Skip to content


पुस ६, २०६३ – महान् जनआन्दोलनको बलमा प्राप्त लोकतन्त्र र तत्पश्चात गठित लोकतान्त्रिक सरकारले राष्ट्रका विभिन्न आयाममा आमूल परिवर्तनको आवश्यकता महसुस गर्‍यो । खासगरी परिवर्तनकामी जनताको भावना आत्मसात गर्दै सरकारले आफ्नो काम-कर्तव्य अघि बढाउनुपर्ने नै थियो । यसै सन्दर्भमा सामन्तवादका नाइके, तानाशाहको स्तुति गाइएको पुरानो राष्ट्रियगान पनि परिवर्तन गर्ने सरकारले निर्णय गर्‍यो । यद्यपि त्यो पुरानो गान बहिष्कार गर्ने पहल विभिन्न संघ-संस्था र संगठनहरूले निकै पहिलेदेखि गर्दै आएका थिए । ०६३ को परिवर्तनपछि विभिन्न क्षेत्र र समुदायमा पनि पुरानो गान खारेजी र नयाँ गान निर्माणमाथि व्यापक बहस र छलफल प्रारम्भ भए । नयाँ राष्ट्रगान कस्तो बन्नुपर्छ भन्नेबारे विभिन्न संघ-संस्था, संस्कृतिकर्मी, कवि, गीतकार, प्राध्यापक, विद्यार्थी र नागरिकविच बहस र छलफलले व्यापक रूप लियो । केही संघ-संस्था र वानेश्वर क्याम्पस स्ववियुले त राष्ट्रगानको संकलनै गर्‍यो । मैले आफू पनि गीत-कविताको एक विद्यार्थी भएका हैसियतले यसै दैनिकमा आफ्ना धारणा पेस गरेँ । मैले दुईवटा विषयलाई उठाएको थिएँ । पहिलो हो- नयाँ बन्ने राष्ट्रगानले नेपाली राष्ट्रियताको नयाँ परिभाषा कहनुपर्छ । र दोस्रो राष्ट्रगान, संस्कृतिका क्षेत्रबाट लोकतान्त्रिक आन्दोलन नेतृत्व गर्ने प्रसिद्ध कवि वैरागी काहिँलाले रचना गर्नुपर्छ । मेरो भनाइ प्रकाशित भएदेखि एक हप्तैसम्म विभिन्न कवि, गीतकार, पत्रकार आदिबाट आलोचना खप्नुपर्‍यो । आलोचनाको प्रमुख विषय थियो, वैरागी काहिँलाको नाम । तपाईंजस्तो व्यक्तित्वले लोकतन्त्रमा लोकतान्त्रिक विधिको कुरा गर्नुपर्नेमा व्यक्तिको नाम सिफारिस गर्ने ? ठीकै हो । मैले मेरो धारणालाई लोकतन्त्रीकरण गरेँ । यसो भनौं, शुद्ध भएँ । मौन रहेँ । त्यसको केही सातामै अचानक एकदिन मन्त्री प्रदीप ज्ञवालीको फोन आयो । उहाँले भन्नुभयो- श्रवणजी, तपाईंलाई राष्ट्रगान चयन कार्यदलको सदस्यमा रहन अनुरोध गर्दैछौं । तपाईंको स्वीकृति/अस्वीकृति के छ ?राज्यले पहिलोपल्ट, त्यो पनि राष्ट्रगानको चयन गर्नेजस्तो गरिमामय जिम्मेवारी दिएको बेला मैले अस्वीकार गर्ने कुरै रहेन । मैले भनेँ- दाजु, यो मेरा लागि शौभाग्य हो । मेरो हैसियतले भ्याएसम्म जिम्मेवारी पूरा गर्ने अठोट गर्छु । केही दिनपछि नै सरकारबाट संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा १४ सदस्यीय कार्यदल घोषणा भयो । कार्यदलमा नेपाली वामपन्थी राजनीतिका एक आधार-स्तम्भ, प्रसिद्ध साहित्यकार, चिन्तक मोदनाथ प्रश्रतिदेखि नेपाली संगीतका शिखर-पुरुष अम्बर गुरुङ । प्रसिद्ध गजलकार बुँद रानादेखि दलित आन्दोलनका अग्रणी, साहित्यकार आहुति । गीतका समुद्र दुर्गालाल श्रेष्ठदेखि प्रगतिशील साहित्यका प्रखर विश्लेषक अमर गिरीजस्ता प्रतिभासम्पन्न व्यक्ति सदस्यका रूपमा हुनुहुन्थ्यो । हामीले काम सुरु गर्‍यौं । हामीले सबभन्दा पहिले कार्यविधि बनायौं । जुन कार्यविधि अनुरूप देशका विभिन्न भागमा अन्तरक्रिया गर्‍यौं । सुझाव सङ्कलन गर्‍यौं । गान आह्वान गर्‍यौं । तोकिएको समयमा सङ्कलन भएका जम्मा १२७२ वटा रचनालाई हामीले बनाएको मापदण्डअनुसार छनोट प्रकृया अघि बढायौं । तीमध्ये व्याकुल माहिला -प्रदीपकुमार राई) को रचनालाई सर्वश्रेष्ठ स्वीकृत गरी सरकारलाई पेस गर्‍यौं, जुन रचना तत्कालै सार्वजनिक भयो । सार्वजनिक भएलगत्तै विभिन्न टीकाटिप्पणी हुन थाले । बहस भए । भइरहेछ । लोकतन्त्रको सौन्दर्य यही हो । हुनुपर्छ । तर केही टीकाटिप्पणी दुराशयपूर्ण, असङ्गत, व्यक्तिगत आत्मश्लाघाबाट प्रष्फुटित भए । केही असैद्धान्तिक तर्कले पनि ठाउँ पाए । गानको संरचना, रूप र सारमाभन्दा बढी गीतकारमाथिरहस्यपूर्ण ढंगले आक्रोश प्रदर्शन हुने क्रम अद्यापि छँदैछ । त्यता नजाऊँ । गानमाथि उठाइएका केही प्रसङ्गबारे लेखौं । हामीले गान छनोट गर्नुअघि तय गरेको प्रमुख सर्त थियो, देश जनताको हो । यसर्थ देश नै जनता हुन् । जनता देशका मालिक हुन् । त्यसैले जनताले आफ्नै गीत गाउनुपर्छ । गानले जनताको स्तुति गाउनुपर्छ । दोस्रो, गान आम नेपालीको साझा -बोलीचालीको) भाषामा हुनुपर्छ । तसर्थ सरल र सहज हुनुपर्छ । त्यस्तै अर्को थियो, राष्ट्रिय रूपमा विवादास्पद कुनै पनि प्रतिक वा विम्बहरूको संयोजन भएको गीत छनोट गर्नुहुन्न । कुनै पनि मिथक, विशेष जाति, धर्म, सम्प्रदायसँग जोडिएको हुने हुनाले राज्य धर्मनिरपेक्ष भइसकेको अवस्थामा मिथकलाई स्थान दिइएको रचना पनि स्वीकृत गर्नु उपयुक्त हुन्न भन्ने निष्कर्षमा पुग्यौं । उदाहरणार्थ बुद्ध, बुद्धले ज्ञान र शान्तिलाई प्रतिविम्बित गर्ने भए पनि यसले धर्म पनि प्रतिविम्बित गर्ने हुनाले बुद्ध राखेपछि शिव, सीता, यलम्बर, जिसस, पैगम्बर हुँदै जाँदा गीत नहुने भएकाले त्यस्ता मिथकलाई पनि हामीले वञ्चित गर्‍यौं । सगरमाथाको प्रश्नमा पनि त्यही प्रसङ्ग आयो । किराँतीहरूले यसको आदिनाम चोमोलुङमा हो भनिरहेको परिप्रेक्ष्यमा यो पनि विवादास्पद हुने हुनाले समग्रमा हिमाल भनिएको रचनालाई महत्त्व दियौं । आंचल शब्द हिन्दी भयो भन्ने प्रश्नमा कार्यदलभित्र निक्कै बहस भएको हो । नेपालमा हिन्दी भाषी पनि छन् । सरकारले हिन्दी भाषामा पनि समाचार सम्प्रेषण गर्छ । देशको आधाजसो जनसंख्या रहेका तराईवासीमा यस शब्दले पनि अपनत्वको महसुस हुने हो कि ? अथवा आंचल नेपालीकरण भइसकेको शब्द हो । हामीले युगकविको प्रसिद्ध कविता “ओखलढुंगा”मार्फत कैयौंपल्ट गाइसकेका हौं भन्ने निष्कर्षपछि गीत स्वीकार गरेका हौं । समग्रमा कवि व्याकुल माहिलाको शब्दले हिजोको निरङ्कुश व्यवस्थाले निर्माण गरेको राष्ट्रियताको परिभाषा जस्तो- एक जाति, एक भाषा, एक भेष, एक धर्म भन्ने मान्यता भत्काएको पायौं । त्यस्तै जनता ढुंगा-माटोको देशको दास होइनन्, उनीहरू स्वय म मालिक हुन्, राष्ट्र हुन् भनेको पायौं । नयाँ नेपालको राष्ट्रियता, विविधतामा एकता, सहअस्तित्व, समता र न्यायपूर्ण समाज हो भन्ने धारणा व्याकुल माहिलाको रचनामा पायौं र यो छनोट भयो । कुनै एक पाठकले राज्यको पुनःसंरचनापछि राष्ट्रियगान भन्ने तर्क राखेको पनि पाइयो । मेरो भनाइ छ, राज्यको पुनःसंरचनाको सांस्कृतिक रूप यो राष्ट्रगानको चयन होइन र ? यस गानले पुरानो राष्ट्रियताको परिभाषा उल्ट्याएको त छ नै, अँझ रचनाकारको छनोटले युगौंदेखि सीमान्तिकृत अनि विभिन्न कारणले टुक्रिएका, भाँचिएका, विखण्डित भएका जाति, समुदाय र वर्गका मनहरूलाई जोड्ने काम पनि भएको हो । यसर्थ राजनीतिक रूपमा पनि यो छनोटले विशेष महत्त्व राख्नेछ भन्ने मैले ठानेको छु । विवादका क्रममा प्रसिद्ध कवि गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र-सूर्य’को पनि चर्चा चल्यो । त्यसो त प्रतिस्पर्धामा महाकवि देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारी, लेखनाथ पौडेलका रचना पनि समावेश थिए । तिनले आजको समय खासगरी जनआन्दोलनको आदेशलाई सम्बोधन गर्ने कुरा भएन । तसर्थ हामीले ती महान् स्रष्टाका रचनाहरूलाई स-सम्मान बाहिर राख्यौं । राष्ट्रिय झण्डा नै परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला चन्द्रवंशी र सूर्यवंशी राजाहरूका सौर्य अंकित झण्डाको गाथा गाइएको गीत सैद्धान्तिक रूपमै आजको परिप्रेक्ष्यमा ठिक मान्न सकिने स्थिति छैन । अर्को कुरा, रिमालजस्ता महान् स्रष्टाको रचनालाई परिमार्जन त के छुने अधिकारसम्म हामीमा छ जस्तो लाग्दैन । अब रह्यो संगीतको कुरा । अम्बर गुरुङले भन्नुभएको छ- सो गीतको संगीत राष्ट्रियगानको संगीतको स्वभावभित्र पर्दैन । उहाँको कथन छ- राष्ट्रियगानको संगीत नवै रसको सापेक्षमा निर्माण हुनुपर्छ । त्यो शोकमा पनि, संकटमा पनि र हर्ष र खुसीमा पनि बजाउन मिल्ने हुनुपर्छ । तसर्थ उक्त गीत बारेको चर्चाले त्यति महत्त्व पाउने कुरै भएन । हाम्रो कार्यदलले सिफारिस गरेको राष्ट्रगान आज अनिर्णयको बन्दी भएको छ । यो के कारणले मन्त्रिपरिषद्मा अनिणिर्त भयो ? हामीलाई थाहा छैन । कुनै लोकतान्त्रिक प्रकृया नअपनाई छानिएको अत्यन्तै भद्दा र विवादास्पद निसाना छाप भने सरकारले पास गरेको छ । महेन्द्रले छुट्याएको चौध अञ्चललाई प्रतिविम्बित गर्ने चौध थुँगा फूल लालीगुराँस, विवादास्पद चन्द्र-सूर्य अंकित झण्डा, संस्कृत भाषामा रहेको उही पुरानै राष्ट्रियताको परिभाषालाई पुष्टि गर्ने नारा र स्वय म संस्कृत भाषा भएको निसान छाप कुन सैद्धान्तिक आधार र सौन्दर्यबोधले छानियो ? थाहा छैन । एक धर्मको प्रतिक भनेर विवादास्पद राष्ट्रिय जनावर गाई पुनः राष्ट्रिय जनावरमै कायम भएको छ । तर लोकतान्त्रिक प्रकृयाद्वारा १२७२ स्रष्टाका रचनालाई उछिनेर चयन भएको व्याकुल माहिलाको गान कुन त्यस्तो कारणले मन्त्रिपरिषद्मा अनिणिर्त भएको हो ? एक नागरिकका हैसियतले यो प्रश्न सरकारलाई सोध्न मन लागेको छ ।

(लेखक कवि तथा राष्ट्रियगान चयन कार्यदल सदस्य हुन् । )

प्रकाशित मिति: २०६३ पुस ५ ०९:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *