हल्का झोला बोकेर
खासमा
यो स्कुल जाने समय हो
एक जना बालिका तर
गोठालो गएकी छे
बाख्राको बथान लिएर ।
खच्चरले उडाएको धुलोभित्र लुकेर
एक महिला हाटबाट फर्किरहेकी छे
जस्ले भुडिमा कमसेकम
पाँच–सात महिनाको गर्भ बोकेकी छे
र पिठ्यूमा
चालिस–पचाँस किलो सामल ।
ऊ पर दोबाटोतिर
एक हुल ठिटाहरू
खल्तीमा पासपोर्ट
र झोलामा साहुँको रिन बोकेर
बिदेश जान भनी हिँडेका छन्
उनीहरू सबको एउटै रहर छ
खाडी मा–
केही सास कमाउँने
या केही आस कमाउँने
यो थाहा छैन तर
खाडी मा उनीहरूले
कति पसिना बहाउँनु पर्ने हो
कति आँसु बहाउँनु पर्ने हो ।
यै साल एस्एल्सी दिएको
एक जना बिद्मार्थी
जस्ले एस्एल्सीको रिजल्ट
र आफ्नो पहिलो सन्तान
एकै दिन पाएको छ
जो आफूनै केटाकेटी भए पनि
कसैको बाबु भैसक्यो ।
शीर लुकाउँने सानो छाप्रोसम्म नहुँदा
वर्षैंदेखि
दमाईँको एक परिवार
ओडाडमा बस्दै आएको छ
ऊसँग सम्पति भनेको
पुरानो र बिग्रिसकेको
एउटा रेडियो छ
र छ खान नपाएको
एउटा ख्याउटे बिरालो ।
लगभग साँठी नाँधिसकेको
बुढोबुढी मान्छे
यो अवस्थामा जस्ले
रिटायर्ड जिन्दगी बाँच्नु पर्ने हो
आफ्नो कोही सहारा नहुँदा
आज पनि तर
ऊ आफै खटिरहेको छ
ऊ आफै डटिरहेको छ
हिजो जस्तै
अस्ति जस्तै
केवल बाँच्नका लागि ।
सुशील शाह
(कुपण्डोल, ललितपुर)
