मेरो पसिनाको झर्नामा नुहाएर
तिमी सद्यस्नात हुन्छौ।
तृप्त ताजगी प्राप्त गर्छौ ।
मेरो खुनको प्याला पिएकर
तिमी मद्होश मधुशालामा
मस्ती मोजमा झुम्छौ
पुलक प्रफुल्लित बन्छौ
मेरो बदनको हाँसो लुटेर
ओठभरि मुस्कान सिउरिन्छौ
गला भरि अट्टहास पहिरिन्छौ
मेरो सदनको गाँस धुतेर
तिमी रातोपीरो बन्छौ ।
मलाई मसुल्ची बनाएर तिमी
मर्दन आनन्द लिन्छौ ।
मलाई तबल्ची बनाएर तिमी
तालतालको रुन्झुन् सङगीतमा झुम्छौ
खालखालको राग रमितामा रम्छौ
यसरी निर्माण भएको छ ।
तिम्रो सुखको महागाथा
म बझन सक्त्तीन
यो तिम्रो सुखको माहागाथा हो या
मेरो दुःखको महागाथा ??
