आमा
पिठ्युँको तातो स्पर्शमा
मलाई डल्लो पारेर
माने भन्ज्याङको उकालो
मध्यरातमा
एक्लै उक्लिदैं गर्दा
छिटको फरिया घुडाँसम्म पुर्याई
लिखुको त्यो भयानक
जंघार तर्दा
तिम्रो आँखामा कुनै भय देखिन
वेगसँगै बग्दै गरेको समयको क्षय देखिन
देखें त मात्रै एउटा सुन्दर फूल
मुसुक्क मुस्कुराएको
मीठा फल लाग्ने विरुवाको
बीज अंकुराइरहेको
आमा
त्यो तातो मधेसको माटो टेकिरहदाँ
चुरेको झाडी अनि राप्तीको बगरमाझ
मेरो भाग्य लेखिरहदाँ
तिम्रो आँखामा मैले सपना देखेथें
हो त्यही दिन मैले आफ्नो भाग्य लेखेथें
अनि प्रण गरेथें
कुनै दिन
मेरो निम्ति आफ्नो सपना तुहाउने
मेरो निम्ति आफ्नो पैताला खियाउने
मेरी आमाको ओठमा गुराँस फुलाउनेछु
श्रवणकुमार बनी संसार डुलाउनेछु
र त्यो दिन आएको छ
साँच्चै आमा
अब गए
नूनसँगै सुख्खा रोटी खाने दिनहरू
जिउ दुख्ने फलेकमा सुत्ने दिनहरू
हुरीले उडाएको छानो
कहिल्यै नभरिने त्यो मानो
सबै सबै अभावलाई लात हानेकी छु
मेरी आमा तिम्रो निम्ति स्वर्ग छानेकी छु
साँच्चै हो आमा
तिमीले चिनाएकी अक्षरसँगै
तिमीले देखाएकी बाटोमा
तिमीले टेकाएकी माटोमा
निरन्तर निरन्तर
सिक्दैं गएँ
हिड्दैं गएँ
र त आज यो गन्तव्यमा पुगेकी छु
सफलताको शिखर चुमेकी छु
आमा अब मेरो पालो
तिमीलाई न्यानो माया दिने
शितल छाँया दिने
तिमीलाई हसाँउने
सुन्दर संसार बसाउने
हो आमा अब मेरो पालो
अब मेरो पालो ।
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं