वैशाख १ –
कविता लेख्न कविलाई स्पेस चाहिन्छ । उहिल्यैका कविहरूका स्पेस जंगल, गुफा र आलिसान दरबारहरू हुन्थे । त्यसपछि फूल, हिमाल र समुद्रका किनारहरू स्पेस भए । मानिस, समाज र स्वप्नहरूलाई कविहरूले आपनो स्पेस बनाउन थालेपछि तिनका दुःखका दिन सुरु भए । किनभने त्यहाँ कविताविरुद्ध राज्य उभियो ।
मानव सभ्यताको आरम्भदेखि नै कविहरू छन् । कविता छ । तर समयले तिनलाई विस्मृतिमा धकेल्छ र स्पेस तयार पारिदिन्छ । नयाँ कविले त्यो देख्छ र लेख्न थाल्छ ।
नेपाली कविताको इतिहासमा भूपि, बैरागी र मोहन कोइरालापछि एउटा ठूलो स्पेस -खाली ठाउँ) देखेर चालीसको दशकको प्रारम्भमा पूर्वी धरान सहरका केही युवाहरूले स्वतन्त्रता भन्ने शब्दलाई भोग्न तयार भए । तिनले भोग्न चाहेको स्वतन्त्रताभित्र असीमित ज्ञानको भोक मात्रै थिएन, नयाँ जीवन-मूल्यको खोजीतिरको प्रस्थान पनि थियो । राज्य, समाज, परम्परा र आपनो जीवनप्रतिको भयानक असन्तुष्टिहरूलाई व्यक्त गर्न तिनले सृजनाको बाटो समाए र नाम दिए- ‘अर्को जमात ।’ अर्को जमात- विकल्प, समानान्तर वा छुट्टै हुनु (अदरनेस) को अभिव्यक्ति हुँदा हुँदै पनि यो तत्कालीन व्यवस्थाको पक्षपोषणमा लागेका तमाम साहित्यिक, सांस्कृतिक संयन्त्रहरूको विरुद्धमा उभिन र आफैंले बोकिहिँडेको वामपन्थी दर्शन (कम्युनिस्ट विचारधारा) त्याग्न गरिएको प्रयत्न पनि थियो । यही अर्को जमातको स्पेसमा उभिएर तिनले सृजनाका अनेकौं गम्भीर घटनाहरू घटाए । आफ्नै सम्पादनमा प्रकाशित ‘मार्गण’ नामक पत्रिकामा तिनका नितान्त नवीन शैली र सौन्दर्यका विचारोत्तेजक रचनाहरू देखिन थाले । परम्पराका पृष्ठपोषकहरूले तिनलाई अराजक भने । राज्यका प्रशासकहरूले विद्रोही, अँझ अराष्ट्रियतत्त्वसम्मै भने । तर समाजमा ती युवाहरूको प्रभाव दिन दुगुना रात चौगुना फैलियो । ती प्रभावशाली युवाहरूमध्ये एक थिए- चन्द्र घिमिरे । र, थिए- टंक घिमिरे, नवीन सुब्बा, रमेश केसी, राम क्षितिज ।
पुगनपुग पाँच वर्षको साह्रै छोटो समयभित्र ‘अर्को जमात’ले आफूलाई स्थापित मात्रै गराएन, तिनका परिवर्तनकामी उग्रचेतनाले पूर्वाञ्चलका पुराना स्रष्टाहरूलाई समेत चुनौती दिँदै नयाँ स्रष्टा र सम्भावनाहरूलाई अगाडि ल्यायो । कृष्ण पाख्रिन, बम देवान, गोविन्द विकल, मानवहादुर शाक्य, बिए कृष्ण, वेणु आचार्य, नरेश शाक्य, कुन्ता शर्मा, हर्ष सुब्बा, गिरिराज आचार्य जस्ता अग्रजहरूको दबदबा रहेको धरानमा विमल गुरुङ, गोपाल देवान, शारदा सुब्बा, पवित्र सुब्बा, शारदा शाक्य आदि जस्ता प्रतिभाहरू सतहमा देखिए । टंक र चन्द्रले कवितालाई नयाँ मोड दिए । नवीन र क्षितिजले रंगमञ्चको नेतृत्व गरे । कवि रमेश दर्शन र राजनीतिका प्रखर आलोचक भए । तर दुर्भाग्य यति छोटो समयमै धरान सहर यिनीहरूका लागि साँघुरो भयो । यी सबै विभिन्न बहाना र समयमा राजधानी छिरे । यी राजधानी मात्रै छिरेनन्, आपनो यात्रा नै बदले । टंकको असामयिक निधन भयो । नवीन फिल्म र रमेश पत्रकारितातिर लागे । धरान अब यिनीहरूका लागि आपनो युवकत्व सम्भिने स्मृति-भूमि मात्र रह्यो । यही समय चन्द्रले यस्तो कविता लेखे-
दिउँसो स्लो पोइजन खान होटलमा उधारो खान्छु एउटा श्रमशिविरजस्तो जागिर छ
जहाँ धाउँछु
दिनभरि-भरि स्वाभिमानको छाला काढ्छु
घरि-घरि घडीको गतिमाथि शंका उमार्छु
गर्भवती टाइपिस्टबारे
वातावरणमा प्रदूषण फैलाउँछु
र पनि कविता कोर्दथें
आइन्दा डन्ट टच मी ओ कविताहरू
(आइन्दा डन्ट टच मी ओ कविताहरू)
माथि उल्लेखित कविताको घोषणापछि कवि चन्द्रको वनबास सुरु भयो । एउटा कविका लागि पच्चीस वर्षको वनबास केही नहुन सक्छ । तर उसका इमान्दार पाठक र समाजका लागि भने यो सोचनीय समय हो । किनभने यही पच्चीस वर्षभित्र ०४६ र ०६२/६३ सम्पन्न भयो । यही समय नेपाली जातिले अत्यन्तै कष्टपूर्ण जीवन व्यहोरे । मानिस जन्मनुभन्दा मर्नु सजिलो भयो । यस्तो भीमकाय समयको क्यानभासमा कवि चन्द्रका शब्दहरू भने ध्यानस्थ बने । तर जागिरे चन्द्र राष्ट्रको सेवामा अनवरत जुटिरहृयो । कवितासित अढाई दशक लामो शीतयुद्धपछि आखिर चन्द्र घिमिरे स्वयं पराजीत भए । र, लेखे-
कहाँसम्म भागूँ तिमीबाट
तिम्रा सद्भावनादूतबाट फुत्किएँ भन्ठानें
तर सकिनछु मैले
कलेजी दिनहरूमा
काव्यसन्ध्याबाट फुत्किएँ भन्ठानें
तर सकिनछु मैले
यतिका वर्ष भागेर नि
एक बित्ता सकिनछु
स्वप्नमा भागेजस्तो
पलायन निरर्थक भो
मलाई आत्महत्या नगर भन्ने ए मेरा प्रेयसीहरू
टच मी ओ कविताहरू
(टच मी ओ कविताहरू)
गत फागुन २७ गते उही सहर धरानमा चन्द्रले माथि उल्लेखित कविता सुनाउँदा श्रोताका तालीको गड्गडाहटले सभाहल गुन्जायमान भयो । लामो अन्तरालपछि आपना समकालीन, अग्रज र अनुजहरूका सामु अभियुक्तझैं उभिएका चन्द्रका डेढ दर्जन नयाँ-पुराना कविताले श्रोतामाझ सफाइ पायो । कवि विप्लव ढकालको भाषामा भन्नुपर्दा कवि चन्द्र घिमिरेको पुनर्जन्म भयो । यसरी फेरि जन्मिन चन्द्रले आपनै इतिहास र भूमि धरानलाई रोजे । तर उनले पुर्खाको विरासतलाई होइन, आफैंले निर्माण गरेको काव्यको भूमिलाई स्पेस बनाए ।
कविता लेख्नु भनेको जीवनलाई फर्केर हेर्नु पनि हो । उनले त्यसै गरे । तर अढाई दशकअघिको धरान अहिले कहाँ छ र ? समय बदलिएको छ । राजनीति बदलिएको छ । समाज, पात्र र तिनका सपनाहरू बदलिएका छन् । त्यसैले चन्द्रका कविता पनि बदलिएका छन् । अढाई दशक अघि उनी धरानका सडकहरूमा निस्पिक्री हिँड्ने युवायुवतीहरूमाझ एलेन गिन्सबर्गको शक्ति र मर्लिन मुनरोको सौन्दर्य खोज्थे । अहिले उनी सुदूरबाट कुनै समय राजधानी आइपुगेको सगुने जुम्लीको श्रममा सौन्दर्य देख्छन् ।
सिंहदरबार हेर्दै कुरुश चलाउने सगुने जुम्ली र सिंहदरबारभित्र फाइल पल्टाउँदै कविता लेख्ने चन्द्र दुवैका ‘दूसरा इलिम’ले नै साँचो अर्थमा राष्ट्र बलियो हुने हो । पछिल्लो समय उनले सीमान्तकृत वर्ग, समुदाय, क्षेत्र र जातिका कमजोर आवाजहरूलाई काव्यको शक्ति दिएका छन् । हिजो जीवनको अव्यवस्थाविरुद्ध एक्लै कुर्लने चन्द्र आज समाजका अन्र्तद्वन्द्वभित्र छिरेर अरूलाई तिनकै भाषामा कुर्लन उक्साउँदै छन् । यसरी उनको कविताको भाषा फेरिएको छ । यही नयाँ भाषा आज नेपाली कविताको प्रतिनीधि स्वर हो । त्यसैले कवि चन्द्र घिमिरे समकालीन नेपाली साहित्यको विमर्शभित्र छन् ।
जीवनका अनेकौं अनुत्तरित तर गम्भीर प्रश्नहरू नै कविता हुन् । जसको उत्तर स्वयं कविसित होइन, पाठकसित हुन्छ । कवि चन्द्र घिमिरेसित आजको समयलाई यति धेरै प्रश्नहरू छन् । जसको उत्तर हामीले दिनुपर्ने छ । ती प्रश्नहरूको भूगोलभित्र लिम्बूवान्देखि कर्णाली, ओलोङ्चुङ्गोलादेखि अरब र अमलेखगन्जदेखि अमेरिकासम्म फैलिएका नेपाली जातिका दुःख, संघर्ष र वेदनाको महावर्णन छ । एउटा पाइलो राख्ने ठाउँका लागि मानिस कहाँ-कहाँ भौंतारिए जस्तै कवि चन्द्र सौन्दर्यको खोजीमा यसरी भौंतारिएका छन् । उनलाई अब डेढ दशकअघिको धरान होइन, विश्व नै साँघुरो हुादै छ । आजको कविको स्पेस पनि यही हो ।
प्रकाशित मिति: २०६९ वैशाख २ ०९:३७
