एउटा बोझिलो
दिन पहाड जस्तै ठडिएर
चुनौती दिदैछ
जिन्दगीलाई उठाउन
म नाथे
लथालिंग टेबुलमा छरिएका
पुस्तक भएर
अर्थ खोज्दैछु आफ्नै
खुशीको परिभाषा अक्षरहरूमा
पर्दैछ पानीको बेग
बाहिर यहाँ अबुधाबीमा
अनि म भित्र पानको पात जस्तो मूटूमा
तर सुनिन्न किन
उन्मुक्तिको सिम्फोनी
म
र निरबतालाई खल्बल्याउन
लम्बेतान सुतेको सडक
बिउताउँन चाहन्न म
चोरेको छन् उसको निद्रा
अबेर अबेरसम्म
दगुर्ने बेसरम चारपांग्रे पन्क्शिहरूले
जसरी
म सुतेको छु
अपलक दिउसै पनि
के निदाउनलाई
तिम्रै सहारा लिउ सम्भव छैन
आज एउटा
नौतुन मान्छे
आयो मेरो सामुमा
ल्यायो माटोको गन्ध
र कुर्शिकै लागि झगडाका परी हिस्साहरू
सीमानाको मौनता
विद्याथीले बालेका टाएरका तस्बिरहरू
महगीले चपाएका गाउलेको कथा
चमेली बेचिएको व्यथा
तुइन चुडिदा दाजु बहिनी नदीमा झरेको दुर्दशा
एउतै प्लेनमा
आटी नाटी
भेडा बाख्रा झैँ
घर नै रित्याएर परदेश लागेको सुस्केरा
र त्यो एक ऊ पनि
भनी पुर्यायो
मलाई आफ्नो आगन
एक पलकमा
रोकिदै परेको पानी
जस्तो जिन्दगी
रोकिन नै नमिल्ने हो र
कि
देखे जतिकै रमाइलो
सधैलाई नदेखिने हो जिन्दगी
पर पर
जैतुनका फेदहरूमा
जीवनको अर्थ खोज्दैछ मेरो मन
अलि पर निलो समुद्रका निला छालहरूमा
जिजीविषाको परिभाषा बतुलिरहेछ मेरो धड्कन
कतै मिलिहालेछ भने
महाशय
म अवश्य यहालाई बताउनेछु
अस्तु :
विवेक दुलाल क्षेत्री “दमक ”
दमक,झापा
