दुई गास भात निल्दै
एक मुठी सास झुण्डयाउदै
सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु
म यतै -कतै
गाई गोठहरूमा
बंगुर खोरहरूमा
टनेल हाउसहरूमा
मन्द बिष युक्त कारखानाहरूमा
घाम निदाएपछि
संवेदनाहिन निष्पट अँध्यारो रातमा
म घस्रिने प्रयत्नमा हुन्छु
जिन्दगीको जुन नउदाउने हरेक रातहरूमा
म सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु
म मेरो माटोमा फिर्दा
मेरा कयौ वसन्त बैशहरू झरिसकेका हुनेछन
र जिन्दगीको कयौ ॠतुहरू बदलिसकेका हुनेछन
मेरो आगमनको स्वागत गर्न तम्सिरहेका
देउराली र भज्याङ्गका बुढा रुखहरू
आफू जस्तै सम्झेर
मलाई गिज्याउने छन
म रमिते र जोरोपारीहरूकै अगाडि
फाल हाल्दै गएर मेरी आमालाई अँगालोमा बाध्ने छु
मेरो आगमनमा
कन्दराका सुनगाभा
पखेरीको लालीगुराँस मुस्कुराउदै
कोईलीको मिठो स्वरमा
चाउरी परेको मुहार चम्काउदै
बुढो पहाड नाच्ने छ
हिमाली हावा मन्द-मन्द बयेली खेल्दै
झरनाले मिठो धुन भर्ने छ
ती दृश्यहरू सारा जगतलाई प्रीतिकर लाग्नेछ
