सुखमा मान्छे
मस्मिन्द सुत्छ
घर्दै सुत्छ
झँगेल्दा पनि
नउठ्ने गरी
बेहोश भएर सुत्छ
सामान्य अति सामान्य
चेत गुमाएर
अचेत भएर सुत्छ
निदका गाढा रङ्गमा
पोतिएर ऊ
सपनामा यात्रा गर्छ
सपनामा
उडान भर्न उस्का
आङ्गभरि
पखेटा पलाएका हुन्छन्
सधैँ सधैँ
यथार्थभन्दा माथि
पखेटाले यात्रा गर्छ ।
दुःखमा मान्छे
रुन्छ/ कराउँछ
जागा हुन्छ
होसमा रहन्छ
होस र जागरणले
हवाई कल्पनामा होइन
ऊ यर्थाथमा उभिएको हुन्छ ।
ऊसँग उड्ने पखेटा होइन कि
यथार्थ टेक्ने
एक जोर दर्विला खुट्टा हुन्छन् ।
ऋनि ऊ सधैँ
खुट्टाले यात्रा गर्दछ ।
