कोही आउने कोही जाने
क्रम चलिरह्यो
स्टेशनबाट स्टेशनतिर
रेल अघि बढिरह्यो
कतै खल्याङबल्याङ
कोही अल्याङटल्याङ
कोही ढेपिएर चढ्न तयार
कोही टिकट काउन्टरमा हतार हतार
कोही कुदिरहेछन् घडी हेरि
छुटाएछन् कसैले धत्तेरि
उँगिरहेछन् कोही समान छेकेर
सोध्धैछन् ती बूढाबूढी लौरो टेकेर
मोबाइल फोन कानमा टसाएका
कम्प्युटर स्क्रिनमा आँखा धसाएका
कसैले आफन्त नजिक बसाएका
बिदा गर्न आउनेको आँखा रसाएका
हरेक स्टेशनमा यात्रा जोड्नु पर्ने
आफ्ना आफन्त थलो छोड्नु पर्ने
आउनेहरू खुसी हुँदै मिसिने
जानेहरूको मुटु भित्रभित्रै चिसिने
प्लाटफर्म नै एउटा जिन्दगी जस्तो
कसैको मिलन कसैको बिछोड कस्तो
जन्मदा हर्षोउल्लास र अन्य
मृत्युमा वेदना रोदन शून्य ।
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्
