Skip to content

विवशता आफ्नै धरातलसँग


प्रेम नहुनु रैछ, भैगयो। कसको बाउको के लाग्छ र? माया बसित गो। शायद एकोहोरो। एकपक्षीय। हो, प्रेम भयो उसको रेशमी कपालसँग। उसको गाजल नलगाइएको कुइरो देखिने आँखासँग। उसको बेसोमति बोलिसँग। जम्मामा सिङ्गो उसको व्यवहारसँग आकर्षण बढ्यो। प्रेम पलाएकै हो उसको आत्मासँग। शरीरसँग मात्र प्रेम हुन्छ भन्ने कुरामा अविश्वास गर्छु म। शरीरसँग मात्र प्रेम हुदो हो त मान्छे मरेर शरीर नष्ट भइसक्दा प्रेम मर्नुपर्ने। शरीर नासिएपछि पनि स्मरण त रहिरहन्छ। त्यसैले प्रेम आत्मासँग हुन्छ। भन्नुपर्दा शरीर बोकेको आत्मासँग।

जे होस् मैले प्रेम गरेकी केटी अहिलेसँगै सीटमा बसि यात्रा गर्दै छे। आफ्नै धुनमा मस्त। म पनि कानमा इयरफोन ठोसेर गीत सुन्दैछु तर मस्तिष्कमा सँगैकी केटी नाचिरहेकी छे। सम्पूर्ण वातावरण प्रेममय लाग्दैछ। शायद प्रेम यस्तै छ। उसको अनुहार हेर्न मेरो पुरुषार्थले हौस्याउछ। नैतिकताले पूर्ण स्विकृति दिइरहेको छैन। फेरि अनुहार पनि कहाँ प्रष्ट देखिन्छ र यो रातको समयमा। केवल कालो अन्धकार।

सबै यात्रुहरू निदाइरहेका होलान्। कुम्भकर्णको सन्तान हुन् कि जस्तो लाग्छ। कि म अपवादमा पर्छु? यति राति ननिदाएर के गरेर बस्नु त। फिस्स हास्छु आफ्नै गलत अनुमान देखि। मलाई पो प्रेम भएको छ र निद्राले बिदा पाएको छ। अरु त स्वभाविक जीवन बाचेका छन्। उताबाट आएको बसको उज्यालोको मौका पारी उसलाई नियाल्ने कोसिस गर्छु। धत्! ऊ पनि निदाएकिरहिनछे। कसो मेरो नियत बुझिन। डर लाग्यो एकक्षण। फेरि झ्यालतिरै फर्किन्छु अन्धकारतिर। देख्न त के नै देखिन्छ र झ्यालबाट। तैपनि आँखा टालिदैनन्, के गर्नु।

म साथीलाई भेट्न बिराटनगर हिडेको। काम विशेषले होइन। फिरन्तेको के काम हुनु र। ऊ किन हिडेकी…? उसको गन्तव्य, उद्देश्य केही अवगत छैन। सोध्न जरुरी पनि छैन। जान्न भने इच्छा छ। साहस जुटाउन सक्दिन। कतै फेरि रुखो स्वरमा झर्किने पो हो कि सुतेका मान्छे ब्युझने गरि। आपत पो पर्छ त कड्किएर जथाभावि जवाफ फर्काइभने त।

“ल खाना खानुस्। ट्वाइलेट स्वाइलेट जानुस।” कन्डक्टर कराउदै छ। सबै आङ तान्दै जीउ मर्काउदै ओर्लिन थाल्छन्। बल्ल उज्यालो देखिन्छ। होटलका बत्तीहरूको जय होस्। रामनगर आइपुगिएछ। ऊ ओर्लिने प्रतिक्षामा छु। झ्यालबाट निस्किने कुरो भएन। उसलाई केही भनौ कि। ह्या होस् डर लागेर आउछ बेकार। धन्न ऊ ओर्लि। भोक त्यतिकै लागेको छ। पिसाब पनि उत्तिकै च्यापेको छ। पिसाब फेरेर हात धोइओरी टेबलमा बस्छु। संयोगवश ऊ म बसेकै टेबलमा बस्छे। खुशीको सीमा रहदैन तर दबाउछु भित्रभित्रै। एकछिन त नाचुनाचु झै लाग्छ मन फुरुङ्ग भएर। किनकि उसको अनुहार मेरै अगाडि छ प्रष्ट। पूर्ण उज्यालोमा साकार। संवेगहरू उसलाई थाहा हुन दिन्न।

“तपाई पनि बिराटनगर हिड्नुभएको?” मुखमा पुगिसकेको हात रोकिन्छ। हात थालतिरै झारेर भन्छु “हजुर हो। अनि तपाई नि?” ओहो! सोध्न नहुने पो थियो कि। चिसो पस्छ मनमा। उसका तिखा वचन सुनेर चेतिसकेको छु कलंकिमा। मैले तपाई कहासम्म जाने? एक्लै हो तपाई? भनेर सोध्दा खाउला झै आँखा पल्टाएर हेरेकी थिइ।सँगै केके भुत्भुताउदै थिइ। कस्तो मात्तेको केटा…जहाँ गएपनि यसलाई केको मतलब…। शायद यस्तै सुनेको थिए उसको रिसले काम्दै गरेको मुखबाट।

अहिले सहजै जवाफ दिन्छे। त्यो पनि मनमै पुग्ने मुस्कान सहित। “हजुर अ म पनि बिराटनगरसम्म हो। मेरो घर बिराटनगर। काठमाडौँमा पढ्न बसेकी। अहिले बि.बि.एस. थर्ड इयर रनिङ। मामुले भेट्न बोलाइसिएर घर हिड्या।” एकै स्वरमा यति भन्न भ्याइ उसले। मैले यति धेरै कुराहरू सोधेको त थिइन। तैपनि ऊ बारे केही जान्न पाए। मन गदगद भयो खुशीले।

खानाको पैसा उसैले तिरी। मलाई लाजमर्नुभयो। पैसा तिर्ना गाह्राले ढिलोगरी भात खेलाई खेलाई खादोरहेछ भन्ने सोची होली। आफूलाई खाना फिट्टिक्कै रुचेको होइन। ध्यानै उहितिर छ। नतमस्तक छु म। साह्रै अप्ठ्यारो लाग्छ। बदलामा म कुरकुरे, लेज र स्प्राइट किन्छु। अब त ऊ प्रति अँझ प्रेम बढ्न पो थाल्छ। ऊ नम्र हुदै जान्छे। अँझ खुल्दै जान्छे म अञ्जान फिरन्ते सामु। बस जति जति दुरी पार गर्दै छ उति उति ऊ प्रति प्रेमको हद बढ्दैछ। उसको शरीरसँगको प्रेमभन्दा पनि उसको नदेखिने आत्मासँगको प्रेम। आत्मा ढाकिएका शरीरका अंगहरूसँग। आँखा, केश, ओठ, सग्ला र कोमल हात सबै सबैसँग प्रेम मौलाएको छ।

“ड्याडिको आफ्नै बिजनेस छ।”सँगै भन्दै जान्छे “मामु नर्स होइसिन्छ। दिज्यू पढाइसकेर घरमै बसेकी छे।” यस्तै यस्तै। उसका अभिजात हातहरू पनि केके ईशारा गरिरहन्छन् बोलीकै तालमा। पक्कै ऊ अभिजात परिवारकी छोरी हो भनी सहजै अनुमान लगाउछु। उसका कुराहरूबाट प्रष्टै बुझ्न सकिन्छ। यकिन गर्न सक्छु म। धन्न मेरो बारेमा नालीबेली सोधिन। नत्र के जवाफ दिन्थे होला म। ढाट्न मेरो नैतिकताले दिदैन। उसकी मामु नर्स रे। मेरी आमा गृहिणी। उसको ड्याडिको आफ्नै ठुलो बिजनेस रैछ अनि मेरो बुवाको त बिजनेस छैन। उसले नसोध्दै यति सकस हुन्छ। सोधेकी भए त पहाडै खस्ने रैछ नि। एउटा ठूलो प्रकोपबाट उद्धार गरिएको मान्छे झै लाग्छ आफैलाई। कुनै बाढिले बगाएर माझीले ज्युदै भेटेर बचाएजस्तो। भुइचालोमा पुरिएर दुई दिनपछि उद्धारटोलीले माटा र ढुङ्गामुनिबाट लखतरान म ज्युदो लाशलाई ब्युताएजस्तो आभास हुन्छ। आइनलागेको क्षतिबाट त्रसित म। केवल काल्पनिक क्षति। तर असर वास्तविक। ज्यादै पीडादायक। मेरो विगत र वर्तमान स्थितिबारे सोध्ली कि भन्ने डरमिश्रित मानसिकताले गर्दा मुटुले धेरै जोडले छातीमा लात हान्यो। अनेक त्रास र आशंकाबाट उसैले पार लगाइदिइ। उसले केही सोधिन। म बचे।

“गित सुन्दै मेरो कुरा कसरी सुनिराख्नुभएको छ? कि सुनेजस्तो नाटक गर्नुभएको?” कति मिठो प्रश्न। म प्रति लगाव भरिएका प्रश्न। अघि उसका कठोर वचन र च्यात्तिनै लाग्ने गरी तरेका आँखा त प्रिय लागेको थियो। अहिले त उसले रुचाएकी यात्री म। अनि यति मायालु पारालेभन्दा त झन् प्रेम के एउटै विन्दुमा टिक्थ्यो र। नाघ्यो आफ्नो सीमा। कता कता आकाश नै छोउला जसो गरी उचाइमा पुगिहाल्यो। उसले चाल पाइन मेरो परिवर्तन।

“झ्याल अलिकति खोल्नुहोस् न।” उसको अनुरोध नकार्ने कुरै भएन। कति चिसो हावा चलेको। सहनै पर्ने ठन्डी। जाडोको महिना, त्यो माथि मध्यरातको स्याठ। जीउ त्यसै काम्ने। फेरि पनि उसलाई अवगत गराइन आफ्नो पीडा। उसका केश नाच्न चाहन्छन्। हिड्न चाहन्छन् अन्धाधुन्ध। केही भाग हावामा अनि केही रेसाहरू मेरो अनुहारभरि। काउकुति लगाउने तरिकाले। एक प्रकारको उन्माद भरिएको संक्रमण। म किन बिथोलिन्थे र? अँझ स‌ंक्रमित हुन चाहिरहे। चिसो हावा जति चलोस चलोस। मलाई के को फिक्रि।

शायद ऊ निदाइछ। या बोल्न मात्रै रोकेकी हो। अह, यस्तो स्याठमा के खा’र निदाउन सक्छे। केश जति मेरो गालामा फालिदिएर चेत हराए झै गरेकी होली। अज्ञात जस्तो। मलाई भएजस्तै प्रेमले समातेको पो हो कि? ’मनको लड्डु घ्युसँग’ भनेझै म बिचरा आफै अनेक तर्कना गरिरहन्छु। मेरो पाखुरामा अँगालो च्यापी टाउको मेरो कुममा छाडिदिन्छे। म कृतज्ञता प्रकट गर्न चाहन्छु। को सँग? थाहा छैन। बसलाई थ्याङ्क यु भनौ कि, चिसो स्याठलाई भनौ कि या मेरो आडमा ढलेको सिङ्गो शरीरलाई? अनभिज्ञता आफैसँग। यति जान्दछु जे भइरहेछ मलाई सुखदाभाष दिलाइरहेछ। बाकी भोलिका दिनहरूसँग सरोकार छैन मलाई यतिञ्जेल।

“सरी है म निदाएछु तपाईंलाई सास्ती दिएर।” ड्राइभरले लालगढ पुगेर झ्याप्प ब्रेक लगाउदा उसले संकोच मान्दै भनि। मलाई रिस उठ्छ ड्राइभरदेखि। काच्चै खाइदिउ जस्तै हुन्छ। गर्न के नै सक्छु र? चुपचाप बस्छु।

“छैन। के सास्ती भएको छ र।” भन्न त यो पनि मन लाग्छ कि ’तिमी जीवनभर यसरी नै मेरो आडमा ढुक्कले निदाउन सक्छौ। म सुरक्षा दिइराख्छु। मेरो काध गल्दैन तिम्रो भारले।’ तर सक्दिन भन्नलाई।

ऊ अलि पर सर्छे। मेरो मुटु चुडिएजस्तो हुन्छ। गाडिमा केही समस्या आएर रोकिएको रहेछ। मलाई एक किसिमको उत्साह हुन्छ। बिग्रोस ठाडो। मेरो के नै जान्छ र। ऊसँग केही समय बढी बिताउन पाउछु। यहाभन्दा के नै चाहिन्छ मलाई। बजार तिरै आएर रोकिएछ।

“म बाहिर निस्किउ है एकैछिन।” उठ्दै भन्छु। ऊ उठिदिन्छे मलाई बाटो दिनको लागि। बाहिर निस्केर एउटा चुरोट सल्काउछु। साढे तीन बजेछ। घडी हेर्दा थाहा हुन्छ। दुईवटा क्यान बियर किनेर छिर्छु बसभित्र।

“अब तपाई छेउमै बस्नुस है।” भन्दै ऊ झ्यालतिर सर्छे। मलाई झन सहज हुन्छ झ्यालबाहिर हेर्ने बाहनामा उसलाई हेर्न। धोको पुग्नेगरि। धित मरुञ्जेल।

“तपाई बियर लिनुहुन्छ?” औपचारिकताको लागि सोध्छु। उसले कस्तो प्रतिक्रिया दिने हो थाहा छैन। न झर्किने पो हो कि भन्ने डर पनि लाग्छ।

“सधै त खाने गरेको छैन। स्पेशल दिनमा या जमघटमा खाइन्छ हल्का।” केही लाज मानेजस्तो। कस्तो कस्तो गरी भन्छे उसले। स्पेशल दिन? जमघट? अह, यी कुनै बेला होइन आज। या मसँग गासिनुलाई स्पेशल अवसर मानेकी हो उसले? विचारमग्न हुन्छु म।

“कता हराउनुभाको? ल चियर्स।” चुस्कि लगाइहाली उसले मुख केही बिगारेर। बिग्रेको मुखाकृति पनि कति सुन्दर। आकर्षणले भरिएको। सोझै मुटुमै छाप लगाउने खालको।

म अँझ सहज हुदै जान्छु ऊ सामू। “अनि पढाइ कस्तो चल्दैछ? के छ लाइफ प्लान? कहिले फर्किनुहुन्छ काठमाडौँ? उसलाई भेटेदेखिको पहिलो पटक निर्भिकतापूर्वक प्रश्न गर्छु म।

“पढाइ अ ठिकै चल्दैछ।” नाक खुम्च्याउँदै भन्छे। “पन्ध्र दिन जति बस्छु होला। मामु न्यास्रिस्या छ। अनि लाइफ प्लान के भन्नु…ब्याच्लर सकाएर अब्रोड जान्छु होला। अनि भन्नुस न तपाईको बारेमा।”

अर्को चुस्किसँगै वाण हानिदिन्छे मेरो मुटुमा। भित्रभित्रै रन्थनिन्छु म। उसको र मेरो स्तर साह्रै असमान। कसरी भन्नु आफ्नो वास्तविकता। अनि ढाट्नु पनि कसरी मिथ्या सम्पन्नता देखाउन।

“अ खासै केही छैन। बसिबसाइ मात्र हो ।बाहिर जाने सोचमा छु।” साह्रै छोटो गरी यथार्थ बक्छु।

“हो र! कुन कन्ट्रि? यु.एस, यु.के, अष्ट्रेलिया अर एनि अदर?” मेरो उपेक्षा गर्नलाई सोधेजस्तो लाग्छ। उसको अनेक हाउभाउ सहित बोल्ने बानी अब त मोहक नभई घातक लाग्न थाल्छ। मलाई क्षतविक्षत बनाउन शब्दमा तिखा सिसाका टुक्राहरू मिसाएर मेरो छातीमा रोपेझै हुन्छ। स्वात्तै क्यान रित्ताइदिन्छु। “मलेसिया ट्राइ गर्दैछु।” दश मिनेट लगाएर जाहेर गर्छु आफ्नो आगत। विगत भन्‍न जरुरी ठान्दिन। उसकोभन्दा एकदमै साधारण मेरो जीवनबारे किन भनिरहु। साह्रै लाचार म यतिखेर। अब त गाडि बने पनि हुने जस्तो लाग्छ। भित्रभित्रै छटपटीरहन्छु। उसले धेरै प्रश्न गर्दिन। शायद मेरो मनस्थिति बुझेर हो कि? या स्तर नमिल्नेसँग किन हिमचिम बढाउनु भनेर हो कि…या यस्तासँग के बढी समिप हुनु भनेर हो?

म ज्यादै सकसपूर्वक उसको नियत नियाल्न चाहन्छु। उसका मुहारका परिवर्तित रेखाका माध्यमले। रेखाहरू असङ्ख्य छन्। केही राता रङ्गाका। अनि केही गुलाबी। लजाएजस्तो र समर्पित खालको। उपेक्षा र तिरस्कारका कुनै सूचक देख्दिन। लामो सास फेर्छु। ढुक्कको सास। धेरै दौडेर थकित अवस्थामा शीतल छहारी पाए झै हुन्छ। पुरै जीउ शीतल।

राम्रोसँग थाहा छ, उसँगको भेट बिराटनगर पुग्दासम्मलाई मात्र हो। त्‍यहाँभन्दा बढी अपेक्षा छैन। आवश्यक पनि छैनभन्दा हुन्छ। हाम्रो स्तर नै कहा मिल्छ र। प्रेम त भएको हो उसँग। पाउनकै लागि मात्र गरिदैन प्रेम। त्याग्नको लागि पनि नभनौ। हासिल के नै गरेको छु र त्याग्ने प्रश्न आउछ। न ऊ मेरो प्रेम प्रति विज्ञ छे। तीक्ष्ण आँखाले उसको भावावेग बुझ्ने जमर्को गर्छु। अति सामान्य उसको स्थिति। कुनै अभिलाषा नभएजस्तो। शान्त अनि विल्कुल साधारण। शिवाय मौनता। मेरो भावाव्यक्ति बुझ्ने क्षमता नभएकी केटी। हुन त ऊ दोषी छैन। मैले जाहेर नै गरेको छैन। गर्नुको औचित्य पनि त छैन।

लामो समयसम्मको निस्तब्धता र ऊ भित्रको मौनतालाई चिर्न म स्प्राइटको बिर्को खोल्छु। “लिनुस् न।”

“हुन्छ। लिनु न तपाई पहिला।” कृतज्ञताको भावमा ऊ भन्छे।

“लेडिज फर्स्ट।” छोटो मुस्कुराउदै म उसकै पारामा अंग्रेजीमा बोल्छु।

“ओके। एज यु विस।” आँखा सन्काउदै बोतल हातमा लिन्छे। ऊ दुई घुट्को खान्छे जुठो हालेर। म हेरिरहन्छु। मतिर बोतल बढाउछे। जुठो खानुलाई ऊ कतिसम्म सामान्यरुपमा लिन्छे। जुठो खायो भने माया बढ्छ भन्ने कुरामा म झीनो आस्था राख्छु। केही परम्परावादि सोचाइमा विश्वास राख्ने मान्छे म। ऊ शायद भविष्यवादि हुन चाहन्छे। अति सुक्ष्म कुराले पनि कति लामो अन्तर निहित राख्दछ। मलाई उसँग माया बढाउनु छैन। खान्न भनेर भोलि बिहानसम्मको रोमाञ्चकारी निकटतालाई समाप्तिको विन्दुमा जोड्नु हतार पनि छैन। अलक्क खान्छु। ऊ हेरिरहन्छे। केही भन्नलाई पर्खिएजस्तो गरी।

“वाउ! मेरो जुठो खान हुने अनि तपाईको जुठो चाहि मैले खान नहुने हो? कम अन, वि आर गुड फ्रेन्डस यार।” ऊ मलाई उक्साउछे। उसको आग्रह पनि कति व्यङ्गात्मक झै लाग्छ। छेड हान्ने किसिमको।यो सामिप्यता धेरै समय टिक्दैन। ऊ मलाई साथीसम्म सीमित राख्न चाहन्छे। म उसलाई साथीसम्म निहित रहन दिन सक्दिन। कति विपरित धारमा बाचेको छौ हामी। प्रेम उत्सर्गमा पुगिसकेको छ। अव्यक्त। भावना पोखेर उसको घृणाभावसहितको नजरको सामना म गर्न सक्दिन। अह! सक्दै सक्दिन अस्विकृत हुनलाई। उसले मलाई साथीभन्दा माथि सोच्दिन भन्ने कुरामा म विश्वस्त छु। उसले भनिसकि उसको ब्वाइफ्रेण्‍ड छ। यु.एस.मा पढ्दै गरेको। खण्‍डित हुनेछ मेरो मन यदि उसले मेरो अवस्था जानि भने। संयमित हुदै भन्छु “त्यसो त होइन। तपाईलाई असजिलो लाग्ला कि भनेर मात्रै।”

“म त्यस्तो खालको केटी होइन। आइ मिन हुन्छ नि…केटासँग बोल्न लाज मान्ने। टिपिकल टाइपको। गुम्सिएर बस्ने। संकिर्ण स्वभावको क्या।” मसिनो आवाज आउने गरी हास्छे उ।

मलाई पहिल्यै थाहा थियो तिमी परम्परावादि होइनौ भनेर। आधुनिकताले ढाकिएकी तिमी कसरी पुरातनखालको हुन सक्छौ र। हो, म यस्ता अति आधुनिकताको अनुशरण गर्ने केटीहरूलाई रुचाउँदिन। तर कति विपरित दौडिरहेछ मेरो सिद्धान्त आज। आखिर पाश्चात्य गुणले भरिभराउ केटीसँगै प्रेम बस्यो। मन कहाँ नियन्त्रणमा हुदो रहेछ र।

बस बल्ल गुड्न थाल्यो। मलाई दु:ख लागेन। खुशी हुन पनि सकिन। बाहिरका दृश्यले अब अन्धकारबाट मु्क्ति पाएका छन्। अब यी सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरू अस्पष्ट छैनन्। म झ्यालबाहिरै हेर्न रुचाउछु। रुखहरू अग्लिएका छन्। विजुलीका पोलहरू उभिएका छन, अडिग। आफ्नै ठाउँमा स्थिर। एकै ठाउँमा रहिरहन सक्ने शान्त। यिनीहरू फिरन्ते होइनन्। म जस्तो यिनीहरूले प्रेम गरेका छैनन्। त्यसैले यिनीहरू शान्त र सन्तुष्ट छन्। यता म चाहि पिल्सिएको छु।

“के हेरेको त्यसरी एकाग्र भएर?” उसको प्रश्न एउटा प्रश्न नभएर मलाई दमन गर्ने आशयले गरिएको प्रहार जस्तो लाग्दैछ। मलाई परास्त तुल्याउन लिइएको जटिल परिक्षा। जवाफ के दिनु उसलाई।

“केही होइन।” नम्रताको सीमालाई अलिकति नाघेर ठाडो भाषामै जवाफ दिन्छु।

“कहिले फर्किनुहुन्छ काठमाडौँ ? अनि कति दिन बस्ने हो र बिराटनगर?” भन्न मन लाग्छ, साच्चै म बिराटनगर टेक्नै चाहन्न। तिमी र मलाई भिन्न बनाउने शहर म किन टेकु। तिमीलाई अभिजात तुल्याउने शहर बिराटनगर। तिम्रो र मेरो स्तर असमानता प्रष्‍ट्याउने बिराटनगर अब मलाई अप्रिय लाग्न थालिसक्यो। तर मनले जे चाह गर्छ जीव्रोले कहा साथ दिन्छ र। विपरित जवाफ फर्काए। “साथी भेटेर भोलि फर्किन्छु होला।” कति विवश म यतिखेर। विभत्स लाशजस्तो क्षतविक्षत म। टुक्रिएको छु आफैदेखि खण्‍डित भएर।

बस इटहरी पुगेर रोकिन्छ। छर्लङ्गै उज्यालो भइसक्छ। उज्यालो मलाई हेयकर लाग्छ। यी प्रकाशका किरणहरू मेरो निम्ति एकदम अशोभनीय लाग्छन्। अन्धकारको कामना गर्दछु। म एक्लो भएको छु। सबैभन्दा फरक जीवन बाच्ने म अपवाद। उसलाई मेरो स्थितिबोध हुदैन। उसको चञ्चलता जारी नै छ। अँझ सुन्दर देखिन्छे उ। सौन्दर्य पनि यति विषाक्त हुन्छ भन्ने ज्ञान मलाई थिएन। अहिले भोग्दैछु। ऐठन भएजस्तो महशुस हुन्छ। म बाहिर निस्किन्छु उसलाई नसोधिकनै। मान्छे ओर्लिने र सामान झिक्ने क्रम जारी छ। समयको सदुपयोग गर्न म चिया र चुरोटमा हराउछु। उसलाई चियाको प्रस्ताव राखौ कि जस्तो लाग्छ। ह्या! होस। ऊ अनामन्त्रित भएकै वेश।

बस स्टार्ट हुन्छ। म हतार हतार चुरोट तानेर सक्छु। अरु सीट पनि खालि भएछन्। म आफ्नै सीटमा गएर बस्छु। यसपल्ट उसले कहाँ जानुभएको, के गर्न गएको जस्ता झिझर लाग्दा प्रश्न गर्दिन।

“मलाई फेरबुकमा एड गर्नु ल। क्युट गर्ल सर्च गर्नु न। टेडि बियर च्यापेको फोटो छ।”

नाम पनि परिवर्तित। वास्तविक नाम त अर्थोकै होला नि। सोध्ने इच्छा नै हुदैन। जवाफ पर्खिएका उसका आँखा र कानको व्यग्रतालाई शान्त पार्न हुन्छको भावमा टाउको हल्लाउछु। निरावाज।

नचाहेरै पनि ऊ र उसका व्यवहारप्रति वितृष्‍णा जगाउने प्रयत्न गर्छु। यसो गर्नु आवश्‍यक छ। निश्चय नै ममा ऊ प्रति घृणाभावको संचार हुनु जरुरी छ। तर मन ठिक उल्टो भाव जन्माउछ।

बस बिराटनगर बसपार्क पुगेर रोकिन्छ। “बाई सी यू सुन्। एड गर्नु ल, भरे च्याट गरुम्ला। डन्ट फर्गेट नि।” यति भन्दै ऊ खुशीले दौडिन्छे। कुनै चलचित्रकी परी जस्तै गरि। उसकी मामु र दिज्यू उसैको प्रतिक्षामा उभिएका रैछन। ऊ मामुलाई म्वाँई खादै अँगालोमा बाधिन्छे। मलाई प्रिय लाग्छ उसको यो बालसुलभ जस्तो पारा। ऊ फर्केर मलाई हेर्न भ्याउछे। हातको इशाराले शायद बाई बाई भनिरहेकी छे। म केही प्रतिक्रिया दिन सक्ने अवस्थामा छैन। लाग्छ मेरो मुटु उसैले रातभरिमा मोहनी लगाएर झिकेर लगिसकि। म निष्‍प्राण भइदिन्छु।

“बसमै निदाउने विचार छ कि क्या हो दाइ? ओर्लिनुपर्दैन? बस यहीसम्म मात्र हो।” खलासीको टिठलाग्दो आवाजले झस्किन्छु। उसको यस्तै तुच्छ स्वरसँग प्रेम बसेको थियो। यसको उही तरिकाको बोली सुन्दा बङ्गारा झार्दिउ जस्तो लाग्छ। कति फरक अर्थ राख्दछ व्यक्तिविशेषको समान गुणको भाषाप्रयोगले। अचम्म लाग्छ। सानो ब्याग बोकेर झर्छु। चियापसल छिर्छु। फेसबुक अन गर्न मन लाग्छ। सिधै क्युट गर्ल सर्च गर्छु। थुप्रै स्वदेशी देखि लिएर विदेशीसम्मका आइमाइ केटीहरूको तस्विर आउछ। गोरी देखि लिएर अंगारजस्ता कालीहरू। उसलाई ठम्याउन मलाई गाह्रो पर्दैन। उसले भनेजस्तै टेडि बियर काखमा च्यापेको फोटो देखेर चिन्छु। उसको प्रोफाइल भित्र जान्छु। साह्रै राम्रो फोटो रहेछ। फेरि ऊ प्रतिको प्रेम सल्बलाउछ। म विक्षिप्त सरह हुन पुग्छु उसँगको बिछोडले। प्रेम प्रस्ताव राखेको भए हुन्थ्यो कि झै लाग्छ। फेरि उसको र मेरो स्तरान्तर याद आउछ। एकदम बेचैनि बढ्न थाल्छ। म्यासेज बक्समा थिचेर आफ्नो मनको सबै सबै भावहरू लेख्छु। अन्ततोगत्वा प्रेम जाहेर गर्छु। म्यासेज सेन्ट भइसकेपछि आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभेट गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *