Skip to content


जस्ले जीवनको प्रवाह नगरी, संतानमै खर्चिए l
शिक्षा शास्त्र बिचारले समयमा, राम्रो व्यवस्था गरे l l
भोको पेट लुगा कुनै बखतमा, खाली नराखी दिए l
चाहेको सुतले सबै तयगरे, बाँकी नराख्ने भए l l १ l l

रोगै लाग्न कतै दिएन निजमा, स्वास्थ्योपचारै गरे l
हुर्काए अब भो जवान वयले, पालो दिनै योग्य रे l l
खोजि जागिरको कतै पथ नयाँ, सोचेर हिड्दै थिए l
राम्रो जागिर भेटियो र अझ एक, कन्या सखी पार्दिए l l

देखेको नहुने नचाख्न सकिने, लेखिदिएको छ जो l
भावीले कसतो ललाट लिखतै , भोग्नै परेको छ त्यो l l
बुहारी घर भित्र गै जब पसी, अर्कै रवाफी भयो l
अर्ती झैं उसका सुनी बचनमा, विश्वास छोरो थियो l l ३ l l

प्यारा हे ! म त साथमै हजुरकी, दासी सरीकी सही l
माता यी ननिकी बडो हजुरकी, भन्दै बुहारी रही l l
बोली नाटक झैँ गरी नयनमा, आँसु खसाल्दै खुवै l
स्वामीका संगमा विचार घुमने, राखेर हिड्ने दुवै l l ४ l l

बुझेनन् तिनले उमेर पनि क्यै, आमा बुबा पर्ख्रलान l
छाडी चट्ट दुवै हिंडे घर कठै, ! राख्लान् कसोरी परान् ?
काष्टी साथ बसे पिता र जननी, छोरा बुहारी गए l
गर्नै के न त सक्तछन् अब कुनै, हेरेर बस्ने भए l l ५ l l

फर्केनन् किन हो ? बिटो घर भनि, चिन्ता बडो दिन्दिन l
चिन्तैले भयभित भै खबर को, देला बुझाई मन l l
एस्तै तर्क बितर्कले दिन बिते, रोगि बने झन् दुवै l
खोजी भो अनि आश्रीतै स्थल कतै, राम्रो हुने बास् खुवै l l ६ l l

वृद्धाश्रम बनियोस् अकिन्चन सबै, बासै बसुन् तेसमा l
हामी झैं अपहेलितै स्वजनले, त्यागी गए दुखमा l l
राख्ने चाह न क्यै भला उभयले, घरको छुटोस बन्धन l
पाई आश्रममा निवास गरदै, बाँकी बितोस जीवन l l ७ l l

जिम्दोमा न छ औषधि पथकरै, खाने कुरा चट्ट नै l
के गर्ने पछि त्यो मरे पछि खिरै, दिन्छन अहो ! पिण्ड नै l l
के काम भो धन सम्पती र उसको ? विद्या पढी इज्जत l
त्यै पारा उसको बढे हृदयमा , पोल्ला परि आपद l l ८ l l

बेरमी बहुतै हुँदा नजिकमा , पर्दै नपर्ने कदा l
के कम भो शवमा मरेपछि भरे, झारेर आँसु रुँदा l l
बाचुन्जेल नदिए कुनै चिज मिठो, भोकै परि तड्पिए l
लोकाचार अब लाशमा अघिसरी , चन्दन लगाई दिए l l ९ l l

प्रेतैका मुखमा दिएर तुलसी , रुन्छन् बसेरै अनि l
के कम भो अब त्यो ? लाश डडने अत्तर लगाए पनि l l
देखावट कति गर्दछन् अबुझ झैं, लाजै नमानी किन ?
बुझेको छ समाजले उभयको, नक्कल गरे त्यो दिन l l १० l l

तातो पर्न सके फलाम पनि ता, पग्लिन्छ एक्दिन जसै l
भन्ने सोच बनेर यो छ रचना, लेखिदिएको उसै l l
के भन्लान अरुले ? समाज पनि ता मान्नै परेको छ नि l
माया क्यै नभए परत्र पनि ता, सोचिदिए पुग्छ नि l l ११ l l

सम्झौटो पछि हेर्नको बखतमा, लेखेर छाड्ने भएँ l
भन्ने सोच लिदै बसेर कविता कोर्ने विचारै लिएँ l l
तोकेको कविता नभै विषय क्यै , मिल्ने भएमा कतै l
आक्षेपै नगरुन् ममा रिस नभै, एस्तो कतै पर्छा नै ll १२ l l

छन्द , शर्दुलबिक्रिडीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *