Skip to content


यसपालि पनि यदि
अधुरो नै छुटोस् कुनै संकल्प
तब यति विश्वास रहोस्
कि सही थियो सुरुआत’

कुँवर नारायणको यही कविताबाट मेरो हरेक वर्षको नयाँ दिनको प्रवञ्चना सुरु हुन्छ। म पनि यस्तै संकल्पना गर्छु चाहे पूरा होस् वा नहोस्। के फरक पर्छ त, भयो त भयो, भएन त भएन। तर, आफ्नो कोसिस त जारिरहन्छ । नयाँ वर्षको पूर्वसन्ध्या र जन्मदिनको साइत पारेर फेरि सम्झेँ यो कविता। कुँवर नारायणको प्रिय कविता।

यसपालि मैले आफ्नो जन्मदिन यसरी नै मनाउने रहरले काठमाडौंको भीडबाट भागेँ। अँझै फेसबुक, ट्विटरको पानाबाट पनि गायब भएँ। कहाँ कता गएको छु, कसैलाई खबर नदिईकन म हिँडे एउटा यात्रामा।

यात्रा पनि यति अनौठो, कता हिँडेको छु आर्फंलाई मेसो थिएन।

नेपालगन्ज पुगेर केही साथीलाई जगाएँ, दुई थपियौं पत्नीसहित। फेरि गाडी भारतीय नम्बरको मिलाउन खोज्दा एउटा नेपालकै इस्लामी साथी पनि थपिए, इरसाद। इरसादको अर्थ हुन्छ- कुनै काम सुरु गर्दाको शुभसंकेत वा निर्देशन। इरसादकै निर्देशनमा हामी लखनउ जाने भयौं।

नेपालगन्ज हुँदै हामी कुँवर नारायणकै सहर लखनउ पुग्यौं। लखनउ पुगुन्जेल मेरो जन्मदिन भनेर मेरी पत्नीलाई बाहेक अरू सदस्यलाई थाहा थिएन। लखनउ पुगेको रात टुन्डे कवाफ खाएर मेरो जन्मदिन मनायौं अँध्यारोमा। उज्यालो त मनभरि थियो नै। जन्मदिन भव्य भइगयो ।

टुन्डे कवाफमा बलिउडका प्राय: स्टार पुगेका रहेछन्, फोटो भित्ताभरि टाँसिएका थिए। तर, रेस्त्राँ हेर्दा हाम्रो मासंगल्लीको कुनै पुरानो सानदार मामो रेस्टुराँजस्तो।

विश्व कविता दिवसको दिन म उत्तरप्रदेश साहित्य अकादेमीको आँगनमा थिएँ, मेरो पनि सही थियो सुरुआत। कोही साहित्यिकलाई भेट्ने रहर त थिएन तर लखनउमा खादीको कुर्ता, मोचीको चप्पल, चिकन वर्क गरिएका कपडाबाहेक केही पुस्तक किन्ने अपार इच्छा थियो नै।

लखनउ पुगेको दिन नै भ्रमणको सूची बन्यो, बडा इमामबारा, छोटा इमामबारा, पिक्चर ग्यालरी, देवा दरगाह आदिआदि। कवि कुँवर नारायणको अधिक समय बितेको यो लखनउ मलाई अलिअलि बच्चैदेखि मन पर्थ्यो, झन् कुँवर नारायणको साहित्य पढेपछि त अत्यधिक मन पर्न थालेको थियो।

कुँवर नारायण भारतमा नयाँ कविता आन्दोलन सुरु गर्ने एक प्रमुख कविमध्ये हुन्। अज्ञेयको चौथा सप्तकबाट कवितामा प्रवेश गरेका कुँवर नारायणको विशेषता नै लेखन। लेखन पनि जुनसुकै विषयमा पनि।

कविताबाहेक विश्व सिनेमाको यतिविघ्न जानकार थिए उनी, भन्नै नसकिने। निबन्ध, कथा, समालोचनामा पनि त्यस्तै पकड। उनकै समालोचनापछि कथाकार निर्मल वर्मा स्थापित भएको मानिन्छ। कवि शमेशरबहादुर सिंहलाई एक युग र एक प्रयोग मान्छन् कुँवर नारायण। उनले जति नयाँनयाँ प्रयोग अरूले विरलै गरेको दाबी गर्छन् उनी।

उनी बारम्बार भन्थे, साहित्यलाई धन्दा बनाउनु नपरोस् भनेर मोटरको धन्दा सुरु गरेको हुँ। उनको लखनउमा मोटर स्पिड नामक पसल थियो र घर विष्णु कुटी।

त्यो पसल र घरसम्म त पुग्न पाइनँ तर घुमियो त्यसैको वरपर सहारागन्ज, हजरतगन्ज, गडबड झालाजस्ता ठाउँ। अनि कुँवर नारायणले नै पढेको लखनउ युनिभर्सिटी पनि खूब घुमियो, ७२ एकड जमिनमा ३२ एकडभन्दा बढी भूभाग ढाकेको विश्वविद्यालय सुन्दर र शान्त थियो। अनि भित्ता हाम्रोजस्तो फोहोर थिएन।

लखनउ युनिभर्सिटीसित मेरो आफ्नै किसिमको आत्मीयता थियो। नेपालका एकसेएक प्रतिभा पढेका ठाउँमध्ये एक हो। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, प्रसिद्ध चिकित्सक कृष्णजंग राणा यहीँ पढेका थिए भने चलचित्र नायक राजेश हमालका मातापिता चूडाबहादुर हमाल र दुर्गा हमाल दुवै यहीँ पढेका थिए।

मलाई सम्झना हुन्छ, २०४५ सालको नेपालमा भएको भूकम्प। त्यो भूकम्पको विपद्मा प्रधानमन्त्री थिए लोकेन्द्रबहादुर चन्द। उनले त्यही बेला आफ्नो भाषणमा ‘राहत’ भन्ने उर्दु शब्द प्रयोगमा ल्याए। अनि चलेको थियो ठट्टा, लखनउ बाबुसाहबको नयाँ शब्द भनेर।

राहत त्यसपछि नेपाली शब्द नै भएर बस्यो हाम्रो दिलमा। उद्धारकार्यलाई राहतको सन्दर्भमा ल्याउँदा उनलाई अवगाल परेको थियो।

लखनउ आजको हिन्दीउर्दुको जन्मस्थान नै हो, यहीँबाट सरल उर्दु हिन्दी बन्दै प्रवेशित भयो। हिन्दी भाषाका चर्चित लेखक रघुवीर सहाय, मनोहर श्याम जोशी, कृष्णनारायण कक्कड, यशपाल, अमृतलाल नागर, भगवतीचरण वर्मा, मजाज, श्रीलाल शुक्ल, मुद्रा राक्षस, शिवानी, गिरधर गोपाल, नरेश सक्सेना, ज्ञानचन्द जैन, गोपाल उपाध्याय लखनउकै थिए।

रागदरबारी लेख्ने श्रीलाल शुक्ल र कक्काजी कहिन् लेख्ने मनोहर श्याम जोशी सधैं लखनउको जनजीवनसित गाँसिइरहे। मनोहरश्याम जोशी त पछि हिन्दी धारावाहिक ‘हमलोग’ले गर्दा खुब चर्चित पनि भए। नेपाल आउँदा उनीसित एउटै मञ्चमा अंशग्रहण गर्ने मौका मिलेको थियो, भारतीय राजदूतावासको एउटा कार्यक्रममा। नीर शाह, यादव खरेल र चेतन कार्की पनि साथैमा थिए।

लखनउलाई अरू दुई कारणले निकै लोकप्रिय बनायोयो, उमराव जानको प्रसिद्ध आत्मकथा मै उमराव जान अदा हुँ र लखनउका अन्तिम राजा वाजेद अली शाहले। यी दुवै एक समयका सीमान्त हुन् र दुवैमाथि चर्चित सिनेमा पनि बनेका थिए।

सत्यजित रेको पहिलो हिन्दीभाषी सिनेमा सतरञ्ज के खिलारी वाजेद अली शाहकै जीवनकथामा आधारित थियो। लखनउका अन्तिम मुगल सम्राट् वाजेद अलि शाह जुत्ता पनि लगाउन जान्दैनथे भन्ने कहावत् ब्रिटिसले लखनउ हमला गरेको दिन प्रमाणित हुन्छ। प्रेमचन्दको कथामा आधारित सतरञ्ज के खिलारी ओस्कार सम्मानित सत्यजित रेको पहिलो र अन्तिम हिन्दी फिचर फिल्म थियो। यसमा सबाना आजमी, सञ्जीव कुमार, रिचार्ड एटेनब्रोले अभिनय गरेका थिए भने वाजिद अली शाहको भूमिकामा अमजद खान थिए, यो उनको पहिलो फिल्म थियो अभिनयका हिसाबले।

उमराव जानको आत्मकथामा मुज्जफर अलीले गज्जबकै फिल्म बनाए लखनउ र फैजावादको परिवेशमा। अभिनेत्री रेखाको जीवन्त अभिनय रहेको उमराव जानमा मुजरा प्रथामाथि खुला चित्रण थियो। उमराव जान लखनउबाट विस्थापित भएर भागेपछि नेपाल आएकी थिइन् भन्ने उनको आत्मकथामा उल्लेख छ।

संयोग नै भन्नुपर्ला, म लखनउ पुगेकै दिन उमराव जान पुस्तकका अनुवादक एवं सम्पादक भनेर मैले चिनेका अंग्रेजी लेखक खुसवन्त सिंह त्यही दिन बिते ९२ वर्षको दीर्घ जीवन बाँचेर। खुसवन्त सिंह फिल्मफेअर, दी इलेस्ट्रेड विक्ली अफ इन्डियाका बुलन्द सम्पादक। हो, उनैले अनुवाद गरको आई एम उमराव जान अदा पढेको थिएँ पहिलोपटक। अनि काठमाडौंको सभागृहमा हेरेको थिएँ यी दुवै फिल्म पत्रकार, कवि, निबन्धकार शिव अधिकारीसित। जसको सम्झना पनि मैले लखनउ गएर खूब गरेँ।

लखनउ दुई दिन घुमेपछि तेस्रो दिन देवाह सरिफ दरगाह गइयो, त्यहाँ जाँदै गर्दा सहयात्री माधुरी शर्मा मास्केले भनिन्, ‘म त हरेक मस्जिद जान्छु, शवजी नै छ भनेर।’

लखनउलाई पनि धेरै मल्टिकम्प्लेक्स अनि म्याकडोनाल्डको लहरले छोइसकेछ। हेर्नै नसकिने अभेद्य भीड जताततै। त्यहाँका स्थानीय एफएममा व्यापक रूपमा मोदीको समर्थनमा चुनाव प्रचार सामग्री सुनिने।

कुनै समयको गीत, गजल र मुजराको लखनउ अब रहेनछ। अब नाम चलेका वाहिद विरयानी, टुन्डे कवाफ र प्रकाश कुल्फीले मात्र धानेको रहेछ यो सहर।

लखनउमा अब नयाँ आकर्षण बनेको केएफसीको फ्राइड चिकेन अनि फुडमार्टका खानाहरू नै बढी देखिए। किताब पसलहरू प्राय: हराउँदै गएछन्। एकाध पसलमा केही किताब त देखेँ तर प्राय: अरविन्द केजरीवालका भाषण र अन्तर्वार्ताका किताबहरू। अनि पसले पनि साहित्यिक किताबमा ज्यादा आकर्षित थिएनन्। कारण अनेक होलान् तर त्यहाँ मैले किन्नुपर्ने र बोक्नुपर्ने किताब देखिनँ। हतारमा मैले गालिबको गजल र केही ओर्जिनल सीडीचाहिँ किन्न सकेँ।

मलाई खुसी लागेको वा चित्त बुझेको कुरा लखनउको के हुन गयो भने यहाँ पाइरेटेड सीडी वा भीसीडी त्यति बेचिएको देखिनँ, कपीराइटको राम्रै पालना गरेका रहेछन्।

हाम्रो न्युरोडको बाटोमा, फुटपाथमा अनि ठमेलका लाखौंलाख भाडा तिरेर बस्ने दोकानले डुप्लिकेट र पाइरेटेड सीडी चक्का बेचेर देशको कानूनको खिल्ली त उडाएकै छ तर त्योभन्दा भयवाह रूपमा राष्ट्रका कलाकारको आर्जन शक्ति वा सम्पत्तिको द्वार ह्रास गरिदिएको छ।

लीलामणि पौड्याल उपसचिव हुँदा सन् २००८मा उहाँले होटल याक एन्ड यतीको दरबार हलमा घनघोर भाषण दिएर यस्तो गर्नेलाई एक छोडिँदैन, दुई छोडिँदैन भनेका थिए। आज उनी मुख्य सचिव भएर पनि जाने बेला भइसक्यो तर हालत त्योभन्दा पनि कमसल हुँदै गएको छ। गालिब भन्छन्,

उम्रभर गालिब यही भूल करता रहा
धूल चेहरे पे थी, और आइना साफ करता रहा।

आज हाम्रो पनि यही हालत छ। कानून, भाषण, शपथ जेजस्तो गरे पनि भने पनि लागू नभएपछि के नै गर्न सकिन्छ र? कलाकार टाट पल्टिसके, धमाधम बिदेशिइसके। अब यहाँ रोयल्टीले खाने बाँच्ने कहिले हो कहिले??

लखनउले यो एउटा कुरा नयाँ देखायो मलाई त्यो सहरमा। डुप्लिकेट बेचे पनि खुलेआम बेचेको पाइनँ।

लखनउ घुमेर फर्केपछि मैले साँच्चै एक ठाउँ जान नपाएकोमा ग्लानि महसुस गरेँ, त्यो हो लखनउ कफी हाउस। लखनउ कफी हाउसमा साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजसेवी, व्यापारीको खूब भेला हुन्थ्यो रे जमानामा।

कफी हाउसको संस्कृति पाँचतारे होटल वा महँगा रेस्त्राँको विरुद्ध साधारण जनको प्रतीकात्मक विद्रोह या असहयोगात्मक आन्दोलनको रूपमा लिन सकिन्छ। त्यो थियो, लखनउ कफी हाउस। जस्तो गान्धीजीका खादीजस्तै विरोधको प्रतीक।

लखनउको कफी हाउस सर्वाधिक चर्चित ठाउँमध्ये पर्छ, उत्तर ्रदेशमा। यही कफी हाउसमा धेरै देखिइने कवि कृष्णनारायण कक्कडलाई एकपटक सोधिएछ, तपाईं हरेक समय कफी हाउसमा किन बसिरहनुहुन्छ?

त्यति बेला उनको धार लगाएको जवाफ यस्तो थियो, ‘तपाईंलाई थाहा छैन होला, जुन जनक्रान्ति छिटै आउँदैछ त्यो यही कफी हाउस भएर गुज्रिन्छ। हो, म त्यसैको पर्खाइमा छु। जस्तो त्यो आउँछ म त्यसैमा सामेल हुनेछु।’

हामीकहाँ पनि यस्ता कफी हाउस वा साहित्यिक उठबस हुने ठाउँ नखोलिएका होइनन् तर ती टिकेनन्। बैंगलोर कफी हाउस, मोती महल, रश्मि रेस्टुराँ, इन्दिरा रेस्टुराँ। तर, ती सबलाई जितेर उहिल्यै कलाकार उत्तम नेपालीले खोले- तिमी र हामी रेस्त्राँ जहाँ अत्यधिक मात्रामा कलाकार र लेखकको मात्र भेला हुन्थ्यो।

यो त्यति बेलाको कुरा जति बेला उत्तम नेपाली, भैरवबहादुर थापा, तुलसीनाथ ढुंगेल अनि शंकर लामिछाने मिलेर भर्खरै क्वाँच मण्डली खोलेका थिए।

उत्तम नेपालीको तिमी र हामी नामक त्यो राँद्येभू इतिहास बन्न नपाई उधारोको ऋणमा डुबेर बन्द हुन पुग्यो। त्यसपछि लेखक कलाकारका निम्ति असनको गोपालदाइ अनि भोटाहिटीको हरिचाको भट्टी र नक्सालको तुयुचाको आलुमै सीमित हुन पुग्यो।

त्यो संस्कृति हामीकहाँ बस्नै सकेन जुन उत्तम नेपालीको उत्तम दर्जाको परिकल्पना थियो। पछि उनैले सिर्जना आर्ट ग्यालरीलाई त्यसको हैसियतसम्म दिन खोजे।

कलकत्ताको राइटर्स क्लब, मुम्बईको प्रोग्रेसिभ हाउस र पृथ्वी थिएटर देखेका उत्तम नेपाली यहाँ अनुत्तम ठहरिए।

आज लखनउमा पनि त्यही हाल रहेछ, कफी हाउसको। देखिनँ त चहलपहल।

ज्ञानपीठ पुरस्कार पाएका कवि कुँवर नारायणलाई दिल्लीमा बसाइँ सरेपछि यही प्रश्न सोधिएको थियो, ‘केके सम्झिनुहुन्छ लखनउको?’

उनले जवाफमा भनेका थिए, ‘धेरै कुरा सम्झिन्छु म। ती मेरा स्मृतिमा अँझै पनि जीवित छन् तर तिनको वर्तमान बदलिइसक्यो। मेरो घर, कफी हाउस, लखनउ विश्वविद्यालय र साथी प्रेस जहाँ लेखक संघको बैठक हुने गर्थे।’

स्मृतिको पनि आफ्नै यथार्थ हुन्छ। त्यो कहिलेकाहीँ वर्तमानभन्दा पनि स्वादिलो र मीठो हुन्छ। अहिले पनि हाम्रा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वा डा. कृष्णजंग राणालाई लखनउ विश्वविद्यालयले त्यो स्पृहणीय गरिमा दिएको छ।

लखनउ त्यसै पनि भुल्न नसकिने सहर हो। त्यसैले भन्छन्, लखनउ हम पर फिदा है हम फिदाए लखनउ।

अन्नपूर्ण पोष्ट
०७० चैत २९, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *