Skip to content
20140403_RamKrishnaPoudelAnayas_01


उज्यालोको पर्खाईमा
अँध्यारोलाई चिर्दै
बसेकी छन् मनमाया

थुप्रै सपनाहरू आँखामा बोकेर
शहर पसेकी मनमाया
रहर कै आँधीले अलपत्र बनाएको
उनको सपनाहरू
कहिले शीत झैँ खस्छ

मुस्कुराउदै हराउछ आफ्नो वरिपरि

आफ्ना शरिरका केही अंग
असुरक्षित ठान्दछिन् मनमाया
वरिपरि चिहाइरहेका गिद्दका
आँखाहरू देखेर

मन तर्सिंन्छ चट्याङको आवाज झैँ
उनको ओठबाट मुस्कान हराएको छ
तैपनि बिहानी भेट्नु छ उनले

अनुहारमा त्रास बोक्दै
लय हराएको गीत गाउदै
यस्ता रातहरू मारेको दाग ब्यूँझन्छ
उनको आँखामा बिहान,

रहरका बिस्कुन सुकाएर मनमा
घामको प्रतिक्षा गरिरहेकी छन्
बादल र तुवाँलो पनि उनको
बिस्कुन भिजाउने दाउ हेरिरहेका छन्
तरपनि मुस्कुराउँछिन मनमाया
किनकि सदियौ देखि
यही जुहारी चलिरहेको छ

वर्षौ अघि सपनाको सिंगो आकास बोकेर
गाउँ छाडेकी मनमाया
हत्केला भरि सास बोकेर
फेरि फर्कन्छीन् उही प्रिय शहरबाट

अनि मुक्तिको सास फेर्छिंन्
बचेको शरिरको केही भागहरूको
सुरक्षा महसुस गर्दै
उही गाउँमै सपनाको महल बनाउने
योजना गर्छिन मनमाया ।

रामकृष्ण पौडेल ‘अनायास’
कविडाँडा, भरतपुर

फोटो -मनमाया तमाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *