Skip to content


मलाई चुरोट धुँवा भनेपछि पटक्कै मन नपर्ने । सूर्य चुरोटको धुँवा उदाउदै मेरो कुइनामा आफ्नो छाती ठोस्दै सिक्नेचरले भरिएको गिलास उचाल्दै आकृतिले भनिन,”चियर्स ।”

मैले मन नलागि-नलागि भरि गिलास उठाए र “चियर्स” भने उतापट्टि जगल्टे उसै गरी “चियर्स” भन्यो ।

हामी ठमेलको पवमा थियौ ।

जगल्टेले मतिर हेर्दै सोध्यो,”कुन फ्लेवरको हुक्का तान्ने यार?”

म भने केही बेर अगाडि पुरानो अमेरिकन दुताबास हुँदै ठमेल आउँदा भीड छिचोल्न नसकेर एक छिन संचय कोषको भवन अगाडि बाईक रोक्दा एक हुल दिनका कुमार रातका कुमारीहरू आएर “लाने हो?” भनेर सोधेको कुराले मन चिमोटिरहेको थियो । एउटी भनौ कि एउटाले मेरो पाइन्टमाथि हात राख्दै भनेकी थिई,”पुरा आईटम-आईटम हुन्छ ।”

बाईक चलाई राखेको गजल्टेले प्याच्चै भनेको थियो,”ओई छक्का बढी बोल्छस !”

एउटी जँगिदै थिई । “मा……… साला !”

त्यति नै बेला पुलिसको भ्यान आयो । उनीहरू त्यहाबाट अलप भए ।

जगल्टेले रिसाए जस्तै गरेर भन्यो,”यस्तै हो भने त आज र्याक हुने भैगो नि ।”

“भेनिला,” मैले भने ।

त्यति बेला मेरो मोबाईलको घन्टी बज्यो । हेरेको पुजाको रैछ । पूजा अर्थात मेरो श्रीमती ।

म कान्छी औंला देखाउदै उठे । टवाईलेततिर लागे ।

“के साह्रो डराको हो दिज्युसँग” चर्को हिन्दी संगीतको ध्वनिमा जगल्टे यति मात्र भनेको सुने ।

म टवाईलेटभित्र पसेर फोन उठाए । उताबाट पुजाले भनिन । “कहाँ हो र यत्रो बेरसम्म पनि फोन नउठाउने ?”

“म साथीहरूसँग छु। आज आउन ढिला हुन्छ होला खाएर सुत है,” भन्दै फोन राख्दिए ।

म फर्केर आउँदा जगल्टेको हात आकृतिको छाती माथि सलबलौदै थियो ।

त्यति खेर नै उस्को गोजीमा मोबाईल बज्यो । “ह्या कस्ले फोन गर्‍यो यस्तो बेलामा” भन्दै फोन निकाल्यो ।

चेहरा बिगार्दै भन्यो,”दिज्युको पो रैछ ।”

जगल्टे र म नाताले साला – भेना पर्छौ । जातमा ऊ बाहुन म मगर । उस्को घर बिराटनगर मेरो बाग्लुङ । म काठमाण्डु आएर त्रिचन्द कलेज पददा हामी एउटै घरमा डेरामा बस्थ्यौ । कलेज पनि एउटै थियो । जगल्टे र पूजा दुई भाइका छोराछोरी हुन । कलेजसँगै आउजाऊ गर्दा खै कसरी माया पिरती बस्यो । चोखो मायालाई न कुनै भूगोल न कुनै जातपात न धन-दौलतले छेक्दो रहेछ । हामीले मन्दिरमा बिहे गरेपछि उनकी हजुर आमाले पण्डितकी नातिनीले ईज्जत फाली भनिन भनेर पाचँ वर्षसम्म माईती गइनन । पूजा हजुरआमाको स्वर्गेबास पछि मात्र माईती गएकी थिइन ।

हठी स्वभावकी पूजा तेकान्दोमा बल्याकबेल्ट पाइसकेकी थिइन । राष्ट्रिय खेलाडी बन्ने सपना देखेकी एक दिन गुरुले उनको छातीमा हात पुर्याए पछि गुरुलाई नै लात हानेर त्यो सपना मारेकी रे ।

अहिले म टुरिष्ट गाईड गर्छु । उनी आई. एन. जिओमा काम गर्छिन । हाम्रो बिहेपछि एक छोराको जन्म भैसकेको छ ।

विवाह पछि मैले कहिले पनि सबै काम श्रीमतीले गर्नु पर्छ् भन्ने मान्यता कहिल्यै राखिन । हामी जसलाई फुर्सद हुन्छ । उसैले खाना पकाउने,भाडा धुने, लुगा धुने काम गर्छौ । यसरी काम गर्दा कहिले पनि हामी बिच् झगडा भएको छैन् ।

एक चोटि अन्नपूर्ण पदयात्रा जादा कोरियन जोडीले भनेका थिए,”लोग्ने स्वास्नीको झगडा भनेको पानीलाई चक्कुले काटे जस्तै हो ।”

जगल्टेले फोन उठाउन मात्र के पाएको थियो,”हस-हस” भन्दै मलाई फोन दियो ।

“कहाँ हैछ भनेको त बल्ल थाहा भो,” पुजाले सुकसुकाउदै भनिन ।

हैन यो आईमाईको जात केही भयो कि रुन मात्र जानेका हुन्छन् कि के हो ? मनमा यस्तै तर्कना आयो ।

“म जान्छु यार,” जगल्टेलाई भने

“कहाँ?” आकृतिले सोधिन ।

“भरे आईज है” जगल्टेलाई भने । उस्ले टाउको मात्र हल्लायो । केही बोलेन ।

“भोलि म फ्री छु भोलि भेटौँला है आकृति” भनेर बिल तिरेर हिंडे ।

ट्याक्सी चदेर फर्कदै गर्दा टयाक्सी फेरि संचय कोषको भवन अगाडि केही छिन रोकिदा चौध-पन्ध्र वर्षका दुई युवकले ट्याक्सी नजिक आई सोधे,”माल चाहिने हो दाइ ? भर्जिन मिलाई दिन्छम ।”

अलि पर भद्दा मेकअपमा केही युवतीहरू उभिरहेका थिए ।

ट्याक्सी गुदेर परराष्ट्र मन्त्रालय अगाडि पुग्दा ड्राइभर दाइले भने,”के गर्ने सर सधैं यस्तै गरेर हैरान पार्छन । सरकारले बरु रेडलाईट एरिया खोल्दिए राम्रो हुने थियो ।”

“पुलिसले केही गर्दैन?” मैले सोधे ।

“सबका सबका मिलेका छन हो सर । पुलिस, नेता, डन,” ड्राइभर दाइले एक प्याकेट गुदका मुखमा हाल्दै भने ।

ट्याक्सीको सिसा अलि तल सारेर प्याच्च थुक्दै ड्राइभर दाइले फेरि भने,”महंगीले आकाश छोयो जसको सरकार आए पनि आफ्नै भुँडी भर्ने मात्र आम्छन गरिबलाई कसैले केही गर्ने वाला छैन । सबैलाई हेरियो । सबका सब चोर हुन सालाहरू !”

त्यति खेर ट्याक्सी जमल पुल मुनि पुगिसकेको थियो ।

म कोठामा पुग्दा पूजा टि.भी कोठाको सोफामा घोप्टो परेर बसिरहेको थिइन ।

छोरा ममीको मोबाईलमा क्यान्डीक्रस खेलिरहेको थियो ।

म आएको देखेर पूजा उठेर मेरो छातीमा मुडकीले कयौ पल्ट हिर्काइन ।

मैले पनि अगालोमा बेरेर ओठमै चुमी दिए ।

“छ्या कस्तो लाज नभाको मान्छे होला । अब त छोरा ठुलो भैसक्यो भन्या” पुजाले लजाउदै भनिन ।

म ओछयानमा पल्टिएर फेसबुक चलाउदै थिए । पूजा मेरो छाती माथि टाउको राख्दै “छोरा त निदायो” भनिन । मैले पनि उनलाई अँगालोमा बेरे । हामी फुलको पत्र-पत्र जस्तै झर्यौ । उनी मेरो छातीको सिरानी बनाई निदाइन ।

मलाई आकृति र मेरो बिगत सिनेमाको दृश्य जस्तै आँखामा आउन थाल्यो । आकृति अर्थात आरती उनी मेरो आफ्नै मामाको छोरी थिइन् । मेरो मामाको एउटा मात्र सन्तान । आरती र म एउटै स्कुलमा पढ्थ्यौं । हामीले एस.एल.सी पास गरेपछि पदनको नीम्ति काठमाण्डु आएका थियौ । डेरा चाहिं हाम्रो टाढा-ताढा थियो । कलेज पनि फरक-फरक भेटघाट पनि कमै हुन्थ्यो । पछिल्लो चोटि उनको मेरो भेट उनले मेरो आमाले पठाई दिनु भएको गुन्द्रुक र घ्यु दिन भनेर आउँदा भएको थियो ।

केही दिन पछि आरती त बुर्जुवा शिक्षा नपदने भन्दै जनयुद्धमा होमिन रे भन्ने सुनियो ।

त्यसको ठिक दुई वर्ष पछि म आमा बिरामी भएर गाऊ जादा संयोगले उनीसँग भेट भएको थियो । हाम्रो पल्ला घरे काकाले दुई वटी भित्राए पछि काकालाई जनकारबाही गर्न आएका रे । त्यो रात उनीहरू हाम्रो घरमा बसेका थिए । आरती अब आरती नरहेर आहुतीमा परिणत भएको रहेछिन । देश र गरिब जनताको लागि लडेको सुनाएकी थिइन । अर्का च्यासे-च्यासे दाह्रीवालले मलाई पनि महान जनयुद्धमा लाग्न आग्रह गरेका थिए । मैले “तपाईहरूलाई मेरो नैतिक समर्थन छ । भौतिक रुपमा लाग्न सक्दिन” भनेको थिए ।

भोलि पल्ट बिहानै म काठमाण्डु हिंडे । दिउसो आमा र बुवालाई सरकारी बर्दिधारी आएर जंगलीहरूलाई किन खान र बस्न दिएको भनेर बन्दुकको कुन्दाले हिर्काएछन ।

छ महिना पछि आमा काठमाण्डु आउँदा “तो आरतीले त त्यही दाह्रीवालसित ब्या गरो रे के” भन्नुभयो ।

त्यस पछि हाम्रो कन्ट्याक्ट् थुप्रै वर्ष भएनन ।

माओवादी शान्ति प्रकृयामा आए पछि एक दिन आहुतीको फोन आयो । आमा सिकिस्त बिरामी भएर वीर होस्पिटल हुनुहुन्छ भनेर । म भेटन गए । खै किन-किन माईजु मलाई देखेर रुनु भो । मैले आहुतीलाई सम्झाउदै भने केही हुदैन माईजुलाई सब ठिक हुन्छ भने त्यो रात् मैले बिरामी कुरेर बसेको थिए । आहुतीलाई मैले उनीको लोग्ने बारेमा सोध्दा आँशु भनेकी थिइन,”त्यो दाह्रीवालले त मलाई धोका दिएर अर्की बिहे गर्‍यो नी”

हिजो बहुविवाह गर्‍यो भनेर जनकारबाही भन्दै हात खुट्टा भाच्नेहरू आज आफै बहुविवाह गर्दा चाहिं कस्ले करबाही गर्ने ? महान पार्टीका महान कार्यकर्ताहरू !

पर्सी पल्ट म एक ग्रुप खैरे लिएर सगरमाथाको आधार शिवीर जानु थियो । म लुक्ला एयरपोर्ट झर्न बित्तिकै आहुतीको फोन आयो । हिक्का छोददै भनेकी थिइन,”आमा यो संसारमा रहनु भएन”

मैले तुरुन्त पूजालाई फोन गरेर होस्पिटल जान भनेको थिए । ठिक दुई महिना पछि मामाको पनि दुखद निदन भएको खबर पाएको थिए ।

समय आफ्नै गतिमा दौडिरहेको थियो । एक दिन मेरो फेसबूकमा आकृति पुन लेखेको साथीको लागि रिकोस्ट आएको रहेछ् । फोटो हर्दा आरती अर्थात आहुतीको जस्तो लाग्यो । प्रोफाईल खोलेर हेरेको होईछ । केही तस्बिरहरू त अर्धनग्न पनि थिए । मैले एसेप्त गरेर फोन नम्बर मागेर एस् एम एस् पठाए ।

केही दिन पछि डेनिस जोडीलाई बशन्तपुर घुमाउन लादा न्युरोडमा आकृतिसँग भेट भयो । फुङ्ग उडेको रुप, मैलो-मैलो कुर्ता लगाएकी थीइन् । आँखा राता-राता थिए । शायद निद्रा नपुगेर होला । डि.भि भरेर फर्केको भन्दै थीइन् ।

हिजो अमेरिकी साम्राराज्यवाद मुर्दावादको नारा लगाउदै हिडने र देश बदल्ने सपना देखेका हजारौं आहुतीहरूको सपना कता हराए होलान ?

हामी नम्बर साटासाट गरेर छुट्टिएका थियौ । बेलुकी मैले फोन गरेको थिए । उनीले ठमेलको एउटा रेस्टुरेन्टमा काम गर्दिरहिछिन । आफू काममा भएकोलेपछि फोन गर्न आग्रह गरेर फोन राखिन ।

रेस्टुरेन्टमा काम गर्न लागेपछि आरती, आहुती हुँदै आकृतिमा परिणत भएकी रहेछिन ।

त्यस पछि हाम्रो धेरै दिनसम्म संपर्क भएन । धेरै दिन पछि एक्कासि मेरो फेसबूकको इनबक्स उनको म्यासेज देखा पर्‍यो । लेखिएको थियो । “मापासेले गर्दा रेस्टुरेन्ट चल्न छोडयो । साहुले तलब टाईममा दिएन । कोठा भाडा तिर्ने पैसा भएन । हेल्प गर्नु न ।”

मैले उनीलाई ठमेलको रेस्टुरेन्ट भेटेर दश हजार दिएको थिए । त्यति बेला उन्को आँखा रसाएका थिए । उनले रुदै भनेक थिइन, “यहा अब काम गर्दिन । कतै काम खोज्दिनु न ।”

पूजाले मलाई हिजो मात्र हामीले सेयर हालेर चलाएको बोर्डिङमा एक जना टिचर आवश्यक पर्‍यो रे भनेकी थीइन् । त्यही कुरा आकृतिसँग गर्न ठमेल पुगेको थिए । तर कुरा गर्ने मेसो नै मिलेन ।

भोलि मैले आकृतिलाई भेटेर यो कुरा सुनाउदा पक्कै खुशी हुनेछिन ।

कुनै दिन बुर्जुवा शिक्षा दिने बोर्डिङ स्कुल भन्दै बन्द गराउदै हिडने उनी फेरि त्यही बुर्जुवा शिक्षा दिने बोर्डिङमा पढाउदा उनीले कस्तो शिक्षा दिने हुन हेर्न बाँकी छ ।

निश्चल काउचा

1 thought on “बदलिएको आकृति”

  1. सुन्दर कथा र शब्द संयोजन,
    सुन्दर कथा र शब्द संयोजन, निश्चलजी । केही भाषिक गल्तीहरू छन्, तर प्रस्तुति र मेसेज बलियो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *