हिमाल देखि चारकोसे झाडीसम्म
अब फेरि डाँफे र मयूर नाच्छ
अढाई करोड नेपालीको
हरेक ढुकढुकीमा नेपाल बाँच्छ
अब समय बदलिसकेको छ
आशाहरूले जन्म लिइसकेको छ
मातृप्रेम प्रीतको झंकार
नेपाली हृदयमा छाइसकेको छ
देशको मायाको अगाडि
त्यागिन्छन् नराम्रा विचारहरू
समान रूपमा पचहत्तरै जिल्लामा
कोरिन्छन् विकाशका आधारहरू
इमान्दारीता र स्वच्छ छविमा
बदलिन्छन् शासकीय व्यवस्था
साबिकको सीमानामा नेपाल अँगालेर
गर्वले ठडिरहन्छ सगरमाथा
भय रहित भ्रष्टाचार मुक्त सुशासनमा
परिश्रमी पाखुराहरू पसिना चुहाउछन्
सत्य न्यायको अमन चैनमा
अघि बढेका आत्माहरू मुस्कुराउछन्
मेची महाकालीको उज्यालो लहर
कुना कुना सुख जगमगाइरहन्छन्
हाम्रै नेपालदेखि विश्वभरि नै
बुद्ध-शान्तिको सन्देश फैलिदैजान्छन्
उनीएर संचारको हातेमालोमा
देश विदेश हामी एकबद्ध हुन्छौँ
नेपाल आमाको जय भन्दै
राष्ट्रको झण्डा फरफराउँछौँ
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्
