एउटा प्राण
एउटा जिन्दगी
एक मुट्ठी स्वास
मुट्ठी भित्रको माखा जस्तो
समयको बेगले मुट्ठी खुल्ने बितिकै
वायुपंखी घोडा जस्तो उडी दिन्छ गगनमा
वर्षौ संगालेर पालन पोषण गरेको भौतिक देहलाई
यो बैगुनी आत्माले धोका दिदै छोड़ी जान्छ नाता हजार
धर्तीमा हीरा टल्के जस्तै
उत्तरमा ध्रुब तारा चम्के जस्तै
जन्म र मृत्युबिचको बक्रहरूमा
वसन्तको लाखौ पुष्पहरू सुगन्ध छरिरहँदा
जीवनको मध्ये भाग तीर
प्रेमको दीपशिखा बालेर
एक अर्काको अस्मिता साट्दै
नयाँ सृष्टिको सृजना गर्नु नै जीवनको सार्थकता रहेछ
भमराको बोली फूलले बुझे जसरी
पशु बाक्य प्रकृतिले सुने सरी
ढुंगालाई माटोको भर माटोलाई ढुङ्गाको भर
भए जस्तै
लहरालाई थाक्रो बनी उभिनु
जीवन रंगीन बनाउनु रहेछ
हिजोको म बबुरो
आज चेतनाले भिजेको छु
आकर्षक देह र व्यक्तित्व प्रतिको मेरो आकर्षण
आज एका एक घट्दो क्रममा छ
शिखर ओरालो लागे जस्तो
जीवनले मृत्यु रूपी गन्तव्य भेटे जस्तो
घटिरहेछ भौतिकतावाद
लोभी आँखाँका रासलीला मर्दैछन
यही हृदयको अन्तरकुन्तरमा
र,
जाग्दैछन अमर आत्माका उद्बेग
उत्साह
उमङ्ग
जो कदापि नमर्ने गरी
हरेक मानव मनको भित्तामा
आफ्नो नाम लेखि छोड्दै छु
प्रेमले…
आज बल्ल बुझ्दैछु
मर्ने त खोक्रो शरीर रहेछ
बाँच्ने आत्मा रूपी सम्झना रहेछ
अँझ,
त्यही सम्झनाहरू प्रेमले कुंदिए
अमिट बन्दो रहेछ
त्यो अमर “ध्रुब”तारा जस्तो …
हो,
क्षितिजको उत्तरमा चम्किने “ध्रुब”जस्तो …
Calpana Rai(khushi)
दोलखा नेपाल
हाल दक्षिण कोरिया
