मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर


सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य ब्रह्माण्डमा लागि उज्यालो अदृश्य-दृश्य प्रकाशको ‘ब्ल्याक होल’को विचरण गराउँछ । सूक्ष्म भित्रको विश्वरूप दर्शनमा ज्ञान र ध्यानको टेलिस्कोपबाट मात्र ब्रह्माण्डको झलझलाकारका अनेक आकार सगबगाउँछन् र दृश्य रूपमा प्रस्फुटित हुन्छन् । पढ्ने बित्तिकै बुझ्ने, च्वाट्ट छुने र चित्र देखिने नहुन सक्छ । दृश्य मात्र सत्य नहुन सक्छ । वैदिकदेखि बौद्ध सभ्यतामा गुनगुनाइएका, गाइएका र वाचन गरिएका मन्त्रोचारण, लोकभाकाकै सभ्यताक्रममा हाइकु जापानमा उद्बोधित भएको हो । बौद्ध, सुत्रहरूकै काव्यिक प्रभाव खारिंदै तिखारिंदै आए जस्तो सत्रौं शताब्दीमा जापानी कवि माचुओ बासोले जगाएको मानिने हाइकुका केहीआधारभूत मान्यता छन् । पूर्वीय साहित्यका शास्त्रीय मान्यता, शैली विज्ञानकै हाराहारीमा वैज्ञानिक दृष्टिमा निर्मित शास्त्रको स्वरूपभित्र ढालिने हाइकु रूपमा संरचनामा एकैएकै लाग्ने भए तापनि मान्छेको समिष्टि शरीर र अनुहारको भिन्नता जतिकै सिर्जनामा उद्बोधित हुन्छ ।

तीनवटा छोटा हरफका पंक्तिले जिउँदोपन दिने यो सिर्जनालाई विश्वव्यापी बनाउने श्रेय जापानी कवि माचुओ बासोलाई नै छ । यी यात्रु कवि हुन् । बासो उनको राखिएको नक्कली नाम हो । यो तेस्रो नाम हो । उनका प्रारम्भिक कविताका पंक्तिमा ‘मुनेफुसा’ लेख्ने गर्थे । यसको एकदशक जतिमा यिनले नाम फेरे । नयाँ नाम ‘तोसेइ’ राखे । यसको अर्थ हरियो आरु हो । यो हरियोको अर्थ काँचो पनि हुन्छ । त्यसपछि राखिएको नाम ‘बासो’ को अर्थ चाहिं केराको खम्बा भने सरह हो । केराको पात मन पर्थ्यो र उनी केराको थाममुनि बस्ने गर्थे । पातमा परेको पानी र हावाको ध्वनि सुन्थे । यसैले उनको घरको नामै बनाना कुटी बन्यो । बासोको राखिएको नाम माचुओ हो । यिनी योद्धा वा लडाकु परिवारको सात छोराछोरीमा कान्छा थिए । यिनी क्योटो निकट बस्थे ।

बासो पहिलो यात्रा कोया पर्वततिर लागे । त्यहाँको बौद्ध गुम्बाले उनलाई जीवनका बारे गहिरो चिन्तन प्रदान गर्यो । यिनले कवितामा जीवन अर्पण गर्ने निधो र ध्यान यहीं गरे ।

क्योटो पुगेपछि यिनले आफ्ना गुरुका गुरु किगिनलाई आफ्नो सेवक शिष्यका रूपमा ग्रहण गर्न आग्रह गरी उनका घरमा सेवा गर्ने इच्छा प्रकट गरे । यसरी बासो सात वर्ष क्योटोमा बसे र चिनियाँ पुराना किताब र उनलेलेखन एवं कविता अध्ययन गरे । यिनलाई जेनको शिष्य हुन मन लाग्यो । यसरी सन् १६७२ मा किगिनसँगै एदो (वर्तमान टोकियो) पछि लागे । आट्ठाइस वर्षे युवा बासो जेनको ध्यानासनमा लग्गु भए । यस काममा बुचो नामका धर्मगुरुले सघाएका थिए ।

बीस वर्षको उमेरमानै उनका कविता देखा परे पनि ३६वर्ष ताका थुप्रै कविता अनेक संकलन प्रकाशित भए । यसको पाँच वर्षपछि (सन् १६८६) उनका आफ्नै र शिष्यको संकलन वसन्तका दिनहरूमा उनका प्रकृति अवलोकनको हाइकु छापियो ।

सुन् ! भ्यागुतो Listen ! a from
उफ्रियो निस्तब्धता Jumping into a stillness
पाकपोखरी । Of an ancient poem.

आवाजको असर कस्तो छ ? सुन्दर चित्र यो कविताले दिन्छ । यो कविता पढ्दा मलाई पनि क्योटोको सुन्दर दृश्यको बगैंचामा बसेर सयौं वर्ष पुरानो पोखरी जसमा किनारमा झ्याउँ छ हेर्दाहेर्दै भ्यागुतो पानीमा हाम्फाल्छ । यो सोचले भगवानको भित्री रहस्य शाश्वत सत्य, ब्रह्माण्ड र मानवबीचको पोखरी विम्बले एउटा दर्शन दिन्छ । क्षणिक हाम्फलाई र त्यसका तरङ्ग हराउँदै गएको दृश्य ।

बासो यात्रामा रमाउँथे । जीवनकै अभिन्न बनेको थियो यात्रा । यात्रा तीर्थ गए जतिकै थियो । यिनले यात्रा डायरी ‘ओकुनो होसोमिचि’ (सूदूरको साँगुरो गल्ली) को अर्थमा लेखेर विश्वप्रसिद्ध भए । हाइकु विचारोत्तेजक काव्य हो । आफ्नो अनुभूति बहान हैन पाठकलाई आफ्नो संवेग अनुभूत विम्बबाट गराउँछन् हाइकुकार । यसैले ३ हरफ कविता भए पनिखुब होशियारीसाथ धेरैपटक पढ्नुपर्ने लाग्छ । विम्ब र प्रतीकले गहिरा अर्थ दिने गर्छन् । जापानी कविहरू प्रकृतिलाई हिशियारपूर्वक हेर्छन् र ऋतु पछ्याउँछन् । कविहरू यसलाई टिपेर विविधापूर्ण अभिव्यक्ति दिन्छन् । यसैले ऋतु शब्दको अर्थ बिना हाइकु हुँदैन भन्ने गर्छन् । कवितपय ऋतु शब्द बोधगम्य, कतिपय जटिल पनि छन् । यसैले ऋतुजन्य शब्दको मात्र शब्दकोष बनाएर कविलाई सघाउने गरिन्छ ।

तांका प्राय गीतगाइन्छ । जापनी कवितामा तांका बहुप्रचलित भएकैले कविता (वाका) भन्यो कि तांका नै बुझ्ने गरिन्छ । वाका जुन शृंखलाबद्ध पंक्ति आउँछ त्यो रेङ्गा भन्छन् । एक कविले तीन हरफ र अर्कोले २ हरफ जोड्दै यसके रचना हुन्छ । कुसारी रेङ्गा चाहिं यही क्रममा जति पनि जोड्दै लाने गरिन्छ । हल्का फुल्का रमाइला ढाँचाका कवितालाई हाइकाइ भन्ने गरिन्छ जुन पछि रेन्कु भन्ने गरियो। प्रारम्भिक चरणका तीन हरफलाई होक्कु प्रवल मानिन्छ जुन जान्नेले सुरु गर्छ । होक्कुमा ऋतु शब्द र किरेजी (पदविराम शब्द) जस्तै कसरी, के जस्ता प्रयुक्तहरू भएको बुझ्दा समस्या पूर्तिको उठान पंक्ति जस्तै लाग्छ ।

बासोले प्रारम्भिक तीन हरफको चरणमा ठुलो योगदान गरे । सानो सनै सुन्दर र सम्बृद्ध होक्कु भनियो । हाइकु र जापानी कलामा केही सामीप्य छ । सुमी पेन्टिङ यस्तै छ । सानो पंक्तिले विचार उत्तेजक झिल्काको काम गर्छ । हाइकु कविताले गहिरो छाप छोड्छ । विचारलाई गति प्रदान गर्छ । विम्बले गहिरो अर्थ दिन्छ । बासोको यात्रा लेखनमा गद्य र पद्य दुवै शक्तिशाली छन् । एकले अर्कोलाई सघाएर पूर्णता प्रदान गर्छन् । कथा र कविताले विम्ब बुन्छन् ।

जापानी हाइकुमा शब्द कन्जुसी हुनुमा अनेकार्थी वा सरी शब्द जुन उच्चारणमा एकै तर अर्थ भिन्न बढी प्रयोग हुन्छन् ।

जापानीहरू काठमा अक्षर ब्लक बनाउँदा कागज महँगो र दुर्लभ भएकोले एकै हरफमा ३ हरफ हाइकु र ५ हरफे वाका छाप्दथे ।

हाइकुको आधुनिकीकरण गर्नमा पछि मासाओका सिकी (सन् १८९२) अघि सरे र आजको हाइकु जापानी साहित्यमा मात्र हैन समाजमा र जापानभित्र मात्र हैन विश्वका धेरै देशमा स्थापित हुनसके । जापानी हाइकुको कद उँचो गराउनमा जेन गुरुहरूको विशिष्ट हात छ । साश्वत चिन्तनका जेन गुरूगरूमा जापानी कविताको मात्र हैन कुची र मसी चलाउन सिपालु कलाकार पनि भएकाले जेन ज्ञान प्रवाह गर्न खप्पिस देखिन्छन् । यिनैजेन गुरुहरूले मूलत पहिलेको इक्केयू सोजुन (१३९४-१४८१) र समकालीन हाकूयिन इकाकुले खडा गरेको मैदानमा बासोले आफ्नो करामत देखाए । जेन गुरुको परम्परामा पछिका रियोकान ताइगु (१७५८-१८३१) को एउटा उदाहरणबाट हापकुको उच्चता स्पष्ट हुन्छ । एकपल्ट यिनको झुप्रोमा चोर पस्यो । त्यहाँ गतिलो चिज केहि नपाई च्यातिएको ओछ्यान, कुसन लग्यो । कवि रोयोकानले छाप्रोमा पस्दा के भएको हेरेपछि एउटा हाइकु लेखे ।

झ्याल बाहिर The thief left it behind
चोरले छोडिदियो The Moon
एक चन्द्रमा । At the Window

हाइकु कुनै कुराले, कुनै वस्तुले छोएपछि जुन कविको दृष्टि र सीपमा विजांकुरित हुन्छ, त्यो जिउँदो बन्छ । यसैले हाइकु मै हुँ भन्ने कविका लागि हाँक भएर उपस्थित हुन्छ । हाइकुको विम्ब विधान छन्दबद्धता र प्रकृति र प्रणयको उत्कृष्टता, सबै अनुपाम मिलेपछि नै सक्कली हाइकु बन्छ । यस दृष्टिले हेर्दा नेपाली हाइकु खारिन तिखारिन बाँकी देखिन्छ । हजारौं हाइकुमा केही सम्झनलायक र अनुपाम मिलेका ज्यादै कम भेटिन्छन् ।

पशु कराए
देशबासी डराए
बुद्ध हराए ।
-मुकुन्द आचार्य

कुर्सी कुर्सीमा
उँडुस र उपियाँ
प्रजातन्त्रमा ।
-लक्ष्मण नेवटिया

रूपमा बत्ती
मानिसले चाहेमा
के पो फल्दैन ।
-माधवलाल कर्माचार्य

दुखेको घाउ
खोयाबिर्के आतङ्क
मरेको गाउँ ।
-पोष चापागाइँ

रुनु हुँदैन
इतिहास आँसुले
धुनु हुँदैन ।
-शान्तिनारायण श्रेष्ठ

बिउँ कुहियो
भन्छ बनचरीले
कठै बरिलै ।
-लालबहादुर भुजेल

हाइकुमा प्रयोग हुन सक्छ । अनुप्रास मिलाउनेदेखि नेपाली लोकलयमा गीत नै बनाउन नसकिने हैन । यसै सन्दर्भमा रहर र लहडमा जन्मेका केही हाइकुहरू प्रस्तुत छन् ।

तातोपानीमा
सेताम्य तुषारो छ
मुसो मरेछ ।

दाँत देख्दिन
कसरी चपायौ
सुपारी दाना ।

माया जालैमा
माछा त उम्किँदैन
फेवातालैमा ।

डसनाको पीर
सिरकले ढाक्दछ
तकिया हाँस्छ ।

पोखरीभित्र
चन्द्रमा डुबेको छ
स्वर्ग त्यही हो ।

हाम्रो देशमा
पशुपति कृपाले
गोरु मन्त्री छ ।

पोखरी छेउ
भ्यागुतोको संगीत
सर्वोत्कृष्ट छ ।

बुद्धको मूर्ति
बन्दुकको शैय्यामा
सपना बुन्छ ।

रक्सी झरना
सुन्दरी हेर्न हो कि
आँखा उम्रियो ।

टौदहभित्र
दरबार रहेछ
नागराजाको ।

घरमा बसी
समुद्रमा नपसी
मिल्दैन मोती ।

जापानी हाइकुकारका हाइकु अनुवाद गर्न कठिन छ । जापानीबाट सोझै नेपालीमा कम हाइकु अनुवादित छन् । अँग्रेजीबाट लिंदा थर्ड ह्याण्ड भई थर्ड क्लास हुन्छ कि भन्ने लाग्दा लाग्दै भावनाको केही नजिक पुग्ला भन्ने सोचले केही नमूना प्रस्तुत गर्ने धृष्टता गरिन्छ ।

चन्द्रप्रकाश
धुमिल धर्तीमा
फापर फूल ।
-बासो (१६४४-१६९४)

मेरो आकृति
ऐनाबाहिर भयो
फूलको अघि ।
-नाकाचुका इप्पेकिरो (१८८७-१९४६)

वसन्त साँझ
अर्धमृत धुपमा
म त्यो थप्दछु ।
-योसा बुसोन (१७१६-१७८३)

कमल पात
पोखरी जल उक्ल्यो
जुनमा वर्षा ।
-मासाओका सिकी (१८६७-१९०२)

कुकुर सुत्यो
खुट्टाले शिर च्यापी
फूलको घर ।
-ताकायामा क्योसी (१८७४-१९५९)

जापानमा प्रसिद्ध हाइकुकारका हाइकु पढुँ पढुँ लाग्ने । अर्थ बुझे बुझे झैं लाग्ने अत्यन्त गहिरा र उच्चकोटीका देखिन्छन् ।

नेपाली हाइकुकारका धेरै हाइकु पढ्दा कतिपय हाइकु ओजनदार नभएका हैनन् । तापनि साधनाको अभाव खट्किए झैँ लाग्ने हाइकु नै धरै जन्मिएका देखिन्छन् ।

नेपाली हाइकु प्रकृति र प्रणय जोड्ने कम र व्यङ्ग्यपरक (सेन्र्यो) बढी भेटिन्छ । अझ सबभन्दा बढीत केवल हरफ र अक्षर गन्ती मिलाएर सपाट साधा विशृंखलित वाक्य नै हाइकु बनाए झैं बढी प्रचलित छन् । यसका मूलधार रचना संरचना स्वरूप मूलत निम्न छन् –

१) तीन हरफमा रच्नु पर्दछ ।
२) पहिलो हरफ ५, दोस्रो ७ र तेस्रो ५ अक्षरयुक्त शब्द चयन हुनुपर्दछ ।
३) जम्मा १७ अक्षर (जोडेमोडेको बाहेक) ले रचिन्छ ।
४) ऋतु (किगो) बोधक शब्दचयन गरिन्छ ।
५) विम्बबाट प्रकृति र संस्कृति जोडिन्छ । प्रकृति र मानिसको अनुभूतजन्य अभिव्यक्ति हुन्छ ।
६) यसको प्रविधि अनुशरणबाट विशिष्टता प्रदान हुन सक्छ ।

नेपाली हाइकुमा गेयात्मकता देखिंदै छ । अनुप्रास पाइँदैछ र नेपाली विम्ब प्रतिविम्ब देखा पर्दैछ । नेपाली मटलिकपन आउँदैछ । कतिपय हाइकु बलियो भए पनि प्रचारको अभावमा लुकित छन् । पुलकित भएका छैनन् । हाइकुलाई दोहोरीमा पनि प्रयोग हुन सक्छ । हाइकुलाई कथामा, निबन्धमा र अझ यात्रा वृत्तान्तमा जिउँदो बनाउन सकिन्छ । जापानी शैलीको कवितामा हाइकु देश, काल, परिस्थिति अनुसार अन्यका तुलनामा विशेष प्रबर्द्धन गर्नु वान्छित छ । आजको सक्रियता हेर्दा हाइकुले नेपाली साहित्य सम्बर्द्धन गर्न विशिष्ट योगदान गर्न सक्ने देखिन्छ । सिर्जना बढिरहोस् । साहित्यले शिखर चढिरहोस् ।

(पेन नेपालको हाइकु वसन्त बहार काव्योत्सवम प्रस्तुत २०६४ चैत्र)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर”

  1. रामकुमार पाण्डेज्यू यो होम
    रामकुमार पाण्डेज्यू यो होम सुवेदीको नमस्कार । तपाइँलाइ यहाँ बल्ल बल्ल देख्न पाएँ । काठमाडौ‌ छोडेपछि तपाइँ र मेरो त्यो घनिष्टता र निकटता कम मात्र भएन शून्य नै भयो । मलाइ सारै दुःख लागेको छ । तर म त सम्झना गरिरहन्छु । भेट हुन पाए हुने भन्ने आसा गरेको छु । मलाइ फोन नम्बर कसै गरी उपलब्ध गराइदिनु भए म तपाइँसँग कुरा गर्न र मित्रताको पुरानो डोरी कस्न आतुर छु ।
    तपाइँको होम सुवेदी

  2. फोन नम्बर इमेलमार्फत पठाएको
    फोन नम्बर इमेलमार्फत पठाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *