Skip to content


वर्षौपछि फर्कदैछु उही गाउँ
जुन गाउँमा मेरा सपना हराएका थिए
अनि भाँचिएका थिए मेरा कलमका निमहरू
बिचरा ! हर्के र मनमायाको अँझै
अत्तो पत्तो छैन अरे
मैले जुन दिन गाउँ छाडेको थिए
त्यही दिन उनीहरूको सम्बन्ध
गाउँलेको नजरमा दोसि ठहरिएको थियो ।

पिँढीमा बसेकी सुन्तली भाउजू अँझै
आफ्नो पतिको बाटो हेरिरहेकी छन्
सोध्दै थिइन बरा ! मलाई
”कतै देख्नुभयो कि बाबु दाइलाई ?”
मैले थोरै सान्वना दिए
‘दाइ मुग्लान पसेको हुनु पर्छ फर्केलान एक दिन’ ।

सुस्ताउदै निस्कन्छु त्यहाँबाट
मेरी आमा पनि मेरो पर्खाईमा होलिन
कुकुर मलाई देख्दा पक्कै भुक्छ होला
सुघ्छ होला अनि बल्ल छाड्दो हो मलाई ।

साँझ पर्दैछ घामपारि डाँडाको फेदी तर्फ दौडेको देख्छु
त्यो जति दौडन्छ म उतिनै दौडिएको छु
घाम बास बस्दा म पनि पक्कै बास बस्न पुग्छु होला ।

बिचमा बाल्यकालको याद दिलाउछ मलाई
यो स्कुल आई पुग्दा
स्कुलका ढोकाहरू झन् जीर्ण छन्
म छिरेर भाग्ने गरेको झ्याल नै भत्किएको छ
जस्ता सबै प्वाल परेको र
खियाले रंगिएको छ
पक्कै वन्द हुनु पर्छ यो स्कुल
त्यही दिनको भिडन्तबाट ।

मास्टर बाको आँखी भौं पनि
फुलिसकेको रहेछ
मोटो चस्मा लगाउदै एकनासले हेरिरहे
मैले नमस्कार गरे
फर्काउने उनको हात काटिएको रहेछ
पक्कै युद्ध कालमा हुनुपर्छ
मास्टर बाले मलाई राम्रोसँग चिनेकाछन्
किनकि उनकै काखबाटै म
खोसिएको थिए छापामारबाट
आँसु पिलपिल पार्दै सोधे मास्टर बाले
”पक्कै अयोग्य घोषित भयौ बाबु ?”

रामकृष्ण पौडेल ‘अनायास
(कविडाँडा भरतपुर -१३,)

Leave a Reply

Your email address will not be published. Required fields are marked *