Skip to content

म कहिले चेतिने होला ?


भरखरै वरिष्ठ साहित्यकार अनिल पौडेलको अतितको “विस्कुन” नामको आत्मसंस्मरण बजारमा आएको छ । जसलाई पाठकहरूले खुब रुचिकासाथ पढिरहेका छन् । त्यहाँ “बिहेको कथा” शिर्षकको संस्मरण छ । उनको विवाहको सन्दर्भको जसमा उनले नढाँटी नलजाई आफ्नो आर्थिक दुदर्शा उल्लेख गरेका हुन् । जसलाई नजिकबाट त्यो कुरा नबुझ्नेले अतिशयोक्ति पनि मान्न सक्छन् । तर उनको विवाहमा जन्ती गएका मेरा आफन्तहरूको कुरा अनुसार सबै सत्य हुन् मेरो विचारमा ।

अँ, अनि मलाई पनि मेरो विवाह सम्बन्धी अविस्मरणीय केही कुरा सार्वजनिक गर्न साहस पलायो । यसले पाठकलाई के देला म जान्दिन । केवल मैले चाहेँ नाङ्गिन ।

कुरा २०५० साल फाल्गुणको हो । त्यसवेलामा मेरो उमेर २८ वर्षको थियो । २०४१मा मेरो उमेर १९ वर्षको हुँदा मलाई जेहेन्दार तिक्ष्ण बुद्धि भएको युवक ठानी धेरै कुटुम्बहरूले विवाहको लागि छोरी दिन मेरो बुवालाई समचार पठाए बुवाले त मान्नुभएको थियो । तर मैले भने कसैको कुरा सुनिन । मसँग आधारविहीन ठुलो महत्वाकाक्षा रहेछ । अहिले बुझ्दा जसले गर्दा २८ वर्षसम्म मेरो विवाह भएन ।

२०४१ सालमा एस.एल.सी. गणित विषयमा विशिष्ठताका साथ पास भएता पनि आ.ए.सी पढ्न आर्थिक कठिनाईको कारण नसकेपछि मजाले अघोगतितिर ओरालो लागे । हुन त गणित विषय लिई महेन्द्ररत्न क्याम्पस ताहाचालमा शिक्षा पढ्न भरणा भएको थिए । तर जसरी जिल्लामा सबै युवतीको विचमा आकर्षणको केन्द्रविन्दु थिएँ, त्यहाँ त्यसको विपरित अवस्थाको सामाना गर्न नसकी म अर्धविक्षिप्त जस्तो पो भएको थिएँ । परिणामस्वरुप त्यो पढाईलाई राम्ररी सञ्चालन नगरी मकवानपुर जिल्लाको कुलेखानी जलविद्युत कोलेनी भित्रको श्रीसरस्वती बालवोधी नि.मा.वि.मा गणित शिक्षकको रुपमा काम गर्न थालेँ ।

आकासको तारो नै समाउने महत्वकांक्षा बोकेको मलाई त्यो उपलब्धीले सन्तोष दिएन । भएन मेरी सहपाठी १ जना नेवार परिवारकी युवतीले २४ सै घण्टा मन आकषर्ण गरिरहन्थीन । तर पनि म कुरा उकेल्न सत्तैन थिए । कक्षामा सेक्सन बेग्ला बेग्लै भएता पनि म विभिन्न विषयको समस्या सिक्ने सिकाउने वाहानामा टिफिन, विहान बेलुका उनको नजानीदो सामिप्यता चाहन्थे । उनी पनि त्यस्तै नै थिइन् ।

त्यस परिवेशमा अन्तरजातीय विवाहको कल्पना गर्न पनि मेरो पारिवारिक कठिनाइका कारण सम्भावना थिएन । त्यसै विषयको द्धन्दमा पिल्सिएर म अर्ध विक्ष्प्ति भएको हुनु पर्छ जस्तो लाग्छ आज भोलि । त्यस समयमा मलाई निर्णायक आँट को खाँचो थियो । जो मसँग थिएन । उनले पनि मलाई कहाँ के गर्दैछ ? भनेर सोध खोज गर्दै गरेको मलाई साथीहरूले सुनाउथे, उनलाई पनि सधै मेरो सम्झनाले अवश्य नै सतायो होला । त्यस बारेमा म अरु जान्दीन ।

यसो हुदा हुदै समय ८ वर्ष वित्यो । मैले केही प्रगति गरिन । एकाई दहाई सैकडा हात लाग्यो गेडै गेडा भने जस्तै भो मेरो जिन्दगी । स्बास्थ्य हालतको भैसकेको, केवल फुक्कीडल जस्तो । अब चाहिं पैले जस्तो विवाहको प्रस्ताव पनि आउन छाडे, म अलिक आत्तिएँ । अनि फेरि कन्या खोजको कुरा चल्यो, ए बाबा ! पहिले त्यो शान थियो । अब के वयान गरौँ, कोही भन्छन् यस्ता टि.वि.ले खाएको जस्तोलाई कसरी छोरी दिनु, कोही बुढो भएछन् भन्छन्, खाइस्की ! परो फसाद ।

स्वर्गको भागीरथी गंगा आफ्नै घमण्डका कारण शिवका जटामा हराउदै क्रमशः पतन हुदै पृथ्वी झरेर पातल भाशिए जस्तै म पनि अर्ध विक्षिप्त, जड्याहा, जुवाडे समेत भैसकेको थिएँ । भलै शिक्षण पेशा चाहि गरिरहेको थिए । विद्यार्थीहरूको विचमा यी दुर्गुणहरूको लेष थिएन, किनकि पढाउने कलामा म निपूर्ण थिएँ । तर भित्र भित्रै अतृप्त यौन प्यासी जस्तै थिए । जो प्यासलाई समाजले थाहा नपाउने गरी महाकठिनताका साथ दवाएर राखेको थिए, त्यसवेला ।

अँ म कुरा गर्दै थिए विवाहको । केटी खोजको । मलाई विवाह प्रस्ताव आएको एउटा केटीको चाहिं अँझै विवाह भएको रहेनछ । मेरै कान्छा हजुरवा छोरीको श्रीमान् मेरा फुपाजु आदरणीय रमेश कटुवालले ल्याएको थियो उक्त केटीको विषयको कुरा । अति अल्लारे पारामा भिनाजुको मर्यादालाई ख्याल नराखी बोलेको थिए, क्यार गम्केर । भिनाजुले दिदीलाई दुःख पोखेको रहेछ उक्त विषयको बारेमा । बदला लिने तयारीमा रहिछीन् दिदी । मतलव दिदीको दिल दुखेको रहेछ । खुकुरीलाई के थाहा अचनाको पिर । मलाई थाहा थिएन । अनि दिदीलाई पोहोर परार तपाईंले भन्नुभएको केटी हेर्नु परो दिदी भने, उनले नाम बताइन र पढ्ने कलेज चिनाइन । म पनि आइ.ए. दोश्रो वर्षको विद्यार्थीको हुलमा पसेर केटी हेरेको, बाफ्रेबाफ् ! अहिलेसम्म देखेका युवतीहरूमा त्यति सुन्दरी कहीँ देखेको थिएन र सरासर दिदीलाई लु त्यो केटी मागीदिनु पर्यो भनेको मात्र के थिएँ, दिदी त बम पड्किए जसरी पो पड्किइन बाफरेवाफ !

“तँ जस्तालार्ई मैले केटी माग्न पर्छ र? आफै गर्नु नि लभ सभ,” भनेर मुख लोप्राई दिइन् ।

म त निलो कालो भए । वरपर मान्छेले देखिसके कि भनी पल्याक पुलुक हेरेँ तै कोही पनि थिएन् । आफ्नी दिदीले मुख नापीन् त के भा र ? लात त लगाइनन् नि भन्दै मन बुझाउँदै फर्किए । तर मनमा लाग्नसम्म चोट लाग्यो । अब यीन्को साम्नेमा त्यो केटीलाई उनको सहयोग विना नै विवाह गरेर देखाइदिन्छु भन्ने जोस् चल्यो र सरासर केटीको घरमा गएँ । उनको आमा बुवा पनि घरैमा रहेछन् । पहिले केटीसँग हाक्का हाक्की उसको बारेमा दिदीसँग भएका सबै कुरा भने उनलाई सबै थाहा पो भएको रहेछ । मतलव त्यो केटा तिम्रो साला अरे झिकाउनु म छोरी दिन्छु भनी उनले छोरीसँग पनि सोधेर पो मलाई समाचार पठाएका रहेछन् उनका बुवाले मेरा भिनाजु मार्फत ।

ला खास् ! कुरा मिल्यो । अब हामीले विवाह गर्ने सल्लाह गर्यौ । भाग्न उनले मानिनन् । म स्कुल जादा आउदा स्कुल टाढा भएकोले उनको घरमा बास बस्ने गर्थे । हाम्रा भावी जीवनका बारेमा पनि कुरा हुन्थे । म लजालु स्वभावको डर पोक भएर होला सीमाभन्दा तल झरेुर हामी विचमा कुनै अश्लील कृयाकलाप चाहिँ भएनन् । उनलाई उनको बुबासँग माग्न मेरो अभिभावक लिएर आउनु भनेर उनले मलाई शिकायत गरिन् । अनि मैले शेखी जित्न तिनै मेरा भिनजुलाई लिएर जाने विचार गरे । पहिले त उनले मानेका थिएनन् तर मैले जिद्धी गरेपछि उनले मान्नै पर्यो, गए । मसँग मेरो ठुलो दाजु पनि हुनून्थ्यो । केटीका बुवालाई कुरा राख्न तिनै भिनाजुलार्ई अघि सारेँ,

बारेवाफ ! बुढाले त यो मेरो सालो अरेँ, तपाई छोरी दिने हो ? पो भने । बुढालाई पनि मेरो अस्वभाविक स्वभाव मन नपरेको रहेछ । फ्याट्ट, “म छोरीको विवाह गर्दिन” पो भने ।

पर्यो कि फसाद ! म फेरि लाजले भुतुक्कै भएँ । दाजुले मलाई रिसले आँखा तरेर हेर्नु भो । किनभने उहाले विवाह गरौ भनेर देखाएको केटीहरू पनि त मैले मानेको थिइन । आज यो हालत भो । म फुत्त चोर विरालो भागे जसरी उठेर हिडे स्कुल जान भनी । दाजुहरू घर फर्किएछन् ।

मलाई लाग्नुसम्मको रनाहा लाग्यो । यसै रन्कामा पहिले मैले नाई भनेको यौटी केटी माग्न भनी गएको थिए । संयोग कस्तो परेछ भने त्यसै दिन बिहान “जयले बिहे गरेन भन्दैमा मेरी छोरी कतै बिक्दिन त ?” भनी केटो खोजी ल्याएर फूलमाला गरिसकेको पो रहेछ । त्यसै दिन विहान ।

सबैले जिस्क्याउन थाले हजुरलाई बाटामा आउदा ठेस लागेन । मैले भने लागेन । होइन लाग्नु पर्ने भन्छन् र गल्ल हाँस्छन् म कुरा बुझ्दिन । भरे उनीहरूले मेरो हारेको मनोभाव पढेर विजय उत्सव मनाएका पो रहेछन् । अविवाहित भाइ बैनीहरू !

तपाईहरूलाई अवश्य कसैका प्रस्तावहरू आउछन् नै राम्ररी सोच विचार गर्नु होस् है ।

म खुत्रुक्कै भए । निरास पनि भए, लज्जित पनि भए, हारेँ । त्यसैले १ जना लमीलाई अघि लाएर कन्या खोज्न संखुबासभा जिल्लै छोडी नयाँ जिल्ला भोजपुरतिर हानिए । भोजपुर दिंला केदावारी २०५० साल फाल्गुण ५ गते पुगे । एउटा कार्कीका घरमा सप्ताह पूराण लाग्दै गरेको रहेछ । संयोग कस्तो परेछ भने पूराण बाँचन भैसकेर खाजा खान विश्राम गरेको समय रहेछ । ८ गते दिन साङ्गेमा नातिनी कन्यादान गर्न पाएँ ठाडै वैकुण्ठ धाम जान सक्थे भन्ने धार्मिक विश्वास बोकेकी ८० वर्षे हजुरआमा इस्वर पुकाउदै नातिनीको लागि वर खोजीमा रहिछिन् । म त्यसैवेला पुगे ।

फ्याट्टै कुरा मिल्यो । तर म आत्तिए किन मेरो घरबाट १ दिन टाढाको कुरा छ, फाल्गुन ५ गते दिउसो १ बजेको छ । मैले बेहुलो हुनुपर्ने चाहि ८ गते साङ्गेको दिन । अलि पछि सारौन भनेको “बरु कन्या नदिने,” भने । “यदि विवाह गर्छौ भने ८ गते नै बेहुलो भएर आउ, नत्र नदिने ।”

हे भगवान ! कता, लुगा कता पत्र कता चिउरा कसार अन्न पानी धानचामल हे भगवान ! के फसाद परेको ? मनमा च्वाँस्स संका पस्यो होइन यो केटी कसैको पेट बोकी साँझ विहान भैसकेको कारणले पो मलाई तुरुन्त भीडाउन छिट्टे भनेको हुनुपर्छ पक्का जस्तो लाग्यो । अनि मैले उम्कने शुर गरे । तर त्यति बेलासम्ममा कन्यार्थु भै केटीलाई भान्छे लगाई खाना खाइसकेको छु । केटीले लगलग काम्दै खाना पस्केको सम्झन्छु माया पनि लाग्छ । उता शंका पनि लाग्छ । जे होस मैले कुरा फेरे, यति छिट्टै म बेहुलो बन्न सक्दिन भने ।

बेहुलीका तर्फबाट कुरा आयो, “तपाई ८ गतेका दिन रित्तै आउनुहोस् । हामी छोरी अन्माई दिन्छौँ । लुगा कपडा, गहना दमाई केही चाहिदैन ।”

हे भगवान परो कि फसाद ! कसो गरौँ हातमा १ कौडी छैन । दुनिया सामु कसरी रित्यै आउनु अलिपछि विवाह सार्न वेहुली पक्ष मानेनन् । पुराना विचारका धार्मिक मानिस रहेछन् । साङ्गेमा छोरी नातिनी अन्माउनु पर्ने रे र केटीलाई केही कुरामा खोट देखाउन सकिन । कम्मरमा गाग्रो बोकेको देखेर केटीको कम्मर बाङ्गिएको छ कि ? भने केटीका मामलाका हजुरवाले त्यत्रा पूराण सुन्ने मानिसहरू विचमा नातिनी उभ्याएर देखाए । वहा हक्की स्वभावका रहेछन् म हारेँ ।

पुरोहितले पत्र लेखे मैले पल्ला घरबाट लिएर वल्लघरका बेहुलीको बुवालाई दिए । उनले पूजा गरे पत्र लाग्यो । अब म ८ गते बेलुकाको लगन टुंगो गरी घर फर्के लमीसँग । लमी पनि नातामा भिनाजु पर्ने थिए । बेहुली उनकै मामाकी नातिनी भएकोले सजिलो भएको रहेछ । भोलि ६ गते भयो । साथमा पैसा छैन । २–३ घण्टा टाढाको बजार छ । जुवा खेल्न मलाई १०–१५ हजार ऋणदिने मान्छेले मलाई बिहेमा कपडा किन्न ४ हजार माग्दा खोजी दिएनन् कसैले । म छक्क परे कस्ता मानिसले कस्तो मनले मलाई जुवा खेल्न पैसा दिएका रहेछन् । नातामा हजुरवा पर्थे उनी १० दिने दाजुभाइ भित्र । त्यति अपराधी मन रहेछ । सम्झदा दुःख लाग्छ, खाँदवारीमा सुन गोपाल साहुँसँग उनको राम्रो आर्थिक लेनदेन थियो उनले चाहेका भए समचारका भरमा काम बन्थ्यो । तिर्ने मेरो नोकरी छदै थियो । लगभग ४–५ महिनामा तलब न चाहिएको थियो । जुवा खेल्न चाहि १२ महिनाको अग्रीम तलव खोजी दिन्थे उनी ।

म नाम चलेका मेरा गाउका भएर पनि बजार निबासी शेरबहादुर वन दाइ कहाँ गएँ । उनले तेरा बारविसे घिमिरे मरे कि क्या हो ? भनेपछि अरु कुरा गरिन मैले । फरक्क फर्किए । शायद अरु ढिपी गरेको भए काम गरी दिन्थे कि ?

उता समयसीमा धर्किन लाग्यो आज लुगा सिउन नदिए ८ गते सकिदैन । पर्यो कि फसाद ! १ मनले सोचे, “तपाईंहरूले छिटो भनेर त हो नि, लौ मैहुँ बेहुला यतिकै आएँ” भनेर जान्छु जस्तो पनि पो लाग्यो । यतिबेलासम्ममा बज्र प्रेसले खाँदवारीले २५ वटा निम्ता कार्ड छापिसकेको रहेछ, ल्याएर जि.शि.अ. सूर्य नारायण लालकर्णलाई लगायत अन्य स्टाफलाई बाडेको थिए । जि.शि. अ. जन्त जादैनन् भन्ने जाने त पनि निम्ता दिए । ठूलाबडालाई मान्न जान्दा कहिले काहि नपत्याउदो गरी सफलता हात पर्ने रहेछ ।

मैले झिनो आशा राख्दै म पर्सीको बेहुला हुनुपर्ने र आजसम्म एक पैसा नभएको कुरा हाकीमलाई विन्ती बिसाएँ । उनले त पत्याउनै नसकेर त्यसबेलाका प्र.वि.नि. दामोदर दाहाललाई बोलाएर मेरो बिहेको बारेमा सोधे । उनले, विवाह त पक्कै हो सर मलाई पनि निम्ता कार्ड दिएको छ, भनेपछि जि.शि.अ.ले तुरुन्त लेखापाल बोलाई मेरो विद्यालय श्रीदुधपोखरी प्रा.वि. फुदामको २ स्टाफ को १ चौमासिक त्यसवेलाको लगभग २० हजारको चेक मेरै नाममा बनाई तुरुन्त दिए । अनि त्यो पैसाले कपडा किनी मेरो विवाह भयो ।

यति हुदा पनि मैले अँझै चेत खाएको छैन । किनभने मसँग आपतकालीन समयको लागि संचित रकम छैन । म कहिल्यै चेत्ने होला ?

जयबहादुर घिमिरे
संखुबासभा
मिति २०७१/१/१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *