गोरखा जिल्लाको मान्बु गाउँमा घलेको बाक्लै बस्ती छ। यहाँका घलेमध्ये एउटा खलक छ, जसलाई १७ भाइ खलक भनेर चिनिन्छ। करिब ३५ घरधुरीमा फैलिएको यो खलकले हरेक तीन वर्षमा लुङ्दार (बौद्ध मन्त्र लेखिएको कपडाको झल्लर) गाड्छ। यो अवसरमा उनीहरूले एउटा ताम्रपत्र निकाल्ने गर्छन्। यसैगरी तिहारमा पूजा गर्दा पनि यो ताम्रपत्रको पूजा गर्न बिर्संदैनन्।
मान्बु- ३ का ५६ वर्षीय गजे घलेको घरमा सुरक्षित रहेको यो ताम्रपत्रलाई उनीहरूले १७ भाइ खलकका ३५ घरमा छरिएर रहेकाहरूको सामूहिक सम्पत्तिका रूपमा लिएका छन्।
१७ भाइ खलकका घलेको लागि यति ठूलो महत्त्व रहेको यो ताम्रपत्र २२/२२ वर्षअघि हराएको थियो। गजे घलेकी छोरी सिर्जना घलेको भनाइअनुसार यो ताम्रपत्र गाउँकै एक व्यक्तिले चोरेर लगेका थिए। ‘धेरै पैसा आउँछ भनी चोरेर लगेको रहेछ, पछि पत्ता लाग्यो’, सिर्जना भन्छिन्। पछि यस ताम्रपत्र फेला परेपछि यसको अत्यन्तै सुरक्षाका साथ राखिएको छ। यो ताम्रपत्रको लम्बाइ २२ सेन्टिमिटर र चौडाइ नौ सेन्टिमिटर रहेको छ।
यो ताम्रपत्रमा यस्तो लेखिएको छ,
स्वस्तिश्रीगीरिराजाचक्रचुडामनीनरनरायायेणेत्यादिवीवीदवीधवलीवीराजामनम:नोन्नतश्रीमन्माहाराजाधीराजाश्रीश्रीमंनरभुपालसहादेवनां सदा समरवीजाइनम्
आगे रामु घलेके लकुवाको सापोनापो मन्बुमाहा बीर्ता बकस् भयो. मानबुले उठायाको षडपुजा षोक्पा उलाक रामु घलेले उठाउनु. मानबुले मान्याको सरैले बाराथरि दुवारे मांनु. माहाभीरसमेत् बकस् भयो. साक्षी अग्नेस्वर जैसि लोहारि राना शिवराम बस्नेत् जसबु राना जोपु भडारि अहिवर्न थापा बीरभद्र थापा कर्दूमानंदु पाध्य जयेक्रीस्न जैसि. लिखतका साछि मोछेसोरा जैसि. इति संवत् १७९६ जेष्ठ बदि रोज १ शुभम्
ताम्रपत्रको भाषाअनुसार यो ताम्रपत्र गोरखाका राजा नरभूपाल शाहले मान्बुका रामु घलेलाई दिएका हुन्। रामु घलेलाई मान्बुमा जग्गा बिर्ता दिइएको लिखतका रूपमा यो ताम्रपत्र नरभूपाल शाहले दिएको हुन्। मान्बु क्षेत्रको महभीर (भीर मौरीको मह पाइने स्थान) समेत गोरखा राज्यले बकस् दिएको यस ताम्रपत्रमा उल्लेख छ।
यो ताम्रपत्र प्रदान गरिँदा तत्कालीन गोरखा राज्यसँग सम्बन्ध राख्ने त्यहाँका १० जना अधिकारी अगुवाहरूलाई साक्षीका रूपमा प्रस्तुत गरिएको छ। उनीहरूमा अग्नेश्वर जैसी, लोहरी राना, शिवराम बस्नेत (अभिमानसिंह बस्नेतका बाबु), जसबु राजा, जोपु भण्डारी, अहिवर्ण थापा, वीरभद्र थापा, कर्दुमानदु पाध्य, जयकृष्ण जैसी तथा मोछेसोरा जैसी साक्षीका रूपमा प्रस्तुत भएका छन्।
इतिहासकार प्राध्यापक दिनेशराज पन्तले आफ्नो पुस्तक ‘गोरखाको इतिहास’ भाग ३ (पृष्ठ ७९५, २०४५) मा यस पत्रका बारेमा उल्लेख गरेका छन्। उनले गोरखा जिल्लाको मान्बु बस्ने नारायण घलेले १९९६ साल साउन २२ गते पेस गरेको नक्कलबाट सारिएको भनी उल्लेख गरेका छन्। उनका अनुसार सारेर बुझाइएको यो पत्र धादिङको मालपोत कार्यालयमा छ। हाल गोरखा जिल्लामा पर्ने मान्बुलाई पहिले धादिङ जिल्लाको मालपोतले हेर्ने गर्थ्यो।
ताम्रपत्रमा उल्लेख भएअनुसार यो ताम्रपत्र १७९६ साल जेष्ठ बदी ९ रोज १ मा जारी भएको हो। प्राध्यापक पन्तले उल्लेख गरेको मितिअनुसार यो ताम्रपत्र १७९६ साल जेठ २१ गते आइतबारका दिन जारी गरिएको हो। यसअनुसार गोरखा राज्यबाट ताम्रपत्र पाउने रामु घलेका सन्तान नारायण घलेले ताम्रपत्र जारी भएको दुई सय वर्षपछि र आजभन्दा ७५ वर्षअघि यो ताम्रपत्र सारेर मालपोत कार्यालयमा बुझाएको स्पष्ट हुन आउँछ। यस ताम्रपत्रको सक्कली स्वरूप अन्नपूर्ण पोस्ट्मार्फत पहिलोपटक सार्वजनिक भएको हो।
इतिहासका महत्त्वपूर्ण स्रोतमध्ये ताम्रपत्र पनि एक हो। यस ताम्रपत्रले गोरखा राज्यसँग घलेहरूको घनिष्ठ सम्बन्ध रहेको स्पष्ट पार्छ। यो ताम्रपत्र सुरक्षित रूपमा राख्ने गजे घलेभन्दा नौ पुस्ताअघिका पुर्खा यस ताम्रपत्र प्राप्त गरेको देखिन्छ। इतिहासकारहरू महेशराज पन्त र दिनेशराज पन्तले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ (पृष्ठ १-५, २०३७) मा उल्लेख गरेअनुसार बिमा कम्पनीहरूको तथ्यांक सारिणीअनुसार एक पुस्ता र अर्का पुस्ताबीच २६ वर्षको अन्तर हुन्छ।
रामु घलेले पाएका यस ताम्रपत्रले घलेहरूलाई तत्कालीन राज्यले पहिचान गरेको र उनीहरूलाई जग्गा जमिनसम्बन्धी अधिकार र जिम्मेवारी दिएको थियो भन्नेसमेत प्रमाणित हुन्छ।
गोरखा राज्यसँग घलेको सम्बन्ध
लमजुङको लिगलिगकोटमा घले राजाले शासन गर्ने गर्थे। स्थानीय जनश्रुतिअनुसार घलेहरूमध्येबाट राजा छानिँदा चोरकाँटेदेखि जो पहिले लिगलिग कोटमा पुग्छ उही राजा हुने चलन थियो। तर घले राजासँग लमजुङका दुरा र घिमिरेहरू बिच्किएका थिए।
यस्तै गोरखाका नारायण अर्ज्याल पनि गोरखाका खड्का राजाविरुद्ध थिए। दिनेशराज पन्तद्वारा लिखित ‘गोरखाको इतिहास’ भाग १ (पृष्ठ ४८ र ४९, २०४१) अनुसार अर्ज्यालले मुकुन्द सेनका फौजमा रहेको गणेश पाँडेसँग द्रव्य शाहलाई ल्याएर गोरखाको राजा बनाउने सल्लाह भयो। लमजुङको रागिनासकोटमा बसेका द्रव्य शाहसँग दुवैको यस विषयमा सल्लाह भयो।
उनीहरूको सल्लाहअनुसार द्रव्य शाह लमजुङबाट गोरखाको छोप्राक आइपुगे। भगीरथ पन्त, सर्वेश्वर खनाल, केशव बोहरा, मुरली खवासका साथ उनी छोप्राक आइपुगे। अर्ज्यालको सल्लाहअनुसार द्रव्य शाहलाई लिन गणेश पाँडे र गंगाराम राना लमजुङ पुगेका थिए।
उनीहरूले गोरखा आक्रमण गर्नुअघि लिगलिग कब्जा गरे। अहिले पनि लिगलिगमध्येको महिबलथोकभन्दा तल रहेको पाँच्यानमा द्रव्य शाहले लिगलिगका घलेका पाँच नाइकेलाई मारेकाले यस ठाउँलाई पाँच चिहान अर्थात् पाँच्यान भनिएको हो भनी इतिहासकार पन्तले उल्लेख गरेका छन्। त्यसपछि मात्रै द्रव्य शाहले गोरखा कब्जा गरेका हुन्।
कुनै जमानामा घलेको शासन आफ्नो हातमा लिएका द्रव्य शाहको सन्तानले घलेहरूसँग सम्बन्ध तोडेनन्। बरू उनीहरूले विभिन्न ठाउँका जग्गा बिर्ता दिएर घलेहरूको पहिचान र अधिकार थमौती गरिदिएको यस ताम्रपत्रबाट स्पष्ट हुन आउँछ।
अन्नपूर्ण पोष्ट
०७० चैत २९, शनिबार

Ramro khoj
yasta khojle majherima sthan pauda khusi lagyo
यो अन्नपूर्ण पोष्टबाट साभार
यो अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।