नेपालबाहिरको नेपाली साहित्यलाई सही पहिचान दिने बेला आइसकेको छ । आज बढी साहित्यको सिर्जना नेपालबाहिर अर्थात आप्रवासमा नै हुँने गर्दछभन्दा अतिशयोक्ती नहोला । त्यसैले यसको सही मूल्याङ्कन भएन भने भोलिका दिनमा नेपालबाहिरको नेपाली साहित्यमाथि नै प्रश्न चिन्ह लाग्न सक्छ । हिजोसम्म हामी संख्याका हिसाबले गद्य र पद्य संग्रह प्रकाशित गरेर साहित्यमा आफ्नो सहभागिता रहेको जनाउ गर्दै आएका थियौ भने अबका दिनमा उच्चस्तरीय मूल्याङ्कन समिति बनाएर भाव, वाद, विचार र साहित्यिक मान्यता भएका रचनाहरूको संग्रह प्रकाशित गरेर नेपाली साहित्यको अध्ययन सामग्रीका रुपमा प्रस्तुत गर्न सक्ने संग्रहहरू प्रकाशित गर्ने बेला आइसकेको छ । यस्तै साहित्यिक मूल्य र मान्यता भएका कृति/संग्रहले नेपाली साहित्यको अध्ययनमा आप्रवासी नेपाली साहित्यको सुनिश्चित स्थान निरुपण गर्न सक्ने विश्वास दिन सकिन्छ । यसका लागि हामीमा पनि अरुको साहित्य पढ्ने बानी बसाल्दै जानु पर्दछ ।
माथि भनिए जस्तै जसरी अहिले नेपालमाभन्दा आप्रवासमा नेपाली साहित्य लेखिन्छ त्यसरीनै साहित्यकारलाई पुरस्कार र सम्मान पनि आप्रवासमा नै बढी र धेरै गरिन्छभन्दा अत्युक्ती नहोला । यसरी गर्ने सम्मान र पुरस्कार पाउने र गर्ने दुवैका लागि महत्वपूर्ण हुने गर्दछ । तर यही सम्मान र पुरस्कार थोकका हिसाबले बाडिन थालियो भने सम्मान र पुरस्कारको गरीमानै रहदैन । अँझ सम्मान र पुरस्कार पाउने व्यक्तिको वास्तविक परिचय थाहा नपाएर हो वा सम्मान गर्ने संस्था/व्यक्तिले नेपाली साहित्यको अध्ययन नगरेर हो नेपाली साहित्यका पुस्तक प्रकाशित गर्ने सबैलाई प्राध्यापक भनेर सम्बोधन गरेको अँझ त्रिविविको प्राध्यापकसमेत भनेर सम्बोधन गरेर समाचार संप्रेषण गरेको देख्दा कार्यक्रम आयोजक र संचालकको कार्य शैली र क्षमतामाथिनै संका र दया लाग्न थालेको छ । यस्तै आप्रवासी नेपाली साहित्यमा रहेको केही अर्ध र अल्पबुद्धी भएका साहित्यकारहरूको क्रियाकलापले गर्दा सम्पूर्ण आप्रवासी साहित्यकर्मीहरूमाथि नै प्रश्न चिन्ह लाग्ने गरेको छ । अँझ प्राज्ञ सभासद्लाई प्राज्ञ भनेर सम्बोधन, सम्मान, पुरस्कार र समाचार सम्प्रेषण गरेको देख्दा आयोजकको नेपाली साहित्यमाथि कमजोर सामान्य ज्ञान रहेकोमा दु:ख लाग्छ । म सशक्त महिला हस्ताक्षर लीला लुईटेललाई उनको लेखन कार्यका लागि सम्मान गर्छु । तर उनलाई प्राध्यापक भनेर सम्बोधन गर्नु भनेको उनका बारेमा जानकारीनै नहुनु सरह हो । यो साम्बोधनबाट वहाँ आफैलाई पनि हाँस उठ्दो होला । प्राध्यापक बन्नलाई कयौं वर्ष अध्ययापन गरेको अनुभव रहेको हुनु पर्छ भन्ने ज्ञानसमेत नभएकाहरूबाट साहित्यको संस्था नै चलेको देख्दा आश्चर्य लागेको छ । हुन त यहाँ संस्थाहरू अनुभव र ज्ञानबाटभन्दा पनि बढी चचाची अर्थात चतुराइर्, चाकरी र चिनजानेको भरमा चल्ने गर्दछ ।
त्यस्तै म कृष्ण शाह यात्रीको रंगमञ्चीय योगदानको सधै कदर गर्छु । उनले नेपाली रंगमञ्चमा सहभागिता, निरन्तरता र उत्कृष्ठ मञ्चनका माध्यमबाट आफ्नो बेग्लै स्थान बनाउन सफल भएकोमा दुईमत छैन । उनी संगीत नाटक अकाडेमीका प्राज्ञ सभासद् हुन । प्राज्ञिक मूल्य र मान्यताका आधारमा हेर्ने हो भने प्रज्ञा सभासद् र प्राज्ञ दूई बेग्लाबेग्लै तह हुन । प्राज्ञ सभासद् प्राज्ञिक संस्थाका विभिन्न सदस्यहरू जस्तै एक सदस्यमात्र हुन भने प्राज्ञ त्यस प्राज्ञिक संस्थाको कार्यकारिणी र सम्माननीय सदस्य हुने गर्दछ । तर प्राज्ञिक संस्था सभाको सदस्यलाई प्राज्ञ भनेर सम्मान गर्नु कतिको भूल हो वा अनभिज्ञता त्यो आयोजक आफैले साच्नु पर्ने कुरा हो । केही समयअघि रंगकर्मी सुनिल पोखरेल अमेरिकाको भर्जिनियामा हुनुहुन्थ्यो । सुसुप्त भइसकेको नेपाली रंगमञ्चलाई नयाँ गति दिएर सुनिलले महत्वपूर्ण योगदान दिनु भएकोबारे सबैले थाहा पाउनु पर्ने हुरा हो । उनले नेपाली नाटकलाई नविनत म ऊर्जा प्रदान जनचासोका रुपमा प्रस्तुत गर्दै आजको अवस्थासम्म पुर्याउनु भएकोले नै आज नेपाली दर्शनमा नाटकप्रति रुचि बढ्दै गएको छ । तर उनी आए गए कसैले थाहा पाएनन् । चिनेनन् । किनभने उनलाई सम्मान गर्ने संस्थाले बोलाएको थिएन । आफूले बोलाएकोलाई नयाँ नयाँ पद र ओहोदाको पगरी गुथेर सम्मान गर्दै पठाउने बानी लागिसकेपछि अरुको विषयमा अनभिज्ञ नै भइन्छ । तर यस्ता प्रवृतिलाई हामीले त्याग्न सक्नु पर्छ र मानिसको सही पहिचान गरेर सोही अनुरुप सम्मान गर्ने बानी बसाल्दै जानु पर्छ । तबमात्र सही अर्थमा साहित्य सेवा गरेको ठहरिन्छ ।
त्यस्तै नेपालको गाउँघरमा साधारणतया ड्राईभरको श्रीमतीलाई डाईबर्नी, हवल्दारको श्रीमतीलाई हवल्दार्नी अँझ डाक्टरको श्रीमतीलाई डाक्टर्नी समेत भनेर साइनो र सम्बोधनलाई सजिलो बनाउने गरेको थाहा थियो तर अमेरिकामा आएर पनि नाटककारको श्रीमतीलाई नाटककारर्नी बनाएर सम्मान गरेको पहिलो चोटी देखियो । कसैको सम्मान सम्मानित हुनेको कार्यक्षेत्र र योगदान हेरेर गरिन्छ न कि हातखाली नजाने चिठ्ठा जस्तै आफ्नो संस्थाको निम्तोमा आफ्नै खर्चमा नेपालबाट आएका सबैलाई सम्मान गरेर आफ्नो दस्तखत भएको कागज थमाउदै जाने । यस्ता प्रवृतिले आप्रवासको नेपाली साहित्यिक संस्कृतिमाथि नै प्रश्न चिन्ह खडा गर्न सक्छ । तर हामीहरू मुक दर्शक भएर यस्ता प्रवृतिलाई प्रोत्साहन दिदै गइरहेका छौ । कानून शास्त्रका अनुसार अपराध गर्ने जस्तै अपराध भएको मूक दर्शक भएर हेर्नेहरू पनि अपराधी हुन्छ भने जस्तै साहित्यको अध्ययन अध्यापन गरेर ज्ञान पाएकाहरू पनि मुकदर्शक भएर सही थाप्दै ताली बजाउन उपस्थित हुँदै गएको खण्डमा भोलिका दिनमा आप्रवासी नेपाली साहित्यको अध्यायमानै नेपाली साहित्यको इतिहासबाट मेटिन सक्छ । त्यसैले अहिलेदेखिनै सचेत भएर आप्रवासी नेपाली साहित्यको सही पहिचान बनाउन यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै जान सक्नुु पर्छ ।
अर्कोतिर अहिले व्यक्तिवादी साहित्य दिनानुदिन हावी हुँदै गएको छ । साहित्यलाई सिर्जनाले नभएर अर्थको तराजुमा जोखिन थालिएको छ । नेपाली साहित्यको इतिहासमा लक्ष्मीप्रसाद देवकोटा जस्ता निर्धन कवि पनि थिए जसले लेखेरै आफ्नो स्थान सर्वोपरी बनाईराखे भने नेपालका राजा महेन्द्र पनि साहित्यकारका रुपमा चिनिन्छन् । तर देवकोटा र महेन्द्रको सिर्जनालाई हेर्ने दृष्टिकोण बेग्लाबेग्लै थियो, छ र रहन्छ । आज एकव्यक्ति सिर्जनालाई विभिन्न राष्ट्र र शहरहरूमा प्रायोजित गरेर आयोजना गरेका समाचारहरू पढ्न पाइन्छ । एकातिर विश्व काव्य यात्राको नामबाट आफैबाट प्रायोजित खर्चमा वसन्त चौधरी युरोप अमेरिकाको दौड लगाइरहेका छन् भने अर्कोतिर डा. युयुत्सु (आर.डी. शर्मा) कविताका माध्यमबाट संसारभर नेपाललाई चिन्हाउँदै जाने अभियानमा लागेर अरुबाट प्रायोजित भएर युरोप अमेरिकाको दौड लगाइरहनु भएको छ । त्यस्तै अर्का सम्मानीय कवि तुलसी दिवसले विगत ४० वर्षदेखि युरोप, अमेरिका, एशियामा बिना प्रचारप्रसार कविताका माध्यमबाट नेपाललाई चिन्हाउँदै आउनु भएको छ । तर वहाँलाई कहिल्यै नामको पछि दौडनु परेन । बरु नाम आफै वहाँको पछि पछि दौडीरह्यो । यस दौडमा आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई पनि गाभ्न सकिन्छ । वहाँले आफ्नो युरोप, एशिया र अमेरिकाको प्रत्येक साहित्यिक यात्रालाई शब्दमा वयान गरेर संस्मरण प्रकाशित गर्दै आउनु भएको छ ।
प्रसङ्ग विश्व काव्य यात्राको, वसन्त चौधरी नेपालका सबैभन्दा धनी व्यापारी घरानाका सदस्य हुन् । वहाँका धेरैनै गीतहरूसँगै कविताहरू प्रकाशित भएका छन् । वहाँले आफूलाई विश्व काव्य यात्रामा मात्र सीमित नराखेर नेपालमा विश्व नेपाली काव्य सम्मेलनको आयोजना गर्न सक्ने क्षमता राख्नुहुन्छ । अर्कोतिर डा. युयुत्सु नेपाली साहित्य विश्वसामु परिचय गराउन अंग्रेजीमा नेपाली साहित्यको अनुवाद गर्दै आउनु भएको छ । वहाँले आफ्नो विश्व काव्य यात्राको क्रममा नेपालीलाई नेपाली भाषामा र अनेपाली साहित्यानुरागीहरूलाई अंग्रेजी भाषामा नेपालको प्राकृतिक सौन्दर्यताले ओतप्रोत भएका कविता सुनाउँदै आउनु भएको छ । उनले वर्तमान अवस्थामा काव्यका माध्यमबाट नेपाललाई चिन्हाउने क्रममा खच्चर र पोखराको प्राकृतिक सम्पदालाई आफ्नो कविताको माध्यम बनाउँदै नेपाललाई चिन्हाउँदै आउनु भएको छ । यी दुई विश्व काव्य यात्रीहरूको संमिश्रणबाट नेपाली साहित्यलाई काव्यबाट विश्व साहित्यमा चिन्हाउन एउटा उत्कृष्ठ कृति जन्मन सक्छ ।
सयै सन्दर्भमा मलाई हाम्रा वरिष्ठ तथा सम्मानीय साहित्यकार दुर्गालाल श्रेष्ठको भनाई उद्धरण गर्न मन लाग्यो : साहित्यले समाजमा सहिष्णुता ल्याउछ । साहित्यमा इमान्दारिता चाहिन्छ । किलिष्टता । सरसता सरलता हुनु हो । साहित्यमा लाग्नु भनेको भित्रैबाट पवित्रता कमाउनु हो –
साहित्यका लाग्नु भनेको भित्रैबाट पवित्रता कमाउनु हो र यही पवित्रत्रतामा बसेर हामी सबैले साहित्य साधना गर्नु पर्छ । कसैलाई च्यापेर, कसैलाई फालेर क्षणिक सुखानन्द लिनुभन्दा सबैलाई समेटेर विचारको आदानप्रदान गरेर साहित्य सेवा गर्दा व्यक्ति र संस्थामात्र हैन आप्रवासी नेपाली साहित्यको नै विकास र सम्मान हुन्छ । यसलाई व्यक्तिवादीभन्दा माथि समुहवादी अनुरुप बनाउदै लिएर जानसके यसमा सबैको कल्याण हुन्छ ।
यसै प्रसङ्गमा यसपटकको एक लाख पचास हजार डलर Yale Unoversity Literary पुरस्कार पाउन सफल भारतीय निबन्धकार पंकज मिश्रको नाम जोड्न चाहन्छु । मिश्र मूलत: गद्य लेखनमा रुचि राख्दछन् । सानो शहरबाट साहित्यिक यात्रा शुरु गरेका मिश्रले निबन्ध, स्मरण, यात्रा साहित्य र उपन्यास लेखेका छन् । समिक्षकका अनुसार मिश्रले आफ्ना लेखनका माध्यमबाट एशियाको नयाँ मान्यताहरूसँग परिचय गराएर नयाँ शैली प्रदान गरेका छन् । एउटा लेखकले एक लाख पचास हजार डलरको पुरस्कार पाउनु भनेको राष्ट्रिय गौरवको कुरा हो । हामीले त्यो गरिमासम्म आफ्ना साहित्यकारलाई पुर्याउन झुठो सम्मान र प्रसंशा गर्ने परम्परा तोड्न सक्नु पर्छ र व्यक्तिको सही पहिचान देखाएर सम्मान गर्ने बानी बसाल्नु पर्छ ।
गोबिन्दसिंह रावत, पी.एचडी, टोरोन्टो
(मार्च २९, २०१४)
