लाग्छ तिमी भर्खरै हौ मुनाबाट निस्किएको
म छु यता बाध्यताको थुनाबाट निस्किएको
तिमी जस्तै क्षितिजमा पुग्न कहाँ सक्थें र म
आजै त हो अशिक्षाको कुनाबाट निस्किएको
सुवासिलो फूल तिमी मन्दिर भो तिम्रै पेवा
काँडा हुँ म टपरी र दुनाबाट निस्किएको
खुशी हौली जिन्दगीका हर पाटा रंगिएर
फालिएँ म चोकर झैँ चुनाबाट निस्किएको
‘घायल’को स्वरुपमा अचम्म क्यै नमान्नु है
असर हो यो तिम्रै जादु टुनाबाट निस्किएको
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
