भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ त्यो आकृतिको उपस्थितिले मन मनै रिश पनि उठिरहेको थियो । तैपनि संयमित हुँदै बत्ती बालेर हेर्छु त बिघ्नहर्ता लम्बोदर गणेश पो हुनु हुँदो रहेछ । सम्पूर्ण थकाई तथा रिस जति हावामा कपुर जस्तै उडेर कता बिलायो बिलायो ।
मैले धनुषटंकार नमस्कार गर्दै भने, “हे भगवन आज मेरो कुटी पबित्र भयो, म धन्य भएँ । मेरो जन्म सार्थक भयो । आज्ञा बक्स्योस प्रभु ! यो सेवकले हजुरको के सेवा गरूँ ?”
भगवानले आज्ञा गर्नु भयो, “हे वत्स ! डाक्टर प्रसून विभा श्रेष्ठ तिमी नै होइनौ ? ”
मैले भनें, “हो प्रभु ।”
प्रभुले आज्ञा गर्नुभयो, “हे वत्स, मैले तिम्रो नाम धेरै सुनेको छु । आधुनिक चिकित्सा क्षेत्रमा तिम्रो सफलताको सुगन्ध जम्बुदिपभरि फैलिएको छ ।”
मैले भनें, ” भगवन यो हजुरकै आशीर्वादको कारणले हो । हजुरको कृपा सदा यसरि नै रहिरहोस् ।”
प्रभुले आज्ञा गर्नु भयो, “हे वत्स ! यो मेरो आशीर्वादले होइन तिम्रो आफ्नै मेहनतको कारणले यहाँसम्म आईपुगेका हौ । तिम्रो हातमा जादुगरी शक्ति छ भन्ने मैले सुनेको छु । त्यसैले तिमीबाट मेरो समस्याको समाधान हुन्छ भन्ने बिश्वास लिएर तिमीकहाँ आएको हुँ । के तिमी मेरो समस्याको समाधान गर्न तयार छौ ?”
मैले बिन्ती गरेँ, “हजुर आफै बिघ्नहर्ता संकटमोचनका प्रतिरुप अनि हजुरलाई नै कस्तो बिघ्न बाधा र संकट आइलाग्यो त प्रभु ?”
“म यति बेला मानसिक र शारीरिक पीडाले आहत छु, मलाई व्यंग्य नगर वत्स ! मेरो समस्या सुन ! मेरा अदुरदर्शी र अव्यवहारिक तथा अवैज्ञानिक माता पिताको कारण आजसम्म मैले यो दुख झेलिरहनु परेको छ । जब म करिब तीस पैतीस किलो वजनको बालक थिएँ, माताको आज्ञा बेगर खोपीभित्र प्रवेश गर्न नदिएको झोकमा महादेवले मसँग युद्ध गर्नु भो । म एउटा फुच्चे बालकसँग शक्तिशाली महादेवलाई युद्धमा पराजित गर्ने शक्ति हुने कुरै भएन । त्रिशुलले मेरो गिँड टाउको छुट्याएर मेरो हत्या भयो । मेरो हत्या भएको माताले थाहा पाउनु भएछ र महादेवसँग अनुनय बिन्ती गर्नुभएछ । यो बालक हजुरको र मेरो पुत्र हो भनेर माताले भन्नुभएपछि मेरो पिता महादेवले त्यहीं नजिक रहेको मेरो टाउको नजोडेर जंगल चहारेर अजंग हात्तीको तीस पैतीस किलो वजनको टाउको मेरो शरीरमा जोडेर मलाई ब्यूँताउनु भएछ । अहिले मलाई यही हात्तीको टाउको धान्न सार्है गाह्रो भएको छ । चल्न फिर्न कठिन भएकोले एकै ठाउँमा बसिरहँदा भुँडी लागेर ठुलो भएको छ । हे डाक्टर प्रसून, मेरो यो हातीको टाउको फालेर मान्छेको टाउको राखी दिनु पर्यो । मेरो लागि यो ठुलो कल्याण हुनेछ ।”
प्रभुको यो बिन्तीभाउले मलाई फसाद पर्यो । हुदै हुँदैन भनेर ठाडो इन्कार पनि कसरी गर्ने ?
मैले मनमनै उपाय सोंच्न थालें र उपाय सुझे पछि मैले भनें, “भगवान, हजुरको यो अदना भक्तभन्दा महाबुद्धिमती बिद्याकी खानी हजुरकी दिदी सरश्वती हुनुहुन्छ । उहाँले हजुरको यो समस्याको समाधान दिन सकिबक्सन्थ्यो कि ?”
मेरो यो कुरा सुनेर संकट मोचन बिघ्नहर्ता भगवानले मुखै अमिलो बनाऊँदै आज्ञा भयो, “हे वत्स, म तिमीकहाँ आउनु पुर्व सरश्वती दिदीलाई पनि भेटिसकेको छु, । दिदीले भन्नु भयो, ‘हे भाई गणेश ! यदि म त्यस्तो बिद्या र बुद्धि दान गर्न सक्षम भइदिएको भए मेरो पूजा आराधना गर्ने भक्तहरू कुनै पनि परीक्षामा असफल हुनै पर्दैनथ्यो । दुनियाँका अरु मानिसभन्दा शिक्षित र बुद्धिमान बनाई दिने थिएँ । अरुले जस्तै चन्द्र र मंगल ग्रहमा यान पठाउन सक्ने बनाई दिन्थें । प्रकृतिले दिएको बरदानलाई ब्यबस्थित गरेर अरु भन्दा धनी हुने थिए । हेर न, म पनि एउटी नारी हुँ मेरा भक्त नारीहरू पुरुषबाट हेपिएका छन्, शोषिएका छन् । नारीको पुरुष निर्भर जिन्दगी पनि कुनै जिन्दगी हो । उनीहरूको लागि त मैले केही गर्न सक्दिन भने तिम्रो लागि मैले के गर्न सकुँली र ?’ सरश्वती दिदीबाट निरास भएर म माता लक्ष्मी भए ठाउँमा पुगेर बिन्ती गरेँ, ‘हे माता ! मेरो यो समस्याको समाधान गर्न म अमेरिका जान चाहन्छु मलाई अलिकति धन दिई बक्स्योस् न !’ मेरो कुरा सुनेर माता लक्ष्मी खिस्स हाँस्नु भो र भन्नु भो, “पुत्र गणेश ! शास्त्रमा लेख्नेहरूले के के लेखिदिए के के आपत मलाई परेको छ । म त्यस्तो धनकी देवी भएको भए कर्म नगरी धनको आशा गर्ने मेरा भक्तहरूलाई यो दुनियाँको सबै भन्दा धनी बनाई दिन्थें । उनीहरू नै सबै भन्दा गरिब किन हुन्थे र ? कर्म गरे मेरो ब्रत उपासना केही नगरे पनि धन प्राप्त हुन्छ त्यसैले जाऊ पुत्र गणेश ! कर्म गर ।’ माताको ओंठे जवाफ सुनेर रन्थनिदै थिएँ मेरो वाहन मुसाले भन्यो, ‘प्रभु ! निरास नभईस्योस् हजुरको समस्या समाधान गर्न सक्षम डाक्टर जम्बुदीपमा जन्मेको छ, उसलाई एक पटक भेटिबक्स्योस्’ भन्ने सल्लाह पाएर म तिमीलाई भेट्न आएको हुँ वत्स !”
चिकित्साविज्ञानमा अहिलेसम्म शरीरको अरु अंग ट्रान्सप्लान्ट गर्ने पद्धतिको विकास भए पनि टाउको ट्रान्सप्लान्ट पद्धतिको विकास भएको छैन अब मैले गणेश भगवानलाई कसरी सम्झाउने ? कसरी पन्छाउने आपत पर्यो । मनमनै धेरै गमें, युक्तिहरू सोंच्न थालें अन्तिममा एउटा युक्ति सुझ्यो र मैले प्रभुलाई बिन्ती गरेँ, “भगवन ! हजुरका पिताले हजुरको शरीरमा हात्तीको टाउको जोडी बक्स्यो भने मान्छेकै टाउको पनि जोड्न सकिबक्सनेछ । उहाँ हजुरको पिता होइबक्सेकोले पुत्रको पीडा पनि अबश्य बुझी बक्सने छ । एक पटक हजुर पिता महादेवलाई भेटि बक्स्योस र दुई हप्तापछि मलाई भेटिबक्स्योस ।”
“मेरा पिता महादेव त्यति त्रिलोक दर्शी हुनुहुन्थ्यो भने बरदान दिएपछि यही भस्माशुरले आफैलाई लखेट्नेछ भन्ने दूरदर्शिता नभएका मेरा पिता महादेवलाई कसरी त्रिकालदर्शी भन्ने र खोइ ! त्यहीं नजिकै रहेको मेरो टाउको छोडेर सारा जंगल चहारेर हात्तीको टाउको ल्याएर मेरो तीस किलो वजनको शरीरमा पैतीस किलो वजनको हात्तीको टाउको किन जोड्नु हुन्थ्यो र ? हेर्दै जाऊ वत्स, कुनै दिन मेरा पिता पनि तिमीसँग सहायता माग्न अबश्य आउने छन् । बरु भन के तिमी मेरो सहायता गर्न असमर्थ छौ ?” लम्बोदरबाट किञ्चित रोब साथ आज्ञा भयो ।
मैले भनें, “रिसानी माफ होस् प्रभु हजुरको पितालाई भेटि बक्से पछि पनि भएन भने मलाई भेटिबक्स्योस् ।”
मेरो कुरा सुनेर लम्बोदर भगवन गणेश केही आशा वादी केही निराश भावमा अन्तर्ध्यान हुनु भयो ।
***** ***** ******
अन्तिम पेसेन्टको चेकअप सक्दा घडीमा एघार बजेको थियो । थकाइले लखतरान भएर आराम गर्न जब म आफ्नो च्याम्बर बन्द गरेर घर जान बाहिर निस्कनै लागेको थिएँ झमझम भदौरे झरीमा रुझ्दै एउटा आकृतिले मेरो बाटो छेक्यो ।
“यो के अशिष्टता हो? इड़ियट्स नन्सेंस !” मेरो बाटो छेक्ने त्यो आकृतिलाई मैले गाली गरेँ ।
आकृतिले शिष्ट भाषामा भन्यो, “माफ गर डाक्टर ! तिमीलाई भेट्ने यही एउटा समय मात्र शेष थियो । मलाई भित्र आउन दिन सक्छौ ?”
त्यो आकृतिको शिष्ट ब्यबहारले र म आफू डाक्टर पेशाको मर्यादाले च्याम्बरको ढोका र बत्ती पुन बाल्न प्रेरित गरिरहेको थियो । को होला यो आकृति जो यसबेला रातमा डाक्टर भेट्न आइरहेको छ भन्ने उत्सुकताले बत्ती बालेर हेर्छु त बायाँ हातमा त्रिशुल र दायाँ हातमा डमरु लिएर जटाजुटधारी भगवान श्री पशुपतिनाथ !
मैले तुरुन्तै साष्टांग दण्डवत गर्दै भनें, “हर हर महादेव ! सदा शिव-शंकर जय होस् ! हजुरको साक्षात दर्शन पाएर यो अकिञ्चन मनुवाको जीवन सार्थक भयो प्रभो !”
मैले नजिकैको आफ्नो कुर्सी देखाउँदै मैले भनें आशन ग्रहण गरिबक्स्योस प्रभु ! श्रीमहादेवले आशन ग्रहण गरिबक्सेपछि मैले भनेँ, “आज्ञा होस् प्रभु, के सेवा गरूँ ?”
श्रीमहादेवबाट आज्ञा भयो, “डाक्टर प्रसून ! लुतो दाद घाउ खटिराले म व्यथित छु, मेरो उपचार गरिदेऊ ।”
मैले श्रीमहादेवको शरीर जाँच गरेँ । शरीरभरि, शिवलिङ्गभरि ढुंगामा लेउ लागे जस्तो, धातुमा खिया लागे जस्तो दागै दाग देखेर बिन्ती गरें, प्रभु ! यो सबै फोहर दुषित पानीको परिणाम हो, डेटोल साबुन र शुद्ध सफा पानीले नुहाएर यो क्रिम लगाइबक्स्योस, सन्चो हुन्छ । चिन्ता नलिइबक्स्योस्,” मैले डेटोल साबुन र क्रिम दिदै भनेँ । “हजुरले स्नान गर्ने नदीमा सेफ्टीटंकी र ढल मिसाउने फोहर दुषित तुल्याउने हातहरूलाई दण्ड दिनु पर्यो प्रभु !”
श्रीमहादेव मुसुक्क हाँस्दै आज्ञा भयो, “ती तिनै हातहरू हुन् जसले मलाई गाईको दूधले स्नान गराउँ छन् र मेरो पूजा आराधना गर्छन । मैले ती हातहरूलाई कसरी दण्ड दिन सक्छु, डाक्टर ?”
“ए त्यसो पो ! रिसानी माफ भए एउटा अर्को कुरा बिन्ती गरूँ कि प्रभु ?”
मेरो सेवाले अनुगृहित हुनुभएजस्तै श्रीमहादेवले आज्ञा दिनु भयो, “हुन्छ, एउटा होइन दुइटा सोध ।”
त्यही बेलामा मेरो मोबाईलको घन्टी बज्यो । फोन घरबाट आएको हो भन्नेमा म पहिले नै सचेत थिएँ । फोन रिसिब गर्दै मैले भनें, “ए पर्ख, म एक छिन ढिलो हुन्छु ।”
फोन बन्द गर्दै भनें, “प्रभु ! एक हप्ताअघि मात्र भगवान श्रीगणेश पनि मलाई भेट्न आईबक्सेको थियो ।”
प्रभुले उत्सुकता जाहेर गर्दै भन्नु भयो, “किन आएको रहेछ ?”
मैले उत्तर दिएँ, “प्रभु ! उहाँको शरीरमा हजुरले हात्तीको टाउको जोडी दिईबक्सेकोले त्यो टाउकाको बोझले गर्दा पीडा भयो रे । त्यो टाउको फालेर मान्छेको टाउको जोडिदिनु पर्यो भन्ने श्रीगणेशको ईच्छा थियो । मैले ‘अहिलेसम्म चिकित्शा विज्ञानमा त्यो प्रविधिको अविष्कार भैसकेको छैन । हजुरकै पिताले सकिबक्सन्छ’ भनेर फिर्ता पठाईदिएको थिएँ । के हजुरबाट त्यो सम्भव छैन ?”
एकै छिनको मौनतापछि श्रीमहादेवबाट आज्ञा भयो, “डाक्टर ! तिम्रा मस्तिष्क र शरीर दुवै युग चेतले भरिएको आधुनिक रहेछ । बैज्ञानिक युगको तिम्रो मस्तिष्कले के भन्छ ?”
मैले बिन्ती बिसाएँ, “प्रभु ! विज्ञानमा असम्भव भन्ने केही पनि हुँदैन । तर अहिलेको समयसम्म आइपुग्दा मान्छेको टाउको प्रत्यारोपण गर्ने प्रविधिको अविष्कार भैसकेको छैन भने परापूर्व कालमा हजुरले मान्छेको शरीरमा त्यो पनि एउटा बालकको शरिरमा हात्तीको टाउको प्रत्यारोपण गरिबक्सेको होला भन्ने कुरामा म सहमत छैन । मलाई पत्यार लाग्दैन । बरु यस्तो हुनसक्छ परापूर्व कालमा कुनै एउटा गणपति वा राजाको छोरा हात्ती जस्तै वलवान र बुद्धिमान थियो होला र हात्तीको जस्तै असीम शक्ति भएको कारणले जनताले उसलाई हात्तीको टाउको आकृतिको मुकुट पहिर्याईदियो होला । कालान्तरमा त्यही हात्ती टाउके मुकुट उसको मुर्तीमा टाउको बनेर रहन पुग्यो । त्यसैलाई कुनै एउटा उडन्ते मस्तिष्कका प्रतिभावान कविले आफ्नो धार्मिक आवरण दिएर सुन्दर काव्य रचे होलान् ।”
“सटिक उत्तर दियौ तिमीले यी सब उडन्ते मस्तिष्कको सुन्दर आख्यान काव्य हुन् । हामी संपुर्ण देवी देवताहरू पनि तिनै उडन्ते मस्तिष्कका सुन्दर काव्यमा सिर्जना गरिएका विम्ब प्रतीक वा पात्र हौँ । जबसम्म त्यस्तै मस्तिष्कको अस्तित्व रहने छन् तबसम्म हाम्रो अस्तित्व पनि रहने छ । जसलाई राजा महाराजा र सामन्तहरूले आफ्नो पक्षमा प्रयोग गरे, शक्तिशाली पनि बनेँ । हामी त केवल आस्थाका देवी देवता हौँ । आस्था जीवित रहेसम्म हामी पुजिने छौं र आस्थाको मृत्यु हुँदा हामीलाई कुल्चने छन् र कुल्ची रहेका पनि छन् । हामीलाई कुल्चने खुट्टाहरूलाई कुनै दण्ड दिन हाम्रो सामर्थ छैन । न त हाम्रा भक्तहरूको कुनै कल्याण गर्न सक्छौं । केवल आस्थाका बन्दीहरूलाई झुक्याउन, ठग्न, कुकर्म गर्नेको फलिफाप बनाउन राजा महाराजाहरूले उडन्ते मस्तिष्क भएका प्रतिभावानहरूलाई आफ्नो पक्षमा लिन सफल भए । त्यसैको ब्याज स्याज त्याजमा उडन्ते मस्तिष्कका छोरा नाती पनातिहरू पालिएका छन्, पोषिएका छन्, तर अब ती दिन गए जस्तो छ । अरु पनि केही जिज्ञासा छ कि डाक्टर ?”
मैले शीर निहुरौँउदै भनें, “धन्यवाद प्रभो ! अब जिज्ञासा नै के रह्यो र ?”
अलख निरन्जन उद्घोषका साथ डमरु बजाउँदै श्रीमहादेव अन्तर्ध्यान हुनु भयो । डमरुको तिखो आवाजले म ब्युँझें, अनन्त अनन्त निद्राबाट ब्युँझें । ब्युँझदा शरद ऋतुको स्वागत गर्दै झलमल्ल घाम लागेको थियो चेतनाको घाम । मेरी चार वर्षे छोरीले आफ्नी आमासँगै पूजा कोठामा बसेर डमरु बजाइरहेको आवाज आइरहेको थियो ।
(प्रस्तुत कथाको उद्देश्य कुनै धार्मिक आस्था माथि चोट पुर्याउनु भन्दा पनि धार्मिक अन्ध भक्तिले सिर्जेको विसंगत पक्ष उजागर गर्नु हो । म पनि हिन्दु हुँ । हिन्दु संस्कार र संस्कृति समय सापेक्ष सुधार हुँदै जानु पर्दछ । दुईदेखि पाँच हजार बर्षपूर्वको रीति रिवाजलाई साइबर युगमा पनि अक्षरस पालना गर्नु पर्छ भन्ने मान्यताको भद्र बिरोध हो यो कथा र धेरैले मन पराएका पनि छन् । यस कथा प्रकाशनबाट सिर्जना हुने सम्पूर्ण अप्ठ्याराहरूको जिम्मेवारी वहन गर्न म सक्षम छु । – लेखक)
