Skip to content

बीस मुक्तकहरू (एउटै छ मुटु मेरो)


१,
एउटै छ मुटु मेरो हजारौंको दाउ त्यस्मै
कति मिठा यादहरू कति दुख्ने घाउ त्यस्मै
एक मुठी ढुकढुकी नि यहींभित्र अडेको छ
भो भो कति गर्छौ तिमी सधैँ आऊ जाऊ त्यस्मै

२,
नयाँ नयाँ आविस्कार विज्ञानले मात्र गर्छ
नौलो दिनको सुरूवात बिहानले मात्र गर्छ
बाँचुन्जेल आसेपासे बरिपरी धेरै होलान्
मरेपछि स्वागत केवल चिहानले मात्र गर्छ

३,
किन यस्तो सम्झनाको बाढी आएको छ?
लाग्छ उनको याद अचेल खाडी आएको छ
यो खाडीमा के छ त्यस्तो र आएको होला?
हरियाली मौसम उतै छाडी आएको छ ।

४,
दुःख पीडा आजभोलि अभाव भएको छ
हाँसे पनि रूनै पर्ने दबाव भएको छ
अचम्मै छ यो दुनियाँ बुझ्दिंन म अचेल
हुन सक्छ समय यो झुकाव भएको छ ।

५,
अलिकति उत्साह पाल्छु आजदेखि
भएजति रिसराग बाल्छु आजदेखि
खुशी लिई बिहानी पूर्वबाट आयो
नौलो एक पाईला चाल्छु आजदेखि

६,
बालुवाको आँधी चल्छ सास फेर्न हुँदैन
मुख छोप्छु जसो तसो आँखा हेर्न हुँदैन
यही मेरो दैनिकी छ मरूभूमि बिचमा
भाग्यमा नै जो छ भोग्नु अब केर्न हुँदैन

७,
पानी माग्यौ तिमीले धारा सुम्पिदिएँ
मुटु माग्यौ यो ज्यान सारा सुम्पिदिएँ
पौडी खेल मायामा चाहे जति तिमी
हृदयको यो फेवा रारा सुम्पिदिएँ ।

८,
कपी दियौ भाग्य लेख्न कलम बिना के गरूँ
चोट दियौ मुटु भित्र जखम बिना के गरूँ
भाग्य पनि मेरै लागि बैमानी भो यो बेला
अशान्ति छ मन मेरो संयम बिना के गरूँ

९,
जवानीको चर्को धुप फाप्दैन कि कसो
तिमीलाई सुन्दर रूप फाप्दैन कि कसो
जताततै हल्ला खल्ला चलेको छ के हो?
सम्बन्ध त्यो गुपचुप फाप्दैन कि कसो?

१०,
रातभरि सपनीमा तिम्रै कुरा हुन्छन्
थाहा छैन चाहना ती कैले पुरा हुन्छन्
मनैभरि तिर्सनाका लाम लागेका छन्
निद्रा खुल्दा शायद ती झुरा झुरा हुन्छन्

११,
बादलुले छेक्छ मेरो नगर आजभोलि
आफ्नै खुशी बेच्छ मेरो रहर आजभोलि
केही पक्कै भएको छ सुवास छैन फूलमा
किन उल्टो देख्छ मेरो नजर आजभोलि?

१२,
चाहे ताकौं आफैलाई सिकार उही हुन्छ
नाम फेरौं ठाउँ फेरौं बिचार उही हुन्छ
सक्छौ भने नयाँ सोंच राम्रो कर्म गरौं
सकिंदैन जिन्दगीको आधार उही हुन्छ ।

१३,
जति बेला गन्तव्यको यात्रा जारी थियो
मलाई रोक्न बाटोभरि आज्ञाकारी थियो
बाधाहरू पार गर्न हिम्मत गरें मैले
मेरो लागि समय त्यो बफादारी थियो ….!

१४,
उषासँगै मिर्मिरेको लाली झर्न थालेकोछ
उमङ्गले जिन्दगीमा खुशी भर्न थालेकोछ
टाढा जाऊ दु:ख पीडा यहाँ तिम्रो काम छैन
नौलो दिनले अर्को यात्रा तय गर्न थालेकोछ ।

१५,
काँडा रोपी फूल खोज्नु ठूलो गल्ती हुन्छ
सबै मान्छे मुर्ख सोच्नु ठूलो गल्ती हुन्छ
कहिले त सकारात्मक सोंचौं अनि गरौं
निर्धोलाई झनै घोच्नु ठूलो गल्ती हुन्छ!

१६,
फूलूँ भने भमराको आँखा लाग्ने डर
नफूलूँ त कोपिला मै वैंस भाग्ने डर
दोधारैमा परेको छु फूलूँ या नफूलूँ
हजारौंले हात थापी माया माग्ने डर ।

१७,
पहाडको फेदीबाट बग्ने पानी हुन सकुँ
सबैलाई साथ दिने भाग्यमानी हुन सकुँ
चाहना त यस्तै थियो घात गर्ने धेरै भए
अब बाँकी जिन्दगीमा सावधानी हुन सकुँ ।

१८,
यति बेला अर्थहिन संघर्षको के महत्व
नटुङ्गिने बाह्रैमासे विमर्शको के महत्व
देश हेर विकासमा सयौं वर्ष पछि पर्यो
हिजो गल्ती भयो भन्ने निष्कर्षको के महत्व?

१९,
सिर्जनामा उमंगको होली हुन सक्छ
संसार नै लठ्याउँने बोली हुन सक्छ
कलमको शक्ति हेर हार्छन् बैरी आफै
लेख्दै जाऊ यही बम गोली हुन सक्छ ।

२०,
दिनरात जति लेख्छु म गजल बनाउँछु
मेहेनत गर्छु अनि म असल बनाउँछु
कोही छैनन् बिना पैसा गाइदिने मान्छे यहाँ
दोबाटोमा गजल कै म पसल बनाउँछु

यहाँहरूले मेरा २० मुक्तक पढ्नुभयो … कस्तो लाग्यो आफ्नो प्रतिकृया छोड्न नभुल्नु होला .. जस्ले मलाई अगाडिको लेखनमा सुधार गर्न सहयोग मिल्ने छ ! धन्यवाद !

गुप्तेश्वर-३,रामेछाप
हाल:अल शोवैब,अबुधाबी, युएई

1 thought on “बीस मुक्तकहरू (एउटै छ मुटु मेरो)”

  1. Dherai raamro laayo hajur
    Dherai raamro laayo hajur kaa muktak haru

    muktak bidhaa maa yeha ko kalam ajhai agaadi bados..

Leave a Reply

Your email address will not be published. Required fields are marked *