भारतीय सिनेजगत्का चर्चित संगीतकार एव म गायक एआर रहमानले हलिउडको सिनेमा स्लम डग मिलिनियरका निम्ति पहिलो पटक ओस्कार पुरस्कार पाए र उनले ओस्कार पाएपछि आफ्ना माता करिना बेगमलाई सम्झिए र भावकुतावश भने, मेरे पास माँ है।

कोडाक थिएटरमा बोलिएको त्यो चर्चित संवाद तत्कालै समाचारको शीर्षक बन्यो। यो भारतीयको निम्ति गौरवको विषय थियो, कुनै भारतीय मूलका कलाकारले त्यतिबेलासम्म कुनै ओस्कार पुरस्कार पाएका थिएनन्। त्यसभन्दा अघि बेलायती सिनेमा गान्धीका निम्ति सन् १९८३मा भेषभूषा विन्यासक भानु अथ्थैयाले पाएको भए पनि त्यो कलाकारितको अर्थमा थिएन।

त्यसपछि सत्यजित रेले मृत्युपूर्व पाए पनि त्यो उनलाई जीवनपर्यन्त दिइने ओस्कार सम्मानमात्र थियो तर रहमान र यसका गीतकार गुलजार वास्तवमै पहिलो विजयी थिए यस पुरस्कारका। रहमानले बोल्ने बेला अभ्याक्रमी भएर आमाको स्मरण गरेर समाचार त बने तर केही महिनापछि उनी वास्तविक रूपमा विवादास्पद पात्र तब बने जब यस फिल्ममा बारम्बार प्रयोग गरिएको अर्को भजन दर्शन देऊ हे भगवान् गीतका रचयिता गोपालसिंह नेपाली पनि यस पुरस्कारका हकदार हुन् भन्ने समाचार समीक्षकको टिप्पणी आएपछिरहमानले धेरै पटक माफी मागे।

फिल्म नगरीको कृतध्न समाजमा गोपालसिंह नेपालीले सम्झिने बहुतायत समाज जीवितै रहेछ भन्ने उदाहरण देखियो। अनि देखियो उनको गीत र शब्दको चमक। यही चमकले गोपालसिंह नेपालीलाई बिर्सन नसकिने गीतकार बनाएको थियो।

यी तिनै गोपालसिंह नेपाली हुन् जसले भारतमामाथि चीनले हमला गर्दा हिमालय कि ललकार लेखेर सेनाको मनोबल बढाएका थिए, यी तिनै गोपालसिंह नेपाली हुन् जसको नाममा बेतियामा मार्गको नामकरण त गरिएको छ तर उनकै भाइ बेतियामा धेरै वर्ष रिक्साचालक भएर बाँचे, नेपाली भएका कारणले। तर भारतमाथि कुनै आपद् आई पर्दा गोपालसिंह नेपालीको कविता गीत बनेर गुञ्जेको इतिहास छ।

यो थियो उनको गीतको चमक।

कविता होस् वा गीत, गोपालसिंह नेपाली युद्ध मैदानमा गाइने एकमात्र स्रष्टा हुन् अँझै पनि।

कविवर माधव घिमिरे अहिले नेपाली जनस्थानमा अत्यन्त सम्मानका साथ नाम लिइने गीतकारमध्ये एक हुन् तर उनकै तथ्यगत स्मरणअनुसार उनलाई आठलाइने गीत लेख्न सिकाएका हुन् गायक रत्नदास प्रकाशले आजको पुस्तामा पनि सक्रिय गीतकार कालीप्रसाद रिजाललाई गीतकारको दर्जामा पु:याएको उनकै भाषामा स्वरसम्राट् नारायणगोपालले नै हो।

कवि भूपि शेरचन, भीमदर्शन रोका, विनोद गौचन, नोर्जाङ स्याङ्देन, बैरागी काइँला, ईश्वरवल्लभ, विमल कोइराला कविताकै बाटो गीतमा आएभन्दा अतिशयोक्ति नहोला।

कविता र गीत अनुहार मिलेका दिदीबहिनी हुन् भन्ने चलन व्याप्त छ हाम्रो समाजमा। कोही कोही गीत, गजल वा नज्मलाई कविताकै उपविधा मान्ने पनि छन्, नमान्ने पनि छन्। उर्दु साहित्यमा नज्म र नस्र भनेर विधा छुट्ट्याइएजस्तै नेपाली साहित्यमा पनि गीतलाई गेय विधा मान्ने धेरै छन् तर कारणवश संगीत हुन नपाएर गीत, कविताको रूपमा थन्किएका प्रमाण पनि प्रशस्त छन्।

गीतकारको परिचय दिँदा उनी कविता पनि लेख्छन् भनें ‘कवि एव म गीतकार’ भनेर परिभाषित गरेको अनौठो सन्दर्भ पनि पाइन्छ। गीत, कविताबाटै आएको विधा हो, त्यसो भएकोले वा कविताजस्तै ढाँचामा लेखिइने हुनाले कुनै गीत कविता होइन भन्न सकिँदैन। अँझ पश्चिमिया दार्शनिक हाइडेइगरले यतिसम्म भनेका छन्, गद्य कविताको विलोम होइन, गद्यको सरल रूप नै कविता हो। त्यसैले सबै विधा कविता नै हुन्।

कविता नै भनेर अलग्गै कविताजस्तो कुनै चीज नलेखे पनि उर्दू जनस्थानमा मिर्जा असदुल्लाह खाँ गालिबलाई महाकवि गालिब भनिएकै पाइन्छ। बंगाली भाषाका महाकवि रवीन्द्रनाथ ठाकुरको एकला चलो रे कविताकै रूपमा लेखिएको भए पनि धेरैले यसलाई रवीन्द्र गान भनेर गाइएकै पाइन्छ। नेपाली संगीत समाजमा पनि महाकवि देवकोटाको ‘मार्ग’ कवितालाई वा रिमालको ‘रातो र चन्द्र सूर्य’लाई प्रेमपूर्वक कविता नभनी गीत नै भनेर गाइएको अद्वितीय इतिहास हाम्रासामु स्पष्ट छ।

युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’लाई स्वरसम्राट् नारायणगोपालले गाएजस्तै पहिल्यै नै रामेशले आफ्नो संगीतमा यसलाई स्वरबद्ध गरिसकेको गर्वशाली इतिहास छ।

देवकोटा, रिमाल, सिद्धिचरण, भूपि शेरचन, भीमदर्शन रोका, गिरिजाप्रसाद जोशी, अगमसिंह गिरी सबै कविताकै माध्यमबाट गीतकार बनेका हुन् र उनलाई गायक संगीतकारले त्यही प्रेम वा आदरले गीतमा तानेका हुन्। बरु कविवर माधव घिमिरे, नीरविक्रम प्यासी, ईश्वरवल्लभ, बैरागी काइँला वा कालीप्रसाद रिजालले गायकसंगीतकारको आग्रहमा गीत नै भनिने ‘थोक’ लेखे पनि तिनलाई चिन्ने हाम्रो परिचयको आधार कविस्रष्टा नै हो।

तर कविता र गीतको दूरीलाई अहिलेको पुस्ताले निकै दुर्गमको उँचाइ बनाएको पाइन्छ, यो स्वभावत: अध्ययनको अभाव हो भन्न सकिन्छ। नेपाली भाषाको पहिलो रेकर्ड भएको गीत पनि गीत नै भनेर लेखिएको नभएर ‘प्रकाशनको रूपमा कविता वा गजल भनेर नै छापिएको मोतीराम भट्टको एउटा रचना थियो’ जसलाई पछि आदिगायक सेतुराम श्रेष्ठले ‘मेरा नजरमा राम प्यारा छन्’ भनेर नै गाए वा नारायणगोपालले बालकृष्ण समको ‘आमा तिमीलाई जंगलभरिका औंलाहरूले …’ भन्ने बोलको कविता नै गाएका हुन्। स्वरसम्राट् नारायणगोपालले मदन पुरस्कार गुठीले दिने ‘जगदम्बाश्री पुरस्कार’बाट सम्मानित हुँदा आफूलाई ‘कविताका गायक’ भनेर नै चिनाएका थिए। यो सम्भवत: पश्चिमी जगत्मा जोन लेननपछिको दोस्रो इतिहास नै मानिन्छ।

कवितासित उनको नाता गायनको सुरु देखि नै भएको पाइन्छ, चाहे त्यो देवकोटासितको परिचय होस् वा आफ्ना समकालीन कवि सर्जकसितको जानपहचान होस्। उनले जानेर नै कवि हरिभक्त कटुवालको कविता ‘नसोध मलाई कहाँ दुख्छ घाऊ म जे छु ठीकै छु, बिथोल्न नआऊ ‘ वा गिरिजाप्रसाद जोशीको नेवार भाषाको ‘तुयुगु भ्वँ जिगु जिन्दगी छँ मयसा: च्वये मते’लाई कविताकै स्वादमा सांगीतिक बनाएर गाए। यो उनको कविता बुझ्ने क्षमताको अब्बल पहिचानभन्दा फरक पर्दैन, त्यसैले उनले एक अन्तर्वार्तामा ठोकुवा गरेर नै भनेका छन्, संगीतमा क्रान्ति सम्भव छैन, साहित्यसितको निकटता बिना।

यो उनले मन-ज्ञानले नै भनेका हुन्, यसअघि कसैले नभने पनि। स्वरसम्राट् नारायणगोपालले गरेका जस्तो काम बच्चुकैलाश, माणिकरत्न, पुष्प नेपाली आदिले गर्न नपाए पनि त्यही समय उनका समवयी अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, रञ्जित गजमेरले नगरेका होइनन्। अँझै बढी उनी पछिका सशक्त संगीतकार दीप श्रेष्ठले युगकवि सिद्धिचरण श्रेष्ठको सेल्फ पोट्रेटको रूपमा चिनिने कविता ‘आमा तिनीहरूले जेसुकै भनून् म बौलाहा होइन…’लाई कविताको उचाइमा यथातथ्य रूपमा राखेर संगीत रचनामा ढालेका छन् र त्यसरी नै गाएर कविको इमेजेरीलाई बढावा दिएका छन्।

हाम्रा कैयन कवि गीतको लय, गति, मीटर वा मात्रामा गीत रच्न सक्दैनन् यो भइआएको सत्य हो। तर बुझ्नुपर्ने कुरा के छ भने, उनले लेखेका कविता पनि गीतिलयभन्दा फरक धारको खेती होइन भन्न सकिन्छ। उनका एकेक कवितालाई गीत बनाउन सकिन्छ जसरी देवकोटाका ‘सगरभरि छाती चिरी होस्’ वा कविशिरोमणि लेखनाथ पौड्यालको ‘पिँजराको सुगा, यी सबैमा गायकीय तत्त्व विद्यमान छन्। यद्यपि यसलाई स्वीकार्ने क्षमता कलाकारमा निर्भर गर्छ। यस सन्दर्भमा ओस्कार विजेता भारतीय संगीतकार ए आर रहमानले एक अन्तर्वार्तामा भनेका कुरा यहाँ स्मरणीय हुन आउँछ, उनले ब्रिटिस पत्रकार नसरिन मुन्नी कविरलाई द स्पिरिट अफ म्युजिकमा यसो भनेका छन्, …

: म के एउटा प्रश्न सोध्न सक्छु, तिमी यदि थन्कियौ र धुन नै पाउन सकेनौ भने के गर्छौं?

जवाफमा ए आर रहमानले भनेका छन्,

त्यस्तो भएको खण्डमा म तमिलभाषी महान् कवि सुब्रमण्यम भारतीको कविता उठाउँछु जो एक स्वतन्त्र सेनानी पनि हुन् र परिवर्तनकारी पनि। म उनको शब्दलाई प्रेरणाको रूपमा लिन्छु। उनी पूरा शक्ति र अनुभूतिले कविता लेख्छन् जस्तै अवस्थामा पनि उनको कवितामा संगीत गर्न सकिन्छ, उनका कवितामा राम्रो स्वर सुनिन्छ। उनको कवितामा बनाएका धुनमा म फेरि अरू कसैलाई नयाँ गीत लेख्न लगाउँछु। जब म हिन्दी वा उर्दू भाषामा धुन बनाउन थाल्छु, म त्यस्तो बेला अवरुद्ध भएँ भने हजरत अमिर खुसरो वा बुल्ले शाहका कविता सोही तरिकाले उठाउँछु। त्यस्तो बेला बनेका गीत राम्ररी उठ्छन्। त्यसपछि म तोकिएको शब्द वा विषयलाई यसैको संगीतमा ढाल्छु।

यो एउटा परावर्तित शैली हो। ए आर रहमानजस्ता आजको पुस्तालाई नेतृत्व गर्ने संगीतकारबाट उनका अनुयायी वा उनकै जस्तो बाटोमा हिँडिरहेका नयाँधारका संगीतकारले उनीबाट सिक्नेमात्र होइन उनकै बाटो पछ्याउन सके पनि गन्तव्य दुर्गम छैन। गीत, गजल, नज्म, ठुमरी, सुफी वा कताअत जेसुकै विधाका धुनलाई संगीत गर्न पनि मुड चाहिन्छ, त्यो मुड सृजनको भावभूमि त कविता नै हो भनेर जसरी संगीतकार ए आर रहमानले स्वीकारेका गरेका छन्। कविताभन्दा पर कुनै अन्य गायन विधा दूरस्थ छैन भन्ने रहमानको अनुभाव्यलाई नै आधार मान्ने हो भने आधुनिक, अत्याधुनिक वा नवआधुनिक धारको संगीत गरिरहेका नयाँ पुस्ताले यसबाट अनधित अवस्थामा रहेको एउटा पाटोलाई उजागर गर्न सक्छन्, त्यो चाहे गायनमा होस् वा संगीतमा।

कविताको रचनालोकमा गुञ्जिने गीति गायनलाई पाकिस्तानमा मेंहदी हसन, फरिदा खानम, गुलाम अली वा पश्चिमिया जगत्मा द बिटल्स् वा बब डायलनले अपार उचाइ दिएका छन्।

आजका चर्चित उपन्यासकार सल्मान रस्दीले ६० करोड जनसंख्याले मन पराईएको भनेर उनको निबन्धमा उल्लेख गरिएको जोन लेननको ‘इम्याजिन देअर इज नो हेभेन’ पनि गाइनुभन्दा अगाडि कविताको रूपमा लेखिएको एउटा रचना हो। आत्ममुग्धताबाट पर बसेर एक कविले आकाश असीमित भए पनि यो धरती सबैको निम्ति सीमित हुँदै गएको पीडाबोधमा अनुरक्त भएको यो रचनामा संगीत गर्दा जोन लेननले रोबर्ट फ्रस्ट वा एलेन्स् गिन्सवर्गका कविताको नजिकै बसेर सोचेका हुनन्। र, यो आज सर्वाधिक सफल भएको छ।

कविताबाट भाग्दै गरेको हाम्रो नवनूतन पुस्तालाई यो जोडदार सन्देश हुन पुगेको छ।

कवि डायलन् थोमसबाट प्रभावित भएर आफ्नो नाम नै परिवर्तन गर्ने पश्चिमी गायक बब डायलन् जसका हरेक गीतमा कविता बोल्थे र आजसम्म पनि उनका गीत सुन्दा भर्खरै रेकर्ड भएका जस्ता लाग्छन्।

आज चलेका पप् गीत वा :याप गीत पनि मजदुरका रूपमा कार्यरत कुनै कविप्रवृत्तिका व्यक्तित्वले नै सिर्जना गरेका विधा हुन् त्यसमा पनि कवित्व नभएको भए वा कविताको प्राणीलता नभएको भए न त जनगित बन्थ्यो, न त युवाको ढुकढुकी?

नेपाली सुगम संगीतमा अहिले चलेका युवा पुस्ताका धेरै संगीतकार, गायक वा गीतकार कवितालाई छोडेर हिँडेका छन् तर जो अहिलेसम्म टिकेका छन् ती अहिलेसम्म कविताका बलमा टिकेका छन्भन्दा अतिशयोशक्ति नहोला। वा, जो टिक्न छोडेर हराइसकेका थिए, तिनले पनि कविताको धारमा गाइएका पुराना गीतलाई रिमिक्स गाएर नै बचेका छन् त्यो रातो र चन्द्र सूर्यको रिमिक्स् होस् वा पिँजराको सुगाको :याप भर्सन।

कविताकै मर्ममा गीत रच्न शिल्प भएका योगेश्वर अमात्यको रचना तिमीलाई देखेर हिमाल हाँसेको होस् वा उनले नै गाएको सिद्धिचरण श्रेष्ठ क्यारुँ म क्यारुँ ? दशकौंपछि पनि श्रोता दर्शकले नबिर्सने गीत बनेर गएको छ।

शिशिर योगी, अर्चना बाँस्तोला, आनीछोइङ डोल्मा, शैलेश सिंह, न्ह्यू वज्राचार्य आज कविता गायनका कारण टिकेका छन् उनको गायनमा अलिअलि कविताको मगमग धूप छ। नयाँ पुस्तामा आउँदै गरेका रजिना रिमाल, शिव परियार, हेमन्त राना, विनोद बानियाँ अञ्जु पन्त वा मिलन अमात्य नेवारले बिस्तारै कवितामार्गमा नयाँ स्वरचित विम्ब दिन जरुरी छ नत्र क्रिकेट खेलमा अनुबन्धित खेलाडीजस्तै यसपालि आएर अर्को साल हराउन सकिने त्रासद् बढ्दै गएको छ। यो मैनबत्ती दुईतिरबाट जलेजस्तै अवस्था हो, नेपाली संगीत पनि धराशायी हुँदै जाला र प्रतिभा पलायनको पनि स्थिति बन्दै जाला।

वर्षमा एकदुइटा गीत गाउने र त्यही गीत गाउन विदेशमा मञ्चस्थ हुन जाँदा उतै भूमिगत हुनुपर्ने कारणले धेरै गायनकर्मी पीडित छन्। यस रोगबाट बच्न गुणगम्भीर गायनको एउटा बाटो हो, आत्मसन्तुष्टि पनि।

अहिले आत्मसन्तुष्टिका निम्तिका गाउने कलाकार कम दाम असुल्नका निम्ति गाउने धेरै देखा परेको छ। आज चलेका धेरै गायकगायिका खर्चालु गीतकारको दाममा गीत गाइरहेका छन् जसको कोसौं टाढासम्म पनि कवितासित कुनै सम्बन्ध छैन।

सचिव भएर पैसा कमाएका, बैंकर वा उद्योगपति भएर नाम कमाएका व्यक्तिहरू अधिक मात्रामा गीत लेखिरहेका छन् तिनको गीत गाउनुले काँचको पर्दामा दुईतीन दिन छाइएला तर त्यो त केवल भिज्युअल पोल्युसनमात्र हो, यसभन्दा बढी अरू केही नहोला।

सावधान र सचेत भएर स्वर र साहस भएका नयाँ पुस्तका गायकगायिकाले यही बेला कविताको राजमार्गमा आफ्नो गायनको सवार कायम राख्ने हो भने भाषाको जगेर्ना, विश्वसम्बन्ध, अनि सर्वत्र फैलिएका नेपालीलाई आफ्नो भाषा र जातीयतामाथि गर्व जगाउन सक्छ, जसरी धर्मराज थापा, मित्रसेन, नारायणगोपाल वा अम्बर गुरुङले यो बाटो बनाएका थिए, यसलाई भत्किन नदिऔं।

नेपाली संगीत अहिले रोयल्टीको मारमा छ तर त्योभन्दा बढी यो लोयल पनि हुन सकेको छैन।

अन्नपूर्ण पोस्ट
२०७१ वैशाख १३, शनिबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *