उनको हिंडाई को लचकत्ता, आँखामा लगाएको कालो चस्मामा घरी घरी पुर्याएका ती हातका चलायमान औंला, नङ्गमा लगाएको नङ्पालिसको शोभाले कता कता मेरो मनलाई आकर्षण गर्यो । म उनको रूपमा साह्रै मोहित भएँ । नहुँ पनि किन, मानव मन नै हो । तनमा एक थोपा रगत छन्देर ऊ चलबलाउन छाड्दैन । उनी बसमा चढिन् । म पनि कुनै उद्देश्यविना नै त्यही बसमा चढें । बस नारयणघाटबाट पूर्व हानियो । उनी कहाँ जानिहुन् र म कहाँ गइरहेको छु मलाई नै थाहा थिएन ।

बस गुड्दै गयो उनी एक सिटमा थिइन् । म उनको अनुहार देखिने गरेर अर्को सिटमा बसेको थिएँ । दुवै जनाको बोलचाल थिएन । तर म भने किन हो किन उनीसँग बोल्न निकै ललायित थिएँ । बस गएर पर्सा बजारमा रोकियो । उनी बसबाट ओर्लिन् र म पनि त्यहीं ओर्ले । अब भने हामी दुवै जना निकै नजिकबाट हिड्न थाले म । मैले कता पुग्ने हो बहिनी भनेर कुरा खोजलें तर उनी भने बोलिनन्. । उनी एकचालमा थिइन् भने म पनि आफ्नै चालमा उनको साथमा हिडेको थिएँ ।

बाटोको दुवैतिर, पसलहरू थिए । हामी दुईजना भने आफ्नै रफ्तारमा थियौं । पुल आयो पुल तरियो । बजार सकिएको थिएन । बाटो उत्तर मोडियो । हामी पनि उत्तर मोडियौं । बर–पिपलको रुखको छायामा फलफूल राखेर बसेका महिलाहरूले उनीसँग मुस्कुराउँदै सोधे, “कसलाई साथमा लिएर आयौ ?”

उनको मौनता तोडियो ।

उनी मुस्कुराइन् तर बोलिनन् । म अलिक पर सरें । मलाई पनि ती महिलाहरूले सोधे भने के भन्ने ? जवाफ मसँग थिएन । नशा पनि त अब शनै शनै उत्रदै थियो । उनको मोवाइलको घण्टी बज्यो । उनले हल्यो भनिन् । बल्ल उनको आवाजले मेरो कानमा सङ्गित भर्यो । उताकोले सायद उनको प्रतिक्षा गरेको थियो होला ?

“कहाँ छौ ?” उनले सोधिन् । जवाफ आयो बुढयौली चोकमा । उनले भनिन् –घर गएर बस न । घर नजिकै त छ नि ।

अब त मेरो नशा पुरै झर्यो । म आफैले आफैलाई धिकारे । म कता जान पर्ने मानिस कता लागे । अब कता जाने ? उनी मसँग बोलेकी पनि छैनन् । मैले मनमनै सोचे । म नआउनु थियो आएँ अब बुढौली नै जानु राम्रो । उनले पनि कसैकोमा आएको रहेछ भन्ने सोच्लिन् । म पनि त काकाको घरमा गएर हजुरआमा र भाइ बहिनीहरूलाई भेट्घाट पनि त गर्न सक्ने भएँ र उनको घरको पनि जानकारी लिन सक्ने भएँ । एक केजी स्याउ किने ।

घोडाको टाँगा आयो दुवै जना टाँगामा बस्यौं । घोडा अघि बढ्यो । यात्रीहरू धेरै थिए । म उनको नजिकै बस्न पुगें । उनको शरीरको उच्च तापले मलाई न्यानो पारेको भान हुन्थ्यो । केही क्षणमा हामी बुढ्यौली चोकमा पुगे म । दुवै जान टाँगाबाट ओर्लियो । उनी उत्तर लागिन् म पश्चिम लागें । काकाको घरमा पुगें । हजुरआमा र काकीलाई ढोग दिएँ । हजूर आमाले घरतिरको हाल खबर सोध्नुभयो । मैलै सबै कुराहरू बताएँ । काका घरमा हुनुहुन्थेन । मलाई थोरै भए पनि राहत भयो । हजुरआमाले चिया ल्याउनु भयो । सबै जनाले बसेर चिया पियौं ।

मैले हजुर आमालाई केही क्षण घुमेर आउछु भन्दै त्यहाँबाट भाइ अनिललाई लिएर उनी लागेतिरै हानिए । चोकबाट उनको घर त्यति टाढा पनि त रहेनछ । काका त्यहीं हुनुहुन्थ्यो । भाइ अनिलले ऊ बाबा भन्यो र हामी दुवै जना काका भएको ठाउँमा पुगे म । मैले काकालाई ढोगे । उनी केही क्षणमा चिया लिएर आइन् । अब त उनका र मेरा आँखा चार भए । खिसिक्क दाँत देखाएँ तर उनी भने मौन थिइन्, न मुस्कान थियो न त कुनै प्रतिकृया । काका पनि निकै गफाडी हुनुहुन्थ्यो । उहाँले मेरो बारेमा बखान शुरु गर्नुभयो । मेरो भतिजो, एम ए पास गरेको, अष्ट्रेलिया गएर फर्केको, पहिलो घरवार बिग्रेको, दुई छोरा एक छारी भएको, यसको विवाह नगरी नभएको आदि आदि । मूक कुमारीका बाबुआमा साथै ढोकाको ओझेल पारेर उभिएकी मूक कुमारी समेतले यी सबै कुराहरू एक एक गरेर सुने ।

मूक कुमारीकी आमा मुस्कुराइन् र बोलिन्, “कि हाम्रै साहिलीलाई देखाउन ल्याउनु भएको हो कि कसो ?”

काकाले यस्तो मौका किन चुकाउनु हुन्थ्यो ? बोलिहाल्नुभयो – नाता लाग्दैन, गोत्रले रोक्दैन, मन मिले विवाह गर्न हुन्छ, किन नहुनु प्रश्नवाची बन्नुभयो । केटाले केटी देख्यो अनि केटीले केटो पनि अब तपाईंहरूको बिचार भए विवाह गरेर आजै पठाइ दिन सक्छु ।

“सोच्नुहोस् अनि दुईचार दिनमा खवर दिनुहोस् । हामी सबै जना त्यहाँबाट उठेर घरतिर लागे म ।”

बाटोमा काकाले भन्नुभयो– “देखिस् कति सुन्दरी छ केटी ?”

म झनै खुसीले गदगद् भएँ ।

“मन पर्यो ?” काकाले सोध्नुभयो ।

म मौन रहें । मौन रहनु नै स्वीकार्य हो भन्ने कुरा काकाले बुझ्नुभयो । घर अति साधारण थियो । बाबुआमा पनि हेर्दा निर्कै सज्जन होलान् जस्तो लाग्यो । पारिवारिक अवस्था कस्तो छ भन्ने कुरा मलाई थाहा लागेन तर छोरीहरूभने निकै रहेछन् भन्ने जानकारी आयो । अब विवाह गर्ने पालो भने साइँलीको रहेछ ।

काकाको घरमा खाना खाइयो । रातभरि विस्तरामा पल्टे । उनको अनुहार मेरो आँखाभरी नाचिरह्यो । मुस्किलले के आँखा लागेका थिए, तिनी मेरो शयनमा आएर गुनगुनाउन थालिन् । म ब्यूँझिएँ । यसै प्रकारसँग रात बित्यो । कुखुराले सङ्गित भर्यो । काकी उठ्नुभयो । गाईलाई घाँसपराल दिन थाल्नुभयो । आगो बालेर पानी तताउन थाल्नुभयो । केही क्षणपछि काका उठ्नुभयो । गोठ सफा गर्न थाल्नुभयो । गाई दुहुन थाल्नुभयो । म पनि उँठे र आगो ताप्न थालें । काकीले चिया पकाउन थालनु भयो । भाइ अनिल पनि उठेर पढ्न थालेको थियो । हजुरआमा त झन हामी सबैभन्दा पहिला उठेर नुहाएर पूजा गर्दै हुनुहुन्थ्यो । चिया पिएर म घर जान बिदा माग्न थालें ।

हिड्ने वेलामा काकाले सोध्नुभयो, “के केटी मनपरी ? केही पाउँदैनस्, खानदान पनि ठिकै हो, सालाजेठान कोही छैनन् । छोराको रहरले गर्दा आधादर्जन छोरी भए तर छोरा जन्मेनन् ।”
मैले त उनको लागि सारा चिज नै समर्पण गर्न तयार थिएँ ।

“हतारमै हुन्छ विवाह गरौंला, कुरा अघि बढाउनुहोस्,” भन्दै म बिदा भएँ र गाडी चढें ।

म नारायणगढ आएँ र घरमा आमालाई भेटें । आमाको माया अपरम्पार हुँदो रहेछ । राति कता गइस् भन्दै रुन थाल्नुभयो । मैले सबै कुरा भने । भुन्टेहरू पनि खेल्दै मेरो छेउमा आए । मलाई पूर्वपत्नीको यादले सतायो । उनी मरेकी पनि छैनन् र साथमा पनि छैनन् । कान्छी छोरी माग्दै थिइन् । मैले दिन चाहिन र दिइन पनि । नानी दूधे थिई । आमाले नानीलाई तानेर दूध खुवाउन थाल्नुभयो । मेरो बानी बिग्रिसकेको थियो । मलाई सर्ब प्रथम जाँडरक्सी नभै हुँदैनथ्यो । जाँड पनि केटीहरूलाई साथमा लिएर पिउनु पर्थ्यो । खाए पछि घरमा आएर आमासँग झगडा गर्न पर्दथ्यो । होटेलमा म पिउन बाहिरिएँ । पिएर घर आएँ न छोराहरूमा माया थियो न त छोरीमा माया । त्यो दिन त्यसै बित्यो । भोलिपल्ट बिहान काकाको फोन आयो । विवाह गर्ने भए टीका लगाउन आइज ।

के खोज्छेस् कानो, आँखो भने झै मैले पनि “म दुई बजेतिर आइपुग्छु तर टीका आज नलगाउने” भनेर काकालाई जवाफ दिएँ ।

म दुई बज्न नपाउँदै काकाको घर पुगें । विवाहमा कुनै कुरा लुकाउन हुँदैन भन्ने मेरो मान्यता थियो । म काकासहित केटी अनि केटीका परिवारसँग साक्षात्कार भई कुरा गर्न चाहान्थेँ । म काका र काकी भएर केटीको घर गयौं । उनले मूक कुमारी सिङ्गारिएकी थिइन् । झट्ट हेर्दा अति सुन्दरी लाग्थिन् । मैले उनलाई एक टकले हेरें सायद उनले पनि हेरिन् होला ! पुनःउनले चिया लिएर आइन् । दुई पटकसम्म रूपको प्रदर्शन भइसकेको थियो ।

मैले मलाई लागेको सबै कुरा राख्ने अनुमति मागें । मेरो रक्सी पिउने बानी सर्ब प्रथम राखें । मेरा दुई छोरा एक छोरी छन् भन्ने सत्यतथ्य पनि बताएँ । यी बालबालिकको सेवा गर्नु पर्छ पनि भने तर मूक कुमारी भने केही बोलिनन् । मैले पुन दोहोर्याएँ । यी सबै शर्त मानेमा म विवाहको लागि तयार छु भनें । दुई दिनभित्र मलाई जानकारी दिने भनेर हामी त्यस घरबाट बाहिरियौं । म काका काकीसँग बिदा मागेर घरआउन थालें । बजारमा आएर भट्टीभित्र पसें र पिउन थाले । आजको पियाइ खुसीको थियो ।

भोलिपल्ट विहान केटीको फोन आयो, “म विवाह गर्न तयार छु । तपाईंका सबै शर्त मान्न तयार छु ।”

म हतारमा थिएँ । भोलिपल्ट टीका लगाउन आउँछु भनेर पहिला केटीलाई पनि भने र काकालाई पनि भनेँ । जेठी श्रीमतीबाट मैले कानूनी छुटकारा पाएको थिइन । टीका लगाउने बेलामा नै केटी लिएर जा पो भन्न थाले । मैले “हुन्छ” भनेँ र टीका लगाएर केटी लिएर म घरमा आएँ ।

मैले सोचेजस्तो हुन सकेन । उनी जात नमिल्ने केटाकी भइसकेकी रहेछिन् । बाबुआमालाई त्यो केटाबाट कसरी छुटकारा लिने र छोरीलाई आफ्नै जातको केटासँग कसरी विवाह गराउने भन्ने धारणा रहेछ । उनीहरू सफल भए, तर केटीको सम्पर्क छुट्न साह्रै कठिन भयो । मैले पनि रूपमा मोहित भएर विवाह गरें तर पत्नी सुखको अनुभव गर्न पाइन ।

उनको र मेरो वैवाहिक जीवन दिन प्रतिदिन तीतो अनुभव हुन थाल्यो । म रक्सीमा मात्तिन थालें । मेरो पूर्वगुणहरू मबाट विलिन हुन थाले । उनले पनि मोवाइलमा घण्टी कसलाई हो कसलाई लुकी लुकी बजाउन थालिन् । मैले सहेर बसें । मेरा ती साना नानाबालालाई कोठामा थुन्ने र यातना दिने क्रमको थालनी भयो ।

एकदिन त उनले विष लिएर आइछन् र त्यो पनि ममा प्रयोग भयो । तर काकाले गरेको काम भनी कानूनी कारबाहीमा गइन । उनले गरेको कुकर्मले उनी आफै टाढा हुन थालिन् । मैले आज पनि मूक मूक भनेर फोन गरिरहन्छु तर उनी मूक नै रहिन् ।

एक दिन म कोठामा बसिरहेको थिएँ । अदालतको एकजना कर्मचारी आएर मेरो नाम सोध्यो । मैल, म नै त्यो व्यक्ति हुँ भने । एउटा कागज हातमा लिएर यो पत्र बुझ्नु होस् भन्यो । मैले कागज बुझें र हेरें त्यो त उनले मेरो सम्पत्ती सहितको छोडपत्र खोजेकी रहिछन् । तर म भने अँझै उनलाई भित्र्याउने मनस्थितिमा नै छु । उनको र मेरो आजकल अदालतमा तारिखमा भेट हुन्छ । मैले उनलाई एकटकले हेर्छु तर उनी भने मतिर हैन कतैतिर हेरिेरहेकी हुन्छिन् ।

(यो कथा काल्पनिक हो, कसैलाई तोकेर लेखेको हैन)

सदानन्द अभागी
कावासोती –१ शान्तिचोक, नवलपरासी
मिति २०७०/१२/२१

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *