Skip to content


रूपक र दीपक खुबै मिल्थे । स्कुलदेखिका साथी, आइ एस्सी पनिसँगै पढेका । रूपकको शहरमा घर थिएन, भाडामा बस्थ्यो । दीपकको शहरमा घर थियो । रूपकको प्राय दीपककै घरमा बास हुन्थ्यो । उसकै घरमा खाने, सुत्ने पनि गर्थ्यो । सँगै कलेज जान्थे, सँगै घुम्थे । सिनेमा हेर्ने, गफ गर्ने, होमवर्क गर्ने आदि इत्यादि सबै दुवै एकसाथ गर्दथे । एक अर्काको रमाइलोमा साथ दिन्थे, अप्ठेरोमा सहयोग गर्थे अनि दु:खमा आँसु पुछ्थे ।

रुपकको आर्थिक स्थिति अलि कमजोर थियो । खर्च गर्न पर्ने ठाउँमा दीपक नै गर्थ्यो । पढाइमा रूपक अलि तेज थियो । दीपक पनि कम थिएन । तर रूपक धेरै नै मेहनती थियो । त्यसैले रूपकको परीक्षामा नम्बर दीपककोभन्दा राम्रो आउँथ्यो ।

दुवैजनाको खुब राम्ररी दिनचर्या बित्दै थियो । दिन, महिना, साल बितेको पत्तै भएन । उच्च शिक्षाको लागि बिदेश जानु पर्ने समय आयो । दुवैजनालाई दुई भिन्न देशमा जानुपर्ने भयो । दुवैको मन गह्रुँगो हुने नै भयो ।

दीपकले रुपकलाई छुट्टिने बेलामा भनेको थियो,”रूपक मलाई बिर्सन त बिर्सिदिनस् ?”

प्रत्युत्तरमा रूपकले भनेको थियो “दीपक, के भनेको तैले ! त्यस्तो पनि भन्ने । बरु म आफैँलाई बिर्सुँला तलाई कहिल्यै बिर्सन सक्दिन ।” दुवैजना हात मिलाएर सधैँ एकअर्कालाई सहयोग गर्ने प्रण गर्दै छुट्टिएका थिए ।

धेरै वर्ष पछि दीपकले पत्रिकामा रुपकको बारेमा पढ्न पायो । ऊ कम्प्युटर इन्जिनियर भएर अमेरिकामा आफ्नै कम्पनी खोलेर बसेको रहेछ । अमेरिकाको नेपाली धनाढ्यहरूमा उसको पनि नाम आउँदो रहेछ । ऊ त करोडपति भएछ । दीपक रूपकको बारेमा थाहा पाएर खुशीले गद्गद् भयो । उसलाई सम्पर्क गर्न दीपकले धेरै कोसिस गर्यो । उसको कम्पनीको नाम गुगलमा सर्च गर्न थाल्यो । बल्ल उसले कम्पनीको ठेगाना र फोन पत्ता लगायो ।

संयोगबश दीपकलाई अफिसको कामले अमेरिका जानुपर्ने भयो । दीपक रूपकलाई सरप्राइज दिन सिधै उसको अफिसमा गयो । भव्य भवनको अफिस रहेछ । काम गर्ने मानिसहरू धेरै रहेछन् । रूपकको पिए शेली नामकी केटीरहिछिन् ।

दीपकले शेलीलाई भन्यो,”दीपक आएको छ भनी भनिदिनोस, उसले चिनिहाल्छ ।”

शेली रूपकको कोठा भित्र गइन् । दीपक रुपकलाई भेट्न आतुर थियो । रूपक अब निस्कन्छ, तब निस्कन्छ भनेको त, शेली एक्लै निस्किन् ।

दीपकले सोच्न सकिरहेको थिएन, शेलीले अंग्रेजीमा भनिन्,”डाइरेक्टरको निकै बिजि स्केज्योल छ । तपाईले अप्वाईमेन्ट लिइ भेट्न सक्नुहुन्छ । उहाँ कहिले फ्रि हुनुहुन्छ म हेरिदिन्छु ।”

दीपकले थाहा पायो रूपक आफ्नै कम्पनीमा आफै डाइरेक्टर रहेछ ।

एकछिन पछि घोरिएर शेलीले भनिन्,”अर्को हप्ता तपाईँ भेट्न सक्नुहुन्छ ।”

दीपकको मनले “अर्को हप्ता !” भने पनि बाहिर उसले केही बोल्न सकेन ।

तिनदिन पछि दीपकको फर्किने टिकट थियो । “द्याट इज ओके, थ्याङ्यू शेली” भनेर दीपक लुरु लुरु निराश भएर फर्कियो । दीपकको दिमागले रूपकसंगको उसको रमाइला दिनहरू सम्झिरह्यो ।

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *