रातो मत्स्येन्द्रनाथ रथयात्रासँग भोटोजात्राको सम्बन्ध


नेपाल सानो भएतापनि विविध धर्म र संस्कृतिमा भने संसारमै धनी मानिन्छ । नेपाल अर्थात् काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएकोे शहर, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरु मध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।

हरेकवर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर आषाढ शुक्ल चौथीसम्म करिव दुई महिना मनाइने सांस्कृतिक उत्सवलाई रातो मत्स्येन्द्रनाथको रथयात्रा भनिन्छ । यो रथयात्राको प्रचलन कहिलेदेखि भयो भन्ने तथ्य त्यति स्पष्ट गर्न सकिएको छैन । तथापि मत्स्येन्द्रनाथ आर्य अवलोकितेश्वर र लोकनाथका रुपमा प्रसिद्ध करुणामयीलाई कलिगत ३६०० अर्थात् विक्रम संवत् ४४६ मा नेपालमा ल्याइएको हो भनिन्छ । जेसुकै भएपनि मत्स्येन्द्रनाथलाई नेपालमा ल्याउने राजा नरेन्द्रदेव, बौद्ध आचार्य बन्धुदत्त र रथचक्र ज्यापू तीनजनाले कामरुपीठबाट नेपाल ल्याइएको थियो भन्ने गोरखनाथ सम्बद्ध किवन्दती प्रचलित छ, त्यसताकाका अनेकन कथाहरु सुन्न र पढ्न पाइन्छन् ।

संसारको सृष्टि गर्ने सृष्टिकान्त लोकेश्वर सहकाल ल्याउने बुंगमतीका लोकेश्वर र सुख प्रदान गर्ने कनकमुनि लोकेश्वर हुन् भनी विश्वास गरिएको छ । यसमध्ये पद्मपाणी वा आर्यावलोकितेश्वरलाई नेपालभाषामा बुंगद्यः भनिएको छ । बुंगमती ‘बंग’ शब्दको अप्रंभश हो । हिन्दू कथनअनुसार बुंगद्यः, रातो मत्स्येन्द्रनाथ अर्थात् पद्मपाणी बोधिसत्व ब्रह्माका साथ देवी–देवताहरुका सृष्टिकर्ता र सम्भारकर्ता हुन् । माछाको मुखबाट निस्किएको भनी उहाँलाई त्यसै अनुरुप मत्स्येन्द्रनाथ नामाकरण गरिएको मानिन्छ ।

रातो मत्स्येन्द्रनाथलाई बौद्ध र हिन्दू दुवै सम्प्रदायका साझा देवता मानिन्छ । रातो मत्स्येन्द्रनाथका दुईओटा मन्दिर छन्– एउटा बुंगमतीमा, अर्को ललितपुर तःबहालमा । रथयात्रा समाप्त भएपछि सूर्य दक्षिणायन हुने बेलामा बुंगमतीमा बिराजमान हुने र सूर्य उत्तरायण हुने बेलामा ललितपुरमा बिराजमान हुने चलन छ ।

महास्नान भएको दुई हप्तापछि अर्थात् बैशाखशुक्ल प्रतिपदाको दिन मत्स्येन्द्रनाथलाई खटमा बोकी तःबहालको मन्दिरबाट पुल्चोकमा ल्याई रथमा बिराजमान गराउने चलन छ, तर त्यो दिन रथ तानिंदैन । यसै दिन ललितपुरमा चत्र बहालमा बनाइएको रथमा मीननाथ (जटाधारी लोकेश्वर) लाई बिराजमान गराइन्छ । यो रथचाहिँ रातो मत्स्येन्द्रनाथको तुलनामा निकै सानो हुन्छ । यस रथलाई पनि पुल्चोलमै तानेर लगिन्छ र मत्स्येन्द्रनाथ रथयात्रा अवधिभर यो रथ मत्स्येन्द्रनाथकै रथको साथमा पछिपछि लगिन्छ ।

पुल्चोकबाट गाःबहाल टोलमा बाजागाजासहित धूमधामसँग त्यहाँ ल्याई पुर्याउँछन् त्यसपछि स्थानिय बासिन्दाले रथलाई गाःबहालबाट सुन्धारा पुर्याउँछन् । त्यसरीनै जुन जुन टोलमा रथ पुर्याइन्छ त्यहाँ बेलुका खुसीयालीमा स्थानिय बासिन्दाहरुले आ–आफ्ना नाताकुटुम्ब र इष्टमित्रहरुलाई समेत निमन्त्रणा गरी धूमधामसँग जात्रा भोज खुवाउँछन् ।

मत्स्येन्द्रनाथको रथलाई सुन्धाराबाट लगनखेल पुर्याइएको पहिलो दिन ‘बौ बिगुः’ दोश्रो दिन ‘छ्यवला बु’ र तेस्रो दिन ‘भुज्या’ गरिन्छ भने सोही दिन ५ बजेतिर मत्स्येन्द्रनाथको रथको टुप्पो(शिर)बाट सिंगो नरिवल खसाल्ने एउटा विशेष जात्रा पनि हुन्छ । यसरी रथको टुप्पोबाट खसालेको नरिवल समाउने व्यक्ति निकै भाग्यमानी ठानिन्छ । तर त्यो नरिवल भने समाउनेले पाउँदैन, पूजारीहरुले उसलाई नरिवल समाएवापत दक्षिणा दिई नरिवल फिर्ता लिन्छन् । त्यहि दिन रथलाई लगनखेलको खरीको बोटमा एक फन्को घुमाएर थतिटोलमा पुर्याइन्छ । नरिवल खसालिएको भोलिपल्ट बिहान सबेरै महिलाहरुले मात्र रथ तानेर अन्दाजी १००/१५० हात जति पर नजिकको चार दोबाटोमा पुर्याउने चलन छ । यो महिलाले रथ तान्ने प्रक्रिया विशेषगरी परिवार नभएका एक्लो जीवन बिताइरहेका महिलाहरुका लागि मात्र हो भन्ने लोक कथन छ, यसलाई ‘याक मिसा भव्या’ भनिन्छ । अघिपछि मत्स्येन्द्रनाथको रथ तान्दा लाग्नेमानिसहरुले मात्र तान्ने चलन छ । मीननाथको रथ तान्नेहरुचाहिँ विशेष गरी १६ वर्षमुनिका केटाहरु हुन्छन् ।

रथलाई जावलाखेल पुर्याउनका लागि साइत हेर्नुपर्दछ । मंगलबजारको सोह्रखुट्टेपाटीमा चारथरीका ज्योतिषहरुद्वारा साइत जुराएपछि रथलाई लगनखेल खरिकोबोट देखि जावलाखेल पुर्याउने कार्य शुरु गरिन्छ । रथ जावलाखेल पुर्याएको चौथोदिनका दिन चाहिं भोटो जात्रा हुन्छ । बहुमूल्य रत्नजडित ‘हेलगुजि’ भनिने भोटोलाई गुठी संस्थानका कर्मचारीले रथको बुर्जाका चार कुनामा तीन तीन पटक देखाउने गरिन्छ । यस ऐतिहासिक भोटोका सम्बन्धका अनेक लोककथाहरु प्रचलित छन् ।

राजा गुणकामदेवका पालामा भक्तपुरका नाम चलेका ज्यापू वैद्यले टौदहका कर्कोटक नागराजकी आफ्नी नागिनीको आँखा दुखेको निको पारिदिएको खुशीयालीमा नागराजले उपहार स्वरुप हिराजडित भोटो वैद्यलाई दिइएको र पछि एकजना राक्षसले उक्त भोटो चोरेर लगेको कथन छ । त्यस राक्षसको खोजीको सिलसिलामा ज्यापू वैद्य एकदिन मत्स्येन्द्रनाथलाई जात्रामा पुगेको थियो । त्यहाँ एउटा राक्षसले मानिसको रुप लिई त्यहि भोटो लगाएर आएको देख्यो अनि ज्यापू वैद्यले राक्षसलाई समातेर भोटो माग्यो तर दिन नमानेपछि दुई बीच द्वन्द्व भयो । जात्रा हेर्न आएका राजा सामू भोटोको मुद्दा पेस हुन पुग्यो, राजाले दुवैलाई बोलाएर ‘‘जसले भोटो आफ्नो हो भन्ने साक्षी प्रमाण ल्याउँछ उसैको हुनेछ, लौ साक्षी प्रमाण खोजेर ल्याउ’’ भनेर निर्णय सुनाएर भोटो मत्स्येन्द्रनाथकहाँ नासोका रुपमा सुम्पे ।

राक्षसले प्रमाण ल्याउने कुरानै भएन । ज्यापू वैद्यले भने टौदहको डिलमा बसेर नागराजा कर्कोटकलाई पुकार्न थाले । कर्कोटक नागले ज्यापू वैद्यलाई भने– ‘‘म तपाईंका लागि मनुष्यरुप लिई साक्षी बक्न आउनेछु । जात्रामा म आउने बेलामा ठूलो हुरी चल्नेछ । त्यसबेला मलाई चिन्नू । म अरु मानिसहरुभन्दा एक बित्ता अग्लो हुनेछु । नासो रहेको भोटो तपाईंको हो भनेर साक्षी प्रमाण दिनेछु ।’’ ज्यापू वैद्य भोटो मेरै हुने भो भनेर घर फर्के ।

अर्को कथनअनुसार, भोटोको विषयमा ज्यापू वैद्य र राक्षस घमासान झगडा भयो । उक्त झगडा मत्स्येन्द्रनाथको घःमाः भएर बसेका कर्कोटक नागराजाले देखेर आफूले वैद्यलाई दिएको भोटो खोस्न पुग्छन् । खोसिसकेपछि नागराजाले ‘‘यो भोटो तिमीले लगाएर हिंडेको भएपनि एउटा राक्षसले चोरेर लिइसकेको छ । त्यसैले आइन्दा यो तिम्रो पनि होइन, त्यो राक्षसको पनि होइन । जबसम्म कोही यो भोटो मेरो हो भनी स–प्रमाण लिएर आउँदैन, तबसम्म यो मत्स्येन्द्रनाथको हुनेछ’’ भनि रथमाथि बसेर राजासहित सवालाख मानिस भेला गरेर सबैलाई देखाएर मत्स्येन्द्रनाथको जिम्मामा दिन्छन् । त्यसैबेलादेखि जावलाखेलमा मत्स्येन्द्रनाथको रथयात्राका दिन उक्त भोटो देखाउने गरियो भन्ने भनाइ पनि चलनमा रहेको छ ।

यस्तै अर्को भनाइअनुसार कर्कोटक नागले दिइ पठाएको उक्त भोटो लगाएर खेतमा काम गरिरहेका बेला दुइटा राक्षसहरुले चोरेर लगेछन् । दुःखी भएर बसेका ज्यापू वैद्यलाई देखेर मत्स्येन्द्रनाथले उक्त भोटो फिर्ता लिन जाँदा चुनिखेतको ‘इकुम्ब’ भनिने मुहान पोखरीको किनारमा राक्षसहरु बसेर भोटो आधा आधा बाँडेर लिने कुरा गरिरहेको बेला मत्स्येन्द्रनाथ पुगे– ‘‘यो भोटो कसरी आधा पार्छौ ?’’ भनी खोसे । अनि फेरी भने ‘‘यो भोटो त्यसैको हुनेछ, जो यो पोखरीमा धेरै बेर पौडेर बस्न सक्दछ’’ । मत्स्येन्द्रनाथको यस्तो कुरा सुनेर दुवै राक्षसहरु पोखरीमा पौडन थाल्छन् त्यहि मौका छोपी मत्स्येन्द्रनाथ भोटो लिएर आफ्नो बाटो लाग्छन् । त्यसैबेला मत्स्येन्द्रनाथले ‘‘यो भोटो जसको हो, जावलाखेलको जात्रा र बुंगमतीमा हुने जात्रामा लिन आउनू’’ भनी गएको भनिन्छ । विगत १३ सय वर्षदेखि राजा र प्रजाका बीचमा जावलाखेलमा हुने मत्स्येन्द्रनाथको रथयात्रामा भोटो देखाउने जात्रा पनि गाभियो । अद्यपि त्यो भोटोजात्रा चलेकै छ । अझ भनौं मत्स्येन्द्रनाथ रथयात्रा भन्दा पनि आम जनमानसमा भोटोजात्रा भनिन थालियो ।

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि मत्स्येन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट शुरु हुन्छ । त्यस्तै प्रत्येक १२ वर्षको एकपल्ट बुंगमतीबाट रथयात्रा शुरु गरी ललितपुरको नगर परिक्रमा पश्चात् बुंगमतीमानै बिसर्जन गरिन्छ ।

मत्स्येन्द्रनाथको रथयात्राको अन्तिम तथा महत्वपूर्ण दिन पनि यहि भोटोजात्रा दिन हो । त्यसदिन बिहानैदेखि जावलाखेलमा श्रद्धालु भक्तजनहरुको भीड लागेको हुन्छ, त्यहाँ भोटोजात्रामा राष्ट्रप्रमुख समुपस्थिति हुने परम्परा रहिआएको छ ।
e-mail: [email protected]

गोरखापत्र दैनिकमा २०७१ बैशाख २० गते प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “रातो मत्स्येन्द्रनाथ रथयात्रासँग भोटोजात्राको सम्बन्ध”

  1. मच्छेन्द्रनाथलाई पानी पार्न
    मच्छेन्द्रनाथलाई पानी पार्न लिन गएको प्रसंग त आएन नि, त्रिचन्द्रजी !

    1. जानकारी गर्दछु
      राजा नरेन्द्रदेव, बौद्ध आचार्य बन्धुदत्त र रथचक्र ज्यापू तीनजनाले कामरुपीठबाट नेपाल ल्याइएको थियो । नेपालमा पानी नपरेको कारण ल्याईएको हो । सो भनाई छुटिएको जानकारी गर्दछु ।

  2. जानकारीको लागि धन्यवाद छ,
    जानकारीको लागि धन्यवाद छ, त्रिचन्द्रजी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *