र पृथ्वी फाटेर त्यही मार्ग हुँदै तिमी वैकुण्ठ जाउली भन्नुभयो ।

रामबाट सीता त्यागिनु

रामराज्यमा लोकको धारणा के भनी रामले सोधनी गर्दा, रावणले राखेकी सीतालार्ई रामले ल्याएर राखेका छन् । राजाले यस्ति स्त्री राख्छन् भने राज्यका सबै स्त्री वेश्या हुने भए भन्ने आवाज सुनिन थालेको छ भन्ने जानकारी रामले पाउनुहुन्छ र लक्ष्मणलार्ई सीतालार्ई बाल्मीकि आश्रमम नजिक वनमा लगेर छाडिदिने आदेश दिनुहुन्छ । यदि नछाडेमा लक्ष्मणलार्ई मारिदने र आफूपनि मर्ने आदेश लक्ष्मणले पाए पछि लक्ष्मणले सीतालार्ई वनमा लगेर छाडी दिनुहुन्छ । सीताले वनमा विलाप गरेको बाल्मीकिका शिष्यहरूले सुन्दछन् र बाल्मीकिलार्ई भन्दछन् । बाल्मीकि आएर, सीतलार्ई आश्रममा लगेर, कुटी वनाएर ऋषि पत्नीहरूसँग राखिदिनुहुन्छ र सीताको सेवा गर्न थाल्नुभयो ।

लवणको वध

एक दिन यमुना नदीको किनारमा बस्ने सबै ऋषिहरू (भार्गव् च्यवन लगायतका) रामको शरणमा आए र च्यवनले रामसँग भन्न थाले– क्वै मधुनाम गरेका दैत्य शिवका प्यारा महात्मा थिए । उनको भक्तिले खुसी भएर शिवजीले त्रिशूल दिनु भएको थियो । यी महात्माले रावणकी बहिनी कुम्भिनसँग विवाह गरेका थिए । यिनको लोककण्ट नामको पुत्र जन्मेको थियो । त्यसले त्यही शिवको धनु लिएर सबैलार्ई दुख दिइरहेको छ । यो दु:खबाट मुक्तिदिनु पर्यो भनी आग्रह गरे । ऋषिको आग्रह सुनेपछि रामले सबै भाइलार्ई कसले लवण मार्नेभन्दा सबै भाइ मार्न जानको लागि तयार भए । रामले शत्रुध्नलार्ई, एउटा बाण दिएर, पुरी बनाएर राज गर्नेगरी, लवणलार्ई मार्ने आदेश दिनु भयो र यो पनि भन्नुभयो कि ऊसँग शिवको त्रिशूल छ । विहान पूजा गरेर मात्र खाना खोज्न जान्छ । त्यो खाना खोजेर घर फर्कन नपाउँदै त्यसको बध गर्नु पर्छ । यी कुरासमेत रामले शत्रुघ्नलार्ई बताउनु भयो र त्यहाँ निर्माण गर्ने पुरको नाम मथुरा हुने छ र त्यहीं तिमीले राज्य गर । रामको आदेश बमोजिम शत्रुध्नने लवणको वध गरेर मथुरामा राज्य गर्न थाल्नुभयो ।

कुशलार्ई बाल्मीकिले परमार्थको उपदेश

वनमा छाडेकी सीताका जुम्ल्यहा पुत्र जन्मे । बाल्मीकिले तिनको नाम कुश र लव राख्नुभयो र शिक्षा पनिदिनु भयो । वेद पनि पढाइयो । दुवै भाइले रामचरित्रको गान गर्दथे । बाल्मीकिसँग ज्ञानका कुरा लगायत यी बालकले छलफल गर्दर्थे । कुशले एक दिन बाल्मीकिसँग सोधे –कसरी बन्धनमा परिन्छ ? कुन पाठबाट बन्धन तोडिन्छ ? बाल्मीकिले पनि जीवले विवेक विचार नगरी, मन्त्री अहंकार लियो भने, मन्त्रीले आफूमा भएका सबै गुण जीवमा मिलाइदियो भने र मन्त्रीका बसमा परेर यही जीवले अहंकार गर्यो भने त्यो विषयमा खस्छ र बाँधिन्छ । अहंकारका तीन गुण (रज तमस्त्रीगुण) हरू हुन् र यी कुनै सारका छैनन् । त्यसो हुँदा सत्यमा इच्छ्या गयो भने पनि ऐश्वर्य भोग गर्छ । रजले र तमले गर्दा यस्ता व्यक्ति कीरा भएर खस्छन् र सधै दु:ख पाउँछन् । त्यसो हुँदा यी तीन गुण (रज, तमस्त्री) लार्ई जसले त्याग्छ र आत्मालार्ई बुझ्छ, संसारका बन्धन तोड्छ र संसार तर्छ भन्ने उपदेश गुरुले दिनुभयो ।

रामको यज्ञमा कुश लव सहित बाल्मीकि ऋषिको आगमन

यता रामले अश्वमेध यज्ञ गर्न थाल्नुभयो । यश्वमेध यज्ञमा सीताजीको सुनको प्रतिमा बनाएर यज्ञलार्ई पूर्णता दिइएको थियो । यस यज्ञमा बाल्मीकिलार्ई पनि बोलाईएको थियो । कुश र लव दुवै भाइ बाल्मीकिसँग हिड्थे । कुश र लव पनि रामको यज्ञमा बाल्मीकिको साथमा आए । बाल्मीकिले दुवै भाइलार्ई रामचरित्र गाउन लगाए । यी दुवै भाइको गाना सुनेर सभामा बोलाएर गाना गाउन लगाइयो । रामले यी बालकको गानामा पुरस्कार दिनको लागि भरतलार्ई दशहजार रपियाँ दिन भनियो तर बालकहरूले तृण समान सम्झेर लिएनन् र वाल्मिीकिो छेउमा गएर खडा भए । रामले यी सीतापुत्र हुन् भनी जान्नुभयो । रामले शत्रुघ्नलार्ई सीतालार्ई नीया दिन लिएर आऊ भनेर आज्ञा दिनु भयो ।

सीताजीको पृथ्वी प्रवेश

शत्रुघ्नले वनमा गएर बाल्मीकिको आश्रममा सीतालार्ई नीयापस्नको लागि रामबाट लिएर आउन मर्जी भएको कुरा सुनाउनुहुन्छ । बाल्मीकिले पनि भोलि सीता नीया पस्ने धारणा राखेर सीतालार्ई लिएर रामको यज्ञमा पुग्नुहुन्छ । सीताको नीया पस्ने खवर सुनेर ब्राह्मण–क्षेत्री–वैश्य–शुद्र लगायत सबै रमिता हेर्न आउँछन् । बाल्मीकिले सीता पवित्र हुनुहुन्छ र कुश र लव पनि हजुरकै पुत्र हुन् । आज सीता नीया दिन आएकी हुन्भन्दा रामले पनि यो सत्य हो, सीताले पहिला पनि नीया दिएकी र आज पनि नीया दिंदै छन् भन्ने कुरा लोकलार्ई सुनाउनु भयो । सीताजीले पनि म पवित्र छु, राममा नै मेरा भक्ति छ, म सत्य छु, र मलार्ई जानको लागि पृथ्वीले बाटो दिउन् भन्दै रामको चरणमा भक्तिभाव राखिन् । पृथ्वीले सीताको यस्ता बचन सुनेपछि राम्रो सिंहाशन तयार पारेर त्यसैमा राखेर (धर्ती फाटेर) बाटो प्रदान गरिन्, सीता त्यही मार्गबाट अलोप हुनु भयो । इन्द्रादिदेवताले पुष्पवृष्टि गरे । रामले यज्ञमा गर्नु पर्ने सबै कर्म गरी दान दिएर आफ्ना दुई पुत्र साथमा लिएर अयोध्या फर्कनु भयो ।

कौशल्या (आमा) लार्ई रामको उपदेश

कौशल्याले पनि रामसँग कुन पाठबाट बन्धन तोडिन्छ भन्दै प्रश्न राख्नुभयो । रामले भक्ति योग ठूलो हो यसमा पनि त्रिगुण रहितको भक्ति गर्नु पर्छ । मनलार्ई रामनाममा लिन गर्नु पर्छ । विषयमा इच्छ्या नराख्नु, धर्मलार्ई थाम्नु, सत्यकर्म गर्नु, हिंसालार्ई त्याग्नु, रामको दर्शनको लागि स्तुति गर्नु, रामलार्ई दण्डवत गर्नु, राम सर्वव्यापी छन् भन्ने धारणा राख्नु, साँचो बोल्नु, दु:खीमा दया राख्नु, अहंकारलार्ई त्याग्नु, सज्जनको सङ्गत गर्नु, योगमा मन दिनु, सर्ब आत्मामा रामको बास छ भन्ने सम्झनु, जीवात्मामा परमात्मा छन् भन्ने सम्झ्नु आदि कर्मबाट तथा आदि तत्त्वको ज्ञान कर्मले संसार तरिन्छ भन्दै रामले कौशल्यालार्ई सुनाउनु भयो र भन्नुभयो – ‘म त हजुरकै पुत्र हूँ त्यसो हुँदा पुत्रकै नाम लिए पनि तरिन्छ ।’ कौशल्याले मुक्ति पाउनु भयो । कैकेयी र सुमित्राले पनि देह त्यागेर दशरथमा विलिन हुनु भयो ।

पुस्करलार्ई राजा बनाउनु

एक दिन युधाजित, पापात्मा अति दुष्ट तीन कोटी गन्धर्वको नाश गर्नको लागि रामको हजुरमा गएर विन्ति गरे । भरतजी गएर ती सबै मारेर पुस्करावतीको निर्माण गरेर पुस्करलार्ई राजा बनाउनु भयो । आर्को तक्षशीला पुरको निर्माण गरेर तक्षलार्ई राजा बनाएर रामको शरणमा फर्कनु भयो ।

अङ्गद र चित्रकेतुलार्ई राजा बनाउनु

रामले लक्ष्मणलार्ई पश्चिममा गएर दुष्ट भिल्लहरूलार्ई नाशेर, त्यहाँ दुई पुरीको निर्माण गरे, दौलतहरूले भरेर, छोराहरूलार्ई राजा बनाएर फर्क भनेर आदेश दिनु भयो । रामको यो आदेश पाए पछि लक्ष्मणजी, पनि गएर भिल्लहरूलार्ई मारेर दुई पुरीको निर्माण गरेर, अङ्गद र चित्रकेतुलार्ई राजा बनाएर फर्कनु भयो ।

कालले रामलार्ई भेट्नु

ब्रह्माजीले एक दिन काललार्ई राम भएको ठाउँमा पठाउनु भयो । कालले विप्रको रूप धारण गरेर लक्ष्मणसँग पुग्यो र रामको दर्शन माग्यो । लक्ष्मणले राम भएको ठाउँम हाजिर गराउनु भयो । कालले ‘त्वं वर्धस्व’ भनेर रामलार्ई आशिष दिदैं, ब्रह्माको खवर भन्नको लागि गोप्य स्थानमा कुरा गर्न इच्छ्या जाहेर गर्यो । रामले पनि लक्ष्मणलार्ई भित्र कोही नपठाउने । पठाएमा मारि दिन्छु भन्नुभयो र लक्ष्मण बाहिर निस्के । कालले ब्रह्माजीको सन्देशमा एघार हजार वर्ष, पृथ्वीमा रहने कवोल बमोजिम हजुर यस लोकमा आउनु भएको र त्यो अवधी पुगेको हुँदा, हजुरको बस्ने इच्छ्या भएमा बस्ने तथा आउने मन भएमा चाँडै आउनु पर्यो भन्ने ब्रह्माको संदेशलाई कालले राम अघि राख्यो । रामचन्द्र र कालको बीचमा बातचित हुँदै थियो, दुर्वासा ऋषि आएर रामको दर्शन चाडै पाउँ नत्र भने कुलको नाश हुने श्राप दिन्छु भनेपछि लक्ष्मणले कुलको नाश हुनुभन्दा त म एउटा नाशिनु राम्रो भनी रामको समक्षमा दुर्वासा आएको खवर लिएर लक्ष्मण भित्र जानु भयो । ऋषि भेट्न आएको संदेश दिए । रामचन्द्रले ऋषिलार्ई दर्शन दिएर, के कामले पाल्नुभयो भनेर सोधनी गर्नुभयो । दुर्वासाले खानको लागि आएको बताए र खाना खाएर फर्के ।

लक्ष्मणलार्ई रामले त्याग्नु र लक्ष्मणको प्राण त्याग

रामले भने बमोजिम लक्ष्मणलार्ई मार्नु पर्ने भयो । लक्ष्मणले पनि रामलार्ई आफ्नो बोलीलार्ई पुरा गर्नुहोस् भन्न थाले । ठूलो सभा भयो । सबैले त्याग गर्नु होस्, त्याग गर्नु र मार्नु बराबर हो तर नमार्नु होस् भन्दै अनुरोध गरेपछि लक्ष्मण सरयुतिर लागे । लक्ष्मणले सरयु नदिको तिरमा प्राणाय म गरेर यस लोक छाडेर हरि जहाँ थिए त्यहीं पुग्नुभयो र ब्रह्मादि देवता भेट गर्न आउनु भयो ।

रामको महाप्रयाण

लक्ष्मण जब यो संसारलार्ई छाडेर जब वैकुण्ठ पुग्नुभयो रामले पनि लक्ष्मण भएको ठाउँमा नै जान्छु र भरतले राज्य चलाउन् र प्रजालार्ई सुखभोग गराउन् भन्ने धारणा आफ्ना मन्त्रीहरूलार्ई राख्नुभयो । भरतले पनि कुश र लवलार्ई राज्य दिएर रामकै पछि लाग्ने भन्न थाल्नुभयो । शत्रुघ्नलार्ई लक्ष्मण परमधाम भएको खबर र राम पनि त्यतै लाग्ने खवर पठाइयो । शत्रुघ्न पनि यो खवर सुनेर, छोरालार्ई राज्य दिएर, प्रभुकै पछि लाग्ने भन्न थाल्नुभयो । यी सबै समचार चारैतिर फैलियो र प्रजाहरू पनि पछि लाग्ने कुरा गरेको सन्देश बशिष्ठले रामलार्ई बताउनु भयो रामले पनि प्रजाको धारण बमोजिम साथै जाने भावनालार्ई पूर्ण गरी दिने भन्नुभयो । उत्तर कोशलमा कुश र लव राज्य गर्न गए । राम महाप्रयाणमा जाने भनेपछि राक्षस् ऋक्ष वानरहरू, सुग्र्रीवले अङ्गदलार्ई राज्य दिएर जाने धारण पनि रामले सुन्नुभयो । राम, प्यारो भक्त विभीषणकहाँ गएर प्रारब्ध ठूलो हो यो कसै गरे पनि छुट्दैन त्यसो हुँदा भूरहेसम्म राज्य चलाएर बस भन्ने मर्जी भयो । हनुमानलार्ई पनि चिरञ्जीवी भएर रहने, र मेरो हुकुम बमोजिम काम गर्न तत्पर रहेर बस्ने, जाम्वानलार्ई पनि द्वापरमा तिमीसँग लडाइँ लड्नु छ, त्यतिञ्जेल यहीं रहने भन्नुभयो । जो रामको साथमा जान तयार थिए सबैलार्ई साथमा जानको लागि भन्नुभयो । आफ्ना सबै परिवारलार्ई साथ लिएर गुरु वशिष्ठलार्ई मङ्गल गर्न भन्नुभयो । सीताजीले पनि अघिको रूपलार्ई छिपाएर लक्ष्मीको रूप लिएर वामतिर बस्न जानु भयो । पृथ्वी दक्षिण तर्फ बस्नुभयो । यस समय भूवन भरिका सबै आए । यस वेला ब्रह्मा पनि आउनु भएको थियो र रामले ब्रह्मालार्ई यी मसँग जान लागेका सबैलार्ई शुभलोक दिएर परिवारको साथमा आनन्दसँग बस्ने व्यवस्था मिलाउनको लागि आदेश दिनु भयो । ब्रह्माले पनि यो सबै काम गर्नुभयो । सबैले सरयु स्नान गरे । गायत्री, चारवेदले मङ्गल गीत गाए । देवताहरू आएर पुष्पबृष्टि गरे । राम सरयु नदीमा पस्नुभयो । शत्रुघ्न र भरत शंख चक्र बनेर रामको बाहुमा बसे, सुग्रीव सूर्यमा गएर मिले । राम वैकुण्ठमा पुग्नुभयो । शिवजीले पार्वतीलार्ई रामले संसारको भार हरेर जानु भयो । रामायण जसले पढ्छ ऊ बैकुण्ठ लोकमा पुग्छ भन्ने कुरा बताउनुहुन्छ र उत्तरकाण्ड रामायण समाप्त हुन्छ ।

अन्त्यमा

रामायणको सङ्क्षेप्तीकरण मैले माथि नै लेखिसकेको छु । रामायणमा रामले गरेका सबै कर्महरू, राक्षसहरूले पृथ्वीमा गरिएका सम्पूर्ण अन्याय अत्याचारबाट पृथ्वीमा पुग्न गएको भारलार्ई हरण गरी सबै ऋषि मुनि देवताहरू तथा मानवहरूलार्ई स्वतन्त्ररूपमा यज्ञहरू, तपहरू गरेर सुखभोग दिलाउनको लागि भगवान विष्णुले दशरथको (मानव) पुत्रको रूपमा जन्म लिनु भएको हो भन्ने भावार्थ हामी सबैले बुझ्न सक्छौं । खास सत्यको सधैं विजय हुन्छ । रामलार्ई सत्यको रूपमा लिइएको छ र रावणादि राक्षस्हरूले गरेको कुकृत्यहरूलार्ई असत्य कुकर्मको रूपमा लिइएको छ । हरेक ठाउँमा रामले सत्कर्मलार्ई अङ्गाल्दै, धर्मको संरक्षण गर्दै, मानव कृयाकलापको प्रदर्शन गर्दै, आफ्नो सही विष्णु–रूपलार्ई लुकाउँदै, देवता ऋषि मुनिहरू सबैले भोगेक सबै दु:ख कष्टलार्ई हटाउँदै संसारिक कृयाकलापमा सहभागिता मूलक प्रदर्शन गरेको हामीले पाउँछौं । रामलार्ई भगवान विष्णु अवतारको रूपमा र रामायणलार्ई धार्मिक ग्रन्थको रूपमा हामी ( हिन्दुहरू) ले स्वीकारिसकेका छौं । यसमा टिप्पणी गर्नु तर्फ नलागि भगवानको लीला अपरम्पार, यिनकै भक्तिमा तरिन्छ संसार भन्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी

कावासोती–१, शान्तिचोक, नवलपरासी
ईमेल snjaishy@gmail.com, कुनै कमेन्ट भएमा यसमा पठाई दिनुहुन हार्दिक अनुरोध छ ।

मिति २०७०साल फाल्गुण १५ गते शिवरात्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *