अँधेरोमा एउटा जून खोज दुखी
अलिनोमा थोरै नून खोज दुखी
सामन्तहरू बैगुनी हुन्छन्
बैगुनीमा कतै गुन खोज दुखी
सबै दूध मालिकले खायो
तिमी पनि यौटा थून खोज दुखी
सुखी त सुखी भैगए सबै
दुखी बगरमा सून खोज दुखी
संसार सबै सेतोघर भइसक्यो
तिम्रो घर पोत्न चून खोज दुखी
दुखीलाई त मार्नसम्म मारे
अब त आफ्नो खून खोज दुखी
