आदिम बस्तीहरूमा
मुखिया र जिम्वालहरूले उर्दी जारी गरेपछि
पहिलो भालेको डाँकोमा
गल्लावालको अघि लागेर
प्रियसीले दिएको रुमानी रुमालले आशु पुछ्दै
माथि डाडाबाट अन्तिम पल्ट सुसेलेर
पल्टन छिरेका
हाम्रा पुर्खाहरू कहिल्यै फिरेनन
कहिल्यै घाम नअस्ताउने गोराको ईखले
हाम्रा पुर्खाहरू
मलाया, बर्मा, फोकल्याण्डमा किचाघान बनाईए
बदलामा गोराले दियो
वीर गोर्खालीको उपमा
जितेपछि दिएको सलामीले
चन्द्रशमशेर / वीरशमशेरले टट्टीघरमा समेत सुनको जलप लगाए
साल्मेडाँडाको हाम्रा पुर्खाहरूको स्मारिकामा
दुई थोपा आशु चुहाउदै
पुष्पगुच्छा चदाउदै
मलाई सोध्न मन लागेको छ
आखिर लडेर के पायौ त ?
भन्न मन लागेको छ
हाम्रा पुर्खाहरू आँखा खोली हेर त
तिम्रै अगाडि
तिम्री प्रियसी बादलुको गाजल लगाई
माछापुच्छ्रे बनी तिम्रै प्रतीक्षामा छिन
हो
मलाई थाहा छ
हाम्रा पुर्खाहरू
राजीखुशी लाहुरेफुल बनेका होइनन
राजा महाराजाहरूको सलामीको लोभले
बनाईएको थियो
हाम्रा पुर्खाहरूले
छुटने बेलामा सम्झना स्वरुप दिएको
त्यो अन्तिम गलबन्दी
सुनगाभा र लालीगुराँससँगै सधै फक्रिरहने छ
अब, यहाँ
लाहुरेफुल फुलाउन छोडेपछि
हाम्रा पुर्खाहरू प्रति
सच्चा श्रद्धाञ्जली हुनेछ
