Skip to content

सिंहवाहिनी -१४- चौधौं अध्याय (चिक्षुर सेनापति र देवीको लडार्इँ)


चिक्षुरको सेनाशक्ति सबै मरेपछि
चिक्षुर त रुन थाल्यो यहाँ कति कति

अब उस्को उपाय त आँफै लड्नु थियो
बाँकी शक्ति बटुलेर लड्ने स्थान लियो

बाणहरू बर्षउँदै देवीतिर बढ्यो
अस्बशस्त्र बटुलेर रथमाथि चढ्यो

मूसलधारे बर्षाजस्तै बाण बर्षाउने
प्रयास त ठूलै थियो देवी तर्साउने

जगदम्वा भवानीको शक्ति ठूलो थियो
बाणजति विफलपारी ठूलो स्थान लियो

घोडा पनि चिक्षुरको बाणले मारिदियो
सारथीले पनि हेर संसार त्यागिलियो

धनुष पनि नासिनगो रथी घोडा मरे
ढाल तरबार लिदै चिछुर देवीतिर बढे

शक्तिशाली चिक्षुरले सिंह घायल पार्यो
चिक्षुर एक्लै देवीलाई पार्न थाल्यो गाह्रो

सिंहलाई घायलपारी देवीतिर बढ्यो
तरबारनै भाँच्चियो उस्मा क्रोध चढ्यो

चिक्षुरले शूललियो ताको देवीलाई
प्रकाशमय भयो शूल देवी मार्नलाई

देवीबाट पनि शूल शूलैतिर फालिन्
हजारौं टुक्रापारी चिक्षुरलाई ढालिन्

हुँकार छोडिन् देवीले त्यसै चामर ढल्यो
शक्तिपुञ्ज दनदनायो त्यहाँ आगो बल्यो

उठ्यो चामर ढलमल गर्दै हानो त्यसले शूल
हुन गयो विफल शूल त्यहाँ छैन अनुकुल

बाणबाटै देवीले टुक्रा टुक्रा पारिन्
चामरको शक्तिलाई सहजमै टारिन्

सिंह पनि क्रोधित भयों चढ्यो हात्ती शीरमा
त्यहाँ बाहुयुद्ध हुन थाल्यो पुगे दुबै भीरमा

खसे दुबै पृथ्वीमा तब पनि लडे
लड्नलाई दुबै अलिक अघि बढे

सिंह उफ्र्यो गगन छुँदै चमर माथि झर्यो
चामरको शरिर त्यो त दुई टुक्रा नै पर्यो

जब चामर तन दुइ टुक्रा भइ भूतलमा खस्यो
तब उग्रावीर सशस्त्रली लड्न रणक्षेत्रमा पस्यो

देवी पनि मुस्कुराइन् भुसुना नै ठानी
शिला–बृक्ष लिएरनै भयो हाना हानी

देवीजीको सारा तन हो नै शक्ति पुञ्ज
उग्रा पनि ढल्न गयो शस्त्र बन्यो कुञ्ज

कराल वीर अघि सर्यो विकराल बनी
जति आए लड्नलाई मारिन् गनी गनी

उद्धतलाई जब देखिन् गदा लिदी भइन्
तब सारा दैत्य गणको शक्ति खिची लिइन्

उद्धत पछि भिन्दीपाल अनि मर्यो बासकल
ताम्र अनि अन्धक पनि बन्न गए बिफल

उग्रास्य र उग्रवीर समेत महाहनु
यै रणमा विलिन भए संख्या कति गनु

विडाल दुर्धर दुर्मुखको अनि पालो आयो
रणक्षेत्र जति सबै त्यहाँ अन्धकारले छायो

यिनका सबै शीर जति एक एक गरि ढले
महिषासुरले हेर्दै गयो नेत्र उसका जले

भजन

मारिन् देवीले मारिन् देवीले
महिषासुरका सेनाजति मारिन् देवीले

महिषासुरका सेनाजति रणक्षेत्र पुगे
देवीशक्ति देखे पछि तिनी सबै झुके
मारिन् देवीले

दैत्यसँग लड्न थियो देवीलाई त्यहाँ
महिषासुरका थिए वीर सेनापति जहाँ
मारिन् देवीले

एक एक गरी दैत्यशक्ति ढालिन् देवीले
लाल लाल गरी नेत्रज्योति बालिन् देवीले
मारिन् देवीले

नानाथरी आभूषणले सुसज्जित भइ
नानाथरी अस्त्रादिले करकमल भरी
मारिन् देवीले

हुङ्कारले सारा गगन शंखनाद गर्दै
महिषासुरका सेनाका लहुलाई छर्दै
मारिन् देवीले

जय देवीको जय देवीको
मंगलदायिनी देवीको जय देवीको
मारिन् देवीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *