Skip to content


कोसौं टाढा हिँडेर आइपुगेका थियौं हामी। हामी भन्‍नाले मेरो कलेजका अग्रज उदितनारायण झा र म। हामी दुवै भोकै, दुवै लखतरान। पेटमा दानापानी क्यै थिएन। ओठमा अलिअलि विद्रुप स्वर, ताल र सुर नमिलेको। आँखामा अपार आशा, मधुर आशा र पछिपछि विस्तारै क्षीण हुँदै गरेको अस्थिर आशा।

उदितले मतिर पुलुक्‍क हेरेर फेरि भने, यहाँबाट बर्सोवा जाऊँ, त्यहाँ फुन्सोककोमा सुक्खा दालरोटी केही खाऊँ। उदितको प्रस्ताव सरल थियो तर परिणाम यो पनि अनिश्चित नै। फेरि त्यहाँ पनि फुन्सोक नभेटिए वा फुन्सोकले अमानवीयता देखाए फेरि हाम्रो अर्को भोक यात्रा जारी नै छ।

फुन्सोक पनि चानचुने मान्छे होइन, मुड नभएपछि ऊ राजा बन्छ, सन्की राजा। मलाई खबर नगरी किन आयौ? भनेर पाँच/छपटक झर्किन्छ। त्यसपछि फेरि उसले हामीलाई प्रवचन सुनाउँछ, आफैं ओशो भएर।

ऊ चानचुने मान्छे होइन, सन्केपछि उसको सनक नाप्न सकिँदैन। उसलाई मुड भएन भने दाल, भात त के चियापानीसम्म सोध्दैन। घोक्रेठ्याक लगाइदिन्छ। तर, मुड भयो भने पालग भिखारी हो ऊ।

अब यहाँ बसेर उसको मुडबारे के थाहा? कसरी भन्‍ने? तर, जाने आँट मैले गरिनँ। फुन्सोक लद्दाखबाट आएका एक कलाकार। उनी पुना इन्स्टिच्युटका प्रडक्ट। तर, उनको संगीतका लगाव गज्जब छ।

भन्छन्, उनको राज्यमा हिन्दी गीत सुन्‍न प्रतिबन्ध लगाएपछि उनी लता मंगेशकरको गीत सुन्नमात्र लद्दाखबाट भागेर मुम्बई आएका थिए। उनी संगीतका कारण मुरलीधरसित नजिक र टाढा थिए तर मुरलीजी भन्थे, योसित धेरै नजिक पनि राम्रो होइन धेरै टाढा पनि।

फेरि एकपटक मैले उदितलाई हेरेँ, एकछिन पर्खें। किरणजी झर्छन् कि? उसको आशा अझै दह्रो थियो। उनले भेट्नुपर्ने मान्छे, किरणजी चानचुन मान्छे थिएनन्। उदितलाई आठ सय रुपैयाँ दिने चलचित्र निर्माता थिए, किरण शान्तारामको नयाँ फिल्म झंझारका लागि उदितले पृष्ठ गीत गाएका थिए।

यसमा किरणकै भान्जा सुशान्त नायक थिए। उदितको यो गीत हिन्दी फिल्ममा सातौं फिल्म थियो। भर्खरै उनले शेखर सुमन नायक भएको फिल्म रात की गुनाहमा पनि माया गोविन्दको संगीतमा गाएका थिए।त्यो फिल्मको पनि उनले पैसा पाएका थिएनन्। यसभन्दा अगाडि उनले उन्‍नीसबीस, सन्नाटा, बडे दिलवाले नामक फिल्ममा गीत गाइसकेका थिए।

उदितले आशा गरेमुताविक कृष्ण कल्लेको संगीतमा उसको केही नयाँ भजन पनि आउँदैछ। पर्सि बुधबार अल इन्डिया रेडियोको ‘नये साज’मा अनुप जलोटाको संगीतमा उदितको नयाँ भजन आउँदैछ। त्यसको पनि पैसा बाँकी नै छ रे।

धेरै बाँकी पैसा उठाउने शृंखलामा उदित र मेरो यो यात्रा किरण शान्तारामको द्वारसम्म आइपुगेको हो। उदितले यो पैसा पाए भने हामी दुवै आज चाइनिज लन्च खानेवाला थियौं, चाइना टाउनमा।

सपना टुट्यो, किरण शान्तारामजीको एक वाक्यले, तुम्हे गानेका मौका दे रहा हुँ, पैसा माग रहे हो। लौकर लौकर, पुढे आहे। उदित हाँस्न खोजे तर सकेनन्। वह भी आठ सौ रुपैयाँ? तुम्हे नहीँ चाहे तो गाना दुसरे से डबिङ करवाते है। बरोबर। काइ झाला?

बेलाबेलामा मराठी भाषा मिसाएर किरणजीले बोलेको बोली आकाशबाट खसेको रकेटजस्तै भो मेरा लागि। दुई दिनदेखि भोकै र फेरि यो दुखान्त नाटकको मध्यान्तरमा हाँस्दैहाँस्दै हिँडेको म।

हामीले आशा मारेर फर्किन लाग्दा सेतो पोसाक लगाएका पूर्ण श्याम वर्णका किरण शान्ताराम भर्‍याङबाट सुस्त गतिमा झरे। उदितले फेरि एकपटक बिन्तीभाउ गरे, यो दृश्यले पनि किरण शान्तारामलाई हल्लाउन सक्दैन थियो।

हामी हरिजनजस्तो गाडीको दायाँबायाँ लागेर उभियौं, महान् किरण शान्ताराम गए। उदित मतिर, म उदिततिर फर्केर पुराना क्यालेन्डरजस्तै ट्वाल्ल पर्‍यौं। तर, आशा दुवैमा थिएन, हार पनि हामी दुवैमा थिएन।

मुम्बईमा एउटा कहावत जीवित छ, घडी दिनमा बाह्रबाट बाह्रसम्म दुईपटक चलेसम्म केही आत्तिनु पर्दैन। समय ठीक छ। अघि बढ। यही भनाइ आत्मसात् गर्दै हामी हातमा एक पोका चना लिएर अघि बढ्यौं।

यो उदितले पाउने आठ सय रुपैयाँले उदितले कति छाक टाथ्र्यो मलाई थाहा थिएन तर मेरो त म बस्दै गरेको घरको पीजी चार्ज चार महिनाको तिरिन्थ्यो। म मुम्बईमा पीजी थिएँ, पेइङ गेस्ट।

उदितको त बस्ने राम्रो फ्ल्याट छ, सान्ताक्रुज इस्टमा। तिरुपति अपार्टमेन्टस्, जहाँ उनी एअर होस्टेस दीपा गहतराजसित लिभ इन फ्रेन्डसिपमा थिए। ‘बिहेको कुरो पनि चल्दैछ’, भन्थे उनी।

उदित मुम्बईमा मभन्दा चार वर्षअघि आएका थिए, उसलाई अग्रज गायक मुरलीधर मिझारले भारतीय विद्या भवनको छात्रवृत्ति मिलाइदिएपछि उनी नेपालस्थित भारतीय राजदूतावासको सिफारिसमा संगीत पढ्न आएका थिए, सन् १९८२ मा।

उनले संगीत पढ्न छोडेर अब फिल्ममा गाउने धन्दा सुरु गरिसकेका थिए। यसले गर्दा उनी कलेज कम फिल्म स्टुडियो र रेकर्डिङ स्टुडियो धाउँथे। उनीजस्तै मुरलीधर, बीके शाही, कुमार कान्छा, सुरेश विश्व पनि हरेक स्टुडियो धाउँथे।

तर, त्यसमध्ये उदित मसित अलि निकट थिए। कारण, उनी काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा मेरा सिनियर थिए र केही समय काठमाडौं मरुहिटीमा उनी मेरा छिमेकी पनि।

हामी हिँड्यौं, किरण शान्तारामको चित्रालयबाट पैदल उदितको डेरा आश्रमतिर। अब त्यहाँ गएर बासी सुक्खा जे छ त्यही खाइन्छ र मन लागुन्जेल नुहाइन्छ। मुम्बईमा नुहाउन र मज्जाले सुत्‍न पाइयो भने ठूलो सफल साधना मानिन्छ।

त्यो आज मेरो पनि पूरा हुन्छ किनकि आज उदितको फ्ल्याटमा उनीबाहेक अरू कोही छैन। उनकी साथी दीपा विदेशयात्राको फ्लाइटमा गएकी छन्। उनी फ्ल्याटमा एक्लै हुँदा हामीलाई चिया खान बोलाउँछन् र हामी जान्छौं। आज फेरि यो सौभाग्य मिलेको छ।

निकै लामो थकाइ यात्रापछि मुम्बईको बीईएसटी बसमा हामी उनको आवासको आँगनमा पुग्छौं, सान्ताक्रुज कालिना। उनको यो बसाइ मुम्बई युनिभर्सिटीको पार्श्‍वभूमिमा छ। मलाई लाग्छ, यो अब हाम्रो भाग्यकै चाबी हो।

आजको महान् फ्रस्ट्रेसन र अति महान् भोक यो चाबी खुलेपछि मेटिन्छ अनि फ्रिजको महादेशमा पसेर केही खाद्यान्नमाथि हमला गर्छौं। कोठामा पस्नेबित्तिकै दुई काम गर्छन्, पहिले पर्दा खोल्छन् अनि आफ्नो लुगा।

कम्मरसम्म टावल बेरेर भित्री गन्जीमा उनी उभिन्छन् र भन्छन्, अब के खाने? फ्रिजको धिमा प्रकाशमा केही खाना देखिन्छ, खान मिल्ने र नमिल्ने उनी छान्छन्। म हातगोडा धुन थाल्छु।

उदित खाँदै गर्दा विशेषत: बैराग भएर एउटा कुरा सधैं भन्छन्, यो बम्बई बस्ने ठाउँ होइन सायमीजी। नन्सेन्स् ठाउँ। म त नेपालमै स्ट्याब्लिस्ड मान्छे। मलाई के छ र? म त तराईको एउटा सिम्पल गाउँको मान्छे, काठमाडौंमा त्यति गर्नु नै मेरो लागि नेपालमा ठूलो एचिभमेन्ट हो यार।

उदित यस्तो बेला नेपालमा आफूलाई माया गर्ने, सघाउने र हेरविचार गर्ने सबैलाई सम्झिन्थे। अनि यही बेला उनी काठमाडौं उपत्यकाकी पहिलो प्रेमिकालाई सम्झिन्थे र भन्थे, मलाई नेवार जातिप्रति गर्व छ के यार, तपाईं पनि नेवार मेरो फर्स्ट गर्लफ्रेन्ड पनि नेवार।

तर, के गर्ने तिनले लामो लभलेटर लेखेर लास्टमा छोडिदिइन्। तर, क्यै छैन यार, नेवार इज ग्रेट पिपल। मलाई नेवारहरू धेरै माया गर्छन्। केही नाम उनी तुरुन्तै लिन्थे- गीतकार विष्णुप्रसाद घायल, संगीतकार हुतराज शर्मा अनि अरू केही उसका नेवार साथी अनि ऊ बसेको घरको नेवार घरवाला।

गायक संगीतकार शिवशंकर मानन्धरलाई पनि ऊ सम्झिहाल्थ्यो, जो उनको कुनै बेला घरबेटी पनि अनि रेडियो नेपालमा हाकिम पनि। अनि अन्तमा उनी कामनाका सम्पादक पुष्करलाल श्रेष्ठको नाउँ पनि लिइहाल्थे। त्यो बेला ती दुईको सम्बन्ध अपार थियो।

उदित आफ्नो पहिलो प्रेमिकाको नाउँ र आफ्नो पहिली पत्‍नी रञ्जुको नाउँमा अलिअलि समानता भएको कथा पनि सुनाउँथे बेलाबेला।उदित मुम्बईमा बैराग भएको बेला घरिघरि नेपाल र नेपालीको कुरा गर्दा फर्किऊँ फर्किऊँजस्तो पनि कुरा गर्थे तर डराउँथे पनि।

भर्खरै उनी एउटा नेपाली सिनेमा कुसुमे रुमालको हिरो भएर चर्चित थिए। गायक शिवशंकरपछि सांगीतिक क्षेत्रबाट हिरो बनेका उनी तेस्रो कलाकार थिए, अर्का गायक भुवन केसीलाई पनि गन्ने हो भने। यद्यपि गायक, संगीतकार दीप श्रेष्ठ पनि कुनै समय हिरो हुन धरानबाट मुम्बई गएको इतिहास छ।

उदित कुसुमे रुमालपछि अर्को एउटा नेपाली सिनेमामा हिरो बन्‍ने तयारीमा थिए, त्यो सिनेमा मैले नै लेख्दै थिएँ, जसको नाउँ थियो पिरती। पिरती बन्ने नबन्ने र हुने नहुने दोधारको स्थितिका कारण उदित नै थिए। उदित एउटा हिन्दी फिल्मका कारण मुम्बईमा अड्केका थिए, कयामत से कयामत तक।

यो फिल्म बनेमा उदित आफ्नो भविष्य उज्ज्वल हुनेमा शतप्रतिशत आशावादी थिए तर फिल्म भिडिओमा बन्ने कि ठूलो पर्दामा त्यो निश्चित थिएन। उनी यो फिल्म बन्यो भने म प्लेब्याक सिंगरमा चल्छु भन्थे।

त्यो कसरी भन्यो भने उदित भन्थे, ‘यसको मुहूर्तको दिन मैले राजकपुरलाई छोएको थिएँ अनि फोटो पनि खिचेको थिएँ।’ कालो कोट लगाएका राजकपुरसित खिचेको फोटो उनको गेस्टरुममा सधैं सजाइएको हुन्थ्यो।

राजकपुरले उनलाई त्यो फोटो खिचेको दिन भनेका थिए रे, जसलाई मैले एकपटक प्रेमले छोएको छु ती मान्छे सफल भएका छन्।नभन्दै उदित यसमा घोर विश्वास गर्न थाले र उनी यस ट्याग लाइनलाई नै आफ्नो स्रोतशक्ति मानेर अघि बढ्न थाले। त्यो कहिले उनको साहस देखिन्थ्यो, कहिले डर।

यही समय उदितले आफ्नो एकल गायनमा एउटा निजी एल्बम निकाल्ने सोच पनि बनाए। संगीत नयाँ संगीतकार युजिन लामाले गरे। झिलीमिली नामक यस एल्बममा सबै लगानी युजिनले गरेका थिए। यसमा पंक्तिकारबाहेक पछि नीर शाह, मुरलीधर, निर्मला लामाले पनि गीत लेखे भने गायनमा उदित र दीपा थिए।

दीपा र उदितको भेट नेपाली चलचित्र सम्झनाको ‘गहिरो गहिरो सागरजस्तै’ गीतको रेकर्डिङका बेला भएको भए पनि दीपाले पछिमात्र उनलाई प्रेमीका रूपमा स्वीकारेकी थिइन्। दार्जिलिङ समाजका अत्यन्त सुशिक्षित दलसिंह गहतराजकी माइली छोरी दीपा सानैदेखि गायनमा सक्रिय थिइन्।

उनी सानैमा दीप श्रेष्ठको एकल साँझ कालिम्पोङमा हुँदा आफ्ना साथी अनुपमा र दावासित कोरसमा गीत गाउन गएकी पनि सम्झन्थिन्। दीपाका चार दाजुभाइ थिए भने दिदी मुक्ता र बहिनी गीता थिइन्।

दीपाका चार भाइको साक्षीमा उदित र दीपाको विवाह कोलकातामा भएको उनी बताउँथे तर पहिली पत्नी रञ्जुसित गौना गरेर आएपछि यो तनाव बढ्दो थियो उसको जीवनमा। एउटा अनौठो घटना त्यति बेला घट्यो जब एक दिन उदितले हामीलाई डिसेम्बरको कुनै दिन उनको तिरुपति अपार्टमेन्टमा खान बोलाए।
पछि थाहा भयो, त्यही दिन उनीहरूको कानुनी विवाह हुने रहेछ। खान गएका पाँचजना साक्षी रहेछौं। सम्झना भएअनुसार झिलिमिली एल्बमका संगीतकार युजिन र म अनि क्यामेराम्यान चन्द्रप्रकाश र दीपाका भाइ।

अर्को एकजना तुलसी घिमिरेका सहायक दीपक पटेल पनि थिए। त्यो कानुनी विवाहको अर्को महिना दीपाले आदित्यनारायणलाई जन्म दिइन्। आदित्यनारायण जन्मेपछि दिइएको ‘वेलकम आदित्य’पछि उदितको भाग्य चम्क्यो र उनी विस्तारै हामीसित टाढा र आफ्नो सफलतासित नजिक हुँदै गए।

किरण शान्तारामसित बिसाएको उनको जीवनको किरण उदय हुँदै गयो, उदित हुँदै गयो। यसलाई समय भनिन्छ तर यो अब इतिहास भइसक्यो सायद।

उदितको जीवनमा सधैं आइरनी आइरहन्थ्यो, सिनेमाको नायक बनेर अघि बढ्ने कि गायक बनेर? जेठी पत्नीलाई चुनेर सामाजिक सम्मानमा फर्किने कि दीपासितको जीवन स्वीकारेर सफलतातिर अघि जाने?

नेपाल उनको जन्मभूमि, भारत उनको गुरुभूमि तर यी दुई देशका बीच सधैं उनको विवाद एउटै थियो, नेपाली हुनुको र नहुनुको। तर पनि उनका वक्तव्य, अन्तर्वार्ता र विचारले कहिलेकाहीँ विवाद ल्याउँदा उनी कताका हुन् भन्‍न उनका साथी, उनका शुभेच्छुक र प्रशंसकलाई हम्मेहम्मे पर्थ्‍यो। सायद उदित आफैं पनि यो जानेर गर्दैनथिए। यो भइदिन्थ्यो।

यसैको नाम उदित हो।

अन्नपूर्ण पोस्ट
२०७१ भदौ, ७ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *