Skip to content


डा. वानीरा गिरीको ‘कारागार’ मैले पढेको उहिलेको कुरा हो जति बेला म किशोरी थिएँ। मेरो किशोरी मनमा सल्यानको दमाचौर गाउँमा रहेको भानु माध्यमिक विद्यालयको पुस्तकालयमा पस्दा पढ्न जुरेको कारागारको छाप अमिट रह्यो। त्यतिबेलै वानीरालाई भेट्ने इच्छा पलाएको थियो। के कारागारकी नायिका ती आफैं होलिन ! यस्ता धेरै जिज्ञासा थिए मसगँ।

काठमाडौं पसेपछि सभासमारोहमा उनलाई टाढैबाट देख्ने र बोलेको सुन्ने अवसरसम्म जुर्‍यो तर ‘म उषा हुँ दिदी तपाईंकी फ्यान’ भन्ने अवसर जुरेकै थिएन।

म अलिकति पूर्वाग्रही पनि भएकी थिए सायद। उनको बौद्धिकता र सिर्जन क्षमतालाई आफ्नो विवेकले छामिसकेकी मैले उनले अरूलाई गर्ने व्यवहारबारे भने अरूको अनुभव सुन्न पुगेछु।

एक पटक नेपाली साहित्यकारबारे अनुसन्धान गरिरहेका एकजना अनुसन्धानकर्ताले मलाई सुनाएका थिए- डा. वानीरा गिरीलाई भेट्नु र उनीसँग वार्तालाप गर्नु भनेको सायद फलामको चिउरा चपाउनुजस्तै गाह्रो कुरा हो। जस्तातस्ताको लागि उहाँको घरको ढोका खुल्दैन। उनले आफ्ना प्रयास असफल भएपछि डा. गिरीसँगको अन्तरर्वार्ताको प्रयासै नछोडिदिएका रहेछन्।

यो अनुभवले म डराएकी थिएँ। त्यसको प्रमाण पनि अर्को अनुभव भएर आयो। २०६४मा गुञ्जनले प्रकाशित गरेको ‘द डटर अफ द अर्थ’ किताबमा मैले चारवटा अंग्रेजीमा अनुवाद गरिएका कवितासहित समावेश हुने अवसर पाएकी थिएँ।

किताब सम्पादन गरिरहेकी वानीरा दिदीको फोन आयो मेरा कविताबारे सोधपुछ गर्न। फोनमा उहाँको आवाज सुन्दा म त यसरी आत्तिएछु कि जीव्रो लरखरियो। उहाँको आवाज सुनेर खुसी र डर मिश्रित अनुभूतिले म हैरान भएकी थिए।

हालैमात्र साहित्यकार ललिता जोशीको फोन आयो। वानीरा गिरीसँगको भेटलाई लिएर। म कुनै पनि अवस्थामा यो अवसर गुमाउने पक्षमा थिइनँ। मैले ती अनुसन्धानकर्ताले भनेको सम्झे -डा. वानीराको घरको ढोकाजस्ता तस्ताको लागि खुल्दैन।’

निर्धारित समयमा मीनभवनस्थित घरमा पुगेँ। वानीराका पति इन्जिनियर शंकर गिरीले गेट खोल्नुभयो र आत्मीयतापूर्वक बैठक कक्षसम्म मलाई लिएर जानुभयो। त्यहाँ उषा शेरचन, इन्दिरा प्रसाई, ललिता दोषी, शान्ता राई, शशी थापाहरूको उपस्थिति देखे। डा. वानीराले हात समातेर मलाई स्वागत गर्नुभयो, आत्मीयतापूर्वक। मेरा केही क्षण अगाडिसम्मका द्विविधा र संकोच पग्लेर गए। खुसीले गद्‍गद् भए।

उहाँको भव्य बैठक कक्षको आफू खुसी अवलोकन गर्दै खानाको टेबुलमा बस्न गएँ म। वानीरा दिदीले आफ्नो हातले खाना पस्किँदै हामीलाई खुवाउनुभयो। विश्व नारी रत्नले विभूषित नेपालकी सुप्रसिद्ध साहित्यकारसँग बसेर खाना खाँदैछु। ती मैले कारागार उपन्यास पढेर कल्पना गरेकी तर अहिलेसम्म भेट्न कल्पिएकी डा. वानीरासँगै बसेर गफिँदैछु। वाह !

खानापछि उहाँका परिवार, रुचि, विगत, वर्तमानवारे बुझ्न उहाँको वरिपरि झुम्मियौं हामी। उहाँको बाल्यकालको अनुभवको वृत्तान्त सँगसँगै हामी पनि उहाँको जन्मथलो खर्साङ पुग्यौं। गाउँको बाटोघाटो, खोला, नदी सबै अनुभव गर्‍यौँ हामीले। उहाँका आमा, बाबा, दिदी, दाजुहरूसँग नाता जोड्न पुग्यौं। वैवाहिक सम्बन्धका रोमाञ्चक क्षणहरूमा रमायौं र आफन्तका बिछोडका क्षणसँगै दु:खी भयौं।

सबैभन्दा ठूलो कुरा त यी प्रखर विदूषीको जीवन दर्शन सुन्नु थियो। वानीरा दिदी हामीसँग मनग्य पोखिनुभयो। यो संसार चलाउने कुनै अदृश्य शक्ति माथि आफ्नो बलियो विश्वास दर्शाउँदै दिदीले भन्नुभयो- हेर्नुस् यी बिरुवाहरू, यी जीव जन्तुहरू सबैसँग हाम्रो सम्बन्ध कस्तो छ !

यतिबेला उहाँले आफ्नो बैठक कक्षमा सजाएका बिरुवा र घर पालुवाहरूप्रति अगाध स्नेह जताइरहनु भएको थियो। आफ्ना प्रिय आफन्तहरू, नाता सम्बन्धहरू, साथीहरू बिछोडिँदै जानु र नयाँ सम्बन्धहरू विकसित हुँदै जानुलाई उहाँले निकै संवेदनशील बनेर व्याख्या गर्नुभयो- सायद यही हो जिन्दगी।

‘हामीले पाएका कुराहरूप्रति कृतज्ञ बनौं र जे हामीसँग छैन ती कुराहरूप्रति गुनासो नगरौं किनभने ती हाम्रो भागमा थिएनन्। बाँच्नलाई यो जति सजिलो बाटो अर्को हुन सक्दैन’, यस्तो रहेछ वानीरा दिदीको जीवन बाँच्ने तरिका।

यो छोटो भेटघाटमा यी विदूषिको बैठक कक्षामा जहाँ उनका प्रिय बिरुवाहरू, मन परेका सजावटका सामानहरू, प्रिय आफन्तहरूका तस्बिरहरू खचाखच भरिएका छन्- उनले आफूले लगाइरहेको स्विटर देखाएर भनिन्, ‘कुनै दिन यो स्विटर पनि यो बैठकमा टांगिनेछ।’ वास्तवमा यही हो सत्य। यो परमसत्यभन्दा पर कोही जान सक्दैन। वानीरा दिदीको सन्दर्भमा म यहाँ एक सुप्रसिद्ध कवि रोवर्ट फ्रोस्टको भनाइ सम्झना गर्छु –

वुड्स आर लभ्ली डार्क एन्ड डिप
बट आई ह्याभ प्रोमिसेज् टु किप
एन्ड माइल्स टु गो विफोर आई स्लिप
एन्ड माइल्स टु गो विफोर आई स्लिप

वानीरा दिदी, जीवन त त्यस्तै हुनुपर्छ जस्तै तपाईं बाँच्दै हुनुहुन्छ। तर तपाईंले लगाएको स्विटर यो बैठकमा टांगिनु अगाडि तपाईंले नेपाली साहित्यसँगसँगै कोसको यात्रा गर्नुहुनेछ।

अन्नपूर्ण पोष्‍ट
०७० चैत २९, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *