Skip to content

यो साँझ, यो शहर मेरो पनि हो


कन्चट फुट्लाजस्तो भैरहेको थियो । साँघुरो कोठा जहाँ पर करिडोरबाट आइपुगेको दुई धर्सो मधुरो उज्यालोमा आफूलाई एउटा कुनामा पोको परेर थरथर काँप्दै गरेको पाई उसले । अचम्मको अस्तव्यस्तता थ्यो ।

आँखाबाट एक हुल उदासी फाल हालेर मानौ कोठाभरी व्याप्त भए । आफ्नै हलियाको अनुगमन गरी उसले । अलिक पुरानै ब्याग जो ऊसँग भएका मध्यकै नयाँ, अर्दानो भैसकेको जिन्स प्यान्ट त्यो पनि दुर्भाग्यबस् बाँसको र्याकमा राखेकै बखत मुसाको मनोमानीले कोत्रिएका ठाउँमा टालेको दुई चम्किला स्टिकरधारी, ह्वांग्लांग परेको टिसर्ट, कानमा साना इयररिंग । अँ, जुत्ता चाहिं शरीरमा बहाल अन्य सबै चिजभन्दा नयाँ जो ऊ आफैंलाई पनि अलिक भद्दा लाग्दालाग्दै पनि लगाएकी थिई । सबैभन्दा मिल्ने साथि मामाघर घुम्न जाँदा किनेर ल्याइदिएको त्यही अलिक भड्किलो जुत्ता जो बिहानै घरबाट निस्किन्दा लगाएकी थिई ।आफूसँग भएका मध्ये कोही खुर खुस्केका, कोही फित्ता चुंडिएका त कसैको रंग खुइलिएर असाध्य विकृत भएका हुँदा त्यही भड्किलो जुत्ता नै भिरेर निस्केकी थिई । उसलाई के थाहा त्यही मुसाकाटे टालेको प्यान्ट र भड्किलो जुत्तापनि उसलाई ‘खोर’सम्म ल्याउने कारण बन्न सक्लान भनेर ।

“… म त्यस्तो केटी होइन दिदी! म त कलेजबाट भरखर निस्केर घर जाने गाडी खोज्दैछु …,” भनेर भनी नसक्दै तीमध्ये कोही जंगिएको थियो, “त्यो त तेरो टालेको प्यान्ट र उत्ताउलो जुत्ताले नै कलेजको परिचय दि’राछ नि !”

हो एउटा अत्यन्त वर्जित, लज्जास्पद र दुखद कुरो भएको छ कि ऊ आज बिना कुनै प्रयोजन प्रहरी चौकीमा ल्याइएकी छे यानेकि चल्तीको भाषामा भन्नुपर्दा ‘खोर’ मा जाक्किएकी छे ।

किन? के? कसरी? भै सोच्नु भन्दा पनि उसलाई यतिबेला अचम्मको रिस उठिरहेको छ । प्रहरीले हठात् कठालो समात्दा,जबरजस्ती भ्यानमा खोच्दा र लगातार एउटा अकल्पनीय, अपशब्द आरोपी नाम ‘वेश्या’ ले अलंकारित गर्दै खोरसम्म पुर्याउँदासम्म ऊ लगातार रोइरही । हात जोडेर याचना गरिरही र “..मलाई छोडिदिनुस प्लिज! म वेश्या होइन” भनेर गिड्गिड़ाई रही । हठात् आइलागेको बिपतले उसलाई भित्रैसम्म हल्लाईदिएको थियो । त्यसबेला सबै भन्दा धेरै बुढी आमाको सम्झना आयो उसलाई ।

“..यो खबर सुनिन् भने त त्यसै मुटु नै फेल भएर मर्छिन होलि आमा त … !” कल्पना मात्रै गर्दापनि भाउन्न भएर आयो उसलाई ।

त्यसपछि दाइभाउजू, भाइ, बहिनी, आफन्त, छरछिमेक, साथीभाइ सबैसबैलाई सम्झिन्दै भित्रभित्रै सम्भावित बेइज्जतीको राँकोले असिनपसिन बनायो उसलाई । रुँदा रुँदा आँखा सुन्निसके, त्यसमाथि प्रहरी भनाउदाहरूको अति तुच्छ र भद्दा अनि अश्लिल शब्द र सम्बोधनले झनै विक्षिप्त बनेकी थिइ। तर केही घण्टा अघिको उसको याचानाभरी अनुहार यतिबेला क्रोधको ज्वालामा रन्किरहेको थियो ।

उसले हजारबार भनिसकी, “… सर! म वेश्या होइन ! दिदी! पशुपतिनाथको कसम! म त्यस्तो केटी होइन । म त कलेजबाट निस्केर गाडी कुर्दै थिएँ, तपाईहरू आएर समात्नुभयो ।”

“… ओइ! चुप लाग्! तँ जस्तिको मुखबाट कलेजको नाम? अझै चोखिन खोज्छेस?”

के जवाफ देओस उसले । संयोग नै त्यस्तै थियो कि आजै नै उसको झोलामा एउटापनि किताब थिएन सिवाय दिउँसो किनेको एउटा रफ कपी र पेन । बिहान काममा जाँदा कलेज आज कलेज जाने सोचाइ नै थिएन । बाँच्नको लागि सहरकै एउटा कपडा पसलमा सेल्स्गर्लको रुपमा काम गर्थी । बिहान ९ बजे देखि बेलुकी ६ बजेसम्म लुगाहरू फिजाउने र पट्टयाउने काम गर्नु पर्थ्यो केही हजार रुपैयाको लागि । माथि पुग्नको लागि त कि आफ्नो मान्छे ठाउँमा हुनु पर्यो कि चोरबाटो समात्न पर्यो नत्र त यस्तै हो यो मुलुकमा भन्ने जानेरै पनि सकिनसकी साँझ बिहान गरेर केवल पास डिभिजनको पढाइलाई लतारिरहेकी थिई । काम र पढाइ सकेसम्म संगसंगै जाओस भनेर काम गर्ने ठाउँ देखि अलिक पल्तिरको कलेजमा रात्री सत्रमा भर्ना भएकी थिई । हुन त कलेज जाने भनेको आक्कल झुक्कल महिनामा एकाधपटक हो । जागिरबाट बचेको समयलाई यात्रामै,घुमघाममै र घरमै मिलेसम्म पढेर नै परिक्षा दिंदै आएकी हो उसले आजसम्म । त्यसदिन भने कपडापसलको जागिरबाट अलिक छिट्टै छुट्टी मिलेको ले एसो कलेज पसौं न त भन्दा त्यो आपत आइलागेको थियो उसलाई । एक त निकै समयपछि को कलेज टेकाइ, उसमाथि उसलाई मनपर्ने साहित्यकारको लेक्चर क्लासको पनि साइत जुरेको हुँदा बेलुकीको समय घर्केको उसलाई पत्तै भएन ।

क्लास सकिएपछि हतार हतार गेटबाट निस्केर अलिक पर्तिरको बसस्टपसम्म पुग्दा स्याँस्याँ गरी स्वास फुलिसकेको थियो । ओहो! यति राति त कहिल्यै भएको थिएन, अब घरतिर जाने बस् भेटिएन भने बित्याँस परेन त! हतारमा खुट्टा पनि लर्बरौंदै चोकसम्म पुगी । छेउछाउका गल्ली र घरतिर बात कुकुर भुकेको कर्कश आवाज बाहेक अरु केही छ जस्तो लागेन उसलाई चोकमा । सडकमा गाडीका चाप अत्यन्त न्यून थियो । हुन त त्यसबेला त्यस्तै रातको ९ बजेको हुँदो हो तर खोइ किन हो सडक यति बिघ्न सुनसान? र नभन्दै उसको घरतिर जाने गाडी एउटा पनि नजर आएन । हुन त सहरबाट उसको घर पुग्न जाम नपरी हाँकेको बेला बसले त्यस्तै ४० मिनेट जति लगाउथ्यो । यसलाई बिकट नै त के भन्नु तर साँझ-बिहान ओहोरदोहोर गर्नलाई भने अलिक अपायक नै भन्नु पर्यो । के गर्ने नगर्ने भनेर सोच्न नभ्याउदै मोबाइल डायल गर्न खोजी घरतिर तर दुर्भाग्य! ‘ब्याट्री लो!’ को सिग्नलसँगै मोबाइल सेट नै निदायो मस्त । अत्तालिंदै यता उता भौतारिदै गर्दा परबाट एउटा प्रहरीको भ्यान बत्तिएर आयो र घ्याच्च रोक्यो अघिल्तिर । यिनीहरूसँगै केही सहयोगको कुरा गरौंला भनेर सोची नभ्याउदै ३,४ जना महिला /पुरुष प्रहरी आए र “समात! यो पनि हो रातकी कमाउवाली!” भन्दै कर्याप्कुरूप पारेर भ्यानमा कोचिहाले ।

यो सब यति छिटो भयो कि मानौं उसले आँखा झिमिक्क मात्रै गरेकी हो र एउटा भयानक तरंग मनमा उठेको मात्रै हो । भ्यानमा भित्र घुसार्ने बितिक्कै प्रश्नको बर्षासंगै केरकार सुरु भयो । यही केरकार झम्टिनु अघि नै गरेको भए ! तर त्यसो भएन । केरकार पनि यस्तो थियो कि केवल प्रश्न सोधिन्थ्यो तर जवाफ र सफाइको पर्खाइ या अपेक्षा त्यहाँ गरिन्नथ्यो । मानौं उनीहरू प्रश्नकै लागि प्रश्न गरिरहेछन, जवाफ सुन्न या यथार्थ जान्नको लागि होइन ।

केही बेरको भ्यान हुइक्याई पछि एउटी थसुल्ली प्रहरी बम्की, “… यस्ताहरूलाई समातेर खोरमा नजाके यो शहर झन् कति बिग्रिदै जाला!”

एउटी छोरी के कारण रात-बिरात सडकमा उभिएकी हो भनेर जान्न, सुन्न र आवस्यक परे यथानुरूप सहयोग र सुरक्षा दिन तर्फ समेत नसोची सबैलाई एकै आँखाले हेर्ने प्रहरीहरूको यस्तो हर्कतले यो शहर, यो समाज कुन हदसम्म सुध्रिने हो त्यो त उसले अनुमान लगाइसकेकी हो र मनमनै निस्कर्ष निकाली कि सिंहको पन्जामा च्यापिएको हरिणको याचनाको के अर्थ?

सुरुमा त मोबाइल अफ हुँदा घरमा खबर गर्न नपाउनुले झनै बौलाएकी थिई तर पछि सोची, “… जे भयो ठिकै भयो … उसैपनि यति बेलासम्म घर नपुग्दा त्यो पनि बिनाकुनै सूचना … घरकाहरू कति आत्तिएका होलान्, आमा त रुँदै होलिन । झन् यतिबेला आफू खोरमा रहेको र रहनुको भ्रमित आरोप सुनाउनु भनेको अकल्पनीय भूचाल निम्त्याइदिनु हो …।”

यो अप्रत्यासित घटना र परिस्थितिले जति हतास बनाइदियो उसलाई त्यो भन्दा झन् आफ्नै अन्तस्करणबाट पिल्पिलाई रहेको डरले झन्डै बेहोस भएकी । यो खबर सुनेपछि कतै उसलाई आफ्नैहरूले पनि शंका को दृष्टिले हेरे भने! यो आरोप पत्याईदिए भने … ! “कपडा पसलको काम त बहाना पो रहेछ तेरो!” भन्न थाले भने! अकारण किन मैले यो मानशिक तनाव खेप्नु परिरहेछ?

चुपचाप कुनामा आफूलाई समेटीरही । अर्को तिर ड्युटीमा रहेका प्रहरीहरूको हल्ला, कटाक्ष र ओहोरदोहोर चलिरहेकै थियो । ऊ फेरी सोचाइको गहिराइमा पुगी, “… म जस्तो बिल्कुल बेकसुरलाई त यसरि अनाहकमा यहाँ ल्याइन्छ भने साँच्चैका नगरवधुहरूलाई पनि त यसरीनै ल्यैँदो हो पक्कै पनि । यदि तिनका हर्कतले यो सहर, समाज बिग्रिने हो भनेर यसो गरिएको हो भने यसरि दुइचार जनालाई ल्याएर यहाँ दुई-चार दिन राखेर फेरि छोडिदिने गर्दैमा यो समस्या समाधान हुन्छ त? “

बाहिर कर्कश कटाक्ष गुन्जिरहेकै थियो, “… दुइचार रात खोरमा जाकिएपछि ठेगानमा आइहाल्छन नि!”

तकदिरको कुन दरिद्री तुफानले हुत्याएर यस्टो नर्क-पेशामा होमिएका ‘बिचरा’ हरू यस्ता दुइचार रातको खोर बसाइले ठेगानमा आउलान् त? यी रक्षक भनिएका क्रूर प्राणीहरूलाई थाहा छैनर भोकको ज्वालासामु केही पनि टिक्दैन … स्वाभिमान, अभिमान, इज्जत र सम्मानका ढर्रा,हक-अधिकारका बडेबडे भाषण सबैसबै भोकको आगोमा जल्छन भनेर!

खैर कुन दुखद संयोगले आज उसलाई पनि त्यही तक्मा भिराइदिएको छ यही सहरकै सुरक्षाकर्मी भनाउदाहरूको बाहुलीबाट । यो सबै सोच्दासोच्दा उसलाई भयंकर रिस उठिरहेको छ । रोएर थाकेका आँखामा आँशु नभएर आक्रोश उम्लिन थालेको छ । अनुहारमा क्रोधको लाली चढिसकेको छ ।

‘यो देश, यो समाज र यसका चालक –नियम वाहकहरू, यिनका जराजीर्ण प्रणाली र मनोमानी हर्कतबाट यही समाजमा रहेका स-साना मान्छेहरू (जसको सपना नै दुई छाक पेटभरि खाएर नचुहिने छानोमुनि टाउको ओत्ने हुन्छ) तिनीहरू कसरि हरदिन पिस्सिरहेका हुन्छन … कसरी निर्दोषहरूकोअनुहारमा पनि कलंकको ध्वाँसो पोतिन्छ … ’

सोचको भुमरीमा क्रोधित भै मुट्ठी कस्दै दाह्रा किटीरहेको बेला एउटा अलिक भद्र लाग्ने अनुहार अघिल्तिर उभिन्छ र सम्झाउने ढर्रामा बोल्न थाल्छ ” … नानी! मैले तिम्रो सबै कुरा सुने, हुनसक्छ तिमि निर्दोष हौली (‘हौली’ भित्र निर्धक्क शंकाको क्लेश अनुमान गर्न सकिन्थ्यो, मतलब त्यो भद्र अनुहारवालाले पनि घुमाएर उसलाई ‘वेश्या’ नै भनिरहेछ) तर दोष तिम्रो पनि त छ नि! तिमीलाई थाहा थिएन यति अबेर रात-साँझ छोरी मान्छे शहरमा हिंड्नु हुँदैन भनेर? त्यो पनि एक्लै एक्लै! ढुक्कैले छोरा जसरि त्यतिबेला बरालिनु तिम्रो गल्ति हो कि होइन त … ?”

त्यो भद्र अनुहारवाला अरु पनि के के फलाक्दै थियो तर उसले यति मात्रै सम्झी र सुनिरही, “… तर दोष तिम्रो पनि त छ नि! तिमीलाई थाहा थिएन यति अबेर रात-साँझ छोरी मान्छे शहरमा हिंड्नु हुँदैन भनेर? त्यो पनि एक्लै एक्लै! ढुक्कैले छोरा जसरि त्यतिबेला बरालिनु तिम्रो गल्ति हो कि होइन त … ?”

यो मुलकमा म कुन दर्जाको प्राणी हुँ? सम्भावित खतरालाई लिएर म सजग हुनु आफ्नो ठाउँमा छ । तर असुरक्षाकै कारण राति नहिंडनु, एक्लै नहिंड्नु जस्ता मन्त्र किन छोरीलाई पढाइन्छ ? यो भयानक असुरक्षाको कारण के हो? साँझ पर्ने बितिक्कै जंगलका यावत हिंस्रक पशुहरू शहर पस्ने त होइन नि । शहरमा रात होस् या दिन रहने त मानिस हरू नै हुन् भने एउटा मानिस बाटै अर्को मानिस डराएर चुकुल भित्र थुनिनुपर्ने किन? किन संसाँझै मान्छेबाट दानव बन्नेहरूलाई नियन्त्रण गर्ने तर्फ नलागी उल्टै उनीहरूबाट डराउन सिकाइन्छ? यो मनपरीतन्त्र-हुल्याहावादको संरक्षण हो कि सुरक्षाको प्रत्याभूति? के यो शहरमा मेरो स्वामित्व दिनको उज्यालोमा मात्रै हो? रातमा सम्पूर्ण छोरीहरू अर्कै ग्रहका अपरिचित-अनौठा प्राणीमा परिणत हुन्छन् … ?

सोच्दासोच्दै ऊ थरथरी काँप्न थाली । ऊभित्रको सम्पूर्ण क्रोधको मुस्लो एकैपटक निस्कियो । ऊ पुरै शहर थर्किने गरी चिच्याई, “यो साँझ, यो शहर मेरो पनि हो बुझ्नु भो ?”

तर सुन्नुपर्ने कुम्भकर्ण शहर भने सुतिरहेको लापर्वाह निन्द्रामा ।

दीप्स शाह

3 thoughts on “यो साँझ, यो शहर मेरो पनि हो”

  1. अलि अस्वभाविक जस्तो लागे पनिअलि अस्वभाविक जस्तो लागे पनि राम्ररी मलाएर लेख्नुभो, दीप्सजी । र विशेष गरी अन्त्यले सबैलाई, सोच्न बाध्य बनाओस् ।

  2. राम्रो
    भिन्न खालको लेख दिज्यु समाजमा यस्ता घटना हुन्छ तर पनि यसलाई गहन बिषय लिईदैन बरु उल्टै खराब कुराकै विश्वास गर्न तिर लाग्छन मान्छेहरु ……सत्य नखोज्दा सर्वसाधारणले कति दु:ख पाउछन ?? प्रस्ट देखाएको छ यो कथाले ।।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *