Skip to content


सम्राट उपाध्यायको नवीनतम कृति ‘दी सिटी सन्’को अन्तिम पातो पल्टाएपछि केही वर्षअघि उनीसँग आफूले अन्तर्वार्ता गरेको क्षण सम्झेँ। ‘तपाईंको आख्यानबाट ‘सेक्स’ झिके के बाँकी रहन्छ?’, पत्रकार मित्र दीपक अधिकारीसहित बबरमहल रिभिजिटेडको से क्यारोलिनमा कफी सुरुप्प गर्दै प्रश्न तेस्र्याउँदा सम्राट प्रतिउत्तरमा लामो हाँसेका थिए।

सम्राटको लेखनमा यौनको अतिशय उपस्थितिलाई मन पराउने र मन नपराउने दुवै थरी पाठक छन्। एकपटक कुराकानीकै क्रममा युनिभर्सिटी अफ लन्डनअन्तर्गतको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (सोआस)का प्राध्यापक माइकल हटले सम्राटले यौनलाई अतिशय प्रयोग गर्ने भन्दै उनको कथानक र चरित्र चित्रण नेपालीको वास्तविक जीवनसँग अमिल्दो हुने टिप्पणी गरेका थिए। ‘नेपालीहरू ‘सेक्स म्यानियाक’ होइनन्’, प्राध्यापक हटको टिप्पणीमा खिन्नता प्रस्ट झल्कन्थ्यो।

आफ्नो पहिलो कृति ‘एरेस्टङ गड इन काठमाडौं’को सफलतापछि सम्राटले अन्य एक कथासंग्रह र ‘दी सिटी सन’सहित तीन उपन्यास प्रकाशन गरिसकेका छन्। यी सबै कृतिका कथानक र पात्र फरकफरक रहे पनि सम्राटले यौनलाई सगरमाथाको शिखर चुम्न पुग्ने आरोहीले अक्सिजनको सिलिन्डर साथै लिएजस्तै गरी सँगसँगै च्यापेका छन्। यौनिकतालाई आफ्नो लेखनको मियो बनाउँदै आख्यान रच्दै आएका छन्।

‘दी सिटी सन’ मुख्यत: तरुण नामको केटा र दिदी नाम गरेकी उसकी सौतेनी आमा (ठूलीआमा) बीचको ‘अन्तरंग’ सम्बन्धको कथा हो। आमाछोराबीचको पवित्र नाताभित्रको प्रेमीप्रेमिकाको ‘अपवित्र’ सम्बन्धको कथानक हो- ‘दी सिटी सन’।

१२ वर्ष पुग्दै गरेको तरुणकी दिदीसँगको दैहिक सम्बन्ध २६-२७ वर्ष पुगेपछि र विवाहपश्चात पनि कायम रहिरहन्छ। तरुण दिदीमा आमा र प्रेमिका दुवै भेट्छ। दिदी पनि तरुणलाई वात्सल्य दिन्छे, माया बर्साउँछे अनि ऊभित्रको पुरुषलाई जगाएर आफ्नो वासनाका ज्वारलाई समन गर्छे।

तरुण र दिदी मूल चरित्र वरपर तरुणका जैविक अभिभावक मास्टरजी र अप्सरा, सौतेनी दाजु र भाइ अमित र सुमित, पत्नी रुक्मा र बिनानाताका संरक्षक महेश अंकल छन्। उपन्यास पढ्दै जाँदा कथानकको ‘टाइम’ विक्रमाब्दको तीसको दशक र ‘स्पेस’ बांगेमुढा असनले चर्चेको पुरानो काठमाडौं र त्यसभन्दा परका कुपण्डोल, लाजिम्पाट, नक्सालजस्ता क्षेत्र पर्छन्।

दिदी, मास्टरजी र उनीहरूका दुई सन्तान कुनै अनाम गाउँबाट सहरतिर आप्रवासन गरेको भनिए पनि गाउँको कुनै प्रसंग उपन्यासमा छैन। त्यसैले शीर्षकका भनिएजस्तै कथा सहरमै बुनिएको छ र चरित्रहरू वैध तथा अवैध सम्बन्धहरूभित्र जेलिएका छन्।

आफ्ना पछिल्ला कृतिहरूमा जस्तै आख्यानकार सम्राटले ‘दी सिटी सन’मा पनि नेपाली परिवेश, कथानक र पात्रको आफ्नो ‘सिग्नेचर’ कायम राखेका छन्। हिजोआज आङ्लभाषाका डायस्पोरिक लेखकहरूले मूल थलोका शब्दहरू अंग्रेजीमा घुसाएर मौलिकता दिने प्रयास गरेजस्तै सम्राटले पनि मनग्गे नेपाली भाषाका शब्दमात्र नभएर पूरै वाक्यसम्म पनि उपन्यासमा प्रयोग गरेका छन्।

कुमार नगरकोटीले नेपाली लेख्दा डल्लै अंग्रेजी वाक्यहरू छ्यासमिस गरेजस्तै सम्राटले पनि अंग्रेजीमा नेपाली हरफहरू घुसाएका छन्। झर्रा नेपाली लवज, उखान र खान्कीहरू प्रयोग गरेर उनले नेपाली परिवेश र संवेदना पुस्तकमा पस्केका छन्।

अझ दुई मुख्य पात्रको त व्यक्तिवाचक नामभन्दा पनि इलम र साइनो प्रयोग गरेर नेपाली ग्रामीण नामकरणको परम्परा पछ्याएका छन्। मास्टरजी र दिदी यस्ता पात्र हुन्। यस्ता शब्द र नाम प्रयोग गर्दा सम्राटले नेपाली लेख्य परम्परा नभएर जनजिब्रोलाई पछ्याएका छन्। यसै छुटका कारण नेपाली साहित्यमा किमार्थ नलेखिने ‘हाडकोर’ अश्लील शब्दहरूको उनले सहज प्रयोग गरेका छन्।

एउटा लेखकका रूपमा सम्राट उपाध्यायलाई पात्र र कथानकको छनोटमा पूरापूर छुट छ। अमेरिकामै स्थायी बसोबास र त्यहीँको विश्वविद्यालयमा प्राध्यापन कर्म गरिरहँदा पनि उनले नेपाली परिवेश र पात्रको आख्यान लेखेर नेपालीपनको विश्वव्यापी प्रवद्र्धन गरिरहेका छन्।

नेपालबाट पर रहेर पनि मनमस्तिष्कमा नेपाल राखिराख्नु प्रशंसनीय छ। तर, उनले बुन्‍ने कथानक कति नेपालीपनको सन्निकट छ, त्यो विचारणीय देखिन्छ। के आमा र छोराबीचको यौनसम्बन्धलाई नेपाली जातिले ‘प्रणय’को संज्ञा दिन सक्छन्?

यसअघिका आख्यानहरूमा पनि उनले ससुरा र बुहारीबीचको यस्तै सम्बन्धदेखि लिएर लोग्नेले कान्छी श्रीमती भित्र्याउँदा जेठीले आफ्नो ओछ्यान स्वेच्छाले खाली गरिदिएको जस्तो कथानक बुनेका थिए। ‘दी सिटी सन’मा पनि तरुण र दिदीको ‘प्रणय’मा बाधक नबनिदिन तरुणका जैविक पिता मास्टरजी र उनका सौतेनी भाइ सुमित कोठा छाडेर अन्त कतै गइदिन्छन्।

आफ्ना परिवारजनको जानकारीका बीच नै यी आमाछोरा यौनका ज्वारलाई दैहिक घर्षणबाट समन गर्छन्। के यो नेपाली जनजीवनको आमकथा हो? सम्राटका आख्यानहरू पढ्दा यस्तो लाग्छ, नेपालीहरूबीच नाइटोमुनि कुनै सम्बन्धै रहँदैन।

यदि सम्राटका कथा-उपन्यासलाई नेपालको प्रतिनिधि साहित्य भनेर गैरनेपालीले पढ्यो भने उसले नेपालप्रतिको दृष्टि कस्तो बनाउला? हुन पनि नेपाल बुझेका गैरनेपाली माइकल हटले किन नभनून्, नेपालीहरू सम्राटले भनेजस्तो सेक्स म्यानियाक होइनन् भनेर।

आख्यानमा पात्रहरूबीच सम्बन्धका जेजस्ता तानाबाना बुनिए पनि औपन्यासिक दृष्टिले उपन्यास पढुन्जेल रोचक छ। पात्रहरूको पृष्ठभूमि र तिनको उठान रोचक छ। संवादहरू नेपाली गुन्द्रुक वा टिमुर हालेको गोलभेडाको अचारजस्तै तिक्खर छन्।

सम्बन्धहरूबीच उतारचढाव भइरहे पनि सम्राटले अन्त्यमा ‘पोयटिक जस्टिस’ गरेका छन्। आख्यानकी छद्म नायिका दिदीको अलपपछि तरुण र उनकी पत्नी रुक्मा एकअर्कालाई स्वीकार्छन्।

यसरी दु:खदायी घटनाक्रम छिचोल्दै कथाको सुखद समापन हुन्छ। आमा-छोरा वात्सल्यको वासनारहित प्रेममा र प्रेमी-प्रेमिका वासनायुक्त प्रणयको आकाशमा निर्बन्ध भइदिएका भए ‘दी सिटी सन्’ सुरुचिपूर्ण आख्यान हुन सक्थ्यो।

२०७१ मङ्शिर ६ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *